बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

तोसिमाकी शिक्षिका भन्छिन्, ‘उनी हुने बिरुवाको चिल्लो पात थिइन्’

शुक्रबार, ०९ मङ्सिर २०७९, १० : ३३
शुक्रबार, ०९ मङ्सिर २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छन् । नेकपा माओवादी केन्द्रकी नेतृ तथा ऊर्जामन्त्री पम्फा भुसाललाई पछि पार्दै उनी पहिलो प्रयासमा नै संसद् बन्न सफल भएकी हुन् ।

बिहीबार ललितपुरमा कार्कीको विजयोत्सवमा उनकी शिक्षिका सफला पोखरेल पनि भेटिइन् । नख्खुको सहिद धर्मभक्त स्कुलमा काकीलाई पढाएकी पोखरेल उनको जीतबाट निकै खुसी देखिन्थिन् । कार्कीले जितेको थाहा पाएपछि आँखामा आँसु नै आएको बताउने उनी कलेजबाट सिधै फूलमाला लिएर आएको रातोपाटीलाई बताइन् । तोसिमाबारे पोखरेलले आफ्नो सम्झना र आशा यसरी सुनाइन्,

आज तोसिमालाई पढाएको भन्न पाउँदा एकदमै गौरव गरिरा’छु । मैले तोसिमालाई आठ, नौ दश कक्षामा पढाएको थिएँ, सहिद धर्मभक्तमा । मैले देखेदेखि नै तोसिमा एकदमै ‘एक्टिभ’, सानैदेखि हरेक कुरामा चाख राख्ने । उनी जे कार्यक्रम होस्, कहिल्यै पछि नहट्ने । म गर्छु भनेर अगाडि बढ्ने । 

यही स्वभावले उनी विद्यालयमा क्लास क्याप्टेन हुँदै स्कुल क्याप्टेनसम्म भइन् । स्काउट होस् अथवा सडक नाटक नै किन नहोस्, स्कुलमा हुने विभिन्न कार्यक्रममा सहभागी हुने । त्यतिकै मिठो कविता वाचन गर्ने । त्यति कै मिठो गीत गाउने । त्यतिकै राम्रो नाच्ने । 

अतिरिक्त क्रियाकलापमा एकदम राम्रो थिइन् । यो हिसाबले हामीलाई पहिले नै लाग्थ्यो की उनी चाहिँ हुने बिरुवाको चिल्लो पात हो भन्ने । कहीँ न कहीँ पुग्छिन्, राम्रो हुनेछिन् भन्ने लाग्थ्यो । आज उनी देश हाँक्ने ठाउँमा पुग्दैछिन् । 

मलगायत हामी सबै नेपालीको चाहना चिकित्सा पेसाको अनुभव भएकाले चिकित्सा क्षेत्रको सुधारमा तोसिमाले ध्यान दिनुपर्छ भन्ने छ । सांसदबाट यही आवाज उठोस् । डा. गोविन्द केसीसँग सहकार्य गरेको अनुभव भएकाले डा. केसीको जुन एजेन्डा छन्, त्यसलाई लिएर अघि बढ्नुहुन्छ भन्ने विश्वास छ मलाई । 

आफ्नो विद्यार्थीको जितलाई शब्दमा बयान गर्नै सक्दिन । बिहान जितको खबर सुन्दा एक पटक त आँसु नै झर्‍यो । हुन त स्कुलमा देखेको विद्यार्थी अहिले उनले धेरै ठाउँमा धेरै शिक्षक–शिक्षिका पाइसकेकी छन् तर आफू कहीँ न कहीँ म पनि उनीसँग जोडिएको थिएँ भन्न पाउँदा नै गौरव लाग्यो । 

मतगणना भइरहँदा ललितपुरका मलगायत धेरै उनको जित हुन्छ भन्ने आशामा थियौँ । जितको घोषणापछि अहिले कलेजबाट सिधै फूलमाला लिएर यहाँ आएँ । यो भन्दा ठुलो खुसी त के होला ? उनलाई माला लगाउन पाए, त्यो नै ठुलो खुसी हुनेछ मलाई । मैले आज यहाँ आउनुअघि कलेजका हरेक विद्यार्थीलाई तोसिमाजस्तै बन्नुपर्छ भनेको थिएँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप