मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कार पुष्टि तरपनि केस ड्रप : के हो सेक्ससोम्निया रोग जसमा बिरामीले निद्रामा यौन सम्बन्ध राख्छ ?

मङ्गलबार, २९ कात्तिक २०७९, १२ : ५४
मङ्गलबार, २९ कात्तिक २०७९

सन् २०१७, लण्डनको दक्षिण पश्चिम क्षेत्र । २४ वर्षीय जेड म्याक्रोसेन केही साथीहरूसँग पार्टी गर्न फ्ल्याटमा आइपुग्छिन् । फ्ल्याटको मुख्य हलमा पार्टी सुरु हुन्छ । जेडले ड्रिङ्क्स गरिन् र नाच–गान चलिरहेका बेला उनलाई निद्रा लाग्छ । त्यसपछि उनी हलको सोफामा नै सुत्छिन् ।

भोलिपल्ट साँझ पाँच बजे ब्युँझदा उनको जिन्स सोफाको मुनी थियो । नेकलेस फुटेर भुइँमा छरिएका थिए । जेड स्तब्ध भइन् । उनले आफूलाई नियन्त्रणमा राखेर हलको वरिपरि हेरिन्  । उनीभन्दा केही पर एउटा केटा सुतिरहेका थिए । उनको शरीरमा पनि कपडा थिएन ।

जेडले केटालाई उठाउँछिन् र खासमा के भएको हो भनेर सोध्छिन् । केटाले ‘मलाई लाग्यो तिमी जागा थियौ’ भनेर घरबाट निस्कन्छन् ।

जेडले त्यतिबेलासम्म बुझिसकेकी थिइन् कि उनी बलात्कृत भएकी छिन् । रुँदै उनले फोनमा साथीहरुलाई सबै घटना सुनाइन् । उनका साथी प्रहरीसहित घटनास्थल पुगे । अनुसन्धानपछि युवतीविरुद्ध जबरजस्ती करणी गरिएको भन्दै मुद्दा दर्ता भयो ।

मुद्दाको सुनुवाइ सन् २०२० मा सुरु हुँदै थियो, तर त्यसको तीन दिनअघि नै प्रहरीले मुद्दाको टुङ्गो लगाएको थियो । मेडिकल विज्ञहरुले जेड सेक्ससोम्निया अर्थात् स्लिपिङ सेक्स डिसअर्डरद्वारा पीडित रहेको निष्कर्ष निकालेको प्रहरीले जनायो । त्यसैले क्राउन प्रोजिक्युसन सर्भिस (सीपीएस) ले यो बलात्कार नभई सहमतिको सम्बन्ध हुन सक्ने निष्कर्ष निकाल्यो । अब सीपीएसले यसका लागि जेडसँग माफी मागेको छ । जसका कारण यो विषय फेरि चर्चामा आएको छ ।

भारतीय सञ्चार माध्यम दैनिक भास्करले कोही व्यक्तिले निद्रामा पनि यौन सम्बन्ध स्थापित गर्न सक्छ भनेर विस्तृत जानकारी दिएको छ । यसलाई रातोपाटीले अनुवाद गरेर यहाँ प्रस्तुत गरेको छ ।

सेक्ससोम्निया : निद्रामा यौन सम्पर्क गर्ने रोग

तपाईंले निद्रामा मानिसहरू हिँड्ने वा कुरा गरेको सुन्नु भएको होला । यसलाई सामान्यतया निद्रामा हिँड्ने वा बोल्ने रोग भनिन्छ । विज्ञानको भाषामा यसलाई प्यारासोम्निया भनिन्छ, जुन स्लिपिङ डिसअर्डर हो ।

यस्तै एउटा रोग सेक्ससोम्निया हो, जसलाई स्लिप सेक्स पनि भनिन्छ । सेक्ससोम्नियाको अवस्थामा, व्यक्ति निद्रामा नै यौनजन्य क्रियाकलापमा सक्रिय हुन्छ । उसले निद्रामा समेत हस्तमैथुन गर्न सक्छ । निद्रामा आफूसँगै सुतेको व्यक्तिसँग पनि यौनसम्बन्ध राख्न सक्छ ।

यतिबेला व्यक्तिको आँखा खुलेका हुन्छन् । मान्छे ब्यूँझिएको जस्तो देखिन्छ । तर, ब्युँझिएपछि उसलाई केही याद हुँदैन ।

अब तपाईंको मनमा पनि प्रश्न उठ्ला कि यो कसरी सम्भव छ ? यो बुझ्नको लागि, निद्राको विभिन्न चरणहरू जान्न आवश्यक छ ।

निद्राका चार चरण हुन्छन् ।

एनआरइएम​ – वान

बेडमा गएको केही समयपछि नै तपाईं यो चरणमा पुग्न सक्नुहुन्छ । यसमा व्यक्ति यति हल्का निद्रामा हुन्छ कि अरुको कुरा सुन्न सक्छ र आसपासको हलचल महसुस गर्न सक्छ ।

एनआरइएम – टु

सुतिरहेका बेला कुनै पनि व्यक्तिले निद्राको आधा हिस्सा यहि अवस्थामा बिताउँछन् । यो चरणमा तपाईंलाई निकै सजिलै उठाउन सकिन्छ । अलि चर्को आवाजले बोलाउँदा मात्रै पनि तपाईंको निद्रा खुल्ने गर्छ ।

एनआरइएम – थ्री

जब व्यक्ति गहिरो निद्रामा जान्छन् तब त्यसलाई विज्ञानको भाषामा एनथ्री भन्ने गरिन्छ । यतिबेला व्यक्तिलाई आफ्नो आसपास के भइरहेको छ, त्यसबारे अत्तोपत्तो हुँदैन । यो चरणमा व्यक्तिलाई जबर्जस्ती उठाउँदा ती व्यक्ति केही बेरसम्म भ्रमको स्थितिमा रहन्छ ।

रेम स्लिपः

यो चरणमा व्यक्ति सपनाको दुनियाँमा हराउने गर्छ । यतिबेला दिमाग जागेको व्यक्ति जत्ति नै सक्रिय हुन्छ । हृदय गति, रक्तचाप र सास फेर्ने गति तेज हुन्छ ।

एनआरइएम : नन र्‌यापिड आई मुभमेन्ट

रेम : र्‌यापिड आई मुभमेन्ट

सेक्ससोम्नियाको समयमा, एक व्यक्ति नन र्‌यापिड आई मुभमेन्ट स्लिपको तेस्रो चरणमा हुन्छन् । जसका कारण उसलाई निद्रामा के गरिरहेको छ, कसरी गरिरहेको छ भन्ने बारे केही थाहा हुँदैन ।

पुरुषलाई सेक्ससोम्निया हुने सम्भावना बढी हुन्छ

सन् २०१८ मा, साउदी अरेबियाको किङ साउद युनिभर्सिटीको पारिवारिक चिकित्सा विभागका प्रोफेसरहरूले ४९ जना सेक्ससोम्निया भएका बिरामीहरू पहिचान गरेका थिए । तीमध्ये ७५ प्रतिशत पुरुष थिए । अमेरिकन एकेडेमी अफ स्लिप मेडिसिनको अनुसन्धानका अनुसार पुरुषमा सेक्ससोम्नियाको जोखिम बढी हुन्छ । यो समस्या ती वयस्कहरुमा बढी देखिएको छ जसलाई बाल्यकालमा नै निद्रामा हिँड्ने वा बोल्ने हिस्ट्री छ ।  

चिकित्सकका अनुसार यसमा जीवनशैलीको पनि ठूलो भूमिका हुन्छ । धेरै जसो केसहरूमा, पीडितको रक्सीको लत थियो ।

सेक्ससोम्नियाको खतरा बढाउने बानी

– धेरै रक्सी पिउनु

– ड्रग्सको लत

– तनाव

– डिप्रेशन

– सुताई नपुगेको

– शिफ्ट वर्क

अब २ घटनाबाट बुझ्नुहोस् सेक्ससोम्निया कति खतरनाक हुन्छ

– सन् २००५ मा विवाहपछि ब्राजिलकी एक महिलाले अचानक एक रात आफ्ना श्रीमानले जबरजस्ती यौनसम्बन्ध राखेको भन्दै चिच्याउन थालिन् । त्यतिबेला श्रीमान अलमलमा परे । एक रात उनले आफ्नी श्रीमतीलाई हस्तमैथुन गरिरहेको देख्छन् । भोलिपल्ट बिहान उनले सोध्दा श्रीमतीलाई आफूलाई केही याद नभएको बताउँछिन् । यसको प्रभाव दुवैको वैवाहिक जीवनमा पर्न थाल्छ । यसैबीच दुवै जना चिकित्सकको सल्लाह लिन पुग्छन्, जहाँ महिलालाई सेक्ससोम्निया भएको खुलासा हुन्छ ।

– क्यानडाका डा. कोलिन एम. शापिरोको क्लिनिकमा एक आरोपीलाई ल्याइन्छ । उनले आफ्नै ९ वर्षकी छोरीलाई गलत तरिकाले छोएका कारण जेल सजाय भोगिरहेका थिए । डाक्टरका अनुसार आरोपितले आफ्नी श्रीमतीसँग निद्रामै यौनसम्बन्ध राख्दथे । आफ्नी छोरीलाई गलत तरिकाले छोइरहँदा उनी निद्रामा थिए । उनले कसलाई छोइरहेका थिए भन्ने उनलाई थाहै थिएन ।  

३७ वर्षअघि भेटिएको थियो सेक्ससोम्नियाको पहिलो केस

सेक्ससोम्नियाको पहिलो मेडिकल केस सिंगापुरमा सन् १९८६ मा सार्वजनिक भएको थियो । आधा रातमा श्रीमानको हस्तमैथुनको लत देखेपछि श्रीमतीले मेडिकल सल्लाहका लागि एक डाक्टरलाई भेट्न गएकी थिइन् ।

सन् १९९७ मा सेक्सोलोजिस्ट डा. जे पल फेडोरफले पहिलो पटक खुल्ला रुपमा प्यारासोम्निक सेक्सुअल बिहेवियरबारे कुरा गरेका थिए ।

जून २००३ मा क्यानडा युनिभर्सिटीको स्लिप अलर्टनेस डिपार्टमेन्टका डा. कलिन एम शापिरो र उनका साथीले पहिलो पटक सेकससोम्निया शब्दको प्रयोग गरे ।

सन् २००५ मा यो घटनासँग जोडिएको पहिलो न्यायिक केस घटित भयो । टोरोन्टोको अदालतले बलात्कारका आरोपीलाई सेक्ससोम्नियाको आधारमा रिहा गरेको थियो ।

मे सन् २०१३ मा पहिलो पटक यसलाई एउटा रोगको श्रेणीमा राखियो । सन् २०१४ मा यसलाई निद्राको विकारको श्रेणीमा समावेश गरियो ।

सन् २०१५ मा सेक्ससोम्नियाका ९४ केस सार्वजनिक भएका थिए जुन अमेरिका, स्पेन, होल्याण्ड, एटली, फ्रान्स, टर्की, अष्टेलिया, ब्राजिल र ब्रिटेनका थिए ।

सेकससोम्निया का बिरामीको उपचार गर्ने चिकित्सकहरूका अनुसार

यदि कुनै व्यक्तिमा यी लक्षण देखिए उनीहरु सेक्ससोम्नियाबाट पीडित हुन सक्छन् । जस्तै :

 – सुतिरहेका पार्टनरलाई अचानक यौनसम्पर्क गर्ने प्रयास गर्नु ।

– सेक्स वा अन्य कुनै पनि यौन क्रियाकलापको समयमा पूर्णतया भावशून्य रहनु ।

– असामान्य यौन प्रतिक्रिया वा अधिक आक्रामक हुनु ।

– निद्राबाट ब्यूँझँदा घटनाबारे केही याद नहुनु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप