शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौँ उपत्यकामा कमजोर देखियो माओवादी, नतिजा शून्य

बिहीबार, ०८ मङ्सिर २०७९, १२ : ५०
बिहीबार, ०८ मङ्सिर २०७९

नेकपा माओवादी केन्द्र प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा काठमाडौं उपत्यकाका तीन जिल्लाबाट शून्य बन्ने देखिएको छ । सत्ता गठबन्धनबाट माओवादीका काठमाडौं, ललितपुर र भक्तपुरबाट प्रतिनिधि सभामा ६ जना र प्रदेश सभामा ८ जनाले उम्मेदवारी दिएका थिए ।

प्रतिनिधि सभाका ६ जना उम्मेदवार पराजित भइसकेका छन् । प्रदेश सभामा उम्मेदवारी दिएका ७ जना मध्ये ललितपुर क्षेत्र नम्बर ३ ‘क’मा उम्मेदवार राजकाजी महर्जनको क्षेत्रमा गणना जारी छ । महर्जन समेत एमालेका रघुनाथ महर्जनसँग झिनो मत अन्तरले पछाडि छन् । 

काठमाडौं क्षेत्र नम्बर २ बाट माओवादी स्थायी समिति सदस्य ओन्सरी घर्तीले उम्मेदवारी दिएकी थिइन् । सत्ता गठबन्धनको समेत सहयोगमा उम्मेदवारी दिएकी घर्ती राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमसँगको प्रतिस्पर्धामा फराकिलो मत अन्तरले पराजित भइन् । गौतमले १५ हजार २२९ मत ल्याएर विजयी हुँदा घर्ती ९ हजार ४४९ मत ल्याएर चौथो बनिन् । 

यस्तै काठमाडौं ७ बाट नेपाल समाजवादीकी अस्मिता सिंह मानुषी यमी भट्टराई राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीसँग पराजित भइन् । माओवादीको चुनाव चिन्ह हँसिया हथौडा लिएर मानुषी सत्ता गठबन्धनको समेत सहयोगमा चुनावी मैदानमा उत्रिएकी थिइन् । 

पराजुलीले ८ हजार ७४३ मत ल्याएर विजयी हुँदा मानुषीले ६ हजार ६३ मत ल्याएर तेस्रो भइन् ।  यस्तै काठमाडौं ९ मा पोलिटब्युरो सदस्य कल्पना धमलाले उम्मेदवारी दिएकी थिइन् ।  सत्ता गठबन्धनको सहयोगमा उम्मेदवारी दिएकी धमला एमालेका कृष्णगोपाल श्रेष्ठसँग पराजित भइन्। श्रेष्ठले ११ हजार ९५६ मत ल्याएर विजयी हुँदा धमला ६ हजार ४०२ मत ल्याएर तेस्रो भई पराजित भइन् । 

यस्तै काठमाडौं १० मा गठबन्धन नभएपछि माओवादीले एकल रुपमा अन्जना विसंखेले उम्मेदवारी दिएकी थिइन । नेपाली कांग्रेसका राजेन्द्र केसीले १४ हजार ४४८ मत ल्याएर विजयी हुँदा विसंखेले ४ हजार २६० मत ल्याएर पाँचौँ स्थानमा चित्त बुझाइन् । 

भक्तपुर १ मा सत्ता गठबन्धनबाट माओवादीका सुनील गोठेले उम्मेदवारी दिएका थिए । उनलाई नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले फराकिलो मत अन्तरले पराजित गरे । सुवालले ४२ हजार ७६१ मत ल्याएर विजयी हुँदा माओवादीका सुनीलले ५ हजार १६५ मत ल्याएर चौथो बने ।

यस्तै पार्टी  संघीय सरकारकी उर्जा मन्त्री एवम् पार्टी उपमहासचिवमा पम्फा भुसालले ललितपुर ३ मा उम्मेदवारी दिएकी थिइन् । भुसाल पराजित हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की विजयी भइन्। कार्की ३१ हजार १३६ मत ल्याएर विजयी हुँदा भुसालले ८ हजार ७६९ मत ल्याएर तेस्रो भइन् । 

ललितपुर क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा हरि दाहालले उम्मेदवारी दिएपनि एमालेका मधुसूदन पौडेलसँग पराजित भए ।  यस्तै काठमाडौं ३ बाट प्रदेश सभा ‘क’ मा कपिलमुनि उप्रेती र प्रदेश सभा‘ख’बाट महेश्वर फुयालले उम्मेदवारी दिएका थिए । पोखरेल र फुयाल दुवै क्रमशः कांग्रेसका  छिरिङ दोर्जे र विमल ठकुरीसँग पराजित भए ।

यस्तै काठमाडौं क्षेत्र नम्बर ६ प्रदेश सभा‘क’बाट रविन्द्रप्रसाद श्रेष्ठ र प्रदेश सभा ‘ख’बाट प्रकाश फुयालले उम्मेदवारी दिएका थिए । श्रेष्ठ र फुयाल दुवै क्रमशः कांग्रेसकी हरिप्रभाव खड्का र एमालेका अमनकुमार मास्केसँग पराजित भए । 

यसैगरी काठमाडौँ क्षेत्र नम्बर १० को प्रदेश सभा‘क’ मा दिलीप महर्जन र प्रदेश सभा ‘ख’ मा गणेशबहादुर कुँवरले उम्मेदवारी दिएका थिए । महर्जन र कुँवर दुवै जना कांग्रेसका पुकार महर्जन र एकीकृत समाजवादी रमा आले मगरसँग पराजित भए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप