शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कहिलेसम्म बाँधिएला मौलामा राँगो

शनिबार, ०३ मङ्सिर २०७९, ०९ : २५
शनिबार, ०३ मङ्सिर २०७९

एउटा रात आधा भागिसकेको थियो । बाँकी बँचेको आधाले पनि अँध्यारोलाई साथ दिइरहेको थिएन । मौलामा बाँधिएको राँगो फुस्किएर बजार चहार्दै थियो । पल्लो खाटमा राँगो ९भाव नायक ० मस्त निद्रामा थियो ।  एउटा पाठक ९ जो कविता पढ्दैन कवितामा कविको जीवन छ छैन भनेर नियाल्छ ० निद्रा र मौलो को  वृत्तमा चक्कर लगाइ रहेको थियो । 

परिवर्तनका गोरेटामा चिल्ला गाडी दगुरेको देखिए पनि भुइँमान्छेले देख्ने र टेक्ने माटो हो । माटो माथिको जमिन हो ।  जमिन माथिको भोगाइ हो । भोगाइलाई अक्षरमा कुँद्नु कतै कला होला तर धेरै तिर बाध्यता हुन्छ ।  बाध्यताका बीच पनि रहरहरु फुलेकै हुन्छन् । जसले कठोरता सहेर पनि आफ्नो रंग बदलिन दिदैनन् । त्यो मान्छे जो निदाउन सकिरहेको थिएन उसलाई त्यो फूल र त्यो मालीको बगैंचा हेर्नु  थियो । उसको मष्तिस्कमा यी यावत् कुराले महाभारत मच्चाइरहेको थियो ।

मौलामा बाँधिएको राँगो कति कठोर र कति निरश शीर्षक । कति गंभिर र कति आक्रामक परिदृश्य देखाउने शब्द छनोट । मानौं पुस्तक नै एक भयावहको प्रतीक । उफ्फ  १११ आखिर किन र कसरी चयन हुन्छ यस्तो शिर्षक ? छेउमा लमतन्न सुतेर घुरिरहेछ एउटा सर्जक । सोध्न सकिन्छ । रातभर छलफल नै गर्न सकिन्छ ।  तर अहँ मन छैन । ऊ त कवितामै  बाँच्ने मान्छे  । कविताको अर्थ भाव त पाठकले बुझ्नु । उसले जे भोग्यो त्यही लेख्यो । सके जति लेख्यो । फेरि किन र कसरी  स्पष्टीकरण माग्नु । आफैमा घोत्लिनुको विकल्प थिएन । एउटा माझिले हिमालको दुख लेखेन र हिमाल आरोहिले समुद्रको दुख देख्न सकेन भनेर आक्षेप लगाउनु सापेक्ष कुरो हुन सक्दैन । कविता वा अन्य विधामा कलम चलाउनेहरु यथार्थमा उभिने साहस कति गर्छन्   । कति आदर्शको पानी माथी तैरिएका हुन्छन् ? मलाई  यो कुराले निकै छुन्छ र नै  म नवीनको प्राचीन कुरासम्म पुग्न लालायित हुन्छु । 

पुस्तक पढेपछि त्यसका बारेका टिप्पणी गरिहाल्नु पनि हतारो हुने रहेछ । अपरिचित अनुहार पढ्ने बित्तिक्कै पाठकिय टिप्पणी लेख्न हतार गरेँ । कथाकार महेश पौडेललाई गरेको टिप्पणीमा आज आत्म आलोचना गर्दैछु । त्यसैले पनि कवि नवीन अभिलाषीको नवीन कविता संग्रह माथी हतारमा टिप्पणी गर्ने पक्षमा थिइन म । शुरुमै पुस्तक हात परे पछि अन्तिम पातो देखि पढ्दै गएँ । पहिलो रातमै पढेर सकाएँ । तर कविता त्यसरी पढ्नु कविता माथिको घोर अन्याय हो । कविता त त्यो सरोवर हो जहाँ डुबिरहन सकियोस् । अलिकति तिर्खा लाग्दा पनि अँजुली डुबाएर पेटभरी पिउन सकियोस्  । मुख धुन , खुट्टा डुवाउन या पौडी नै खेल्न सकियोस् । आनन्दमा रमाउन पाइयोस् भावनाको गहिरो डुवानमा । त्यसैले त चुनिएका पुस्तकको ठेलिमा बाँधेर कर्मक्षेत्र सम्म झोलामा बोकेर ल्याइ र्पुयाएँ मौलामा बाँधिएको राँगोलाई । 

पढिरहेको छु । हरेक पल्ट पढ्दा भिन्न भिन्न कोणबाट हेरेर पढ्छु म कविता । सरल र सोझो अर्थमा आधुनिक कविता लेखिदैन । स्तुति ,भजन , अनुरोध वा सन्देश भएको भए पो सोझै भन्नु । बिम्ब र  प्रतीक उभ्याएर समग्र देश काल र परिस्थिति माथिको आक्रामक युद्ध हो मौलामा बाँधिएको राँगो । मौलो एउटा देश हो । बाँध्ने एउटा अवधी हो , परिवेश हो ,अवस्था हो । राँगो एउटा बर्तमान पुस्ता हो । जुन पुस्ताका राँगो पर्सिँदा टाउको हल्लाएर खुकुरी या दाउको प्रहार स्विकार्न सक्छ अथवा त्यो मौलो नै उखेलेर कथित पुजारी ९ हत्यारा० माथी जाइलाग्न पनि । भावको नायक हो राँगो । कविताका मर्मको  चेतनालाई प्रतिबिम्वित गर्ने एउटा शसक्त बिम्ब हो राँगो । 

एउटा समुहलाई चिनाउने र समुहबाट आफू पनि चिनिने बाटो बनाएको उदाहरण समूह  घोराही दाङ्गका कवि  अभिलाषीलाई नजिक बाट चिन्न पनि दाङ्ग पुग्नु थियो र म केवल यहि उद्देश्यका साथ पुगेको थिएँ । गृह जिल्ला बिमोचनको सहभागिता उत्साहजनक हुनु स्वभाविक थियो । कविता कृति पढेपछि कविताको पृष्ठभुमि देख्नु थियो । भावभुमी बुझ्नु थियो । बुझेपछि को आन्दोलित मानसिकतालाई एउटा निकास दिनु थियो । जुन कुरा यहाँ पोखिए पछि अलिकति निकास पाएको पक्कै अनुभुती हुनेछ ।

कवि गृह  कवि परिवार र कवि परिवेश नबुझी फगत अक्षरमाथी उभिएर टिप्पणी गर्नु थिएन मलाई । केही बेरको बसाइ अपर्याप्त थियो नै ।  फेरि पनि बुझाइको मापन फितलो नरहोस् भन्ने  चाहना पूरा भयो । यो टिप्पणी पाठक माझ आउनु अघि नै भारतिय कवि हलकरको हल्लाले नेपाली लेखकलाई सामाजिक सञ्जालमा असामाजिक परिचय दिई सकेको छ । कवि हुने खाने उच्चस्तरीय जीवन यापन गर्ने हुनुपर्छ भन्ने दरिद्र मानसिकतालाई जानी नजानी उकेरा लाइरहेको देखियो । जतै सहानुभूति प्रदर्शन गरेको देख्दा चेतनाको दरिद्रायी छोपिन सकेन । हलकर स्वयंले अस्विकार गरिसकेका कुरालाई नेपाली लेखकले निजत्व प्रदर्सन गर्नु कति न्यायसंगत हो ? मम भन्दै मनन गरिएला नै । म नवीनसँग छु । एउटा राँगोसँग ।  मौलोमा भाले या बोको पनि बाँधिन्छ । नवीनले ती देखेनन् । उनलाई राँगो नै चाहियो । कोट ,थान या देउराली होइन मौलो नै चाहियो । 

कविता बाचन , लेखन र उद्घोषणका गौरव मानिने  यथेष्ट प्रमाणपत्र माटाको भित्तोमा किरालाई जिम्मा दिएर कवि नेपाल टेलिभिजनको काँचको पर्दामा बोलिरहेछ आज । किताबका चाङमा जमेको धुलो झार्न वर्षौं देखि थलिएकी आमालाई जाँगर र फुर्सद छैन । एउटा कविको कोठाको बिदिर्णता वर्णन गर्नु अप्रासंगिक हुन सक्छ तर ,,, तर म मौलामा बाँधिएको राँगो भित्रै छु । एउटा स्वतन्त्र राँगो मौलो सम्म कसरी पुग्छ ? कसरी असामयीक मृत्युवरण गर्छ ? यावत कुराको खुल्दुलीले नै त तान्यो त्यो कवि कुटिर सम्म ।

कहिलेकाही कविता किन लेख्छ कोहि मान्छेले भनेर बुझ्न म उसको भित्र सम्म पुग्छु । यसै क्रममा आज एक कविसँग बसेँ रातभर दिन भर । दिनभर ऊ बोलिरह्यो म सुनिरहेँ । रात भर ऊ सुति रह्यो म कुरि रहेँ । कविता ऊ लेख्छ कविताले मलाई पोल्छ। 

कविताले पोल्यो भन्दा अचम्म लाग्ला ,, तपाईंलाई नपोल्न सक्छ । तपाईं पाठक मात्रै हुनुहुन्छ । कविता लेखाउने परिस्थितिमा जब डुब्छु म तब देख्छु र प्रश्न सोध्छु आफै सँग ,,आखिर कोहि किन लेख्छ कविता ?

म प्रशंसा गर्न जति लोभ गर्छु उत्तिकै बिरोध गर्न पनि डराउँछु । त्यसैले त मान्छेहरू मलाई लोलोपोतो या यथास्थिति बादी भन्छन् । मलाई दुख लाग्दैन ।म कसैको बारे एक दुई कुरा लेख्छु भने उसको अन्तर कुन्तर न खोतली लेख्न सक्दिन , प्रशंसा होस् या आलोचना ।

गन्थन धेरै भयो प्रसंग हो नवीन अभिलाशीको जसले बजारमा ल्याएको कविता संग्रह हो ू मौलामा बाँधिएको राँगो ू किताबको शिर्षक नै दुरुह लागेपनि ऊ प्रिय साथी हो ।उसको कविता पढ्नु थियो पढेँ। दाङ्ग घोराहिको मुन्छे कोहलपुर पुगेको छ चर्न । जिन्दगी चराउन भनुँ न ।

जीवन नदेख्नेले मृत्यु देख्छ र आत्महत्या गर्छ । जसले मृत्यु देखेको छ उसले पौठेजोरी खेल्छ मृत्युसँग । यो ब्यवस्थाको जरो किलो सँग थात थलोसँग लड्छ तर छोडेर ऊ भाग्दैन । उसले प्रेम गरेको छ त्यो पुरानो घर रोगी आमा अनि बाबू आमा हुँदै टुहुरो बनेकि  त्यो छोरीलाई । 

त्यो भन्दा धेरै प्रेम गर्छ आफ्नो चेतनालाई र जीवनलाई ।माटे घरको भित्तो भरिका प्रशंसा पत्रको माकुराको जालो देखेँ । धुलो जमेका पुस्तर्क याकमा  कम्युनिस्ट मेनुफेस्टो देखि दाङ्गका सुसेली देखेँ । मलाई तस्विर लिन मन लागेन । तस्विरहरु पापी हुन्छन् । उपहास हुन्छन् ।

छोरी भेट्ने छोराको इच्छा , टाढाको स्कुल , रोगी आमा शुक्रवार एक बजेको घाममा दुई घन्टा हिडेर नातिनिको गरुङ्गो ब्याग बोकेर आउँदा लखतरान । फेरि पनि छोरो आउँदैछ साथी लिएर । मासु पकाउनु है आमा भनेको छ कसरी सकिन भन्नू । 

सुगरले गाली पो सक्यो ,,,

हाय रे जिन्दगी उफ्फ्फ ।

तपाईं दुखी हुन सक्नु हुन्छ । संसारमा कोहि सुखी छैनन् । दुख के हो ? तपाईं छिमेकी जति धनी हुनुहुन्न ।उसको मोटर छ मेरो साइकल पनि छैन भनेर दुखी हुनुहुन्छ भने तपाईंको हेलिकप्टर हुँदा छिमेक सँग रकेट हुन्छ । अतएवस्दुखको कारण धन देख्नेहरु कहिल्यै सुखी हुन सक्दैनन् ।

ऊ हेन्सम छ । स्वस्थ छ । आँटिलो छ । सीप छ । ती सबका कारण छन् । उसलाई दुखले सिँगारेको छ । गरिविले पोषक तत्व दिएको छ । दुखाइले आँट भरिदिएको छ । हात खुट्टा र मुखले अल्छी गर्दैनन् । तर ऊ गरिव छ । उनले पछि थाहा पाईन् अनि उसको साथ छोडी दिइन् ।

उफ्फ प्रेम अनि बिहे ।

चराउन त उसलाई खाडिकै बालुवामा चराउन खोजेको हो अवस्था ब्यवस्था अनि परिस्थितिले । तर ऊ त मौलामा बाँधिएको राँगो पो त । जोत्न अल्छी लागेर हिलोमा आहाल मारेको राँगो हो र ? साच्चै परिस्थितिले पर्सिएको एउटा जब्बर राँगो हो नवीन अभिलाशी । उसलाई देख्नु थियो मलाई 

र त पुगेँ त्यो स्थल सम्म । जहाँ उसको चेतनाले एउटा जग बसालेको थियो ।

एउटा मान्छे किन कवि हुन्छ ? कविता लेख्न वा कविताले लेखाए पछि ? शसरिर देखिने मान्छे कवि हो होइन बुझ्न उसको रुप हेरेर , बोली सुनेर मात्र आँकलन हुन सक्दैन । मलाई एउटा कवि हुनु नपर्ने मान्छे किन कवि भयो ? किन कविता लेखिरह्यो ,र कविता पनि किन भिन्न फरक र अलग कविता लेख्यो ? यी यावत प्रश्नले घोत्लिइ रहेको थिएँ ।  पहिलो कुरा उसले पढ्यो ,,लेखिएका कविता पढ्नु उसको रहर थियो । उसले पढ्दा पढ्दै उसैको जिन्दगीलाई एउटा कविता बनाइदियो कविताले । भनिन्छ मोती सागरको पिँधमा हुन्छ । साच्चै मोतिले पानीको त्यो बोझ कसलाई बिसाउनु ? र देखिन सक्नु पानी माथी उत्रेर सबैले देख्ने गरि । जसलाई कविता बनाएर जिन्दगिले लखेटी रहेको छ ,कहिले कलेज कविता कहिले उदाहरण को हातेमालो कहिले मौलामा बाँधिएको राँगो १ उ राँगो हो , राक्षसी स्वरुपको प्रतिबिम्ब । उ साहसी छ मजबुत छ । फेरि पनि अवस्था ब्यवस्था परिस्थितिले उसलाई मौलोमा र्पुयाएर मन्साएको छ । उसले त्यसमा मृत्यु दर्शन देख्यो र लेख्यो । मलाई चित्त बुझेन कत्ती चित्त बुझेन । र त त्यही राँगो माथी चढेर म यहाँ सम्म पुगेँ । मलाई लाग्छ त्यो राँगो मन्साएर पुगेको छैन यो दुनियाँलाई । आफू त मृत्य बोकेर उभिएकै छ तर ठुला आँखाले एउटा विरता सुरता अनि आफ्नो चेतनाको वैभवमा चुनौती दिएको छ मृत्युलाई । त्यसैले त्यो मृत्यु चिन्तन होइन जीवन चिन्तन हो ।  कि मौलोको राँगो हुन तयार होउ कि मौलो भाँचेर स्वतन्त्रता  खोज । के यो चुनौती दिदैन र पाठकलाई ?

नौबटा कविताको सेरोफेरोमा धुलोको उडान ब्याप्त छ ।शून्यको शुरूवात फगत कविताको उठान या शिर्षक मात्र होइन । उभिनु या उदाउनुको संघर्षकथा हो शून्यको शुरुवात । बुवा जो सुकैको साझा सम्बोधन र सम्बन्ध हो ।  तर सबैका बुवाको जीवनचक्र यति दुर्दान्त नहुन सक्छ । जसले भोग्यो त्यसलाई मात्रै त्यो पिडादायी भोगाइ स्मरण हुन्छ ।

  आवाज भएर पनि आवाज दवाएर बसेका जीवित ढुङ्गाहरुमाथी ढुङ्गाले चेतना प्रवाह र ब्यङ्यात्मक झटारो कसेको छ । समाज कस्तो छ ? समाजमा देखिने आर्थिक सामाजिक विभेदको गहिराइ देखाउँछ उदास अक्षरले । वसन्त बोकेर आउने चैत सुख्खा पनि निरस पनि ।पिडा ,पसिना र अन्याय माथीको चलखेल हो चैत । आमाको महिमा जो कोहि कविले लेख्छन् तर नविनको आमा प्रतिको दृष्टिकोण अझ भिन्न छ । बाको स्मृति माथी उभिएर बा हुनुको अनुभुतीमा बाको चप्पल आएको छ । सहर पसेको छोरो आमाको नजरमा पोखिएको भावसागर हो । एक्लो सन्तान प्रतिको मोहको महासागर । मलामी मुर्दाका अघिपछि लाग्नुको आश्चर्य बोध हो ,

ूजीवन भर मेरो यात्रामा 

पटकपटक ठेस लाग्न आउने ढुङ्गाहरु नै 

मेरो लासमा फूल चढाउन आए ।

***

सबै मुर्दाहरु नै प्रश्न गर्दा हुन् 

किन चाहिन्छ मृत्युुपछि समवेदना ?

किन चाहिन्छ लासलाई आफन्त ?ू

जञ्जीरको जंघार तरेर जीवनका सम्भावना समात्नेहरुका लागि मलामी फगत रमिते हुन् । केवल अनावश्यक भिड हुन् । एक्लो बुद्ध हुनुको पराकाष्ठा नबुझ्ने समाज केवल भिडको हिस्सा मात्र हो ।

प्रेम ञ् पातहरुको आयु कविता खण्डको दोश्रो खुट्किलो हो जहाँ प्रेमकै वरिपरि भावना उम्रने,  फैलिने , ओइलिने झर्ने परिदृश्य पाइन्छ । एघार कविता माथी प्रेमको आरोह अवरोह देख्न पाइन्छ ।

 पुनरागमन प्रेममा आउने विचलन माथिको अमुर्त कविता हो । खुशी सकिनुको विक्षिप्तता  , दृश्यानुभुतिले दिने तिक्तता , काल्पनिक सुखको परिकल्पना अनि सादृश्यता पछिको द्वैध मानसिकता यस कविताका हरफहरुले देखाउँछन् । रातो छाता ( प्रेमको आव्हानमा पनि सतर्कता प्रदर्शन गरिएको कविता हो । उमेर , परिवेश ,समाज माथी आँखा चिम्लेर प्रेमको बाढीमा पस्न नहुने गौण सन्देश समेत रहेको रातो छातामा । यामी ९ एउटा नाम ० ( यथार्थ अनि काल्पनिकीको मिश्रणमा अकारण हुनुपरेको बिछोड अनि कारुणिक चित्रण बोकेको छ । प्रेम प्रसंगमा नविनका कविता आलोचना रहित देखिदैन । अधिक अमुर्तता र प्रेमी प्रेमिका बीच गुणदोषको भार सबै प्रेमिका माथी थोपरेको देख्नु पाठकिय दोष होइन । चन्द्रमासँग एकालाप एउटा आव्हान हो । भयावह बिछोडको अवस्था हो डिभोर्स ।असमयमै घटित उहापोह माथी उब्जने प्रश्नहरु हुन् मौन प्रश्न ।मनको अवस्था अनि मनस्थितिको प्रकटिकरण हो अन्तिम दिन । जीवनका भेटघाटहरुमा जुनसुकै पहिलो दिनहरू पनि अन्तिम दिन साबित हुनसक्छ । बिछोडिएको एक प्रेमीको गहिरो संबेदनसिलता हो एक अँगालो फूल ।सान्त्वना समभाव बोकेको शिर्षक सुहाउँदो कविता हो । जीवन गणित नै हो सुत्र मिल्न सके । जवाफ सहि हुनु नहुनु हिसाब गर्नेको विवेक र स्तरमा पर्छ हिसाब भित्र । भोगाइले मानिस दरिए जस्तै प्रेमका चोटहरुले बौद्धिकता भरेर गएको छ बौद्धिक प्रेमीमा ।

दागहरुको पोस्ट मार्टम  भित्र आठओटा कवितामा फैलिएको छ कविको  प्रश्नोत्तरको भाव । युद्दकालमा अनायास घरदेखी हराएको दाजुको वर्षौं सम्म खोजबिन नहुनु , नफर्किनु लास या सासको टुङ्गो नलाग्नुको उत्तर खोजिरहेको छ भाउजू किन फुटाउनु भो चुरा ? ले । बलियो मानिस हिजो देखि आज सम्म बलियो नै छ । उसको रुप फेर्न अनेकौं परिवर्तन भए । तर चरित्र कहिल्यै फेरिन सकेन । ऊ फगत आवधिक चुनावमा ब्युँझन्छ र फेरि सुत्छ उहीँ पुरानै चलनमा । रुप फेरिए पछि पसेको मानिसमा पनि त्यो सरुवा चरित्र ज्युँ का त्युँ रहेकोले उसलाई ब्युँझाउने आग्रह हो बलियो मानिस ।

   नयाँ शासक जुनसुकै स्थितिबाट सत्तामा पुगे पनि उसले देखाउने सत्ताशैली पुरानै छ । आखिर यो पुनरावृत्ति कहिले सम्म ? प्रश्न अनुत्तरित छ । परिवर्तनले ल्याएको अर्को तिक्तता जन्य कविता देशबाट  हो । श्रम बेच्न पराइ मुलुक पुग्न विवस ती तमाम नेपालीको कारुणिक कथा हो यो कविता । एउटा यस्तो देश छ अर्को वर्तमान बिसंगतीलाई उजागर गर्ने कविता हो । छिमेकि देशहरूले निर्माण गरेको एउटा मजदुरहरुको देश ।  त्यस्तो देशको चरित्र यस्तो छ 

हाम्रो चुलो बलेको बेला

ऊ हुरी पठाउँछ ।

हाम्रो सपनामा पनि कैले छुरी पठाउँछ ।

कैले खुकुरी पठाउँछ ।

बेपत्ता मानिसको छाया युद्ध पछिको निर्माण कुरेर बसेका ती कैयौं बस्ती र हजारौं घरहरुको रोदन चीत्कार र अभाव बोकेको छ । न्युनतम अपेक्षित कुराहरू पनि अधुरो र अपुरो भेटिदा जो सुकै सचेत नागरिकले उठाउने प्रश्न छन् । हराएका मान्छेको पदचाप कसरी भुल्न सक्छ र आफन्तले । र त कवि मन आधा बाटो हिँडेर रोकिन सक्दैन । र भन्छ 

आलै छन् इतिहासका ढुङ्गे पानाहरुमा

र छरपस्ट छ ( मनको भग्नावशेष ।

राजनीतिक विसंगतिलाई तीखो शब्दमा देखाइएको छ संसद भित्र । 

( संसद एउटा बजार हो 

टाउकाहरुको बजार 

***

यो बजार 

तस्करहरूको ट्रान्जिट प्वाइन्ट हो ।

वर्तमान राजनीतिमाथीको गतिलो र सटिक पोस्टमार्टम भएको सबै आठ कविता भित्र ।

कवितामा विचार मात्रै हुने कुरा भएन । कवित्वमा झल्किने दर्शनको मन्थन पनि मिसिने नै भयो । झ्याल भित्रबाट झ्याल बाहिरको दृश्यावलोकन र झ्याल बाहिरबाट मानसिक घरभित्र नियाल्न नसकिएका यावत् विषयमाथिको प्रक्षेपण हो झ्याल बाहिर बाट । कविता कृतिको शिर्ष कविता मौलामा बाँधिएको राँगो जसमा एउटा कोणबाट हेर्दा मृत्यु चिन्तन देखिन्छ । अर्को कोणबाट हेर्दा राज्य राज्यसत्ता र शासितहरुको अन्तर्य पाइन्छ । कविताको सागरमा हेलिइरहँदा यस्तो लाग्छ मौलामा बाँधिएको राँगो अर्को पल्ट आगोको मान्छे भएर देखिन्छ जसले आफैलाई चाबुक लगाउँछ ।जो खारिन चाहन्छ यो विसंगत भट्टामा । बाटो र जीवनहरूमा पनि जीवन र मृत्यु चिन्तनको दर्शन मीठो बिम्बमा कुदिएको छ । यो समय ( हाँसो जोगाइरहने समय हो । समयले हामीलाई यस्तो मोडमा ल्याएको छ कि हामी टेक्ने धरातल गुमाउँदै समाउँने डाली फुत्काउँदै छौं । हाम्रा सामाजिक मुल्य मान्यता  र सांस्कृतिक धरोहरमा खियाले खाँदा पनि हामी सफाइमा अग्रसर हुन बिर्सिरहेका छौँ । आफ्नो भन्ने जे छ त्यसको संरक्षण बिना देखावटी समृद्धिको तुक नहुने कवि ठम्याइ छ । क्रान्तिका अग्रजहरूमा देखिएको सेलाएको तातो फेरि देखाइएको छ एउटा कम्युनिस्ट नेतामा । जसले गन्तव्य हराएको समेत भेउ नपाएको देखिन्छ । कसैले उपहारस्वरूप दिएको शान्ति भन्दा स्वभाविक मुकाविला पछि स्थापित हुने शान्ति मात्रै स्थायी शान्ती हुन्छ । परिवर्तनको ठेक्का तेस्रो पक्षले लिएर आज मुलुकले रातो गंगाको प्रवाह भुलेको जिकिर हो रातो गंगा । रातो गंगा तरेर आउ अनि विरुद्धमा सामेल होउ अर्को एउटा शालिन बिद्रोहको आव्हान भएको छ । हरेक कवि एक बुद्धको खोजिमा हुन्छ तर नविनको बुद्दत्व खोज भिन्न छ ,

एकदिन कुनै बोधगयामा 

पीरको पीपल्मुनी ( खन्नेछु भयानक सुरुङ्ग 

लेखेर अन्तिम मृत्युको मार्मिक मस्यौदा कुनै 

र निस्कनेछु म 

विचारले पाइला हालेको 

एउटा आधुनिक खुकुरीको त्रिपिटक बोकेर ।

मुर्दा अर्को एउटा शसक्त कविता हो जहाँ जस्तो सुकै दास पनि कसैको काँध चढेर श्मशान पुग्छ । काँध चढ्न खोज्ने शासक मानसिकताले ।  मृत्यु चिन्तन पनि प्रगतिशील नजरले हेर्दा भिन्न देखिन्छ । र अन्तमा जन्मदिन यसरी शुरु हुन्छ कि , एउटा चङ्गा धागो चुटेपछी हावामा लहराउँदै मृत्युको पोखरीमा खस्छ र जीवनभर तैरिन बल गर्छ अन्ततः डुब्छ नै । त्यसैले त कवि आग्रह गर्छन् ,

म अझै नजन्मिएको हुन सक्छु 

जन्मिएर मरिसकेको पनि हुन सक्छु 

नसल्काउ दियो 

नफुलाउ रंगिन बेलुनहरू १

बरु अर्को जन्मका लागि 

मेरो कठोर मृत्युको कामना गर्नु ।

पहिचानको मुद्दा सदैव देखावटी र पहुँचमा मात्रै सिमित रह्यो । आरक्षणको कुरासमेत सिमित बर्गले मात्र फाइदा लिइरह्यो । केही भए जस्तो देखिए पनि खासमा केही हुन नसकेको यत्रतत्र सर्वत्र देखिएकै छ । उपेक्षित बर्गको नाम लिएर भएका वर्गसंघर्षले कविलाई  नछुने कुरा भएन । आफ्नै टाउको खोज्दै खण्डमा आदिवासी आइमाई ,शुद्रको प्रश्न ,थारु ,निप , विकट गाउँ, बक्यौता हिसाब अनि नभेटिएको चिहान मा क्षेत्र विशेष ,जात विशेष , लिङ्ग विशेषमा अस्तित्वको खोजी भएको छ । यसै शृङ्खला भित्र स्कुल गइरहेकी हजुराआमा शिर्षकको अर्को भिन्न दृष्टिकोणको कविता पनि समाबेश छ जसले शिक्षाको उज्यालो जीवनको उत्तरार्ध तिर मात्रै देख्न पाउँछ । शिक्षा पाउनु बाट बन्चित हुनु पनि पहिचान गुमाउनु नै हो आखिर । पहिचान के हो भनेर थाहा पाउन पनि त केही  शिक्षा पाउनु नै पर्छ ।  हजारौं आमा हजुर आमाका अक्षर चिन्ने सपनाहरूलाई बा र हजुरबाहरूमा सिमित राख्ने त्यो सत्तासँग अर्को बिद्रोह हो यो कविता ।

हात हल्लाउँदै बिदा लिने कविले फेरि पनि कवितानै छोडेर गएका छन् । जहाँ आफ्ना बारेमा केही कुरा र सम्झनुपर्ने विशेष व्यक्तिलाई बिर्सेका छैनन् । आफ्नो स्मृति अनि वर्तमान भोगाइमा समेत आँखा पर्ने गरि देखाएका छन् । 

पाँच ओटा आकर्षक चित्र सजाउने रवि रोदन अनि आवरण सजाउने सन्तोष दाहाललाई पाठकले समेत सम्झिने छन् ।  

यति भनिसक्दा कविताहरु माथी फूल माला लाइदिए जस्तो मात्र होला । सामान्य पाठकको हैसियतले मनमा लागेका धेरै कुरा माथी पनि उल्लेख भए । तर कविता केश्रा केलाउँदा अझ बढी लेखुँ झै लाग्यो । कविता एक अक्षरले अनर्थ लाग्न सक्ने बिधा हो । भाषिक शुद्धताको बारेमा बोलिएन तर शब्दहरूमै फेरबदल भएकोले दाँतमा ढुङ्गो लाग्छ । कविता पढिरहँदा जो कोहिलाई यस्तो अनुभव हुन्छ ।बिएन पुस्तक संसारले यसमा ध्यान कम दिएकै हो । कविताहरू भित्र पस्दा हरेक हरेक भिन्न पो हुन् कि भन्ने भान हुनु प्रसङ्ग एकै भए पनि गहन बिम्बले घोत्लिन पर्ने बनाउनु कविताका नयाँ पाठकका लागि अलिक असहज कुरा हुन् । एउटा कविताको उठान फैलावट र बैठान प्रासंगिक बनाएर लान सके अझ मिठास आउँथ्यो । कविताको मुटु अन्त्यमा हुन्छ कुनै कविता मध्यभागमा अन्त भएको हो कि भन्ने भान सिर्जना हुन्छ । 

खोल्तिमा राखेर जतापनि बोक्न मिल्ने सानो साइज आकर्षक आवरण , पटकपटक पढ्दा अझ भिन्न स्वाद दिन सक्ने शाब्दिक क्षमता राख्ने मौलामा बाँधिएको राँगोलाई फेरि पनि सफलताको हार्दिक शुभकामना ।

 कविता संग्रह : मौलामा बाँधिएको राँगो 

प्रकाशक  : BN pustak Sansar

मुल्य रु :२५५ /-

कोहलपुर-४ , बाँके

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप