शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालको वैदेशिक व्यापार– ५ खर्ब ३२ अर्बको आयात ५४ अर्बको निर्यात

बिहीबार, ०८ मङ्सिर २०७९, १२ : १९
बिहीबार, ०८ मङ्सिर २०७९

चालू आर्थिक वर्ष २०७९/८० को ४ महिनाको अवधिमा नेपालले ५ खर्ब ३२ अर्ब ६९ करोड १३ लाख रूपैयाँका वस्तु खरिद गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार साउनदेखि कात्तिक महिनासम्मको अवधिमा नेपालले विदेशबाट उक्त मूल्य बराबरको वस्तु आयात गरेको हो ।

गत आर्थिक वर्षको यही अवधिमा नेपालले ६ खर्ब ५० अर्ब २९ करोड ४३ लाख रूपैयाँको वस्तु आयात गरेको थियो । चालू वर्षमा नेपालको आयात १८ प्रतिशतले घटेको हो । सरकारले विदेशी मुद्राको सञ्चिती जोगाउनका लागि विभिन्न वस्तुको आयातमा प्रतिबन्ध लगाइरहेको छ ।

१५० सिसीभन्दा बढी क्षमताका दुई पांग्रे सवारी, ४२ इन्चभन्दा माथिको टेलिभिजन, डिजेल/पेट्रोलबाट चल्ने चार पांग्रे सवारीसाधन, मदिरा लगायत वस्तुको आयात प्रतिबन्ध कायमै छ । यस्तै, ३०० डलरभन्दा बढी मूल्यका मोबाइल फोनसमेत आयात गर्न प्रतिबन्ध छ । यसअघि, सरकारले सुर्ति तथा चुरोटजन्य वस्तु, खेलौना, तास लगायतका वस्तुको समेत आयात प्रतिबन्ध लगाएको थियो ।

यहीकारण, चालू वर्षको ४ महिनाको अवधिमा १ खर्ब १८ अर्ब रूपैयाँको आयात घटेको छ । यस्तै, यस अवधिमा नेपालको निर्यात समेत खुम्चिएको छ । विभागका अनुसार साउनदेखि कात्तिकसम्मको अवधिमा नेपालको निर्यात ३३ प्रतिशतले खुम्चिएको छ । यस अवधिमा नेपालबाट जम्मा ५४ अर्ब ७७ करोड ४३ लाख रूपैयाँको निर्यात भएको छ । गत वर्षको यही अवधिमा ८२ अर्ब १२ करोड रूपैयाँको निर्यात भएको थियो ।

४ महिनामा नेपालको आयात र निर्यात नै घटेपछि वैदेशिक व्यापार घाटामा भने सुधार आएको छ । कात्तिकसम्ममा नेपालको व्यापार घाटा १५.८८ प्रतिशतले सुधारिएको छ । यस अवधिमा नेपालले वैदेशिक व्यापारमा ४ खर्ब ७७ लाख ९१ करोड रूपैयाँ घाटा ब्यहोरेको छ । जुन, गत वर्षको यही अवधिमा ५ खर्ब ६८ अर्ब १७ करोड रूपैयाँ घाटा ब्यहोरेको थियो । यो चालू वर्षको तुलनामा ९१ अर्ब रूपैयाँले बढी हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप