शनिबार, १४ माघ २०७९
ताजा लोकप्रिय

कोरोना, डेंगु र पेन्डोराको पुनर्जन्म

शुक्रबार, २५ कार्तिक २०७९, १२ : ५०
शुक्रबार, २५ कार्तिक २०७९

दसैं, तिहार  एवम् छठ पर्वको रौनक समाप्त भएको छ । सबै आ–आफ्ना काम र व्यवसायमा फर्किसकेका छन् । काठमाडौंका सडकमा वाहन र मानिसहरूको संख्यामा निरन्तर वृद्धि भइरहेको छ । सार्वजनिक यातायातका वाहनमा यात्रीको घुइँचो देखा पर्न थालिसकेको छ  । जन–जीवनले सामान्य रूप लिएको बुझिन्छ ।

विगत केही सातादेखि कोभिड–१९को विन्दुरेखाबाट संक्रमण र मृत्युदर घटिरहेको सुखद संकेत पाइँदैछ । यद्यपि बेला–बेलामा यस विन्दुरेखाले उकालो चढेको वा मृतकहरूको सम्बन्धमा समाचार सुन्नु परे पनि यस पालीको लहर पहिलेको लहरसरह गम्भीर देखिएको छैन । यसको प्रमुख कारण सुरक्षा कवचको रूपमा मानिसहरूले लगाएका खोप र बुस्टर डोज हुन सक्तछ ।

तर विश्व स्वास्थ्य संगठनले जारी गरेको एउटा सूचनाअनुसार आउँदो जाडोको मौसममा रुघा–खोकीका साथ कोरोनाको संक्रमण बढ्ने पूरा सम्भावना छ । अब जाडोको मौसम सुरु भइसकेको हुँदा मौसममा परिवर्तन हुन थालेको छ तर देश अहिले पनि पूर्ण रूपमा कोरोनामुक्त नभइसकेको हुँदा नाक–मुखलाई ढाक्नको निम्ति मास्क लगाउनु, हातलाई सेनेटाइजर दल्दै किटाणुको संक्रमण हुनबाट जोगाउनु र आपूmलाई चिसोबाट जोगाउनु हितकर हुनेछ ।

यसको अतिरिक्त अहिले सबैका लागि चिन्ताको ठूलो कुरो भएको छ डेँगु, जसको उच्चारण डेँगीको रूपमा पनि गर्ने गरिन्छ । एउटा विशेष खालको लामखुट्टेको टोकाईबाट यो रोग फैलिने गर्दछ । यसले देशभरि भय र त्रासको वातावरण उत्पन्न गरिरहेछ । किनभने यसको उपचार छैन अरे ।

डाक्टरहरूका भनाइअनुसार ज्वरो घटाउने औषधि, तरल पदार्थको बढी सेवन र विश्राम नै यसको उपचार हो । बाहिर ननिस्की नहुनेले लामखुट्टेको टोकाईबाट आपूmलाई जोगाउन विशेष खालको मलम लगाउनु र राति सत्दा झुलभित्र सुत्नु नै यसबाट जोगिने उपाय हो पनि भनिन्छ ।

वैज्ञानिकहरूले मानव कल्याणका लागि जब हैजा, औलो ज्वरो, टीबी, प्लेग, टिटानस, डिप्थेरिया, पोलियो, प्यारालाइसिस, विफर, कोभिड–१९ जस्ता भयावह संक्रामक र प्राणघातक रोगहरूको खोप वा खाने औषधिको आविष्कार गरे । तर डेंगुको हालसम्म खोप बनेको छैन ।

खुशीको कुरा अमेरिकी शोधकर्ताहरूले डेंगु रोगको निराकरणका लागि पनि खोप निकाल्ने अभियानमा सफलता पाएको खबर आएको छ । तर यस क्षेत्रमा यो कहिलेसम्म आइपुग्ने हो यो एउटा यक्ष प्रश्न भएको छ ।

किशोरावस्थाको स्कूले जीवनमा हामीले एउटा कथा पढेका थियौं । शीर्षक थियो– पेन्डोरा बक्स । विश्वभरिका मानिसहरू जसरी विभिन्न किसिमका भाइरस र विषाणुहरूको संक्रमणबाट ग्रस्त भई वृहत् स्तरमा ज्यान गुमाइरहेका छन् र नयाँ–नयाँ प्राणघातक रोगहरूका सिकार हुन थालेका छन्, त्यसले गर्दा आज त्यस पेन्डोराको सम्झना हुन थालेको छ । पेन्डोरा बक्स जसले खोलेको थियो, उसको बाकस भित्रबाट विभिन्न थरिका रोगका विषयुक्त किटाणुहरू निस्केका थिए अरे ।

अहिले पनि देशमा डेंगुको संक्रमण दर बढिरहेकै छ, मानिसहरूमा कोभिड–१९को त्रास सकिएको छैन, चीनलगायत अनेक देशहरूमा जसरी यसको लहर कायमै छ । त्यसलाई हेर्दा कतै यो पेन्डोराले खोलेको बाकसको दुष्प्रभाव त होइन भन्ने भाव उत्पन्न हुन्छ ।

आम भाषामा कोभिड–१९ भनिए पनि विभिन्न देशहरूमा यसले बेग्ला–बेग्लै नाउँ पाइराखेको छ, जस्तै ब्रिटेनको यस प्रजातिले अल्फा, दक्षिण अफ्रिकाको प्रजातिले बिटा, ब्राजिलमा गामा र भारतको लाई डेल्टा नाउँ दिइएको छ भने नेपालमा देखिएको प्रजातिलाई डेल्टा र कप्पाको नाउँ दिइयो । कुनै  देशमा यो इबोला पनि भनिन्छ ।

यसरी यसले ठाउँ र जलवायुअनुसार आफ्नो नाउँ पनि नयाँ–नयाँ पाएको छ । कोरोनाका विभिन्न जात र भेरियन्टसले नपुगेर, मङ्कीपक्स, सार्स–२, बर्ड फ्लु, स्वाइन फ्लुजस्ता विभिन्न किसिमका विषाणु र भाइरसहरूको जन्म र प्रसारले समेत मानव जातिसामु नयाँ–नयाँ चुनौती उत्पन्न गरिरहेका छन् । मानव जातिलाई भयाक्रान्त पारिरहेका छन् ।

यी सबैलाई हेर्दा कतै पेन्डोराले पुनर्जन्म लिएर मानव जातिको अस्तित्वमाथि नै संकट त उत्पन्न गरिरहेको होइन भन्ने विचार पनि उत्पन्न हुने गर्दछ । तर सतर्कता अपनाउँदै, स्वच्छताको नियमहरूको पालन गर्दै र अस्वस्थता अनुभव हुनासाथ समयमा औषधि उपचार गराउँदै हामीले यस चुनौतीको सामना गर्न र आफूलाई सुरक्षित राख्न सक्तछौं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

प्रकाशप्रसाद उपाध्याय
प्रकाशप्रसाद उपाध्याय
लेखकबाट थप