बालकथा : मुसा सम्मेलनको नतिजा

person explore access_timeमंसिर २, २०७९ chat_bubble_outline0

योजना बनाउन ठूलो कुरा होइन, सजिलै बनाउन सकिन्छ । यसो गर्ने, त्यसो गर्ने, यसो गर्छौँ त्यसो गर्छौँ, यसरी गर्ने त्यसरी गर्ने भने भइहाल्यो तर कार्यान्वयन भने ठूलो कुरा हो । यसलाई भनेकै भरमा न सजिलै गर्न सकिन्छ । न गर्छु भनेकै भरमा आफैँ सम्पन्न हुन्छ । त्यसैले ठूल–ठूला योजना बनाउनुभन्दा वा बनाउँछु भन्नुभन्दा सानै योजना बनाउनु उपयुक्त हुन्छ, जसलाई कार्यान्वयन गर्न सकियोस् । अन्यथा बिरालोको घाँटीमा घन्टी कसले बाँध्ने भन्ने उखान चरितार्थ हुन सक्छ ।


धेरै पहिलेको कुरा हो । कुनै गाउँका एक जना किसान बस्थे । उनी मुसाहरूका ज्यादतीबाट साह्रै हैरान थिए । पहिलो कुरा त उनलाई खेतवारीको अन्न जोगाउनै मुस्किल पथ्र्याे । सकिनसकी खेती वाली लगायो पाक्ने बेला भएको हुन्न त्यतैतिर लुकी बसेका मुसाहरूले सखाप पारिदिन्थे । खाने खान्थे, नखाने काटेर सोत्तर पार्थे । बल्ल बल्ल जोगाएर जेजति भित्र्याउन सक्थे वा मित्र्याएका हुन्थे तिनलाई पनि घरमा लुकेर बसेका मुसाले स्वाहा बनाउँथे । यद्यपि उनले मुसा भगाउने प्रयास नगरेका होइनन् । लागेशक्ति गरेकै हुन् तर जेजस्तो जुक्ति लगाउँथे मुसाहरू हमेशा त्योभन्दा एक पाइलो अघि नै हुन्थे ।



एक दिन उनी यसैका कारण झोक्राएर बसिरहेका थिए अर्कै गाउँका एक जना पुराना साथी आएर सोधे–



‘मित्र ! ठूलै चिन्तामा पर्नुभए जस्तो छ नि के प¥यो त्यस्तो ?’

मित्रको कुरा सुनेर किसानले दिक्दार मान्दै भने–

‘हो मित्र ! कुरा त्यस्तै छ ।’

‘के हो त्यो भन्नुस् न कुनै सहयोग गर्न सक्छ कि ?’

‘के भन्ने खोइ । मुसाहरूले बसिखान दिएका होइनन् ।’

‘बस, त्यत्ति सानो कुरा ?’

‘कुरा सानो भएर के गर्ने मित्र ! समस्या ठूलो भएपछि ।’

‘बिरालो पाल्नुस् न बिरालो ।’

‘कस्ता कस्ता उपाय फेल खाइसकेका छन् भने जाबो बिरालोले के गर्न सक्ला र ?’

‘ल तपाईँलाई थाहै रहेन छ । पालेर त हेर्नुस् । मुसाका हैरानी छुमन्तर ।’

‘हो र ?’

‘हो त नि । मलाई पनि त्यस्तै भएको थियो । यिनै बिरालोका कारण हाइसञ्चो भएको छ ।’

त्यसपछि उनले पनि घरमा बिरालो ल्याएर राखे । त्यस दिनदेखि किसानको सुदिन सुरू भयो भने मुसाहरूको दुर्दिन । जब उनीहरू खुचुर खुचुर सुरू गर्न सुरू गर्थे बिरालो म्याउ गर्न आइहाल्थ्यो, जसले गर्दा मुसाहरूलाई बाँच्न मुस्किल पर्न थाल्यो । दुलो भित्र लुकेर बसौँ कति दिन बस्ने । आहार खोज्न निस्कनै प¥यो । बाहिर निस्कन खोज्यो बिरालोले कुन सड्को सुइँको पाइहाल्थ्यो । भित्र लुकेर बसौँ खान नपाएर मरिने बाहिर आऔँ बिरालोले मार्ने । के गर्ने, गर्ने ।

यस्तैयस्तै द्विविधाका बीच एक दिन मुसाहरूले सम्मेलन आयोजना गर्ने निधो गरे । सम्मेलनको विषय थियो कसरी बिरालोबाट बचेर जिविका चलाउने भन्ने । सम्मेलनमा सबैले जमेर भाग लिए । सबैले आ–आफ्ना धारणा राखे तर निस्कर्ष निस्केन । यस्तैमा एउटा बुढो मुसाले आफ्नो भनाइ राख्दै भन्यो–

‘भाइ हो ! अब चिन्ताको कुरा छैन । मैले एउटा यस्तो उपाय निकालेको छु, जसले गर्दा सदाका लागि बिरालोबाट बच्न सक्ने छौँ ।’

बूढो मुसाको कुरा सुनेर अन्य मुसाहरूले खुसी हुँदै तत्कालै आफ्नो भनाइ राख्न आग्रह गरे । त्यसपछि उसले जुँगा हल्लाउँदै भन्यो–

‘योजना ठूलो पनि छैन । गाह्रो पनि छैन । अहिले नै त्यसलाई पूरा गर्न सक्छौँ ।’

अन्य मुसाले हतारिँदै भने–

‘त्यही त भन्या काका ! चाँडै भन्नुस् न के हो त्यस्तो योजना, शुभ काममा विलम्ब किन ?’

त्यसपछि बुढो मुसाले गमक्क पर्दै भन्यो–

‘भाइ हो ! यदि हामीले बिरालोको घाँटीमा घन्टी बाँधिदिने हो भने खेल खतम । बिरालो जता जान्छ हामीलाई त्यही घन्टीले जानकारी दिनेछ, जसले गर्दा बिरालोबाट बचेर सजिलै  आहार जुटाउन सक्ने छौँ । सर्प पनि मर्छ लठ्ठी पनि भाँचिदैन ।’

उसको कुुरा सुनेर सबै मुसा खुसी भए । उनीहरूले एकै स्वरमा भने–

‘उत्तम, उत्तम, अति उत्तम ।’

त्यसपछि मुसासम्मेलनले उनको भनाइलाई अनुमोदन गर्दै तत्कालै बिरालोको घाँटीमा घन्टी बाध्न जाने निर्णय ग¥यो ।  निर्णय गर्नु के थियो कोही गाउन लागे, कोही नाच्न र कोही उफ्रिन । यी सबै दृष्य छेउमै बसेर अर्को बूढो मुसाले हेरिरहेको थियो । उसलाई उनीहरूको बालपन देखेर दया लाग्यो र सबैलाई हकार्दै भन्यो–

‘मूर्ख हो ! बन्द गर यी सब । निर्णय मात्र गरेर हुन्छ ? कार्यान्वय हुनुपर्दैैन ? को जान्छ बिरालोको घाँटीमा घन्टी बाँध्न ? छ कसैको तागत ? कुरै नबुझी त्यत्तिकै उफिन्छौ वा ।’

बल्ल मूर्ख मुसाहरूको होस ठेगानमा आयो । उनीहरू मुखामुख गर्न लागे । निर्णय त गरे तर कार्यान्वयन हुन्छ, हुँदैन, भए कसरी हुन्छ भन्नेतिर ध्यानै दिएका थिएनन् । जब उनीहरू पुर्पुरोमा हात राखेर बसिरहेका थिए त्यति नै बेला कतैतिरबाट बिरालो म्याउ गर्न आइपुग्यो । त्यसपछि उनीहरू ज्यान बचाउन दुलोभित्र छिरेर ।

यो एउटा दृष्टान्त हो वास्तविकता बोध नगरी गरेको निर्णय र बनाइएको योजनाको अवस्था जहाँ पनि यस्तै हुन्छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।