शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भोट माग्नेमाथि भारी परेका थापाजीका ३ यक्ष प्रश्न

मङ्गलबार, २९ कात्तिक २०७९, १९ : ४७
मङ्गलबार, २९ कात्तिक २०७९

गत मंगलबार सहकर्मी सुवास श्रेष्ठसँग तनहुँको स्थलगत रिपोर्टिङ सकेर लमजुङ उक्लियौँ । दमौलीबाट डुम्रे आएर बेसीशहरतिर मोडिएको हाम्रो बिहानी यात्रा रोचक, कष्टकर र चुनौतीपूर्ण पनि थियो । 

कात्तिक महिना भए पनि बाटो छोप्ने गरी हुस्सु झरेको थियो । तर त्यत्ति शीत पनि थिएन, जसले हाम्रो ज्याकेट निथ्रुक्कै भिजाओस् । 

डुम्रेबाट अलि माथि डाँडामा पुगेपछि बाटो पनि सोध्ने र चिया पनि खाने भन्दै सहकर्मी सुवासजीले मोटरसाइकल छेउ लगाए । र, छिर्‍यौँ नजिकैको एक चियाखाजा घरमा ।

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको दमौली बजारस्थित घरमा खाएको चियाले डुम्रे आइपुग्नु अघि नै छोडिसकेको थियो । विहानको ७ बजेअघि नै पौडेलसँग लिएको भिडियो अन्तरवार्ता छिट्टै कार्यालयमा पठाउन पाए हुन्थ्यो भन्ने हुटहुटीले हामी दुबैलाई पिरोलेको थियो । किनकि छिट्टै पठाउन पाए भिडियो एडिटिङ हुँदै गर्‍थ्यो र टेक्स्ट पठाउने बित्तिकै भिडियोसहित अन्तरवार्ता हाल्न पाइन्थ्यो । 

चिया खान छिरेको होटलमा वाइफाइ रहेछ । राम्रै चल्दो पनि रहेछ । अनि त, क्यामेराबाट भिडियो डाउनलोड गरी एडिटिङको लागि रातोपाटीको केन्द्रीय कार्यालय पठाइ हालियो । 

‘भिडियो पनि गयो, मनमा सन्तोक लाग्यो । अब बेसीशहर कसरी पुग्ने भन्ने चिन्ता मात्रै रह्यो,’ सुवासजीले यसो भन्दै गर्दा होटलवालीले चनाको प्लेट ल्याएर हाम्रो टेबुलमा राखिदिइन् । ‘भिजाएको चना छ, फ्राई गर्न केही समय लाग्छ है’ भनेर होटलवालाले भनेकाले त्यति चाँडै चना आइपुग्छ भन्ने हामीलाई लागेकै थिएन । 

होटलको विल तिर्ने बेलामा रमाइलो भयो । कति भयो भनेर सोध्दा होटलवालीले ४५० रुपैयाँ भनिन् । दुई प्लेट चना, दुइटा अम्लेट र २ कप चियाको त्यति हुन्छ जस्तो लागेन । अनि विल बनाउन भन्यौँ । विल छैन भनिन् । मोबाइलको क्यालकुलेटर निकालेर हिसाब सोध्न थाल्यौँ । उनले हिसाब सुनाउनुको साटो बाहिर कतै निस्किएका सायद श्रीमान्लाई फोन लगाइन् । र, हाँस्दै भनिन्– मैले त ४५० भन्ने सुनेको, होइन रहेछ, २५० भयो रे । 

‘दिनुस् सर, जाम,’ धेरै नबोल्ने स्वभावको सुवासजीले पैसा तिरेर हिँडिहाल्ने मनसाय व्यक्त गरे । लाग्यौँ बेसीशहरतिर ।

अलि पर पुगेपछि बाटोमुनि धान ढलेको खेत भेटियो । ‘नेतालाई भोट र किसानलाई धान भित्र्याउने चटारो भन्ने थिममा फोटो फिचर गर्ने त ?’ भनेर कुरा गर्‍यौँ । हुन्छ भन्ने भयो । मोटरसाइकल रोकेर सुवासजी क्यामेरा सोझ्याउन थाले धानखेततिर । केही शट फोटो खिचेपछि भने ‘जाम, यो फोटोको काम छैन ।’

‘किन ? के भयो र ?’ मैले सोधें ।

‘धानखेत पनि थोरै छ, फेरि बिजुलीको तारले फोटो पनि राम्रो आएन’ सुवासजीले कारण खोले । बढियो बेसीशहरतिर । म पनि मनमनै गमें, चुनावको समाचार पढ्न छाडेर धानको समाचारको शेयर के पो बढ्ला र ।

जाडो, धुलो, थकाई र अलिअलि भोक पनि । अलि पर पुगेपछि फेरि बसियो चिया खान । बाटो मुनितिरको एउटा होटल । होटल पनि खासमा दारु र सेकुवा मात्रै पाइने खालको रहेछ । कालो चिया पाइन्छ होला भन्ने लागेर मोटरसाइकल रोक्यौँ । त्यो ठाउँलाई रामादी भनिदो रहेछ ।

‘कालो चिया पाइन्छ दाइ ?’ होटलवालालाई सोध्यौँ । 

फरासिलो स्वभावका रहेछन् होटलवाला । ‘कालो, सेतो, चिसो जस्तो पनि चिया पाइन्छ यहाँ’ उनले भने । हामी भने होटल नछिरी नजिकैको बेन्चमा घाम ताप्दै बस्यौँ । 

हामी होटलेसँग गफिँदै गयौँ । र, हामी रिपोर्टिङमा हिँडेको मुख्य विषय चुनावकै बारेमा कुरा झिक्यौँ । 

‘जाँड बेचेर बस्नेलाई कसले चुनाव जित्छ भन्ने कहाँ थाहा हुन्छ र ?’ लमजुङमा कुन पार्टीले चुनाव जित्ला भन्ने प्रश्नमा होटलवालाले मुखभरिको जवाफ फर्काए हामीलाई । तर, हामी पनि उनको यो जवाफले चुप लाग्नेवाला थिएनौँ । र, सोध्यौँ– तपाईंकोमा दारु खान आउनेले कसले जित्छ भन्छन् भनेर सोधेको नि दाइ !

‘पोहोर परारको जस्तो दारु खाँदै चुनावको कुरा गर्नेहरू आएका छैनन् है मेरोमा अझै । अघिल्ला चुनावहरूमा भने यो बेलासम्म मेरोमा बियर र सेकुवा धेरै गइसकेको हुन्थ्यो । कुरा पनि चुनावका मात्रै हुन्थे । रक्सी खाएको बेलामा मान्छेले सही कुरा बोल्छ । त्यसैले कसको पक्षमा माहौल छ भन्ने पनि थाहा हुन्थ्यो,’ उनी थप खुल्न थाले ।

‘तपाईंसँग चुनावका बारेमा केही कुरा गर्न खोजेको दाइ,’ मैले ज्याकेटको खल्तीबाट सानो स्पाइरल प्याड निकाल्दै भनेँ । उनले ‘हुन्छ’ भनेपछि सुवासजीले क्यामेरा झिके । मैले परिचय मागेँ ।

‘मेरो नाम रिखिराम थापा हो, खरायोको ख है, स नलेखिदिनु होला,’ नेपाली विषयका शिक्षकले जस्तै गरी उनको नाम लेख्न सिकाए ।

‘अनि, कसलाई हाल्नु हुन्छ भोट ?’ हामीले सोध्यौँ । 

‘पोहोर परार हो भने तपाईंलाई म यो प्रश्नको जवाफ दिने थिइनँ, यसपालि भने दिन्छु, मेरो घरमा ५ भोट छ, हामी एकै ठाउँमा हाल्छौँ तर, कसलाई हाल्ने भन्ने ठेगान भएको छैन, मेरा ३ वटा प्रश्न छन्, ती प्रश्नको सही जवाफ जसले दिन्छ, हाम्रो परिवारको भोट उसैलाई,’ थापाले हाजिरी जवाफ शैलीमा भने ।

के हुन् त उनका ती ३ वटा प्रश्न ? हामीले जान्ने प्रयास गर्‍यौँ । 

उनले विद्यार्थीलाई प्रश्न टिपाए झैँ भने– ल टिप्नुस् न त मेरा प्रश्न ।

उनको पहिलो प्रश्न रहेछ– तिम्रा घर तकको बाटो (घरसम्म जाने बाटो) पिच गर्ने कि नगर्ने । दोस्रो प्रश्न– आफन्त र नातागोतालाई जागिर लगाउने कि नलगाउने । र, तेस्रो प्रश्न– चुनावपछि भेट्दा चिन्दिनँ भन्ने कि नभन्ने ?

यो त कुन गाह्रो प्रश्न भयो र ? 

‘प्रश्न गाह्रो छैन, उत्तर सही दिनु पर्‍यो नि,’ उनले सही बोल्नेलाई नै भोट हाल्ने बताए ।

हामी थापासँग गफिँदै चिया खाँदै गर्दा पार्टीको झण्डा राखेको गाडीसहित माइकिङ गर्दै एक टोली भोट माग्न नजिकै आइपुग्यो । त्यस टोलीबाट ३ जना कार्यकर्ता थापासँग भोट माग्न होटलमा आए । एक जना फोनमा व्यस्त हुँदै थिए । 

नभन्दै थापाले भोट माग्न आउनेहरूलाई आफूसँग केही प्रश्न भएको र त्यसको सही जवाफ दिनेलाई मात्रै भोट दिने सुनाए । भोट माग्न आउनेले उनलाई प्रश्न सुनाउन भने । थापाले अघि हामीलाई भनेकै तीनवटा प्रश्न सोधे । 

‘दाइ, तपाईंले कसैलाई भोट त हाल्नैपर्छ, तपाईंले प्रश्न सोधेर जवाफ दिए पनि त्यो वाचा पूरा गर्ने होइनन्, किन बेकारको प्रश्न सोधेर उम्मेदवारलाई दिक्क पार्नु हुन्छ ?’ भोट माग्न आउनेले थापालाई जवाफ फर्काए । 

थापा भोट माग्न आउनेसँग उनका प्रश्नको जवाफ उम्मेदवारसँग सोधिदिन भनिरहेका थिए । भोट माग्न आउनेहरू प्रश्न सोधेर केही नहुने भनेर थापालाई नै सम्झाउन खोज्दै थिए । थापा आफ्नो कुरामा अडिग भए । भोट माग्न आउनेहरू झण्डा हल्लाउँदै अलि अलि गर्दै थापाबाट तर्किए । हामी भने चियाको पैसा तिरेर हुइँकियौँ बेसीशहरतिर ।

....

खै, मौन अवधिअघि मङ्सिर १ गतेसम्म थापाजीका यी यक्ष प्रश्नको जवाफ कुनै उम्मेदवारले दिइ पो हाल्छन् कि !?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिव सत्याल
शिव सत्याल
लेखकबाट थप