शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चितवन–२ : ठुला दलको परम्परागत प्रचार शैली, रवि लामिछाने अलग ‘ट्र्याक’मा

आइतबार, २७ कात्तिक २०७९, १९ : ४५
आइतबार, २७ कात्तिक २०७९

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन–२ मा सत्तारुढ गठबन्धन र नेकपा एमालेका उम्मेदवार परम्परागत प्रचार शैली अपनाउँदै घरदैलो तथा कोणसभामा व्यस्त देखिन्छन् । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठ र एमालेबाट कृष्णभक्त पोख्रेल यो क्षेत्रमा उम्मेदवार छन् ।

उनीहरू आफ्नो कार्यकर्ताका साथ घरदैलोमा पुग्दै मतदाताहरूसँग परम्परागत शैलीमा मत मागिरहेका देखिए । उनीहरू गल्लीगल्लीमा हात जोड्दै मतदातासँग आफ्नो लागि मत मागिरहेका देखिन्थे । राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने पनि घरदैलोमै व्यस्त छन् तर उनी घर–घर, खेतबारी चहार्दै आफ्नोलागि मत मागिरहेका थिए ।

पहिलो पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने भने पृथक शैलीका साथ चुनाव प्रचारमा देखिए ।

शुक्रबार बिहान रामनगरबाट केही बेर रातोपाटी टिमले रवि लामिछानेको घरदैलो कार्यक्रम पछ्यायो । रामनगरबाट ठिमुरा, देवघाट क्षेत्रसम्म उनको घरदैलो कार्यक्रमका क्रममा उनले कहिले पैदल, कहिले गाडीभित्र र कहिले गाडी (पिकअप भ्यान) मा उभिएर आवश्यकता र परिस्थिति अनुसारको शैली अपनाइरहेका थिए ।

जंगलको बाटो उनी गाडीभित्र बसेर हुइँकिन्थे भने भिड धेरै भएको क्षेत्रमा उनी पिकअप भ्यानमा उभिएर सबैलाई अभिवादन गर्दथे । जहाँ जमघट कम हुन्थ्यो, मतदाता खेतबारीमा काम गरिरहेका हुन्थे, त्यहाँ उनी गाडीबाट उत्रिएर मतदातासँग भलाकुसारी गर्न पुग्थे ।

बिहीबार भरतपुर महानगरपालिकाको ११ नम्बर वडा क्षेत्रमा घरदैलो कार्यक्रममा व्यस्त रहेका कांग्रेस उम्मेदवार उमेश श्रेष्ठ प्रायः गाडीमै बसेर घरदैलो गरे । उनी बाटोको दुवैतिर रहेका घरतर्फ हात जोडेर मतदातासँग भोट माग्थे । सँगै रहेका कार्यकर्ताले गाउँटोलका कोही खास व्यक्तिको परिचय उनीसँग गराउँथे भने सामान्य मतदाता न उनीसँग बोल्न पाउँथे, न त उनी बोल्न खोज्थे ।

सोही दिन भरतपुर महानगरपालिकाको वडा नम्बर २ मा घरदैलो गरिरहेका एमाले उम्मेदवार कृष्णभक्त पोख्रेल पैदल हिँडेर मतदातालाई हात जोडेर मत मागिरहेका थिए । पार्टीका खास कार्यकर्तासँग सामान्य भलाकुसारी, वृद्धवृद्धासँग आशीर्वाद लिने र बाटोमा भेटिएका सामान्य व्यक्तिसँग हात हल्लाएर अभिवादन गर्ने बाहेक उनी पनि आम मतदातासँग साक्षात्कार गर्न भ्याइरहेका थिएनन् ।

नमस्कार गर्दै फटाफट हिँडेर उनी घरदैलो गरिरहेका थिए ।

कांग्रेसका उम्मेदवार श्रेष्ठ र एमाले उम्मेदवार पोख्रेलले समय थोरै रहेको र सबैतिर पुग्नुपर्ने भएकाले मतदातासँग अन्तरक्रिया गर्न सम्भव नभएको रातोपाटीलाई बताए ।

तर रवि भने ठुला दलका उम्मेदवारसँग पहुँच नभएका सामान्य मतदाता वर्गलाई लक्षित गर्दै उनीहरूसँग हात मिलाउने, अङ्कमाल गर्ने र सेल्फी खिच्नसमेत भ्याइरहेका थिए ।

कांग्रेस र एमालेका उम्मेदवार ढुक्क

चुनाव प्रचारका क्रममा सत्तारुढ गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ र एमालेका उम्मेदवार कृष्णभक्त पोख्रेल आफ्नो जित हुनेमा ढुक्कजस्तै देखिन्छन् । श्रेष्ठ सत्तारुढ गठबन्धनको बलमा आफ्नो जित हुने दाबी गर्दछन् भने पोख्रेल २०७४ को निर्वाचनमा पनि यसै क्षेत्रबाट आफू निर्वाचित भएकाले दोहोरिनेमा ढुक्कजस्तै देखिन्छन् ।

त्यसैले पनि यी दुई उम्मेदवारले घरदैलो कार्यक्रमलाई जनताको विश्वास जित्नभन्दा पनि औपचारिकता पूरा गर्नमात्र सीमित गरेको देखिन्छ ।

यस क्षेत्रका कयौं मतदाताले ‘पुराना पार्टीले केही गरेनन्’ भन्ने मानसिकता बोकेका छन् । तर उनीहरुको चाहना अमूर्त देखिन्छ । यतिमात्र भन्छन्– दलहरुले केही गर्न सकेनन्, सत्ताका लागि आपसमा झगडामात्र गर्छन् ।

उनीहरू नेताले यही गरिदिउन् वा यस्तो गर्नुपर्छ भन्ने प्रस्ट बताउन सक्दैनन् । ‘हाम्रा कुरा सुनिदिनु प¥यो नि,’ भरतपुर–२ का ८३ वर्षीय छत्रबहादुर गुरुङ भन्छन्, ‘विकास हुनु प¥यो, रोजगारी हुनु प¥यो ।’

उनको घर अगाडि पिचबाटो छ, आफ्नो क्षमताअनुसारको घर बनाएर बसेका छन् । तर, उनी सन्तुष्ट छैनन् । ठुला भनिएका दलप्रति लक्षित गर्दै उनी भन्छन्, ‘हामीले जिताएर पठाएपछि माथि कुर्सीका लागि झगडा गरेर बस्छन्, हामीलाई समस्या पर्दा हाम्रो कुरा सुन्न आउँदैनन् ।’

कालिका नगरपालिका–१ की तेतरी चौधरीका अनुसार यस क्षेत्रमा सडक, पुल निर्माणजस्ता योजना सम्पन्न नभएका होइनन् । तर आफूजस्ता किसानका लागि मलखाद, बिउ, आफूले उत्पादन गरेका कृषि उपजको उचित मूल्यको ग्यारेन्टी जस्ता विषयलाई कहिल्यै पनि नेताहरुले प्राथमिकता नदिएको उनको गुनासो छ । जसलाई मत दिए पनि आफ्ना समस्या जस्ताको तस्तै रहने गरेको उनले बताइन् ।

मतदाताको यही मानसिकतालाई अस्त्र बनाएर घरघर पुगिरहेका छन् रवि लामिछाने । हरेक मतदातासँग थोरै भए पनि दोहोरो कुराकानीको प्रयासमा छन् उनी । चितवन–२ मा धेरै ठुलो चमत्कार वा विकासका ठुला योजनाभन्दा पनि जनताका दैनिक जीवनमा आइपर्ने समस्या समाधानका लागि पहल गर्नुपर्ने खाँचो रहेको उनले बताए ।

कांग्रेस–एमालेका उम्मेदवारहरू जहाँ माला र अबिर लगाएर चुनाव प्रचारमा ‘विजयी शैली’ देखाइरहेका छन्, रवि लामिछाने आफूलाई लगाइदिएको माला तुरुन्तै गलाबाट उतारेर तिनै मतदातालाई लगाइदिन्छन् । ‘मैले माला लगाउने बेला भएकै छैन,’ आफूलाई माला लगाइदिने मतदातालाई उनी भन्छन्, ‘पहिला काम गर्न मत दिनुस्, अनि काम गरिसकेपछि आएर माला लगाउँला ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप