बुधबार, ०५ असार २०८१
ताजा लोकप्रिय

सबैजसो चुनावमा भोट बैंकमा सीमित सुर्खेतका थारू समुदाय !

बिहीबार, ०१ मङ्सिर २०७९, २० : २३
बिहीबार, ०१ मङ्सिर २०७९

आइतबार हुने आम निर्वाचनले यतिबेला गाउँ बस्तीहरु चुनावमय बनेका छन् । सुर्खेत उपत्यकाको मुख्य आदिबासी थारू समुदायमा भने चुनावको रौनकताले छुन सकेको छैन । 

झुरुप्प बस्ती । मान्छेहरु आ–आफ्नै धुनमा, न कसैको बारेमा कसैलाई चासो, न त चुनावबारे मतलव नै । बुधबार बिहान ११ बजे वीरेन्द्रनगर–१० नयाँगाउँमा पुग्दा च्यारे थरुनी (६८) भैँसीलाई कुँडो खुवाउँदै थिइन् । लगत्तै बाटामा लसुनको बीउ, बोतलमा पानी बोकेर बारीमा जान तरखरमा रहेकी उनलाई चुनाव र उम्मेदवारबारे कुनै चासो थिएन । ‘भोट हाल्न थालेको वर्षौं भइसक्यो, हामीलाई कसले के दिन्छ र ?’ हाम्रो प्रश्नमा उल्टै प्रतिप्रश्न गरिन् उनले ।

नेताहरु बस्तीमा आएन आएकोबारे उनलाई कुनै चासो छैन । घरधन्दा, खेतबारीमा व्यस्त उनलाई कुन दलबाट को नेता उम्मेदवार छ भन्ने समेत जानकारी रहेनछ । ‘अझैसम्म भोट कसलाई हाल्ने थाहा छैन, तर भोट त हाल्छु नि,’ मुस्कुराउँदै उनले भनिन् । उनी जस्तै थारू समुदायका अधिकांश मतदाता यतिबेला घर भन्दा बढी खेतबारीमा भेटिन्छन् । धेरैजसो धान व्यवस्थापनमा व्यस्त देखिन्छन् । सम्झना चौधरी (२९) स्थानीय तहको चुनावमा झैं उम्मेदवारहरु बस्तीमा नआएको बताउँछिन् । ‘यो समय हाम्रो रित्तो भकारी भर्ने समय हो,’उनी भन्छिन्, ‘बूढाबूढी मात्रै होइन, थारू समुदायका युवालाई पनि चुनावबारे मतलव नै छैन ।’ 

स्थानीय विमल चौधरी (२८) पनि खेतमा जान हतारमा देखिन्थे । हामीले चुनावबारे सोध्दा उनले भने,‘हामीलाई जो–सुकैले जितेपनि फरक पर्दैन, हाम्रो समुदायको लागि सोच्ने कसैले होइन क्या रे..?’ विमलले भनेजस्तै सुर्खेतमा थारू समुदाय दशकौँदेखि ‘भोट बैंक’ को रुपमा प्रयोग हुँदै आएको छ । स्थानीय बुद्धिराम थारू (४०) घरनजिकैको खेतबारीमा परिवारसहित धान व्यवस्थापनमा व्यस्त थिए । चुनावबारे अनभिज्ञ उनी चुनावताका नेताहरु फाट्ट–फुट्ट बस्तीमा आउने गरेपनि चुनावपछि भने कहिल्यै फर्केर नआउने गरेको दुःखेसो पोख्छन् । उनी थप्छन्,‘ हाम्रो समुदायबाट कुनै नेतै छैन, के गर्नु सधैँ अरुलाई मात्र भोट हालिन्छ ।’

वीरेन्द्रनगर–९, कालीमाटी गाउँकी काली थरूनी(७३) ले भोट हाल्न थालेको पञ्कालदेखि नै हो । यो पटक पकुन दललाई भोट दिने भन्नेबारे कुनै जानकारी छैन उनलाई । उनले भनिन्,‘हामीलाई कसैको आशा पनि छैन, भर पनि छैन, हामी त काम अरी खान्या मान्छे हौँ । अधिया लगेर गरेको खेतीबाट नै छाक टार्नुपर्ने वाध्यता छ ।’ कालिमाटी टोलका आशाराम थारू (७०) देशमा जतिसुकै राजनीतिक परिवर्तन आएपनि थारू समुदायको अबस्थामा खासै फरक नआएको बताउँछन् ।  नीति, निर्माण तहमा उपस्थिति नहुँदा सामाजिक, शैक्षिक, सांस्कृतिक, आर्थिक र राजनीतिक रुपमा थारू समुदाय कमजोर छ । 
थारुहरु सबै प्रायः अधिया लगेर परम्परागत खेती कृषिमा निर्भर छन् । झण्डै ४ हजार बढी मतदाता रहेको यो समुदाय अझै पनि राजनीतिक रुपमा पछि छ ।  

राजनीतिक संरचनामा शुन्य प्रतिनिधित्व 


त्यसो त थारु समुदायका अगुवाहरु राजनीतिक रुपमा अग्रसर नभएका होइनन् । तरपनि अग्रणी भूमिकामा थारूहरुको उपस्थिती शुन्य जस्तै छ । थारू समुदायका अनुसन्धानकर्ता एवं ‘हाम्रो थारू समाज र संस्कृति’ पुस्तकका लेखक मानबहादुर चौधरी ‘पन्ना’का अनुसार पञ्चायत कालदेखि अहिलेसम्म पनि थारू समुदायले आफ्नो प्रतिनिधि प्राप्त गर्न सकेनन्  । पञ्चायतकालमा एक जना मात्रै उप–प्रधान बनेका थिए । संघीयतापछिका दुई वटा स्थानीय चुनावमा भने वडा सदस्यसम्म थारूको प्रतिनिधित्व भएको  छ ।

०७४ सालको स्थानीय तह निर्वाचनमा वडा नम्बर २ मा सरिता चौधरी र १० बाट सुनिता चौधरी वडा सदस्य पदमा निर्वाचित भएका थिए । गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा पुनः वडा नम्बर २ बाट सरिता चौधरी, रमेश चौधरी, ९ बाट मानबहादुर चौधरी र १० बाट लक्ष्मी चौधरी गरी चार जना वडा सदस्य पदमा निर्वाचित भए । जसमा सरिता र लक्ष्मी नगर कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् । थारू समुदायबाट जागुराम थारू तत्कालीन जिविसको सदस्य बनेका थिए ।

 

उनीहरुको भनाई अनुसार दलहरुले थारू समुदायलाई मुख्य पद दिन चाहँदैनन् । ‘तुलनात्मक रुपमा अन्य जातिभन्दा थारूहरु सामाजिक, आर्थिक, राजनीतिक तथा धार्मिक दृष्टिले कमजोर छन्,’वडा सदस्य लक्ष्मी चौधरी भन्छिन्,‘एक त हाम्रो समुदायका व्यक्तिहरु नै अग्रसर हुन् चाहन्नन् भने अर्कोतर्फ विगतदेखि नै टाठाबाठाहरुले हाम्रो समुदायलाई कामदारको रुपमा प्रयोग गरे । अझै पनि थारूहरु सोझा हुन्छन्, उनीहरुले जे भन्यो त्यही मानिहाल्छन् भन्ने भान उनीहरुमा छ, त्यसैको उपज हो ।’ राजनीतिक रुपमा पछि परेको यो समुदायले शान्ति प्रक्रियापछि शिक्षाका क्षेत्रमा भने केही रुपमा फड्को मारेको छ ।

अहिलेको चुनावमा यामलाल कँडेलले सार्वजनिक गरेको २८ बुँदे चुनावी प्रतिबद्धतामा थारू समुदायका कुनै एजेण्डा समावेश भएका छैनन् भने थानी, विसी र शाक्यको चुनावी एजेण्डामा पनि थारूको समस्याले स्थान पाएको छैन । 

सुर्खेतमा थारुहरुको इतिहास


६ हजार १ सय ११ जनसंख्या (२,९९९ पुरुष, ३,११२ महिला) रहेको थारू समुदाय सुर्खेत उपत्यकाको सबैभन्दा पुरानो समुदाय हो । जानकारहरुका अनुसार पश्चिम दाङको जगन्नाथपुरीबाट १९५० सालतिर थारू समुदाय सुर्खेत प्रवेश गरेका हुन् । औलो उन्मुलन हुनु भन्दा अघि ०२२ सालसम्म सुर्खेत उपत्यकामा थारू समुदायको बाहुल्य थियो । यस उपत्यकामा लाग्ने औलो, मलेरियासँग संघर्ष गर्दै खेतीयोग्य जमिन बनाउने श्रेय थारू समुदायलाई नै जान्छ ।

नगरपालिकाको वडा नम्बर २ को बिउराघारी, डारागाउँ, फलाटे, ठौरी जयपुरी, जोगीगाउँ, खेतगाउँ, गुप्तीपुर, लौवस्ता, ३ को मुसुरी खेत, पटेनी, तातापानी, ९ को टौरा, ८ को नौलापुर, ९ को जब्दी, तिलपुर, घोघ्रेनी, पाताल गङ्गा, माथिल्लो पर्सेनी, तल्लो पर्सेनी, धरमपुर, १० को बुदबुदी, पदमपुर, भवानीपुर, कुन्ती, पिपिरा, नयाँ गाउँ, पुरानो घुस्रा, मनिकापुर, रहरपुर, नयाँ घुस्रा, १२ को गाग्रेताल, चारकुने, ढोलढुंगा, सुब्बाकुना लगायत थारू बस्तीमा पर्दछन् । यसरी उपत्यकाको रत्न राजमार्ग र जुम्ला रोड हाइवेभन्दा दक्षिणतिर ३६ र राजमार्गको उत्तरतर्फ २ वटा गरी ३८ वटा थारू गाउँ छन् । 

०२२ सालमा तत्कालिन नेपाल सरकारले औलो उन्मुलन ग¥यो । सुर्खेत उपत्यकामा त्यसपछि मात्रै अन्य जातजातिको बाक्लो आवागमन भयो । त्यसअघि यो जिल्लाको सदरमुकाम गोठीकाँडामा रहेको थियो । इतिहास्लाई केलाउने हो भने यहाँको खोरिया फाँडेर खेतीयोग्य जमिन बनाउने र बस्ती बसाउने यहाँका डंगौरा थारू हुन्। तथापि अन्य समुदायको आवागमनले आफूले फाँडेर बनाएको जमिनसमेत गुमाए बाध्य भए  ।

नयाँ गाउँका बुद्धिराम थारू अहिले आफूसँग जमिन नभएको बताउँछन् । अहिले अधिया रोपेर नै उनले परिवार पाल्दै आएको सुनाए । उनका अनुसार टाठाबाठाले थारूका जग्गाजमिन हडप्नाले अहिले कतिपय त भूमिहीन छन् । वडा सदस्य लक्ष्मी चौधरी त्यो बेलामा सोझा थारूको सोझोपनामाथि गैरथारूहरुले रजगज गरेको बताउँछिन् । थारूको परम्परागत खेतीबाहेक अन्य आर्थिक उपार्जनको न कुनै माध्यम छ न रोजगारी । राज्यबाट पाउने अनुदानका कार्यक्रमसमेत थारूको नाममा अरुले नै लैजाउने गरेको बताउँछन्, थारू अगुवा मानबहादुर चौधरी ।

मोहियानी हक लागु हुँदा थारूले आफ्नो पुख्र्योली जमिन गुमाएका छन् । मानबहादुरका अनुसार  गैरथारू जमिन्दारले जग्गा हडप्न नक्कली तमसुक गराउनुका साथै करको त्रास देखाएपछि अधिकाँशको जग्गा गुम्यो । मोहियानी हक लागु हुँदा जग्गाधनी र मोहीबीच बराबर बाँडफाँट भएपनि नक्कली तमसुक गराई अन्य जातिले आफ्नो नाममा गराएको थारूहरुको गुनासो छ । 

बन्दैनन् चुनावी एजेण्डा

 
सुर्खेत उपत्यकाको उर्वर जमिन र यहाँको भौतिक विकासमा थारूहरुले निकै संघर्ष गरेका छन् तर राज्यबाट प्राप्त सेवाबाट थारू वञ्चित छन् । त्यसो हुनुको पछाडि राज्यका प्रमुख निकाय र राजनीतिमा थारूको प्रतिनिधित्व नै नहुनु हो । अहिलको आम निर्वाचनमा थारु बस्ती रहेको क्षेत्रमा प्रतिनिधि सभामा काँग्रेस नेता हृदयराम थानी र एमालेबाट अमृत कुमार विसी उम्मेदवार छन् । यस्तै प्रदेशमा एमाले नेता यामलाल कँडेल र काँग्रेसबाट कालीप्रसाद शाक्य उम्मेदवार छन् । थानी र कँडेल ०४८ सालयताका सबैजसो निर्वाचनमा प्राय भाग लिँदै आएका नेता हुन् । उनीहरुलाई थारू समुदायले पटक–पटक मतदान गर्दै आएपनि चुनावी एजेण्डामा थारूका समस्या भने सम्बोधन नभएको उनीहरुको गुनासो छ ।  

अहिलेको चुनावमा यामलाल कँडेलले सार्वजनिक गरेको २८ बुँदे चुनावी प्रतिबद्धतामा थारू समुदायका कुनै एजेण्डा समावेश भएका छैनन् भने थानी, विसी र शाक्यको चुनावी एजेण्डामा पनि थारूको समस्याले स्थान पाएको छैन । थारू समुदायको प्रमुख समस्याको रुपमा रहँदै आएको ‘सिकलसेस एनिमिया’ रोगबारे तीन तहका सरकार बेखबर बनेका छन् । थारू समुदायको बंशाणुगत रोगका रुपमा परिचित रोगको उपचारका लागि वीरेन्द्रनगरका थारूले नेपालगन्ज जानुपर्ने बाध्यता रहेको थारू अगुवा जागुराम थारू बताउँछन् ।

 

०७८ मा वीरेन्द्रनगर नगरपालिकाको स्वास्थ्य शाखाले थारू समुदायका २० वर्ष मुनिका १३ सय जनाको रक्त नमुना जाँचिएकोमा २६ प्रतिशतमा ‘सिकलसेल एनिमिया’ देखिएको थियो । थारू अगुवा पन्नाले राजधानी वीरेन्द्रनगरमा हुने धेरैजसो कार्यक्रमहरुमा यो रोगबारे प्रश्न उठाउने गरेका छन् । वीरेन्द्रनगरमै रोगको परीक्षण र उपचार गरिने प्रयोगशाला व्यवस्था हुनुपर्ने थारु समुदायको माग छ । यस्तै थारू समुदायको मातृभाषा संरक्षणका लागि पाठ्यक्रम, छुट्टै आरक्षणको व्यवस्थापनका साथै सरकारबाट दिइने अनुदानको व्यवस्था सिधै थारू समुदायका व्यक्तिले प्राप्त गर्न सक्ने नीति बनाइनुपर्ने उनीहरुको माग छ । यसअघि प्रदेश सरकारले थारू सङ्ग्रालय बनाउने पहल थालेको थियो । तर अहिलेसम्म सम्पन्न हुन सकेको छैन । त्यसलाई थप व्यवस्थित बनाउनुपर्ने उनीहरुको माग छ । यसरी थारू समुदायको समस्या उम्मेदवारका एजेण्डा बन्न नसकेको प्रति समुदायको गुनासो छ । थारू अनुसन्धानदाता रुपा चौधरी गैरथारू ‘थारू बाठो हुनु हुँदैन भन्ने मनोविज्ञान’ बाट माथि उठ्न नसकेको दाबी गर्छिन् ।

 

उता काँग्रेस उम्मेदवार थानी भने थारू समुदायको उत्थानका लागि आफू विगतदेखि नै लागिरहेको दाबी गर्छन् । ‘थारूको संघर्ष र बलिदानीबारे मलाई ज्ञान छ,’उनले रातोपाटीसँग भने,‘खानेपानी, सडकको क्षेत्रमा विगतदेखि केही काम भएका छन् । यदि म पुनः निर्वाचित भएमा थारूहरुको जनजीवनलाई सहज बनाउनेतर्फ विशेष पहल गर्ने योजना बनाएको छु ।’ एमाले उम्मेदवार विसीले थारूको संस्कृति र तत्कालीन समस्याबारे आफू चिन्तित रहेको बताए । उनले भने,‘सबै कुरा प्रतिबद्धतामा लेख्नुपर्छ भन्ने छैन, उनीहरुको समस्याबारे म अनभिज्ञ छैन । समुदायको आर्थिक परिवर्तन र रोजगारी सिर्जनाका लागि मेरो ध्यान जानेछ ।’


  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप