शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कुभिन्डोको कथा : दुईवटा डोरीमा झुन्डिएर हिमाल चढ्ने खिमा

शुक्रबार, ०९ मङ्सिर २०७९, १२ : ४४
शुक्रबार, ०९ मङ्सिर २०७९

मञ्चमा दुईवटा डोरी झुन्ड्याइएका छन्– जीवन र कलाबीचको डोरी, परिवर्तन र यथास्थितिबीचको डोरी, जीवन र मृत्युबीचको डोरी, मानव–मानवबीचको सम्बन्धको डोरी, प्रकृति र मानवबीचको सम्बन्धको डोरी, दुःख र सुखबीचको डोरी, विद्वता र मूर्खताबीचको डोरी, विश्वास र संकटबीचको डोरी, इत्यादि विम्बमा । विम्बको कसीमा नाटक हेर्दा यस्तै बुझिन्छ । आखिर, यिनै डोरी मजबुद हुँदा वा कमजोर हुँदा जीवनरूपी रुख फुल्ने वा सुक्ने हो ।

नाटकमा एउटा दृश्य छ, खोलामा पौडन गएका किशोरीमध्ये एउटी डुब्न पुगेको । डोरी समाउँदै किशोरीहरू गहिराइतिर जान्छन् । जीवन र मृत्युबीचको नदेखिने डोरी यहाँ प्रस्ट आभास हुन्छ । 

अर्को दृश्य आउँछ– आफू हिँड्ने बाटो आफैँ सम्याउन नाटककी नायिका खिमा एक्लै उभिन्छे । समाजका अगुवा, टाठाबाठा, बलियाबांगा हिँड्न सजिलो हुने गरी बाटो बनाइएको छ, जसलाई महिला, केटाकेटी हिँड्न मिल्ने गरी सम्याउनु छ । समाजका मान्छेहरू कराउन आउँछन्– मुखियालाई नसोधी बाटो बिगार्छेस् ? खिमाको पक्षमा बोल्नेहरू पनि डोरी समाउँदै आउँछन् ।

मंगलबार मन्डला थियटरमा मञ्चित नाटक ‘कुभिन्डोको कथा’मा निर्देशक दयाहाङ राई र सहायक निर्देशक विकास जोशीले दुई डोरीको बिम्वबाट अनेक भाव अभिव्यक्त गर्न खोजेका छन् । यी डोरीसँगै जातीय संस्कृतिका अनेक आयाम जोडिएर आउँछन् । प्रनिश मगरले मगर जातिको लोककथामा आधारित भई लेखेको यस नाटकले पतिको हेलामा परेकी आमा, आमा र छोरीको सम्बन्ध, आमाप्रति छोरीको संवेदनशीलता, छोरीको संघर्ष र सपनालाई विशेष रूपमा देखाउँछ । 

छोरी हुर्कंदै गएको र आमा बूढी हुँदै गएको जीवनचक्र नाटकमा लयबद्ध भई आएको छ । सानी छोरीले आमालाई सघाउन भारीभारी काम गर्छिन् । आमा र छोरीबीचको व्यावहारिक प्रेमको डोरी यति बलियो छ, जसले दर्शकलाई बाँधेर राख्छ । 

नाटकको कथामा हिमाल आरोहण गर्नुलाई मानिसको उन्नति–प्रगतिसँगै प्रकृतिको रक्षाको विम्बका रूपमा प्रस्तुत गरिएको छ । होँची खिमा हलक्क बढेर हिमाल हेर्ने रहर गर्छे । ऊ आफ्नी आमासँग जादुको बुटी भएको राजकुमारको कथा सुन्न चाहन्छे । एक दिन उसलाई एक अधबैंसे पुरुष आएर हिमाल आरोहणको कथा सुनाउँछ । हिमाल चढ्ने रहर उसमा यति जाग्छ कि उसले आफू हलक्कै बढेको कल्पना गर्न पुग्छे । यस दृश्यलाई निर्देशकले निकै कलापूर्ण शैलीमा प्रस्तुत गरेका छन् । कल्पनामा हराउँदै नाचेकी खिमाको पछाडि अर्की जवान युवतीलाई नचाइएको छ, जसले वर्तमानकी खिमा र हलक्क बढेकी खिमा सँगसँगै देखिएको आभास हुन्छ । नाटकमा यस्ता विम्बात्मक दृश्य थुप्रै छन्, जसले निर्देशकको कामको चिच्याइचिच्याई प्रशंसा गर्ने आधार दिन्छन् ।

‘कुभिन्डोको कथा’ नाटक मगरहरूको मारुनी नाचको ताल र लयमा अगाडि बढेको आभास हुन्छ । समस्त कलाको जननि हो, नृत्य । आदिम मानिस खुसी हुँदा उफ्रन्थ्यो, जसले पछि नृत्यको रूप लियो । विद्वानहरू भन्छन्, आदिम मानवले प्रकृति र अलौकिक शक्तिप्रति लयबद्ध शैलीमा प्रार्थना गर्दै, यसमा नृत्य र अभिनय मिसाउँदै जाँदा नाटकको जन्म भयो । हामीकहाँ विभिन्न जात, जातिभित्र अभिनय मिश्रित नाच थुप्रै छन्, जसमा दुःख सुखका कथा आउँछन् । मीन श्रीस मगरको पुस्तक ‘मगर जातिको चिनारी’का अनुसार, प्राचीनकालदेखि मगर समुदायले गायन, वादन, नृत्य र अभिनयको मिश्रित रूप मारुनी, घाँटु, कौरा, जीवैमामा आदि नाच नाच्दै आयो । विशेषतः मारुनी नाच पूजाआजा, पर्व तथा शुभकार्यको समाप्तिका दिन, कतै नयाँ घर बनाउँदा, कतै पहिलो छोरो जन्मदा नचाउने गरिन्छ ।

हरियालीको प्रतीक स्वरूप हरियो रंगको लुगा लगाएकी खिमाले त्यस लुगा बदलेसँगै नाटकको कथा थप उतारचढावमा पुग्छ, खिमासँगै गाउँलेका थप संघर्ष र विपत्तिका दिन सुरु हुन्छन् । नाटकमा खडेरीले पानीका मुहान सुकेको, जनसंख्या वृद्धिले जमिन नपुगेको, पुरानो समाजमा प्रचलित बहुविवाह, त्यसले महिला र बालबच्चालाई पर्ने असर पनि देखाइएको छ   

खडेरीलाई अत्याचारी शासनको प्रतिविम्ब पनि मानिन्छ । मुहान सुकेपछि गाउँलेले रिसाएको प्रकृतिलाई खुसी पार्न सिमेभूमेको पूजा गर्छन् । मगरहरू भूमिको पूजा गर्छन्, जसलाई भुम्यापूजा, भयँर, भुयँर, सिमेभूमे आदि नाम दिइन्छ । नाटकमा खास स्थानविशेष मगर समाजको पूजाको विधिविधान र मूल्य–मान्यतालाई देखाउन खोजिएको छ ।

०००

मगर समुदायमा कुभिन्डो पात्र रहेको अनेक लोककथा प्रचलित छन् । यसै पनि लोककथा, लोकोक्ति, किंवदन्ती आदि क्षेत्र अनुसार फरक पर्न जान्छ । अनुसन्धाता प्रतिभा पुनले मलाई मगर समुदायमा प्रचलित कुभिन्डो पात्र रहेको एउटा लोककथा सुनाएकी थिइन्, त्यो कथामा कुभिन्डो पुरुष पात्रका रूपमा आउँछ । राजकुमारीसँग बिहे गर्न जाँदा कुभिन्डोलाई सबैले जिस्क्याउँछन् । राजदरबारमा आगो लाग्दा निभाएर उसले आफ्नो बहादुरी साबित गर्छ । त्यसपछि उसको विवाह राजाकी कान्छी छोरीसँग हुन्छ । यस नाटकमा पनि खडेरीले ग्रस्त भएको समाजलाई बचाउन हिमाल खोज्दै जाँदा कुभिन्डो पात्र (खिमा) फुटेर पानी दिएको दर्शन भन्न खोजिएको छ । यस नाटकमा उमेरसँगै बढ्ने छोरीका चाहना, स्पष्ट भनौँ सपनाको राजकुमारलाई पूरै निषेध गरिएको छ । नाटक हेरिरहँदा अपेक्षा हुन्छ, खिमाको राजकुमार पनि कहीँकतै मूर्त रुपमा आवोस् ।     

संस्कृतिविद् बमकुमारी बुढाका अनुसार, मगर समाजमा बालबालिकाले कुभिन्डो माग्ने खेल समेत खेल्छन् । कुभिन्डोलाई नै पात्र बनाएर कथाहरू र यसकै नाममा खेल किन रचियो ? यो भने खोज र चिन्तनको विषय छ । यस नाटकमा प्रमुख पात्र खिमालाई सानी र होँचीको अर्थमा कुभिन्डी भनिएको छ, यसरी शब्दमै नभनेको भए हुन्थ्यो, किनभने यसलाई नाटकको कथा र पात्रको चरित्रले स्पष्ट पारेकै छ ।        

प्रकृतिसँग मानवले गर्दै आएको संघर्षको गाथा, मानव समूह–समूहबीचको संंघर्षको कथा र पुर्खाको वीरता वा चातुर्यको गाथा सुन्ने–सुनाउने क्रममा लोककथाको जन्म भएको हो । कुनै शुभेच्छा व्यक्त गर्न, मानिसलाई नैतिकता सिकाउन, मानिसलाई थप साहसी र चातुर्य बनाउन पनि हाम्रा पुर्खाले लोककथा रचेको बुझिन्छ । 

समाजले नपत्याएकी सानी छोरी हुर्केर समाजलाई डोर्‍याएको, समाजकै लागि ठूलो योगदान गरेको विम्बात्मक दृश्य यस नाटकमा ल्याउने प्रयास गरिएको छ । त्यस्तै, मानव र प्र्रकृतिबीचको आदिम सम्बन्ध पनि देखाइएको छ । आज पृथ्वीको तापमान वृद्धिका कारण अनेक समस्या आएका छन् । हिजो हाम्रा पुर्खाले रक्षा गर भनी प्रकृतिको पूजा–प्रार्थना गर्थे, आज हामी ‘प्रकृतिको प्रकृति’ रक्षाका लागि सचेत बन्नुपरेको छ । 

मानव समुदायले जस्तो राजनीतिक संघर्ष गर्छ, नजानिँदो ढंगबाट कला–साहित्य पनि सोहीबमोजिम सिर्जना हुन पुग्छ । पछिल्लो ७० वर्षको राजनीतिक इतिहासमा हामीले पटक–पटक आवाज उठाउनुपर्‍यो । यसैले सायद, हिजोका नेपाली फिल्ममा संवाद र लडाइँ बढी हुन्थे । जति भने पनि बुझ्नुपर्नेले नबुझेपछि, सुन्नुपर्नेले नसुनेपछि हात–हतियार उठाउनुपथ्र्यो । यो नाटक पनि भारी र भरमार संवादले बोझिल बन्न पुगेको आभास हुन्छ । 

लोककथामा संवादभन्दा क्रिया वा घटना (हुन सक्छ अलौकिक घटना) बढी आउँछन् । खिमालाई हिमालको दर्शन बुझाउने र सपना देखाउने पुरुष पात्र हेमले लामो कथा र बोझिल संवाद भनेको आभास हुन्छ । यहाँनेर संवादलाई छोट्ट्याएर अझ सशक्त विम्ब व्यक्त गर्न सकिन्छ । महिलालाई जीवनदर्शन र उन्नति पथको बाटो देखाउन पुरुष पात्र नै उभ्याइएको छ, यसमा पनि सोच्न सकिन्थ्यो । सारा जीवन माटोसँग जुधेर बाँचेकी खिमाकी आमा नै के छोरीलाई बाटो देखाउन सक्षम छैनन् र ? भोलि आफ्नो राज्य बनाएर बस्ने बाघले त सानोमा आमासँग सिकार खेल्न सिक्छ । 

नाटकका पात्र सबैको अभिनय नाटकको कथाकै लयमा बगेको छ । प्रमुख पात्र खिमा (पवित्र राई)को आंगिक र वाचिक अभिनयले दर्शकलाई सम्मोहित पार्छ ।  

यो नाटक मन्डला थिएटरले आयोजना गरेको नाटक लेखन कार्यशालाबाट जन्मेको हो । यो नाटकलाई ‘नेपाल अन्तर्राष्ट्रिय रंगमञ्च महोत्सव’ (मंसिर ९–१७) मा आयोजकका तर्फबाट मञ्चन गरिनेछ । महोत्सवमा नेपालसहित १३ देशका १८ नाटक मञ्चन हुनेछ । 

नाटकको समीक्षा लेख्न वा नाटक हेरिसकेपछि आफूमा परेको प्रभाव लेख्न कम्तीमा दुईपटक नाटक हेर्नुपर्छ । यो समीक्षा होइन, एकपटक नाटक हेर्दा मनमा परेका प्रभाव मात्रै हुन् ।  

मञ्चमा– 
पवित्र राई 
संगीता थापा मगर 
पुष्कर कार्की 
पार्वती थापा मगर 
रेनु योगी
सागर भट्टराई
निता राई
रञ्जना ओली
सम्झना तामाङ
भुवन लुहार
सर्जम मगर
केशव सिंह ठगुन्ना
अरुण पुन
किरण श्रेष्ठ

मञ्चपछाडि–
निर्देशक : दयाहाङ राई
सहायक निर्देशक : विकाश जोशी
कोरियोग्राफर : प्रमिला खनाल
संगीत : आकाश नेपाली, अनुराग थापा मगर, प्रशन्न हुमागाईं ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप