शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ब्याटलग्राउन्ड इलाम–१ : झलनाथको छैटौँ जितमा महेशले लगाउलान् ‘ब्रेक’ ?

सोमबार, २८ कात्तिक २०७९, १२ : २५
सोमबार, २८ कात्तिक २०७९

मङ्सिर ४ को मतदान मिति नजिकिँदै गर्दा इलाम–१ को प्रतिनिधि सभा सदस्य निर्वाचन परिणामबारे चासो बढ्दै गएको छ । यो निर्वाचन क्षेत्रमा नेकपा समाजवादीका सम्मानित नेता समेत रहेका पूर्व प्रधानमन्त्री झलनाथ खनाल सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहेकाले पनि धेरैले इलाम–१ लाई चासोका साथ हेरेका हुन् ।

खनालसहित यहाँ नेकपा एमालेका महेश बस्नेत, जनता समाजवादी पार्टी नेपालका कमल कुमार राई, राप्रपाका तोयानाथ शर्मा सापकोटा, मंगोल नेशनल अर्गनाइजेसन बुद्धलाल मेचे, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च जीतकुमार मुखिया, राष्ट्रिय जनमुक्ति पार्टी पदमबहादुर लिम्बु, नेपाली कांग्रेस वीपी गणेशप्रसाद पौडेल तथा स्वतन्त्रतर्फ विक्रम पाण्डे, नेत्रप्रसाद रेग्मी निमा तेन्जीङ शेर्पा गरी ८ राजनीतिक दल र ३ स्वतन्त्रसहित ११ उम्मेदवार चुनावी मैदानमा छन् । स्थानीय मतदाता मतको जोडघटाउ र उम्मेदवारहरू मत माग्न व्यस्त छन् ।

खनालका निकटतम प्रतिस्पर्धी बस्नेत

विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरू मैदानमा रहे पनि यो निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार खनाल र नेकपा एमालेका बस्नेतबीच प्रतिस्पर्धा हुने निश्चित जस्तै छ । बस्नेत इलाम नगरपालिकाका पूर्व मेयर तथा एमाले जिल्ला कमिटी अध्यक्ष समेत हुन् । उनको कार्यकालमा भएका विकास निर्माणबाट प्रभावित मतदाता बस्नेतकै पक्षमा लाग्ने देखिन्छन् । गत स्थानीय निर्वाचनमा पाएको वडागत मतका आधारमा यो क्षेत्रमा एमाले पहिलो पार्टी हो । स्थानीय निर्वाचनमा एमालेले यो क्षेत्रका वडाहरूमा २६ हजार बढी मत पाएको छ भने दोस्रोमा कांग्रेस र तेस्रोमा खनालको पार्टी नेकपा एकीकृत समाजवादी देखिन्छ । कांग्रेस र समाजवादीले स्थानीय निर्वाचनमा क्रमशः २५ हजार र नौ हजार बढी मत पाएको छ । मङ्सिर ४ को निर्वाचनमा कांग्रेसको मत खनाललाई जाँदा अंक गणितमा बस्नेतभन्दा खनाल अघि देखिए पनि स्वतन्त्रहरूबाट काटिने मत कांग्रेसभित्रको असन्तुष्टि लगायतले समेत यहाँको परिणाममा केही प्रभाव पर्ने देखिन्छ ।

२०४८ यता तीन दशकको संसदीय यात्रामा २०५६ बाहेक पराजय भोग्न नपरेका खनाल विगतमा नेकपा एमालेबाटै विजयी बन्दै आएका थिए । तर यसपटक भने खनाल एमालेकै उम्मेद्वारसँग प्रतिपर्धा गर्दैछन् । २०४८ सालको निर्वाचनमा एमालेबाट निर्वाचित खनाल २०५६ को निर्वाचनमा भने कांग्रेसका बेनुपराज प्रसाईसँग पराजित बन्न पुगेका थिए । त्यसपछिका कुनैपनि निर्वाचनमा हार नबेहोरेका खनाल २०६७ सालमा प्रधानमन्त्रीसमेत बनेर मुलुकको कार्यकारी जिम्मेवारी बहन गरिसकेका हुन् ।

छैटौँ जितका लागि खनालको सातौँ प्रयास

छैटौँ जितका लागि सातौँ चुनावमा प्रतिस्पर्धारत खनालसँग २०४८, ०५१, ०६४, ०७० र ७४ विजयी बनेको पुरानो पार्टी एमाले भने साथमा छैन । यद्यपि स्थानीय चुनावको अंक गणितका आधारमा उनी गठबन्धनको बलमा यसपटक पनि अगाडी नै देखिन्छन् ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा खनालले कांग्रेसका भूपेन्द्र कट्टेललाई १७ हजारभन्दा बढी मतान्तरले हराएका थिए । त्यसबेला खनालले ३६ हजार ८ सय ५ मत ल्याएका थिए भने कांग्रेसका कट्टेलले १९ हजार ६ सय ३८ मत पाएका थिए । २०७४ मा एमाले–माओवादी गठबन्धन बन्दा कांग्रेस एक्लै लडेको थियो ।

यो निर्वाचन क्षेत्रमा सन्दकपुर, माइजोगमाइ, रोङ गाउँपालिकाका, सूर्योदय नगरपालिका, माई नगरपालिकाको वडा १, ३, ४, ५, ९, १० र इलाम नगरपालिकाको वडा नं. १० पर्छन् ।

स्थानीय तह निर्वाचनका आधारमा सो क्षेत्रमा एमालेको २६ हजार २३३, कांग्रेसको २५ हजार ७७२, नेकपा एकीकृत समाजवादीको ९ हजार ४८१, जसपाको एक हजार ८२९, माओवादीको एक हजार २३५ र राप्रपाको एक हजार १६९ मत देखिन्छ । वैशाखको स्थानीय निर्वाचनमा इलाम–१ बाट एमालेका वडा अध्यक्षहरूले सबैभन्दा बढी मत ल्याएको देखिन्छ । यो यद्यपि कांग्रेस र एकीकृत समाजवादी र माओवादीका वडा अध्यक्षका उम्मेदवारले पाएको मत जोड्दा खनालसँग कूल ३६ हजार बढी मत हुन पुग्छ । यो बाहेक यसपटक लोसपा पनि सत्ता गठबन्धनमा रहेकाले लोसपासँग रहेको केही सङ्ख्याको मत पनि खनालकै पक्षमा पर्ने देखिन्छ । यो क्षेत्रमा प्रदेश सभा सदस्यमा गठबन्धनबाट ‘क’मा नेकपा समाजवादीकै खिनु लाङवा र ‘ख’ मा कांग्रेसका शमशेर राई रहेका छन् भने एमालेका तर्फबाट क्रमशः शोभा पराजुली र दीपक थेवे मैदानमा छन् ।

दाबी आ–आफ्नै

यो क्षेत्रमा प्रतिनिधि सभातर्फ कांग्रेसबाट विक्रम पाण्डे बागी उठेकाले कांग्रेसको केही मत काटिने सम्भावना समेत उत्तिकै रहेकाले त्यसको असर खनाललाई पर्ने आँकलन गरिएको छ । तर, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष भक्त केसी एमालेको मतसमेत खनालको पक्षमा आउने र झण्डै २० हजार बढी मतले जित्ने दाबी गर्छन् ।

‘गठबन्धनबाहेक एमालेका मतदाताले समेत झलनाथ कमरेडलाई मत दिन्छन् । कांग्रेसका बागी भनिएका पाण्डेले काट्ने मतले खासै असर गर्दैन’, केसीले रातोपाटीसँग भने, ‘जेएन कमरेड राष्ट्रिय व्यक्तित्व भएका कारण पनि मतदाताको रुझान बढ्दै गएको छ, इलामका हाम्रा उम्मेदवारहरुले सानदार मत ल्याएर जित्छन् ।’ नेकपा एमाले इलाम जिल्ला कमिटी सचिव उमेश गुरुङ गठबन्धनका उम्मेदवार खनालसँग कांग्रेस र माओवादी कार्यकर्ता रुष्ट रहेकाले एमाले उम्मेदवार बस्नेतले ५ हजारको अन्तरले जित्ने दाबी गर्छन् ।

‘इलाम १ बाट प्रतिनिधि सभा सदस्यमा एमाले उम्मेदवार महेश बस्नेत ५ हजार मतान्तरले विजयी हुने निश्चित छ’, सचिव गुरुङले रातोपाटीसँग भने, ‘कांग्रेसकै कार्यकर्ताहरू पनि रुष्ट छन् । खनालले पटक पटक जितेर पनि निर्वाचन क्षेत्रको विकास गर्न सक्नुभएन, अव उहाँको विकल्प खोज्नुपर्छ भन्ने धेरैको मत देखिन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप