बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

करिष्माले फेरि अपलोड गरिन् निहारिका र शिवराजको अंतरंग तस्बिर

मङ्गलबार, २९ कात्तिक २०७९, १४ : ५९
मङ्गलबार, २९ कात्तिक २०७९

नायिका करिष्मा मानन्धरले पुनः एकपटक निहारिका राजपुत र शिवराज श्रेष्ठको अंतरंग तस्बिर सेयर गरेकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा मानन्धरले निहारिका र शिवराजको संयुक्त फोटो कभर फोटो र न्युज फिडमा पोष्ट गरेकी हुन् । 

उनले ती तस्बिर पोस्ट गर्दा थुप्रैले किन यस्तो गर्नुभएको भनेर प्रश्न पनि गरेका छन् ।  यद्यपि, उनले अपलोड गरिएका ती दुबै फोटो अहिले हटाइसकेकी छिन् । 

आफूलाई कुमारी आमा भनेर चिनाउने सोनाली कुमारी सिंह उर्फ निहारिका राजपुतले आफ्ना तत्कालीन प्रेमी शिवराज श्रेष्ठविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालय धनुषामा दिएको जाहेरीपछि धनुषा प्रहरीले श्रेष्ठविरुद्ध धनुषा जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । 

धनुषा जिल्ला अदालतले बलात्कारको मुद्दामा ‘प्रतिवादी र जाहेरीवाली तथा उनीबाट जायजन्म भएको बालकको सम्बन्धमा छुट्टै कानुनद्वारा सम्बोधन हुने नै हुँदा बोलिरहनु परेन’ भन्दै बलात्कारको मुद्दामा शिवराजलाई सफाई दिएको थियो । त्यसपछि उनी विभिन्न स्थान र समयमा अनसन बस्दै राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयाससमेत गरेकी थिइन् । बलात्कारीलाई सजायको मागदावी गर्दै उनले जिल्ला अदालतको फैसला उल्टिनुपर्ने दबाव दिइरहेकी छिन् ।

बलात्कारको मुद्दाबाट सफाई दिने धनुषा जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिल पुनरावेदनको मुद्दा लिएर उच्च अदालत जनकपुर गएको थियो । उच्च अदालतबाट शिवराज र निहारिकाबाट जायजन्म भएको बालकको डिएनए टेष्ट गराउने आदेश भएको थियो । 

उच्च अदालत जनकपुरका रजिष्ट्रारका अनुसार डिएनए म्याचिङ भइसकेको छ । डिएनए म्याचिङ भएपनि बलात्कारबाट बालकको जायजन्म भएको हो कि सहमतिको सम्बन्धपछि बालकको जन्म भएको हो भन्ने कुराको फैसला भने अदालतले गर्नेछ । 

निहारिकाले धनुषा प्रहरीमा बलात्कारको जाहेरी दिनुभन्दा पहिले नै जिल्ला प्रहरी कार्यालय धनुषामा शिवराज आफ्नो श्रीमान रहेको भन्दै शिवराजकै घरमा गएर बस्न पाउनुपर्ने र खान लाउन दिनुपर्ने माग गर्दै निवेदन दिएकी थिइन् । त्यसैगरी उनले महिला आयोगमा समेत निवेदन दिएर शिवराज आफ्नो श्रीमान रहेको तर उनले नहेरेको भन्दै उनीसँगै बस्ने र खान लाउन पाउने व्यवस्था गरिदिन आग्रह गरेकी थिइन् । तर शिवराज र उनको परिवारले अस्वीकार गरेपछि उनले शिवराजविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् ।

जाहेरीमा शिवराजले नशालु पदार्थ खुवाएर आफुमाथि बलात्कार गरेको आरोप लगाएकी छिन् । यद्यपि निहारिका र शिवराज श्रेष्ठ प्रेम सम्बन्धमा रहेको र तत्कालीन समयमा दुवै जनाको उमेर पुगेको तथ्य रातोपाटीले प्रकाशन गरिसकेको छ । 

निहारिका अनसनमा बसेपछि नायिका मानन्धरले उनलाई आफ्नै घरमा आश्रय दिएकी थिइन् । तर पछि निहारिकाको विषयमा आफ्नो बुझाई गलत भएको र आरोपमा सत्यता नरहेको भन्दै मानन्धरले निहारिका र शिवराजका केही प्रेमिल तस्वीरहरु साझा गरेकी थिइन् । त्यसपछि निहारिकाले आपत्ति जनाउँदै मानन्धरको घरबाट निस्किएकी थिइन् । 

सामाजिक सञ्जालमा मानन्धरको चर्को आलोचना भएपछि मानन्धरले ती तस्वीरहरु पछि डिलिट गरेकी थिइन् । मंगलबार अपरान्ह २ः१५ बजे मानन्धरले फेरि पनि निहारिका र शिवराजका केही निजी तस्बिरहरु साझा गरेकी छिन् । उच्च अदालतमा बलात्कारको मुद्दामा सुनुवाइको दिन नजिकिँदै गर्दा मानन्धरले उनीहरु प्रेम सम्बन्धमा रहेको तथ्य र प्रमाण देखिने गरी केही तस्वीर साझा गरेकी हुन् । 

एक तस्बिरमा शिवराज निदाइरहेको समयमा निहारिकाले मुस्कानसहितको सेल्फी खिचेकी छिन् भने दोस्रो तस्बिरमा पनि निहारिकाले शिवराजसँगको सेल्फी खिचेको तस्बिर राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप