कला

जब मान्छेलाई पर्खालले घेर्छ

person explore access_timeमंसिर ३, २०७९ chat_bubble_outline0

अक्टोबर १५, २०२२ मा नेपाल आर्ट काउन्सिलको कक्षमा एउटा अद्भुत पाराको पर्फर्मेन्स कला सिर्जना भयो । 


साँच्चिकै घर बन्दैछ जस्तो गरी आवश्यक सामान इँटा, सिमेन्ट, कतारोभरि बालुवा मिसिएको मसला, खट, मजदुर सबै तयार अवस्थामा थिए । ठूलो कक्षमा गारो (पर्खाल) लगाई थप कोठा निकाल्न खोजेजस्तो आभास हुन्थ्यो । कलाको मानेमा कलाकारबाहेक सहपात्रका रूपमा चार डकर्मी, कतारोभरिको मसला बोक्ने एक–दुई ज्यामी त्यहाँ उपस्थित थिए । मान्छेलाई घेर्दै गारो उठाइरहेको दृश्य अनौठो देखिन्थ्यो । भावक शान्त, चुपचाप, एक टकमा हेरिरहेका थिए । मूल पात्र कलाकार स्थिर भएर ठिंंग उभिरहेका थिए । डकर्मी गारो लगाउन र ज्यामीहरू कतारोमा मसला ओसार्न व्यस्त देखिन्थे । 



अढाइ फुट जति गारो उठेपछि पर्खालमाथि कलाकार ठिंग उभिए । उनलाई नछोर्ईकन गारो उठ्दै गयो । उनको टाउको छोपिनछोपिन लागेकाो थियो । झट्ट हेर्दा भने भित्तामा मानिस टाँसिएजस्तो देखिन्थ्यो । पुरिएको पनि होइन, छोपिएको पनि होइन, मान्छे पर्खालको एक बुट्टा जस्तो भएर सजाउने उपक्रममा बसेको झैँ देखिन्थ्यो । बिनाहलचल मूर्तिजस्तो बनेर कलाकार उभिएको देख्दा भावकमा अनेकौँ विचार उत्पन्न हुन्थे । 



अचानकमा त्यो साँगुरो चौडाइको गारो थामिन नसकी ग्वार्लाम्म ढल्यो, प्रकृतिको नियमभन्दा पर गएपछि गारो ढल्नु स्वभाविक थियो । केही इँटा छताछुल्ल भएर यताउता छरिएर रहे । कलाकार त्यही मुद्रामा उभिएरहे । केही हलचलविना बसिरहेको कलाकार पर्खाल ढलिसक्दा पनि उभिइरहेपछि एक हुल भावकले उनलाई त्यहाँबाट उचालीकन बाहिर ल्याए रेस्क्यू गरेजस्तो गरी । बाहिर डाक्टर थिए, हत्तपत्त चेक–जाँच गरे । यो एउटा अलौकिक कलाको नमुना बन्न गयो ।

यो क्षणभरको कलासँगै सिर्जित घटना–परिघटनाले भावकलाई सिरिंग पा¥यो । कलाकार स्वयंले यी प्रक्रिया योजनाबद्ध रूपमा परिकल्पना गरेका थिएनन् रे । तर मान्छेलाई पर्खालले पूरै छोप्न सकेन, बीचमै ढल्न पुग्यो । यो अनौठो कला कलाकार अमृत कार्कीको थियो । 

‘ब्रिदिङ थ्रु द स्टिलनेस’ नामक यो काम (कला)मा लामो समयसम्म कलाकारले सकसको जिन्दगी बाँचेको देखिनु थियो । हेर्दा र देख्दा यो नाटकीय काम हो । यद्यपि जिन्दगीको वास्तविकतासँग जोडिएको अनुभूत हुन्थ्यो । स्वस्फूर्त चलिरहेको एउटा प्रक्रियाको अन्त कस्तो हुन्छ भन्ने कलाकार स्वयंलाई थाहा थिएन । कलाकारलाई मात्र आफ्नोे शरीरलाई पीडामा चुर्लुम्म डुबाउनु थियो, उहिले ऋषिमुनिले घनघोर तपस्या गर्दा वर्षौं अति कठोर आसनमा बसेझैँ कष्ट अनि दर्दलाई सम्पे्रषण गर्नु थियो । अवलोकन गरिरहेका आम भावकलाई यसले कसरी प्रभाव पार्छ इत्यादि नै यो कलाको मूल लक्ष्य थियो । यसर्थ यो कलाको प्रक्रिया अद्भुत अनि असह्य पीडाले वशीभूत भएर अगाडि बढेको थियो । चुपचाप हेरिररहेका भावक, गारो लगाइरहेका मजदुर, क्यामेरा म्यानहरू, भित्ता, भुइँ, छत जम्मै सिंगो एउटा कलाजस्तो देखिन्थ्यो । 

गर्दैगर्दा वा गरिसकेपछि कस्तो अवस्थामा पुग्छु भन्ने वास्ता नगरी कलाकारले यस्ता पर्फर्मेन्स कला सिर्जना गर्छन् । जसले कलाकार स्वयंलाई अथाह पीडामा होमिदिने गर्छ । अत्यधिक कष्टमय लाग्ने यस्ता पर्फर्मेन्स कला सिर्जना गर्न विश्व कला बजारमा कलाकारको एक प्रकारको होडबाजी नै छ । 

जानाजानी कलाकारले आफूलाई पीडामा घचट्नु एक किसिमले नाटकीय लाग्छ, यसैले यो कला विश्व कला बजारमा एक अलग्गै आयामका साथ स्थापित छ । अमृतले पनि नाटकीय रूपमा आफूलाई साँच्चिकै पीडामा धकेलिदिए । धन्न केही नराम्रो घटना भएन । सम्भावित घटनालाई मध्यनजर गरी उनले मेडिकल डाक्टरको व्यवस्था गरेका थिए । 

कला सकिँदासम्म उनी केही भन्न र बोल्न सक्ने अवस्थामा थिएनन् । डाक्टर तुरुन्तै उनको सम्पर्कमा आए, हातखुट्टा जम्मै सुन्निएको थियो । डाक्टरको सल्लाह अनुसार उनलाई तुरुन्तै आराम गर्न घर पठाइयो । उनको कलाको पनि अन्त भयो । 

डाक्टर पनि कलाका पात्र थिए वा थिएनन्– यो भावककै जिम्मामा छोडेर उनी घर गए । यो कला बन्नुअघि, बन्दै गर्दा र बनिसकेपछि अमृत केही बोलेनन् । केही भन्नुपर्ला भनेर पहिले उनी कतै लुकी बसे । जब कला सिर्जनाको क्रम सुरु भयो, शान्त रूपमा पर्फम गरिरहनु यो कलाको स्वभाव भइरह्यो । उनको शारीरिक पोस्चर लामो समयसम्म एउटै आसनमा स्थिर वा अचल भइरह्यो, जो सहनशीलताको पराकाष्ठाको द्योतक हो । भावकलाई भने यसैअनुसार बुझ्नुपर्ने, आत्मसात गर्नुपर्ने बाध्यता हुन जान्थ्यो, जो चाखलाग्दो रूपमा यसबखत देखापरेको थियो । 

भोलिपल्ट मैले उनीसँग सम्पर्क गरेँ । उनले भने, ‘दर्शक (भावक)लाई यसपल्टचाहिँ आफ्नो अवधारणा (कन्सेप्ट) नभनेकै हो । यसपल्ट मैले अनुभूत गरेका कुरालाई केही नभनी पर्फम गर्दा आम भावकले अझ खुला रूपमा मेरो कलालाई महसुस गरोस् भन्ने पनि मलाई लाग्यो । अनि मैले यसरी नै पर्फम गरेँ ।’ 

पर्फर्मिङ र पर्फर्मेन्स कला 

यसैले त पर्फर्मेन्स कला र पर्फर्मिङ कला अलग–अलग हुन् भन्ने गरिन्छ । हुन त एकैजस्तो देखिने दुवै नाटक नै हुन् । तापनि यी दुवै अलगअलग प्रकृति र स्वभावमा विकसित भएका हुन्छन् । 

पर्फर्मिङ कलामा जतिसुकै राम्रो अभिनय गरे पनि, दर्शकलाई धुर्धुर्ती रुवाए पनि, पेट मिचाउने गरी हँसाए पनि मूलतः नाटक भनेको नाटकै हुन्छ । लेखिएका सन्देश, निर्देशन अनुसार राम्रो अभिनय गरेर यसलाई जीवन्त पार्न कलाकारको धर्म हुन्छ । पर्फर्मेन्स कला नाटकजस्तो हुँदाहुँदै पनि वास्तविकताजस्तै लाग्छ । यसमा कलाकारले साँच्चिकै दुःखकष्ट भोगिरहेको हुन्छ । भावक पनि प्रतिक्रिया स्वरूप प्रत्यक्ष हाँस्ने वा रुने गर्दैनन्, मनभित्रै यसको प्रभावलाई समेटेर राख्ने गर्छन् । बन्द कोठाभित्र खुला रूपमा यसको पर्फम हुन्छ । कहिलेकाहीँ अन्य कुनै ठाउँ पर्फर्मेन्स कलाका लागि नयाँ स्पेस हुन सक्छ । यस्तो कला एकै ठाउँमा रहँदैन, कलाकार जताजता जान्छन्, भावक पनि उनैको पछि लागेर उतै जान्छन् । यो एउटा अलग्ग कलागत प्रकृति नै पर्फर्मेन्स कलाको विशेषता हो । 

यसर्थ पर्फर्मेन्स कला अवास्तविक हुँदाहँुदै यथार्थ, स्वाभाविक र नैसर्गिक लाग्छ । यसमा कलाकारको निजी सिर्जना हुन्छ, उसको अपनत्व बोध हुन्छ । यसैले यस्ता कलामा सन्देश प्रवाह हुनैपर्छ भन्ने हँुदैन । अधिकांश समय यो एउटा घटनाजस्तो भएर देखापर्छ, कहिलेकाहीँ एउटा क्रियाकलापजस्तो पनि देखिन सक्छ । यस कलामा कहिलेकाहीँ कलाकारको जीवनभरको अनुभव मात्र प्रत्याभूति हुन्छ, कहिलेकाहीँ दिनचर्याका क्रियाकलाप मूल रूपमा अगाडि आउन सक्छन् । कहिलेकाहीँ उद्देश्यविहीन किसिमले यस्ता कला बनिरहेका हुन्छन् । यसर्थ पर्फर्मेन्स कलाको स्वभाव हरेक कलाकारपिच्छे अलग भएर देखापर्छ । यो कला एकै कलाकारको भए पनि अलगअलग स्वरूप र स्वभावमा देखिन्छ । यही प्रवृत्ति र कला–सिर्जनाको तौरतरिकाका आधारमा यो आधुनिक कलाभन्दा अलग्ग हुन्छ, यसको यही विशेषतालाई युरोप, अमेरिका वा विकसित राष्ट्रतिर समसामयिक कला–प्रवृत्तिको मूल अंश मानिन्छ । हामीकहाँ पनि यसको बाछिटा आउन थालिसकेको छ । 

आधुनिक कलाझैँ एकै प्रकारको शैलीमा यो आबद्ध हुँदैन, आधुनिक कलामा भनिने गरेको ‘सिग्नेचर’को सन्दर्भ यस्ता कलामा देखिँदैन । यसैले यो कलाको प्रवृत्ति पृथक् छ । यस पृथक् कला प्रवृत्तिलाई उत्तरआधुनिक कला, वैकल्पिक कला वा अत्याधुनिक कला पनि भन्ने प्रचलन छ ।

संवादविहीन हुने पर्फर्मेन्स कलाको स्वभाव हुन्छ । क्रियाकलापबाटै कलाकारले भोगेको अनुभव, भाव अनि विचारलाई प्रवाहित गरिन्छ । भाव अभिव्यक्तिका कुनै पनि अवयवलाई अभिनयका रूपमा प्रयोग नगर्ने गर्ननपर्ने, गर्न नहुने हुँदा शान्त स्थिर ‘पोस्चर’लाई नै भावकले पढ्नुपर्ने हुन जान्छ । किनकि पर्फर्मेन्स कलामा अभिनय गरिँदैन । जसरी हामी स्वाभाविक आचरण, स्वाभाविक ‘जेस्चर’ प्रयोग गरिरहेका हुन्छौँ । यसैले यसलाई ‘आर्टिस्टिक एक्सन’ पनि भन्ने गरिन्छ । यसमा सूत्रधार हुँदैन, कला सिर्जना प्रक्रिया सकिएपछि भावकको प्रतिक्रिया जान्ने–बुझ्ने गरिँदैन । कैयौँ ठाउँमा त भावक स्वयं बलियो पात्र भएर उभिएको देखिन्छ । 

प्रक्रियामा आबद्ध र  समुदायसँग जोडिएको कला

पर्फर्मेन्स कला हेर्दा र सोच्दा अनुशासनविहीन किसिमको देखिन्छ । अलि गहिरिएर हेर्दा अमृतको यस कला अनुशासनबद्ध हो, गहिरो मिहिनेतका साथ निश्चित कलाको अत्याधुनिक धारलाई यसले समातेको देखिन्थ्यो । यो उनको कलामा समसामयिकता यथेष्ट मात्रामा दृष्टिगोचर हुन्छ । कलाकारले कलाको परिकल्पनालाई बलियो गरी समाएको देखिन्छ । आम मानिसले सानैदेखि देख्दै  आएको क्रियाकलाप (इँटाको गारो लगाउने काम)लाई कलाकारले अवलम्बन गरेका छन् । 

समुदायको दैनिकी अर्थात् क्रियाकलापलाई कलाको मुख्य विषय वा माध्यम बनाउने चलन पप कलाकारले अपनाएका थिए । यसो हुँदा आममान्छेसँग कला नजिक हुन्छ, उनीहरूले यस्ता कलालाई अपनत्व ग्रहण गर्छन् भन्ने पप कलाकारको बुझाइ थियो । यो सन् ५० को उत्तराद्र्धमा बेलायतमा उदाएको कला हो । जहाँसम्म पर्फर्मेन्स कलाकै मात्र सन्दर्भ छ, यसको आधारभूत तत्त्व (फन्डामेन्टल इलिमेन्ट्स) निश्चित समय, स्पेस, कलाकार, भावकको उपस्थिति इत्यादि सन्दर्भमा अमृत खरो रूपमा उत्रेको देखिन्थ्यो । पर्फर्मेन्स कलामा हुनैपर्ने विशेषतामा भावक र सर्जकबीचको मौन क्रिया–अन्तक्र्रिया अझ धारिलो भएर देखिनु नै उनको कामको सफलताको सूचक थियो । 

चार घन्टाजति जीवित बनेको अमृतको यो कला तत्क्षण रोमाञ्चकताका साथ शुभारम्भ हुँदै कलाकारको कठिन अझ अठिन अवस्थामा परिवर्तित हुँदै गएको भावकले अनुभव गर्दै गएको परिदृश्य देखिन्थ्यो । त्यहाँ भएका भावकले यो कला क्रियाशील भइरहँदा सम्भवतः तितो–मिठो अनुभव, अनुभूतिसँगै अनेकौँ कल्पना गरे । आम मान्छेले भोग्नुपरेको वा भोगिरहेको दुखेसो, आक्रोश, लाचारीपन, दिक्क भएर रोजगारीका लागि बिदेसिएको सन्दर्भ आदितर्फ यस कलाले बहकाउँथ्यो । 

नेपाली समसामयिक कलामा पर्फर्मेन्स कलाको उदय भएपछि सशक्त ढंगबाट पर्फर्मेन्स कलालाई जन्म दिँदै आएका कलाकार हुन्, अमृत । पोखरामा बस्ने उनी बेलाबेला राजधानी आई आफ्ना यस्ता अनौठो कला यहाँका भावकलाई देखाउँछन् र राजधानीबाट ओझेल हुन्छन् । वर्षभरि उनको खासै चर्चा हँुदैन । यसपल्ट पनि यही कला सिर्जना गर्न उनी पोखराबाट काठमाडौं आए । पर्फम गरे र पोखरा फर्किहाले । 

यो उनको पर्फर्मेन्स कला भइरहेका कलाभन्दा धेरै अर्थले पृथक् थियो । यसपल्टको उनको पर्फर्मेन्स कला कन्सेपचुअल कला बन्न पुगेन, बनाउन उनले प्रयत्न पनि गरेनन् । यसपल्ट उनले आफ्ना विचारलाई भन्दा आफ्ना अनुभवलाई सेयर गर्न खोजे । उनको यही सोच नेपालमा भइरहेको पर्फर्मेन्स कलाको आरोह–अवरोहमा एक अलग्ग प्रकृतिका साथ स्थापित भयो । अहिले बिनाकन्सेपको कुनै कुनै पर्फर्मेन्स कला हुँदैन, गर्ने गरिँदैन । विशेषतः यस्ता कलामार्फत आफ्ना विचार वा आसयलाई आम भावकबीच सम्प्रेषण गर्नु कलाकारको लालसा रहेको हुन्छ । यसर्थ उनको कला छुट्टै पारामा देखापरेको हो । 

मध्याह्नको ठीक २ बजे सुरु भएको यो पर्फर्मेन्स कला सकिँदा करिब ७ बजेको थियो । यति लामो समयको कठिन अवस्थालाई कलाकारले धैर्यता र शारीरिक क्षमताले धानेका थिए, यस हिसाबले नेपालको पर्फर्मेन्स कलाकै इतिहासमा यो पहिलो काम होला । यसअघि अलि सजिलो गरी लामो समयसम्मै पर्फर्मेन्स कला देखिएको भए पनि यति कष्टपूर्ण काम देखिएको थिएन । 

नेपालमा पर्फर्मेन्स कलाको आरोह–अवरोह 

सन् १९९५ मा कलाकार गोपाल कलाप्रेमी श्रेष्ठले सुन्दरीजलको खोलाको ठूलाठूला ढुंगामाथि उफ्रेर एउटा पर्पmर्मेन्स कला प्रस्तुत गरेका थिए । हालसम्मको प्राप्त अभिलेख अनुसार यहीँबाटै नेपालमा पर्फर्मेन्स कलाको शुभारम्भ भएको थियो । यो पर्फर्मेन्स कला बंगलादेशी कलाकारसँग गरिएको एक कला वर्कसपमा प्रस्तुत गरिएको थियो । अन्तर्राष्ट्रिय कला कार्यशालासँग जोडिएकाले यसको विशेष महत्त्व हुन गयो । यसबखत बंगलादेशमै पनि यस प्रकारको नवीन कलाको अभ्यास त्यस्तो विघ्न हुन सकिरहेको थिएन । यसकारण यता साउथ एसियामा यस प्रकारका कलाको प्रवृत्तिले राम्ररी जरा हाल्न पाएको वा थालेको थिएन । यसले निरन्तरता लिन सकेन । यद्यपि यसै बखतदेखि नेपाली समसामयिक युवा कलाकारमा एउटा गतिलो तरंग ल्याइदियो । दुई–चारजना कलाकारले यसैको उत्तरकालमा यस्ता केही प्रयोगात्मक काम गरेको इतिहास छ । यसले गति भने लिन सकेको थिएन । तापनि यसैको वरिपरिका प्रयोगात्मक कला सिर्जना गर्न कलाकार उत्प्रेरित भइरहे । 

निकै समयपछि सन् २००० उत्तरकालमा पर्फर्मेन्स कलाको स्पष्ट स्वरूप देखापरेको हो । त्यतिबेला आफ्नी सानी छोरीसँग पानीको आहालमा खेल्दै सुदर्शन राणाले आफ्नो बालपनको सम्झना स्वरूपको पर्फर्मेन्स कला गरेका थिए । यसैबखत भारतीय कलाकार प्रकाश, सलील सुवेदीले पानीलार्ई माध्यम बनाएर पर्फर्मेन्स कला गरेका थिए । सलीलले अस्ट्रेलियन लोकबाजा डिड्जेरेडु बजाएर पर्फर्मेन्स कला गरेका थिए । यसलाई उनले अहिले पनि निरन्तरता दिएका छन् । गत महिनामा मात्र आर्ट काउन्सिलमा भएको एउटा सामूहिक प्रदर्शनीमा उनले यस्तै प्रकारले डिड्जेरेडु बाजा बजाउँदै पर्फर्मेन्स कला गरे । 

सन् २००३ मा एउटा कलाकै वर्कसपमा भएको प्राकृतिक खोलाको स्वाभाविक तेज प्रवाहलाई मानवले रोक्न खोजेको, मानवको अहंवादी प्रवृत्तिलाई मूल विषय बनाएर पृथ्वी श्रेष्ठले अर्को पर्फर्मेन्स कलाको सिर्जना गरेपछि पर्फर्मेन्स कलाको एक अलग्ग आयाम खडा भएको थियो । यो उनको कलाको नाम ‘रिस’ थियो । २००४ मा अश्मिना रञ्जितले ‘ह्यापिनिङ आर्ट’ (पर्फर्मेन्स कलाको अर्को रूप) मार्फत तत्कालीन राजनीतिक मुद्रालाई अहं रूपमा उठाएकी थिइन्, यस बखत कला आममान्छेसँग जोडिन पाएको थियो । 

सन् २००४ तिरै सुजन चित्रकारले तत्कालीन अवस्थाले सिर्जना गरेको त्रास, अकाल मृत्यु आदिलाई आफ्नो कलासँगै पर्फर्मेन्स कलालाई जोडेर शक्तिशाली काम गरेका थिए । यसैबखत कलाकार मनीषलालले ‘घन्टी’ सिरिजको आफ्नो सोलो कला प्रदर्शनीमा दर्शकलाई समेत समावेश गरेर चकमन्न रातको प्रत्याभूतिका साथ अनौठो पर्फर्मेन्स कला गरेका थिए । भावकलाई एक–एकवटा मैनबत्ती समाउन दिएर ग्यालरी नाइन (अहिले यो कला ग्यालरी अस्तित्वमा छैन) को उक्लने भ¥याङमा लामबद्ध गरेको दृश्य बडो रमाइलो देखिन्थ्यो । कसैलाई केही थाहा थिएन, सबै मैनबत्ती लिएर अँध्यारो कोठाभित्र छिर्छन् । त्यसपछि कसैले लाइटर बाल्दै गरेको झल्याकझुलुक बलेको प्रकाशमा सबै भावकको ध्यान जान्छ । यो आफैँमा एक अलौकिक कला लाग्थ्यो । कलाकारले अँध्यारोमै मनबत्ती बाले, थोरै उज्यालो भयो । यसपछि सबै भावकले एकअर्काको मैनबत्ती बाल्दै गए, सर्वत्र उज्यालो भयो । तत्कालीन नेपालमा भइरहेको ‘घोर अन्धकार’मा सबै मिलेर उज्यालो पारौँ भन्ने सन्देश प्रवाहका साथ मनीषले पर्फर्मेन्स कला गरेका थिए । यसपछिका दिनमा यस्ता पर्फर्मेन्स कला अनगिन्ती रूपमा हुन थालेको देखिन्छ । आज यो नेपाली समसामयिक कलाको एक अभिन्न अंग बन्न गएको छ । 

(मल्ल कलाकार र कला समीक्षक हुन् ।)

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।