शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्रीका दाबेदारलाई हराए जनमतका उम्मेदवारले

गाउँपालिकामा हारेका सञ्जय प्रदेश सदस्यमा निर्वाचित
शुक्रबार, ०९ मङ्सिर २०७९, १२ : ०७
शुक्रबार, ०९ मङ्सिर २०७९

सिरहा २ (क) मा प्रदेश सभा सदस्यका उम्मेदवार एवं जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य एवं मधेस प्रदेश सरकारका कृषि मन्त्री विजय यादवलाई जनमत पार्टीका केन्द्रीय सचिव सञ्जय यादवले पराजित गरेका छन् । 

सञ्जय यादवले १२ हजार १७१ मत ल्याएका छन् भने जसपाका कोषाध्यक्ष समेत रहेका विजय यादवले ११ हजार ५२७ मत मात्र ल्याउन सके । जनमत पार्टीका सचिव रहेका सञ्जयले विजय यादवलाई ६४४ मतान्तरले पराजित गरेका छन् । 

सञ्जय यादव र विजय यादव एउटै गाउँपालिका मात्र होइन, एउटै वडाका पनि हुन् । जनमतका नेता सञ्जय यादव स्थानीय तहको चुनावमा औरही गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । उनलाई जसपाका उम्मेदवार शिवजी यादवले चुनाव हराएका थिए । त्यसपछि उनले प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका थिए । 

उता विजय यादव २०६४ को संविधान सभामा जितेपछि एकपटक वाणिज्य मन्त्री पनि भएका थिए । त्यसपछि उनी २०७० को चुनाव हारेका थिए । २०७४ को चुनावमा सोही क्षेत्रबाट प्रदेश सभा सदस्यमा चुनाव जितेका विजय यादव त्यतिबेला पनि मधेस प्रदेशका मुख्यमन्त्रीका दाबेदार थिए । 

तर त्यतिबेला लालबाबु राउतले बाजी मारेका थिए । लालबाबु राउत मुख्यमन्त्री बनेपछि उनीहरूको बीचमा राम्रो सम्बन्ध थिएन । पाँच वर्षसम्म उनीहरूको बीचमा राम्रोसँग बोलचाल समेत भएका थिएन । मुख्यमन्त्री बन्न नपाएका विजयलाई जसपाका अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशको अर्थमन्त्री बनाएका थिए । र, अढाई वर्षपछि मुख्यमन्त्री बनाउने आश्वासन पनि दिएका थिए । तर यादवले आफ्नो वचन पुरा गरेनन् । 

त्यसबाट असन्तुष्ट विजय यादवले पार्टीमा उपेन्द्र यादवको नै विरोध गर्न थाले । त्यसपछि उनलाई अर्थमन्त्रीबाट हटाएर कृषि मन्त्रीमा सीमित गरिएको थियो । यसपटक प्रदेशसभाको चुनावमा आफूलाई मुख्यमन्त्रीको दाबेदार भन्दै भोट मागे पनि जनताले उनलाई पत्याएनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप