शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

शनिबार, ०३ मङ्सिर २०७९, १६ : ४२
शनिबार, ०३ मङ्सिर २०७९

बाला चतुर्दशीका अवसरमा पशुपति क्षेत्रमा लाग्ने मेलाको तयारी अन्तिम चरणमा पुगेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यसवर्ष यही मङ्सिर ५ गते पशुपतिनाथमा बाला चतुर्दशी मेला लाग्ने कोषले जनाएको छ । प्रत्येक वर्ष मार्ग शीर्ष कृष्ण त्रयोदशीको बेलुकीदेखि पशुपति क्षेत्रमा यो मेला लाग्ने गर्छ । मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मुख्यदिन मतदानको दिन भएकाले अधिकांश तयारीका काम आजै गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

यस वर्ष मङ्सिर ५ गते पशुपतिनाथलगायत देशभरका शिवालयमा दिवङ्गत पितृका नाममा बत्ती बालिन्छ । मङ्सिर ६ गते बिहान दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपति क्षेत्रको विशेषगरी मृगस्थलीमा शतबीज छरिन्छ । यसका लागि लाखौँ भक्तजन पशुपति क्षेत्रमा आउने गर्छन् । चतुर्दशीको बिहान शतबीज छर्ने गरिन्छ । 

कोषले तयारीका लागि पशुपतिनाथको पूर्वी ढोकाअघिको बाग्मतीबाट पारि जान बाँसको अस्थायी पुल निर्माण गरेको छ । यसैगरी शतबीज मार्गमा बत्ती राख्ने काम भने ५ गते बिहानसम्म नै जारी रहने भएको छ । बत्ती राख्ने कामदारलाई पशुपति क्षेत्रमै राखिएको छ । ४ गते मतदान भएकाले आवतजावतमा समस्या हुने कारणले कामदारलाई पशुपति क्षेत्रमै राखेर तयारी गरिएको हो ।

कोषले पशुपति क्षेत्रमा पर्याप्त मात्रामा धारा र शौचालयको व्यवस्था पनि गर्ने भएको छ । पशुपति क्षेत्रका भष्मेश्वर, बोडेपाटी, बाहिरी पश्चिम ढोकाअघि र राममन्दिरमा धुनी जगाउने व्यवस्था गरेको छ । टेन्डर नभएर रोकिएको सबै दरबन्दीअनुसारको विशेष पूजा पनि आइतबारदेखि गर्ने तयारी भएको प्रवक्ता अधिकारीले सुनाए । 

यसअघि टेन्डर नभएको समयमा रु दुई हजार एक सय र रु तीन हजार एक सयको मात्र विशेष पूजा भएको थियो । पशुपतिनाथमा रु २५ लाखसम्म रसिद काटेर विशेष पूजा गर्ने व्यवस्था छ । ती सबै दरबन्दी अनुसारका पूजा आइतबारदेखि फेरि सुरु गर्न लागिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप