शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मतदान अधिकृत भन्छन्–सुत्न गएकै हो, मतपेटिकामा यताउता भएको छैन

सोमबार, ०५ मङ्सिर २०७९, ११ : ४८
सोमबार, ०५ मङ्सिर २०७९

 पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिकामा मतपेटिका छोडेर मतदान अधिकृत सुत्न गएको भन्दै  विवाद भएको छ । मतदान अधिकृतले मतदान सकिएपछि मतपेटिका प्रहरी चौकीमा लगेर छाडेर खाना खान गएर उनै सुतेको आरोप उनीमाथि लागेको छ । 

गाउँपालिकाको २ नम्बर वडाको पिपलचौतारास्थित जनता आधारभूत विद्यालय केन्द्रका आइतबार सबेरै मतदान सकिएको  थियो । उक्त मतदान केन्द्रबाट प्रहरी चौकी आउन झण्डै २० मिनेट समय लाग्छ । मतदान केन्द्रमा खटिएका एक कर्मचारीले रातोपाटीसँग भने,‘हामीले शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न गरेर प्रहरी चौकीमा ल्याएर राखेका थियौँ त्यसपछि के भयो थाह भएन ।’ 

ठाटीकाँधका केही स्थानीय नेता, कार्यकर्ताले सुनियोजित तरिकाले लापरबाही भएको बताएका छन् । किनकी यो पालिका दैलेख क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार विनोद कुमार शाहको हो । 

दैलेखका मुख्य निर्वाचन अधिकृत सरोजनिधि वाग्लेले घटनाको छानबिन हुने बताए ।  उनका अनुसार ठाटीकाँधको मतपेटिकाहरु राति १ बजे लोड गरेर मतगणना केन्द्र दुल्लूतर्फ ल्याइएको थियो । ‘तर पिपलचौतारा बुथ केन्द्रका मतदान अधिकृत ज्वालाप्रसाद खनाल जी दाना खान जानु भएको र उतै सुत्नुभए,’उनले रातोपाटीसँग भने,‘ मतपेटिका लोड हुनेबेलामा उहाँ पुग्नु भएन् र अरुले गाडीमा लोड गर्न ध्यान पुगेनछ ।’ 
तर मतदान अधिकृत ज्वालाप्रसाद खनालले गाडीमा ठाउँ नपुगेको भन्दै बचाउ गरे । रातोपाटीसँग कुरा गर्दै उनले भने,‘ त्यो अलिकति लोड हुने बेलामा गाडीमा ठाउँ नपुगेर रोकिएको हो । अहिले हामी लिएर गाडीमा मतगणना स्थल दुल्लू जाँदै छौँ ।’ 

मुख्य निर्वाचन अधिकृतले नै सुत्न गएका कारण रोकिएको बताइरहँदा खनालले गाडीमा ठाउँ नपुगेको भन्दै बचाउ गरे । तपाइँ सुत्न जानुभएको हो ? भन्ने प्रश्नमा उनले भने,‘ हो म गएको हो चौकीको नजिकै हो ।’ खनालले मतपेटिकामा कुनै शंका गर्नुपर्ने अबस्था नरहेको बताए । ‘अहिले सर्वदलीय टिम आयर हेरिसकेपछि सबैको सर–सल्लाह अनुसार नै ठिक छ भनेर रुजु गरेपछि त्यहाँबाट उठाएका हौँ,’उनले भने ।

उक्त मतदान केन्द्रमा रहेका ५ वटा मतपेटिका बाहेक ठाटीकाँध गाउँपालिका अन्तर्गत सबै मतदान केन्द्रका मतपेटिका रातीनै दुल्लू आइसकेका थिए । खनालका अनुसार एउटा मतपेटिका खाली नै रहेको र चार वटामा मात्रै मत रहेको बताए । 

रातभरी मतपेटिका छाडेर सुतेपछि मतपेटिकामा शंका गर्ने ठाउँ रहेको स्थानीयले बताएका छन् । यता मुख्य निर्वाचन अधिकृत वाग्लेले भने खनाललाई स्पष्टीकरण सोधिने बताए । उनले भने,‘ ढिलो हुँदा शङ्कास्पद हो । उहाँलाई स्पष्टीकरण सोधिने छ । जानी जानी उहाँबाट लापरबाही भएको हो भने कारबाही हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप