शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रोनाल्डो भर्सेस मेस्सीः तथ्याङ्कले कसलाई देखाउँछ सर्वकालीन महान् खेलाडी ?

बिहीबार, ०८ मङ्सिर २०७९, १६ : १७
बिहीबार, ०८ मङ्सिर २०७९

क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीले आफ्नो पाँचौँ र सम्भवतः अन्तिम विश्वकप कतारमा खेल्दैछन् । पेरिस सेन्ट–जर्मेन क्लब र अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट खेल्ने ३५ वर्षीय मेस्सीले अक्टोबरमा २०२२ को विश्वकप आफ्नो अन्तिम हुने घोषणा गरेका थिए । 

३७ वर्षिय पोर्चुगिज खेलाडी रोनाल्डो भने अन्तर्राष्ट्रिय खेलको भविष्यबारे केही टिप्पणी गरेका छैनन् । उनी केही अघिसम्म म्यानचेस्टर युनाइटेडबाट खेलिरहेका भए पनि विश्वकपकै बीचमा क्लब छाडेका छन् । 

एक दशकभन्दा बढी समयदेखि फुटबल संसारमा यिनै दुई खेलाडीको राज छ । पुरै फुटबल विश्व यी दुईमध्ये को महान् भन्ने बहसमा विभाजित छ । सम्भवतः उनीहरूको अवकाशपछि पनि यो बहस चलिरहनेछ ।

विश्व फुटबलका यी दुई दिग्गज आफ्नो करियरको अन्तिम अवधिमा रहेकाले यहाँ यी दुई खेलाडीका पछिल्ला १७ वर्षका खेल प्रदर्शनको तुलना गरिएको छ ः

राष्ट्रिय टोलीबाट खेल्दाको तथ्यांक 

रोनाल्डोले हालसम्म १९१ अन्तर्राष्ट्रिय खेल खेलेका छन् भने मेस्सीले १६५ खेले । पूर्व रियल मड्रिड स्टार रोनाल्डोको अन्तर्राष्ट्रिय करियर सन् २००३ बाट सुरु भएको थियो, जबकि गत वर्ष बार्सिलोना छोडेर पेरिस गएका मेस्सीले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल दुई वर्ष पछि हंगेरी विरुद्ध खेलेका थिए । 

अन्तर्राष्ट्रिय खेलमा गोलको रेकर्डको हकमा रोनाल्डो उनका अर्जेन्टिनी प्रतिद्वन्द्वी मेस्सीभन्दा धेरै अगाडि छन् । भर्खरै म्यानचेस्टर युनाइटेड छाडेका रोनाल्डोले ११७ पटक गोल गरेर कीर्तिमान राखेका छन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा मेस्सीको नाममा ९० गोल छन् ।

दुवै खेलाडीले तिनको देशलाई आफू रहेको क्षेत्रको प्रमुख प्रतियोगिता जिताएका छन् । रोनाल्डोले सन् २०१६ मा युरोपियन च्याम्पियनसिप जिताए भने मेस्सीले ​सन् २०२१ मा कोपा अमेरिका जिताएका थिए ।

विश्वकप इतिहास

फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता फिफा विश्वकपमा मेस्सीले १९ खेल खेलेका छन्, जुन उनका पोर्चुगिज प्रतिस्पर्धीभन्दा दुई बढी हो । यसमा पनि रोनाल्डोको गोल मेस्सीको भन्दा एक बढी अर्थात सात गोल छ । 

तर, दुई खेलाडीमध्ये मेस्सी मात्रै विश्वकपको फाइनलमा पुगेका छन् । सन् २०१४ को ब्राजिलमा भएको विश्वकपमा अर्जेन्टिना फाइनल पुगेको थियो, जसमा सो टोली जर्मनीसँग अतिरिक्त समयमा १–० ले पराजित भएको थियो ।

ब्राजिलमा भएको विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेबापत गोल्डेन बल पाएका मेस्सीका लागि केही सान्त्वना भएको थियो । त्यसको विपरीत, रोनाल्डो सन् २००६ मा एक पटक सेमिफाइनल पुगेका छन् ।

क्लब प्रतियोगितामा दुईको तुलना

रोनाल्डोले सबै क्लब प्रतियोगिताहरूमा कुल ७०१ गोल गरेका छन् भने मेस्सीले ६९५ गोल गरेका छन् । रोनाल्डोले ६ गोल बढी गरेका भए पनि यी दुई खेलाडी फुटबल इतिहासमा क्लब स्तरमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीमा गनिन्छन् । 

तर पोर्चुगिज खेलाडी रोनाल्डोले मेस्सी भन्दा १०० बढी खेल खेलेर ६ गोल बढी गरेका हुन् । पछिल्ला खेलहरूमा मेस्सीको औसत खेलमा गोल राम्रो छ । 

तर, जब अरूलाई बल पास दिएर असिस्ट गोलको कुरा आउँछ भने ३५ वर्षीय अर्जेन्टिनाका खेलाडी मेस्सी रोनाल्डोभन्दा धेरै अगाडि छन् । मेस्सीले रोनाल्डोले भन्दा ५० प्रतिशतले बढी असिस्ट गोलमा सघाए । 

अल–जजिराबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप