शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : यस्ता छन् आज दिनभरका प्रमुख समाचार

बिहीबार, २४ कात्तिक २०७९, २१ : ४६
बिहीबार, २४ कात्तिक २०७९

आज मिति २०७९ साल कात्तिक महिनाको २४ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ समेटिएको छ ।

‘नो भोट अगेन’ मा सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ‘नो नट अगेन’ अभियानलाई कारबाही अघि बढाउने भनि निर्वाचन आयोगले गरेको निर्णयलाई कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।  न्यायाधीशहरू सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले बिहीबार यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

चुनावी अभियान तीव्र

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि दलहरूले चुनावी अभियान तीव्र बनाएका छन् ।

प्रतिनिधिसभा अन्तर्गत काठमाडौं क्षेत्र नं ५ को चुनावी प्रतिस्पर्धा निकै रोचक हुने देखिएकोे छ । यस निर्वाचन क्षेत्रमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि उम्मेदवार छन् । आम निर्वाचन, २०७४ र संविधानसभाको दोस्रो निर्वाचन, २०७० मा समेत उनी यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।

लगातार तेस्रो पटक यही क्षेत्रबाट निर्वाचित भएर ‘ह्याट्रिक’ गर्ने दाउमा पोखरेल छन् । तर, यसपटक पोखरेललाई जितको शृङ्खलामा ब्रेक लगाउन वाम–लोकतान्त्रिक गठबन्धनले साझा उम्मेदवारको रुपमा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेललाई पोखरेलविरुद्ध मैदानमा उतारेको छ । वौद्धिक र कुशल नेताको छवि बनाएका पौडेलसँग पोखरेललाई चुनावी प्रतिस्पर्धा निकै रोचक हुने आँकलन छ ।

कञ्चनपुर ३ मा १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । विभिन्न पार्टीबाट ८ र ४ जना स्वतन्त्रले सो क्षेत्रबाट उम्मेदवारी दिएका हुन् । नेपाली कांग्रेसबाट रमेश लेखक, नेकपा एमालेबाट निरुदेवी पाल, नेमकिपाबाट जनकीदेवी गिरी, लोसपाबाट अम्बादत्त तिवारी, जनमत पार्टीबाट सुशीलादेवी विष्ट, मौलिक जरोकिलो पार्टीबाट तिलकप्रसाद जोशी, हाम्रो नेपाली पार्टीबाट दुर्गादत्त पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीबाट कृष्ण लुहार मैदानमा छन् ।

​अख्तियारको प्रष्टीकरण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्यायिक स्वतन्त्रताप्रति आयोग पूर्ण प्रतिवद्ध रहेको भन्दै अदालतको निर्णयको सम्मान गरिने बताएको छ । बिहिबार साँझ अख्तियारका प्रवक्ता ९सह–सचिव० श्याम प्रसाद भण्डारीले विज्ञप्ति जारी गरेर भनेका छन्–‘सम्मानित अदालतको गरिमाप्रति अनास्था फैलाउने विषय कल्पना पनि गर्न सकिँदैन ।’

​यता नेपाल बार एसोसिएसनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफू अनुकुलको फैसला गर्न दवाव दिने उद्देश्यले अदालतलाई आरोप लगाएको ठहर गरेको छ । नेपाल बार एशोसिएशन केन्द्रीय कार्यसमिति तथा उपत्यका बार एशोसिएशनका पदाधिकारिहरुको बिहीबार बसेको बैठकले न्यायिक स्वतन्त्रतामा आघात पुर्याउने कार्य अख्तियारबाट भएको निष्कर्ष निकालेको हो ।

भूकम्पको त्रास

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान सवा ५ बजे बाजुरामा ४ दशमलव  १ रेक्टर स्केलको परकम्प गएको छ । यो अघिल्लो दिन डोटीमा गएको भूकम्पपछिको परकम्प रहेको छ । मंगलबार गएको सो भूकम्पपछि ३ सय बढी परकम्प गएको छ ।

​प्रचण्ड र ओलीको अभिव्यक्ति

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ४ को निर्वाचन परिवर्तन पक्षधर र विरोधीबीचको लडाईं जस्तै रहेको बताएका छन् । बिहीबार गोरखामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले परिवर्तन विरोधी पक्ष राजामहाराजाको पुनःस्थापनाको पक्षमा उभिएको बताए ।

​नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले जहाँ टेक्यो त्यहाँ विकास हुने गरेको दावी गरेका छन् । बिहीबार झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले पार्टी विकास गर्न जन्मेको भन्दै एमालेले जहाँ छोयो, जहाँ टेक्यो त्यहाँको विकास भएको दावी गरेका हुन् ।

यसैगरी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले चुनाव एउटा व्यक्ति वा दल चुन्ने मात्र नभएको बताएका छन्। सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित आमसभालाई सम्बोधन गर्दै लिङ्देनले चुनाव  देशको सुन्दर र सुदूर भविष्य चुन्ने दिन भएको बताएका हुन्।

​नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न निर्वाचनमा गठबन्धनका उम्मेदवार जिताउन सक्रिय भएर लाग्न पार्टीका सबै नेता कार्यकर्ताहरूलाई आह्वान गरेका छन् । बिहीबार अपील जारी गर्दै प्रधानमन्त्री समेत रहेका सभापति देउवाले कांग्रेसका प्रत्येक सदस्यको जिम्मेवारी आफ्नो पार्टी र गठबन्धन दलका उम्मेदवारलाई जिताउन केन्द्रित हुनु आवश्यकता रहेको बताएका हुन् ।

​राष्ट्रपति विद्यादेवी भण्डारीले आइसल्याण्डमा ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ ग्रहण गरेकी छिन्। विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ (डब्लूपीएल) ले बुधबार राष्ट्रपति भण्डारीलाई अवार्ड प्रदान गरेको हो।

​थप समाचार

पछिल्लो २४ घण्टामा देशभर थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ८३७ जनामा गरिएको नमुना परीक्षणमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपाल स्टक एक्सचेन्जमा लगातार तेस्रो दिन गिरावट आएको छ । मंगलबारदेखि घट्न थालेको नेप्से परिसूचक आज बिहीबार पनि घटेर बन्द भएको हो । मंगलबार नेप्से परिसूचक २.५७ अंकले घटेको थियो । त्यसयता हिजो बुधबार नेप्से परिसूचक ३९ अंकले घटेको थियो । जुन, आज बिहीबार २६.५२ अंकले घटेको हो । यससँगै परिसूचक १८ सय ९३ अंकमा आइपुगेको छ । यस्तै, आज सेन्सेटिभ समूह समेत ४.१७ अंकले घटेर ३७२ अंकमा आइपुगेको छ ।

​नेपाल चेम्बर अफ कमर्सले बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदर विरुद्धको आन्दोलन निर्वाचनसम्मका लागि स्थगित गर्न आग्रह गरेको छ । जिल्ला चेम्बर अफ कमर्स र नगर चेम्बर अफ कमर्स लगायत सबै जिल्लाका संस्थालाई ब्याजदर वृद्धि विरुद्धको आन्दोलन निर्वाचनसम्मका लागि स्थगित गर्न चेम्बरले आग्रह गरेको हो ।

​अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पक्षमा चुनावी अभियानमा सक्रिय हुने घोषणा गरेकी छिन् ।

मनिषाले राप्रपाको कार्तिक २५ गते काठमाडौँको वसन्तपुरमा दिउँसो १ बजे हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम निश्चित भएको छ । काठमाडौँ अघि उनले पोखरा र स्याङजामा हुने सभालाई पनि सम्बोधन गर्ने जानकारीमा उल्लेख छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप