शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री बनून् गगन थापा

आइतबार, २७ कात्तिक २०७९, १४ : ०१
आइतबार, २७ कात्तिक २०७९

अहिले देश चुनावको संघारमा छ । गाउँ गाउँ, टोलटोलमा भोट उमेद्वारहरु पुगेका छन् । यस पटकको चुनावको परिणाम स्वाभाविक भन्दा आउने आकलन राजनीतिक बजारमा भइरहेका छन् । युवा वर्गले राजनीतिप्रति देखाएको आकर्षण तथा आम मतदातामा आएको राजनीतिक जागरणका कारणले पनि यस पटकको परिणामले चलिरहेको नेपाली राजनीतिलाई यथास्थितिमा क्रमभङ्ग गराउने आकलन गर्न थालिएको छ । एकातिर दलहरु प्रतिको विकर्षण, नयाँ दल तथा स्वतन्त्रहरुको राजनीतिक आगमन तथा यही स्थानीय निर्वाचनमा केही स्थानमा आएको अनपेक्षित परिणामले यसै हुन्छ भन्न सकिने अवस्था छैन ।
यो सबै हुनुको पछाडि दलहरु र दल भित्रका पात्रहरु नै जिम्मेवार छन् । 

नेपाली राजनीतिमा २०४६ सालपछि बारम्बार कुर्चीको वरिपरि घुमिरहने अहिलेका केही ठूला दलका केही दर्जन नेताहरुले न त देशलाई पार लगाउन सके, न त अरुलाई नै केही गर्ने मौका दिए । बहुदलीय व्यवस्थाको प्राप्ति पछिका सरकार आफ्नै पार्टिभित्रको झगडा र प्रधानमन्त्रीको दम्भका कारण असफल भए । 

गणतन्त्र प्राप्ति पछाडिको करिब दुई तिहाइको सरकार बहुमतको दम्भका कारण असफल भयो । यी सबै असफल सरकारका मतियारहरु अरु कोही नभएर सत्ताको वरिपरि घुमिरहने हरेक पार्टीका केही पात्रहरु हुन्, जो दक्षतामा भन्दा चाकरीमा बढी विश्वास गर्दछन् । र, आफ्नो राजनीतिक योग्यताभन्दा जालसाजीमा विश्वास गर्दछन् । 

दसौं पटकसम्म मन्त्री पड्काउने नेताहरु आज पनि सत्ताकै दाउपेच र उमेद्वार बनेर चुनावमा होमिएका छन् । यो सबै देखेका युवावर्ग र आममतदाता निराश छन् । तसर्थ पनि यस पटकको निर्वाचनको परिणाम अपेक्षित भन्दा भिन्न आउने सम्भावना प्रवल छ । 

नेपालका केही मुठ्ठीभर नेताहरुले देशलाई प्रयोगशाला बनाए र जनताले पनि लहैलहैमा यिनीहरुलाई नै पत्याइराखे । जनताले पालैपालो सबै दललाई मौका दिए । कसैबाट केही हुन नसकेपछि आजको अवस्था आइपुगेको हो । आखिर सत्ता समीकरण र अंकगणितमा मुख्य भूमिका खेल्नेहरु केवल तिनै दलका तीन दर्जन नेताहरु रहे, बाँकी केवल नेताहरुको लाहछापमात्रै बनिरहे । 

संविधान सभाले संविधान बनाउने बेला होस् या बारम्बार सरकार बनाउने र ढलाउने खेलमा होस्, यिनै तीन दर्जन नेताहरुकै मुख्य भूमिका देखिँदै आएको छ । नेपाली राजनीतिको बिडम्वना हो या हाम्रो नियति, जति पनि भरोसायोग्य नेताहरु उदाए, उनीहरुले मौकै पाएनन् । 

अव यस पटक पनि नेपाली राजनीतिले कोल्टे फेर्न सकेन भने यो देशमा देशप्रेम मर्ने छ, नैरास्यता झन बढ्ने छ । हामीले देखेका छौं, हिलोमा पनि कमल फुल्न सक्छ, निराशै निराशाबीच पनि एउटा आशाको पालुवा पलाउन सक्छ । हामीलाई केवल एक त्यस्तो ब्यक्तिको खाँचो छ, जसले बहुसंख्यक जनताको बिश्वास जित्न सक्छ । 

त्यस्तो ब्यक्तिको खाँचो छ, जसले यथास्थितिमा क्रमभङ्ग गर्न सक्छ । हामीलाई त्यस्तो ब्यक्तिको खाँचो छ, जसले सबैको विश्वास लिन सक्छ । नेपाली राजनीतिप्रति आशा जगाउन सक्छ । आम युवामा देशप्रेम बढाउन सक्छ । अहिले देखिएको दलहरुप्रतिको विकर्षणलाई पुनः आकर्षणतर्फ परिणत गर्न सक्छ ।

अहिलेका दलबाट को हुन सक्ला त्यस्तो योग्य पात्र ? मेरो विचारमा ती योग्य पात्र चर्चित तथा आम जनताले आशा भरोसाका साथ हेरेका नेता नेपाली काँग्रेसका गगन कुमार थापा हुन सक्छन् । 

अहिले राजनीति र राजनीतिक दलहरु प्रतिको मुख्य विकर्षणको कारण भनेको सीमित ब्यक्तिहरुको सिन्डिकेटमा पार्टी र राज्य सत्ता रहनु हो । अहिले देखिएको स्वतन्त्रको लहर निराशाको प्रतिनिधित्व पनि हो । यस कुरालाई यो पटक ब्यपस्थापन गर्न सकिएन भने त्यसले निकट भविष्यमा नै देशलाई अप्ठ्यारो अवस्थामा पुर्याउने छ ।

गगन थापा नै किन ?

नेपाली जनतामाझ गगन थापा त्यस्तो एकमात्र आशा गरिएका नेता हुन्, जसले पटक पटक देश र जनताको सरोकारको विषयमा संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् । प्रजातन्त्र र गणतन्त्र प्राप्तिको लडाइँमा होस् या लोकमान सिंह कार्कीलाई महाभियोग लगाउने मामलामा होस् या डा गोविन्द केसीको माग सम्बोधन गराउने मामलामा होस् गगन थापा पार्टीभन्दा माथि उठेर देश र जनताको पक्षमा लडेका छन् । 

गगन क्रान्तिकारी स्वभावका छन् । उनले अहिले उठिरहेका निराशाका स्वरहरुलाई ब्यवस्थापन गर्न सक्ने ल्याकत र दक्षता राख्दछन् । उनी प्रधानमन्त्री बन्दा गठबन्धन र त्यस भित्रका दलहरुप्रति समेत सकारात्मक सन्देश प्रवाह त हुने नै छ र सँगसँगै नयाँ आउने स्वतन्त्रहरुका समेत उनी साझा ब्यक्ति बन्न सक्नेछन् । जसले गर्दा जनतामा एक किसिमको आशाको सञ्चार हुनेछ । पार्टीभित्र र बाहिर पनि निष्कलंक छवि बनाउन सफल नेता गगन थापालाई आमजनताले स्वस्फूर्त स्वीकर्नेछन् । 

गगन प्रधानमन्त्री बन्दा राष्ट्रिय, अन्तरराष्ट्रिय तथा हरेक दलका युवा नेताहरुको पनि समर्थन रहने कुरामा कुनै शंका रहँदैन । काँग्रेसका बौद्धिक नेता स्व प्रदीप गिरीको भनाइ सापटी लिने हो भने अबको नेपाली राजनीतिको नेतृत्व गगन थापा जस्ता युवा नेताहरुले लिनुपर्दछ ।

आफैले आममतदाता सामु र सार्वजनिक सञ्चारमार्फत् प्रधानमन्त्रीको दाबी गरिसकेका गगन थापा अहिले काठमाडौं–४ का उमेद्वार छन् । 

गगनले संसदीय चुनाव जितेमा पहिला उनले आफ्नै पार्टी नेपाली काँग्रेसको विश्वास जित्न सक्नुपर्छ । हुन त पार्टीका पहिलो र दोस्रो दर्जाका नेताहरुले यो कुरा सजिलै स्वीकार्न त्यति सजिलो छैन । काँग्रेसको साथ लिइसकेपछि गगनले माओवादी र गठबन्धनका अन्य दल वा नयाँ आउने दलहरुसँग संवाद अगाडि बढाउनुपर्ने हुन्छ, जसको लागि उनले आफू सबैको साझा प्रधानमन्त्री बन्न सक्ने र आम रुपमा राजनीतिक दलहरुप्रति देखिएको निराशालाई आशामा परिणत गर्न सक्ने आधारहरु प्रस्तुत गर्न सक्नेछन् । 

भनिन्छ राजनीति सम्भावनै सम्भावनाको दाउपेचपूर्ण खेल हो, जसमा कौटिल्यको जस्तो चातुर्यतता पनि चाहिन्छ र अहिले नेपाली जनताले त्यस्तै एक नेता खोजिरहेछ, जसले सबैलाई साथमा लिएर हिँड्न सकोस् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दिवस खनिया
दिवस खनिया
लेखकबाट थप