शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मेरो प्रतिस्पर्धा गठबन्धनसँग होइन, कांग्रेससँग हो​ : ईश्वर पोखरेल

बिहीबार, २४ कात्तिक २०७९, १५ : ५५
बिहीबार, २४ कात्तिक २०७९

मंसिर ४ गते हुने आम निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ मा एमालेका वरिष्ठ उपाध्यक्ष समेत रहेका ईश्वर पोखरेल चुनावी मैदानमा छन् । उनीसँगको प्रतिस्पर्धामा सत्ता गठबन्धनका प्रदीप पौडेलसहितका उम्मेदवार छन् । उनै पोखरेलसँग चुनावी अभियानका विषयमा केन्द्रित रहेर गरिएको संक्षिप्त कुराकानीः

 निर्वाचनको सँघारमा तपाईं जनताको घरदैलो गर्दै हुनुहुन्छ, मत माग्दै हुनुहुन्छ । तपाईंप्रति यहाँका जनताहरुको सद्भाव कस्तो पाउनुभयो ?

संविधानसभाको निर्वाचनपछि, संविधान जारी भएपछि म दोस्रो पटक यो क्षेत्रबाट उठ्दै छु । मैले यो ठाउँमा लामो समयदेखि काम गर्दै आएको, यो क्षेत्रका जनताहरुको सुख दुःखको साथी बनेर आएको, यहाँको विकास निर्माणमा पनि ध्यान दिँदै आएको र राष्ट्रिय स्तरका महत्वपूर्ण जिम्मेवारीहरु समेत पूरा गरेका कारण यो क्षेत्रका जनताहरुले मलाई राम्रोसँग चिन्छन् । मेरा सबल पक्ष पनि यहाँका जनताहरुलाई थाहा छ र मेरा दुर्बल पक्ष पनि । यहीँका जनताको सुख दुःखमा सधैँ साथमै रहेकाले मेरा लागि पनि यो क्षेत्र नौलो रहेन । यहाँका जनता र मेरो भावनात्मक सम्बन्ध रहेकाले मेरा लागि यो अनुकुल ठाउँ हो ।

 

 दुई–दुई पटक निर्वाचित गरेर पठाइसकेको यो क्षेत्र र यहाँका जनताहरुको माग, तपाईंलाई कुन मुद्दा चाहिँ स्थापित गर्न बाँकी छ जस्तो लाग्छ ?

केही निश्चित मान्छेहरुले फन्डा क्रियट गरेर यहाँका जनताहरुको माग सम्बोधन भएन भनेर प्रचार गरिएको छ । त्यो त तपाईं जनतासँग इन्डिपेन्डिली कुनै आग्रह पूर्वाग्रह नराखेका व्यक्तिहरुसँग सोध्नुभयो भने थाहा पाइहाल्नुहुन्छ । क्षेत्र नं.५ का महानगरका वडाहरुमा, बुढानिलकण्ठ नगरपालिकाका वडाहरुमा र टोखा नगरपालिकाकाभित्र पर्ने वडाहरुमा समेत सोध्न सक्नुहुन्छ । मप्रति र नेकपा एमालेप्रति जनताहरुको सद्भाव राम्रो पाउनुहुन्छ । यो मेरो दाबीमात्र होइन, वास्तविकता हो ।

त्यसकारण म के भन्न चाहन्छु भने, यस क्षत्रको विकास, यहाँको जनभावना, यहाँको मुद्दा मैले पूरा नगरेको भन्ने होइन । मेरो क्षेत्रमा मैले पूर्ण रुपमा काम गरेको छु र पछि पनि गर्नेनै छु ।

गएको स्थानीय निर्वाचनमा यस क्षेत्रभित्र पर्ने १५ वटा ठूलठूला वडामध्ये ११ वटा वडामा हामीले अध्यक्ष जितेका छौं । बाँकी ४ वटा वडामा अध्यक्ष नभए पनि सदस्यहरु जितेका छौं । एउटा वडामा मात्र हामीले जित निकाल्न सकेनौं ।

एउटा संगठनको बलमा नेकपा एमालेले एमालेको विचार, कार्यक्रम, तथा योजनालाई स्थापित गरेको छ । एमालेले बीचमा के–के गर्‍यो भन्ने आधारमा र दोस्रो, म यो ठाउँको प्रतिनिधि भएर गरेको कामको आधारमा र यो ठाउँमा भएको प्रगति, विकासका आधारमा म फेरि यो ठाउँमा उठ्दै छु । पार्टीको तल्लो स्थानीय कमिटीले समर्थन गरेकाले पनि मैले यो क्षेत्रबाट फेरि एकपटक उम्मेदवारी दिएको हुँ ।

 ​तपाईंका विरुद्ध वाम–लोकतान्त्रिक गठबन्धनले युवा नेता प्रदीप पौडेललाई मैदानमा उतारेको छ । उहाँलाई तपाईं कत्तिको प्रतिस्पर्धी मान्नु हुन्छ ?

मेरो प्रतिस्पर्धा गठबन्धनसँग होइन, कांग्रेससँग हो । म उहाँलाई गठबन्धनको उम्मेदवार मान्दिन, कांग्रेसको उम्मेदवार हो । गठबन्धन त सिद्धान्तविहीन पक्षहरुको एउटा जमातमात्र हो । त्यो जनताले राम्रोसँग बुझेका छन् । त्यसकारण हाम्रो प्रतिस्पर्धा कांग्रेससँग हो । स्थानीय निर्वाचनको परिणाम अनुसार पनि हामी निकै अगाडि छौं ।

तपाईंले यहीँ देखिरहनुभएको छ कि नेकपा एमालेको जनसमर्थन कति छ भन्ने कुरा । जनताहरुको साथ–सपोर्ट र यी भिड त्यतिकै आएका होइनन् । यी हाम्रा मान्छेहरु मात्र पनि होइनन्, स्वतस्फुर्त आएको जनलहर हो ।

 यसअघि पनि यहाँका जनताले तपाईंलाई जिताएर पठाएकै हुन्, देशभरबाट वाम गठबन्धनलाई झण्डै दुईतिहाइ मत दिएकै हुन् । तर पनि जनभावनाको कदर, अभिमतको कदर भएन, गर्न सकिएन भन्ने लाग्दैन ?

यसमा कस्तो हो भने एमाले एक्लैले बहुमत पाएको होइन । तत्कालीन समयमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक हुँदा पाएको मत हो । जब एकता टुट्यो, बहुमतको जग नै भत्कियो, जग नै भत्किसकेपछि बहुमत भन्ने नै रहेन नि । त्यसपछि ताजा जनादेशमा जानुको कुनै विकल्प थिएन ।

 ​तपाईंकै क्षेत्रबाट प्रतिनिधिसभाका लागि प्रत्यक्षमा २९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । गठबन्धन त छँदैछ, तपाईंमाथि स्वतन्त्रहरु समेत भारी पर्ने देखिन्छ । जित सम्भव देख्नुभएको छ ?

स्वतन्त्रसँगै विभिन्न राजनीतिक दलका साथीहरु उठ्नुभएको छ, मेरा प्रतिस्पर्धी बन्नुभएको छ, यो त संविधानले गरेको व्यवस्था बमोजिम उहाँहरुले दिनुभएको उम्मेदवारीप्रति मेरो कुनै नकारात्मक टिप्पणी छैन । यो स्वाभाविक प्रक्रिया पनि हो । संवैधानिक प्रक्रिया पूरा गरेर उहाँहरु उठ्नुुभएको छ । आफ्नो योजना, एजेन्डा तथा गतिविधिहरु अनुसार आउनुभएको छ, यसलाई म अस्वाभाविक मान्दिनँ । तर के हो भने, यसमा हामीले के बुझ्न जरुरी छ भने यो क्षेत्रसँगको सम्बन्ध, समन्वय, सम्पर्कहरु, एमालेका काम कर्तव्य र योजनाहरु अब आउने दिनहरुमा पूरा गर्नुपर्ने छ । यसका लागि नेकपा एमालेको विकल्प अरु हुन सक्दैन । जनताले पनि हामीलाई नै विजय गराउने छन् ।

 निर्वाचनपछि नेकपा एमालेको मुद्दा के हुन्छ ?

नेकपा एमालेले जहिल्यै उठाउने पहिलो मुद्दा भनेको राजनीतिक स्थायित्वको मुद्दा नै हो । राजनीतिक स्थायित्व नभएसम्म देशको विकास हुँदैन, आर्थिक विकास र समृद्धि हुन सक्दैन । यसैले राजनीतिक स्थायित्वनै पहिलो मुद्दा हो । एमालेले जित्यौं भने यो मुद्दालाई पहिलो प्राथमिकता दिन्छौं ।

दोस्रो, राष्ट्रिय हितको रक्षा । चाहे नाकाबन्दीको कुरा होस्, चाहे हाम्रो चुच्चे नक्सा कालापानी, लिपुलेक र लिम्पियाधुराको कुरा । अंगीकृत नागरिकहरुलाई नागरिकता नदिने कुरा होस् नेकपा एमालेले आफ्नो अडान लिन्छ । छिमेकीले बलमिच्याइँले मिचेका भूमिहरु फिर्ता लिने कुराहरुमा सिङ्गै मुलुकलाई एकताबद्ध बनाएर जाने कुरामा नेकपा एमालेले भूमिका खेल्छ ।

र तेस्रो, सुशासनको मुद्दामा नेकपा एमालेले उठाएको ‘म भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ’को नीतिलाई कडाइका साथ लागू गर्छ । आर्थिक विकास र समृद्धिका मुद्दामा सातै प्रदेशमा औद्योगिक क्षेत्रको स्थापना गर्ने, ७५३ वटै स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने, पूर्व–पश्चिम राजमार्गलाई विस्तार गर्ने, दैलेखको ग्यास खानीलाई उत्खनन् गर्ने र नवलपरासीको फलाम खानीलाई नेपालीहरुले ७० वर्ष प्रयोग गर्न पाउने गरी नेकपा एमालेले प्रयोगमा ल्याउनेछ ।

यस्तै, नेकपा एमालेले उठाएको पूर्व–पश्चिम रेलमार्ग, उत्तर–दक्षिण राजमार्ग, चीनसँगको पारवहन सम्झौतालाई थप कार्यान्वयन गर्ने कुरालाई नेकपा एमालेले प्राथमिकता दिनेछ । यो सबै गर्न बलियो पार्टी चाहिन्छ, त्यो नेकपा एमाले नै हो र जनताले हामीलाई नै जिताउनुपर्छ ।

 नेकपा एमालेले कति सिटसहित अब प्रतिनिधिसभामा प्रतिनिधित्व गर्छ ?

हामी बहुमत ल्याउँछौं । बहुमत पुग्नेगरी जनमत पाउँछौं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप