शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ः मुख्यमन्त्रीका दाबेदारमध्ये  तीन निर्वाचित, एक पराजित

बिहीबार, ०८ मङ्सिर २०७९, १९ : ५७
बिहीबार, ०८ मङ्सिर २०७९

प्रदेश १ मा मुख्यमन्त्रीको आकाङ्क्षासहित प्रदेशसभाको उम्मेदवार बन्नेहरू १० जना थिए । १० जनामध्ये १ जना काँग्रेसका गुरुराज घिमिरे पराजित भएका छन् भने नेकपा एमालेका जीवन घिमिरे मतगणनामा पछाडि परेका छन् । 

अन्य उम्मेदवारहरूमध्ये काँग्रेसबाट अमृत अर्याल पनि निर्वाचित भइसकेका छन् । यस्तै एमालेका घिमिरेसँग प्रतिस्पर्धा गरिरहेका काँग्रेसका भीम पराजुली मतगणनामा अगाडि छन् । यस्तै काँग्रेसकै नेता राजीव कोइराला पनि मत गणनामा सुनसरी २ (२) बाट अगाडि देखिएका छन् । 

मुख्यमन्त्रीकै दाबी गर्ने एमालेका हिक्मतकुमार कार्की झापा ५ (१) बाट निर्वाचित भइसकेका छन् । उता, माओवादी केन्द्रबाट इन्द्रबहादुर आङ्बो पाँचथर २ बाट र नेकपा (एकीकृत समाजवादी)बाट राजेन्द्रकुमार राई भोजपुर १ बाट निर्वाचित भइसकेका छन् । 

मोरङ क्षेत्र नम्बर ५ (२)बाट उम्मेदवार बनेका अमृत अर्याल काँग्रेसका केन्द्रीय सदस्य हुन् । यसअघि दुई पटक संघीय सांसद बनिसकेका अर्याल गठबन्धन दल माओवादीलाई संघीय निर्वाचन क्षेत्र दिनुपरेपछि मुख्यमन्त्री बन्ने सर्तमा प्रदेशमा लडेका हुन् । उनले जसपाका जयराम यादवलाई ५ हजार २७७ मतले पछि पार्दै निर्वाचित भएका छन् । अर्यालले १६ हजार १०२ मत ल्याउँदा यादवले १० हजार ८२५ मत ल्याएका छन् । 

यस्तै काँग्रेस प्रदेश १ का संसदीय दलका नेता रहिसकेका राजीव कोइराला पनि मुख्यमन्त्रीको दौडमा छन् । कोइराला सुनसरी क्षेत्र नम्बर २ (२)बाट उम्मेदवार बनेका छन् । उनी यसअघि पनि सोही निर्वाचन क्षेत्रबाट विजयी बनेका थिए । उनले यस पटक नेकपा एमालेका रामप्रसाद महतोसँग प्रतिस्पर्धा गरेका छन् । हालसम्म उनी प्रतिस्पर्धीभन्दा २ सय मतले अग्रता लिएका छन् । 

यस्तै काँग्रेसबाटै मुख्यमन्त्रीको दौडमा रहेका अर्का नेता हुन् भीम पराजुली । पराजुली मोरङ क्षेत्र नम्बर ४ (२)बाट उम्मेदवार बनेका छन् । पराजुली विराटनगर महानगरपालिकाका पूर्व प्रमुख पनि हुन् । पराजुलीले एमालेका उम्मेदवार जीवन घिमिरेलाई प्रारम्भिक मतगणनामा १ हजार बढी मतले पछि पारेका छन् । यस्तै काँग्रेसका प्रदेश १ सभापति उद्धब थापा पनि मुख्यमन्त्रीको दौडमा छन् । थापा काँग्रेसको समानुपातिक कोटाबाट सांसद बन्ने सूचीमा छन् । उनको नाम खस आर्य कोटाको १ नम्बरमा राखिएको छ ।

काँग्रेसबाट ६ जना नेता नै मुख्यमन्त्रीको दौडमा रहेको भए पनि घिमिरे निर्वाचनमा पराजय व्यहोरेपछि रिङ आउट भएका छन् । बाँकी ५ जनामध्ये अन्तिममा अर्याल नै मुख्यमन्त्रीको बलियो दाबेदार बन्न सक्ने विश्लेषण छ । अर्याल र थापा पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन् । राजीव कोइराला संस्थापन इतरका नेता हुन् भने पराजुली पार्टीका नेता कृष्ण सिटौला गुटका हुन् ।

यस्तै अर्को ठुलो पार्टी नेकपा एमालेबाट पनि मुख्यमन्त्रीको दौडमा दुई नेता देखिएका छन् । झापा क्षेत्र नम्बर ५ (१)बाट उम्मेदवार बनेका हिक्मतकुमार कार्की तथा मोरङ क्षेत्र नम्बर ४ (२)बाट उम्मेदवार बनेका जीवन घिमिरे मुख्यमन्त्रीको दौडमा छन् । केपी ओलीको निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका कार्की नै मुख्यमन्त्री बन्ने बढी सम्भावना भएका नेता हुन् । कार्की २०७४ सालको निर्वाचनमा पनि सोही निर्वाचन क्षेत्रबाट विजयी बनेका थिए । यस पटक पनि उनले प्रतिस्पर्धीलाई ५ हजार ४७२ मतले पराजित गरेका छन् । उनले २२ हजार ५३० मत ल्याउँदा काँग्रेसका उम्मेदवार जीवन कुमार राईले १७ हजार ५८ मत ल्याएका छन् । यसअघि उनी प्रदेश १ को शेरधन राई नेतृत्वको मन्त्रीपरिषद्मा दोस्रो बरियताको मन्त्री बनिसकेका छन् । कार्की एमालेका स्थायी समिति सदस्य समेत हुन् ।

यस्तै मुख्यमन्त्रीको दौडमा रहेका एमाले नेता घिमिरेका लागि भने पहिलो खुड्किलो पार लगाउनु चुनौती बनेको छ । प्रारम्भिक मतगणनामा उनी काँग्रेस नेता पराजुलीसँग १ हजार भन्दा बढी मतले पछि परेका छन् । घिमिरे यसअघि पनि सोही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए । घिमिरे पनि यसअघि शेरधन राई नेतृत्वको सरकारको पालामा सामाजिक विकासमन्त्री बनेका थिए । उनले तत्कालीन केपी शर्मा ओलीले संसद् विघटन गरेपछि असन्तुष्टि व्यक्त गर्दै पदबाट राजीनामा दिएका थिए । यद्यपि एमालेका १० नेताले एमालेको संस्थापन पक्षसँग १० बुँदे सहमति गरेपछि घिमिरे एमालेमै रहेका हुन् ।

यस्तै माओवादी केन्द्र मुख्यमन्त्रीको दौडमा रहेका नेता हुन् इन्द्रबहादुर आङ्बो । आङ्बो हाल पनि प्रदेश १ को सरकारका आर्थिक मामिला तथा योजना मन्त्री छन् । दुईपटक मन्त्री बनिसकेका आङ्बो सबैभन्दा बढी समय मन्त्री हुने नेतामा पर्दछन् । लामो समय मन्त्री भएर पनि निर्विवाद रहेका उनी आफ्नो पक्षमा काम गराउन सक्ने नेता मानिन्छन् । हालको मन्त्रीपरिषद् पनि आङ्बोकै योजनामा चल्ने गरेको कतिपय बताउँछन् । चलाख र कूटनीतिक मानिने आङ्बो पाँचथरको निर्वाचन क्षेत्र १ (२)बाट निर्वाचित भइसकेका छन् । उनले १५ हजार ६७२ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका अइन्द्र सुन्दर नेम्वाङले १२ हजार ६०५ मत ल्याए । यसअघि पनि आङ्बो सोही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए । माओवादी केन्द्रबाट मुख्यमन्त्री बन्ने दौडमा हालसम्म अन्य नेताले मुख खोलेका छैनन् ।

यस्तै नेकपा (एकीकृत समाजवादी)बाट मुख्यमन्त्रीको दौडमा रहेका एकमात्रै नेता राजेन्द्रकुमार राई हुन् । राई हालका बहालवाला मुख्यमन्त्री पनि हुन् । राई भोजपुरको १ (१)बाट निर्वाचित भइसकेका छन् । यसअघि पनि उनले सोही निर्वाचन क्षेत्रबाट विजयी बनेका थिए । यसपटक प्रतिनिधिसभाको उम्मेदवार बन्ने चाहना राखेका राईका लागि मुख्यमन्त्री बनाउने सर्तमा टिकट लिएको नेकपा एसका कार्यकर्ता बताउँछन् । उनले एमालेका उम्मेदवार हरिबहादुर राईलाई पराजित गरेका हुन् । राजेन्द्रले १६ हजार ११० मत ल्याउँदा हरिबहादुरले १२ हजार २२३ मत मात्र ल्याउन सफल भए । आफ्नो पार्टीको संसद् सङ्ख्या सानो हुने र समानुपातिक मत पनि कम आउने हुनाले अन्य गठबन्धन दल सहमत गराउन उनलाई निक्कै हम्मे पर्ने देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप