शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वैशाखको प्रेस्क्रिप्सनको कमाल : १४ महिनापछि अर्थतन्त्र लयमा !

शुक्रबार, ०२ मङ्सिर २०७९, १६ : ३२
शुक्रबार, ०२ मङ्सिर २०७९

मुलुकको अर्थतन्त्र क्रमशः लयमा फर्किँदैछ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनाको वित्तीय स्थितिमा १४ महिनापछि शोधनान्तर स्थिति (बीओपी) बचतमा देखिएको हो ।

आर्थिक वर्ष २०७७/७८ को वैशाख महिनामा मुलुकको शोधनान्तर स्थिति ७ अर्ब ७५ करोड रुपैयाँले बचतमा थियो । तर, त्यसयता चालु आर्थिक वर्षको भदौ महिनासम्म पनि शोधनान्तर स्थिति लगातार घाटामा नै रहन पुग्यो । गत आर्थिक वर्षको असार मसान्तमा १९ खर्ब २० अर्ब ४५ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात हुँदैगर्दा मुलुकको बीओपी घाटा बढेर २ खर्ब ५५ अर्ब २६ करोड रुपैयाँ पुग्यो । तर, पछिल्लो पटक भने शोधनान्तर स्थिति पुनः बचतमा गएको छ । 

बुधबार राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को तेस्रो महिना (असोज मसान्तसम्म) को आर्थिक स्थिति प्रतिवेदन अनुसार मुलुकको शोधनान्तर स्थिति १२ अर्ब ४३ करोड रुपैयाँले बचतमा छ । यद्यपि, ठूलो रकम बचतमा नरहेपनि १४ महिनापछि बचतमा जानुले भने अर्थतन्त्र ट्रयाकमा आउँदै गरेको स्पष्ट शंकेत गर्छ ।

कसरी आयो सुधार ?

गभर्नर महाप्रसाद अधिकारीले बुधबार नै एक सार्वजनिक कार्यक्रममार्फत राष्ट्र बैंकको केही कठोर नीतिकै कारण सुधार आएको बताएका छन् । 

‘अर्थतन्त्रका विविध सूचाङ्कहरुमा खराब स्थिति देखापरेपछि त्यसलाई सही ट्रयाकमा ल्याउन राष्ट्र बैंकले विभन्न टुल्स (आर्थिक उपकरण) हरुको प्रयोग गरेको थियो, त्यही टुल्सका कारण पछिल्लो समय अर्थतन्त्रमा सकारात्मक परिणाम ल्यायो’ गर्भनर अधिकारीको भनाइ छ । ती टुल्सहरु आखिर केके हुन् त ?

आयात प्रतिबन्धको परिणाम

खासगरी राष्ट्र बैंकले चालेको प्रमुख र गम्भीर टुल्स आयात प्रतिबन्ध हो । राष्ट्र बैंकको सिफारिसमा सरकारले कम आवश्यकताका वस्तुको आयातमाथि प्रतिवन्ध नै लगायो । तीब्र आयातसँगै बढेको विदेशी मुद्रामाथिको चापलाई कम गर्न भन्दै सरकारले गत बैंशाख १३ गतेदेखि केही विलासी वस्तुहरुको आयातमा प्रतिबन्ध लगाएको थियो । राष्ट्र बैंकले भने विभिन्न वस्तुहरुको आयातमा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने जस्ता कडाईका व्यवस्थाहरु गरेको थियो ।

महँगा गाडी कार, भ्यान, जिपसहित १५० सीसी इन्जिन क्षमतामाथिका सबैखाले मोटरसाइकल, विदेशी रक्सी, कस्मेटिक सामग्री, खेलौना तथा जंगफुड्सहरुको आयात प्रतिबन्ध लगाइयो । जुन प्रतिबन्ध हालसम्म पनि जारी छ । यसले आयातमा बाहिरिन सक्ने ठूलो धनराशीलाई स्वदेशमा नै रोक्ने काम गर्यो । फलतः राष्ट्र बैंकको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको तीन महिनाको आयात १६.२ प्रतिशतले घट्न पुग्यो भने व्यापार घाटा १३.१ प्रतिशतले घटेर ३ खर्ब ५९ अर्ब १८ करोड रुपैयाँमा झरेको छ । 

यस्तै, समीक्षा अवधिमा विदेशी विप्रेषण आप्रवाह (रेमिट्यान्स) मा समेत १६.८ प्रतिशतले वृद्धि हुन पुगेको छ । यसले मुलुकको शोधनान्तर स्थितिलाई थप बलियो बनाएको छ । 

अर्कोतर्फ पछिल्लो समय बढेको अन्तर्राष्ट्रिय सहयोग (अनुदान र ऋण) ले पनि नेपालको बीओपी बचतमा लान ठूलो भूमिका खेलेको देखिन्छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप