बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

धरानमा स्वतन्त्रकै रवाफ !

‘हर्क साम्पाङ डक्ट्रिन’को प्रभाव कति ?
बुधबार, ३० कात्तिक २०७९, १४ : २१
बुधबार, ३० कात्तिक २०७९

प्रतिनिधिसभा सदस्यका लागि सुनसरी–१ बाट स्वतन्त्र रूपमा उम्मेदवार रहेका मनोज कुमार मेयाङ्बो आइतबार बिहान धरानको निराजन बस्तीमा चुनावी प्रचारप्रसार अभियानमा थिए । उनको चुनावीसभामा सम्बोधन गर्न धरान– १४, विजयपुरका कांग्रेस कार्यकर्ता प्रेमप्रसाद पराजुलीलाई निम्त्याइयो । उनले ‘जय–नेपाल’ अभिवादन टक्र्याउँदै भाषण सुरु गरे । भाषणमा उनले दलहरुप्रतिको वितृष्णा व्यक्त गरेका थिए । 

रातोपाटीसँगको कुराकानीमा उनले दलहरु सुध्रिनुपर्ने बेला आएको बताए । ‘पार्टीहरु कमजोर भएर स्वतन्त्र उम्मेदवार बढेका होइनन् । गलत के भयो भने, नदी तर्न पुल बनाइएको छ, पुलबाट चोर–डाँका हिँडे । उनीहरुलाई रोक्ने अभियानस्वरुप यतिखेर स्वतन्त्रहरु आउनु दलीय लोकतन्त्रमा एक किसिमको दुर्भाग्य हो । विकल्पमै जाँदा, स्वतन्त्रमध्ये पनि उत्कृष्ट को छन् भनेर छान्नुपर्ने हुन्छ,’ ५५ वर्षीय पराजुलीले भने, ‘म अहिले पनि कांग्रेस कार्यकर्ता हुँ । हिजो मैले मनोज मेयाङ्बोका गल्ती केही भेट्छु कि भनेर कुद्थेँ । आज मलाई लाग्यो– उहाँ इमानदार व्यक्ति हो । उहाँ मेयर हुँदा धरानले विकासको नयाँ मोडल पायो । उहाँले जनता र सरकार मिलेर साझेदारीमा काम गर्ने मोडलको सुरुवात गर्नुभएको थियो ।’

उदाहरणका रुपमा उनले रोड बनाउँदा ६० प्रतिशत नगरपालिकाले र ४० प्रतिशत जनताले पैसा हाल्नुपर्ने अवधारणा स्मरण गराए । अनि भने, ‘यो अवधारणा आज राज्यले नै लिएको छ, धरानवासी भएकाले म यस कुरामा गर्व गर्छु । तर, यस्तो व्यक्तिले आज पार्टीबाट टिकट पाउनुभएन ।’

दलहरुलाई सुधार्ने अभियान अन्तर्गत स्वतन्त्र उम्मेदवारमध्ये ठीक लागेका मेयाङ्बोलाई आफूले सहयोग गरेको र आफ्नो पार्टीले आफूलाई कारबाही गरे पनि देशमा बढिरहेको गलत प्रवृत्तिको विरोध गरिरहने पराजुली बताउँछन् । गठबन्धनका नाममा यहाँ कांग्रेस कार्यकर्ताले आफ्नो पार्टीलाई भोट दिन नपाएको गुनासो पनि उनको थियो ।

अघिल्लोपटक यहाँ कांग्रेसको समर्थनमा संघीय समाजवादी फोरमबाट अशोक राई उम्मेदवार थिए । यसपालि एमाले–जसपा तालमेलबाट जसपाका संघीय परिषद् अध्यक्ष अशोक राई चुनावी मैदानमा छन् । एउटै व्यक्ति फरक–फरक गठबन्धनबाट चुनावमा आउनुलाई पनि पराजुली गलत प्रवृत्ति बताउँछन् । ‘भजन जो गाउँछ, जसको गोजीमा पैसा छ, उसले टिकट पाउने प्रवृत्ति पार्टीहरुमा देखियो, यसको अन्त्य हुनुपर्छ,’ उनले भने ।

रातोपाटीसँगको कुराकानीमा स्वतन्त्र उम्मेदवार मेयाङ्बोले आफ्नो नेता चुन्ने अधिकार धराने जनतासँग नरहेपछि आफूले उम्मेदवारी दिएको बताए । ‘हाम्रा अनुनय, विनय, अपिलहरु दलहरुबाट सुनुवाइ भएन,’ उनले भने, ‘धरानको विकासका सम्बन्धमा हाम्रो मागलाई न कांग्रेसले सुन्यो, न त एमालेले । अहिले यस्तो अवस्था आयो कि हामीले भोट हाल्ने नेता पनि उहाँहरुले पठाइदिन थाल्नुभयो । यो अवस्थामा विद्रोहको खाँचो देखियो । जसको नेतृत्व मैले लिएको हुँ ।’

अहिले यस क्षेत्रबाट दलका तर्फबाट उम्मेदवार रहेकालाई उनले ‘टुरिस्ट उम्मेदवार’को संज्ञा दिए । आफू टिकटको आकांक्षी नरहेको, आफूहरुले पार्टीकी जयकुमार राई (पूर्व सांसद्)लाई सिफारिस गरेको तर पार्टीले आफूखुसी गरेपछि आफूले विद्रोहको कदम चालेको उनको भनाइ छ ।  

धरानमा केही स्थानीयसँग कुरा गर्दा दलहरुप्रतिको वितृष्णा देखिन्थ्यो । अधिकांशले दलहरुको विरोध त गर्थे, तर नाम भन्न चाहँदैनथे । यस सम्बन्धमा एक कांग्रेस कार्यकर्ताले हामीलाई भने– यहाँका जनताले एउटा पार्टीमा आस्था राख्छन्, किनभने वडा कार्यालयबाट सानो काम बनाउन पार्टी समाउनुपर्ने हुन्छ ।

तर त्यस पार्टीले काम नगरेकामा उनीहरु रुष्ट छन् । त्यसैले उनीहरुले भोट कसलाई हाल्छन् भन्ने यसै भन्न सकिँदैन । धरानमा हर्क साम्पाङले एउटा ‘ह्विम’ अझ भनौँ बोली अनुसार काम गर्ने ‘डक्ट्रिन’ (सिद्धान्त) नै स्थापित गरेको बुझिन्छ । वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र तर्फका हर्क साम्पाङ निर्वाचित भएसँगै धरानमा दलगत राजनीति कमजोर भएको आकलन गर्न थालिएको छ । चुनाव जित्न दलकै नेता हुन नपर्ने, बरु प्रतिबद्ध व्यक्ति हुनुपर्ने सन्देश यसपालिको स्थानीय निर्वाचनमा धराने जनताले दिए । एउटा टेम्पोमा माइक बोकेर चोकचोकमा गएर हर्कले एकोहोरो कराएका थिए, ‘नेताहरुले काम गरेनन्, म गर्छु, मैले सक्छु । मैले पानी ल्याउँछु, इत्यादि ।’

त्यतिबेला धराने जनता हर्कको चुनावी भाषण सुन्न चोकसम्म निस्केका थिएनन् । उनीहरुले घर–पसल, बाटोघाटोबाटै हर्कलाई सुनेका थिए । रेस्टुरेन्ट गई सुरुमा मेनु हेरेर बहस गर्ने र अन्ततः मःमः रोज्ने नेपाली प्रवृत्ति धराने जनताले यसपालिको स्थानीय चुनावमा देखाएनन् । उनीहरुले ‘धराने कालो सुँगुरको सेकुवा’ नै रोजे, अर्थात् उनीहरुले माटोको सुगन्ध भएको ‘बोली’ रोजे ।

घामजत्तिकै छर्लंग देखिँदै छ, हर्क यतिखेर आफ्नो हिजोको ‘बोली’लाई ‘व्यवहार’मा बदल्न खटेका छन् । आइतबार रातोपाटी टिम धरानमै थियो । रातोपाटी स्थानीय संवाददाता अर्जुन आचार्यले भने, ‘मेयरलाई भेट्ने त ?’ तर, हर्कले समय निकाल्न सकेनन् ।

यतिखेर, प्रतिनिधिसभा सदस्यका लागि सुनसरी क्षेत्र १ को चुनावी भिडन्त रोचक देखिन्छ । यस क्षेत्रबाट ०७४ को निर्वाचनमा माओवादीसहितको वामगठबन्धनका तर्फबाट जयकुमार राई निर्वाचित भएका थिए । यसपालि पार्टी (एमाले)ले स्थानीय नेताको भावनालाई लत्याउँदै उम्मेदवार पठाएको बताउँदै पूर्वनगरप्रमुख मनोज मेयाङ्बोले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । उनीसँगै यस क्षेत्रमा ११ स्वतन्त्र उम्मेदवार छन् । धराने जनताका लागि परिचित अनुहार मनोजको स्वतन्त्र उम्मेदवारीलाई यसपालि महत्त्वपूर्ण रुपमा हेरिएको छ ।

उसो त धरानमा दलगत उम्मेदवारको चुनावी प्रचार कमजोर देखिँदैन । आइतबार बिहान सत्तारुढ गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका मुक्सामहाङ सुब्बा धरान–५, बाँझोगरामा चुनावी प्रचार अभियानमा थिए । रातोपाटीसँग संक्षिप्त कुरा गर्दै उनले भने, ‘यहाँ हाम्रा लागि असाध्यै सकारात्मक माहोल छ । दलगत रुपमा हेर्दा मेरो प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार होइन, अशोक राई नै हुनुहुन्छ । संसदीय निर्वाचनपछि बहुमतको सरकार बन्ने हो । त्यसो हुँदा दलहरुको महत्त्व छ । स्थानीय चुनाव र संसदीय चुनावमा फरक हो । एउटा स्वतन्त्र उम्मेदवारलाई जिताएर पठाउँदा के हुन्छ भन्नेमा जनता सचेत छन् ।’

आइतबार बिहान नै अशोक राई धरान–१५, बगरचोकमा घरदैलोमा थिए । उनका कार्यकर्ताको क्षेत्र परेर हो कि ! उनलाई केहीबेर पछ्याउँदा हामीले देख्यौँ– घर–घरमा पुगेका उनलाई कतिपयले माला लगाइदिएर विजयको शुभकामना दिएका थिए । उनलाई समर्थन गर्ने पार्टी एमालेबाटै विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका मनोज मेयाङ्बो उनलाई भारी बन्लान् त ? रातोपाटीसँग राईले भने, ‘व्यक्ति एउटा कुरा भयो, पार्टी परित्याग गरी उहाँ (मनोज) उठेकामा मैले अन्यथा लिएको छैन ।’ हामीसँगको कुराकानीमा उनले मेयर हर्क साम्पाङको मेहनतको पनि चर्चा गरे ।

दलप्रतिको वितृष्णाका कारण धराने जनताले स्वतन्त्र खोजेका हुन् वा ‘हर्क साम्पाङ डक्ट्रिन’ ? यो भने  यसपालिको निर्वाचनपछि पुष्टि हुने देखिन्छ ।

को हुन् मनोज मेयाङ्बो ?

५७ वर्षीय मनोज मेयाङ्बो धरानका पूर्व मेयर हुन् । उनी २०४९ सालमा उपमेयर बनेका उनी २०५४ सालमा मेयरमा विजयी भए । २०४० सालदेखि नै बहुदलीय व्यवस्था ल्याउन जनपक्षीय विद्यार्थी आन्दोलनमा लागेका मेयाङ्बो २०४४ सालमा केही दिन बन्दी जीवन समेत बिताएका थिए । उनी धरानकै महेन्द्र बहुमुखी क्याम्पसमा पढ्दा पञ्चायतविरोधी आन्दोलनमा लागेका थिए ।

त्यसपछि पहिलो संविधानसभाको निर्वाचनमा सुनसरी १ बाट एमालेका उम्मेदवार बनेका मेयाङ्बो माओवादीका उम्मेदवार किरण राईसँग पराजित भएका थिए । त्यसपछि धरानको विभिन्न सामाजिक विषयमा आवाज उठाउँदै उनी ५ वर्षसम्म नागरिक समाजको अध्यक्ष भएर नागरिक आन्दोलनमा सक्रिय रहे ।

राजनीतिक चेतनाको विकास भएपछि वाम आन्दोलन र नागरिक आन्दोलनमा लागेका उनी पछिल्लो समय नेकपा एमालेको प्रदेश समिति सचिवालय सदस्य थिए । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा मेयाङ्बो धरान उपमहानगर प्रमुखको आकांक्षीसमेत थिए ।  

सुनसरी–१ मा कुन दलको मत कति ? ​

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सुनसरी–१ मा धरान उपमहानगरपालिका, रामधुनी नगरपालिकाको वडा नम्बर ६, ७, बराह नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५ पर्दछ । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा यो क्षेत्र अन्तर्गतको वडामा एमालेले ३३ हजार ४५३, कांग्रेसले २६ हजार ६६४, माओवादीले ७ हजार १८, राप्रपाले ४ हजार ७४ मत पाएको छ ।

यस आधारमा कांग्रेस र माओवादी केन्द्रको मत मिसाउँदा एमालेसँग कडा प्रतिस्पर्धा हुने देखिन्छ । तर, यो क्षेत्रको सबैभन्दा धेरै मतदाता रहेको धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी भएका कारण आसन्न निर्वाचनमा दलगत मतको आकलन उल्टिन सक्ने सम्भावनालाई पनि नकार्न सकिँदैन । हर्क साम्पाङलाई मत दिएका मतदाताको मनस्थिति के छ र संघीय निर्वाचनमा हर्क साम्पाङका समर्थकले कसलाई समर्थन जनाउँछन् भन्ने विषयले पनि सुनसरी–१ को निर्वाचन परिणामलाई धेरै हदसम्म प्रभाव पार्न सक्ने देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप