शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नगरपालिकाको सम्वृद्धिका लागि कलाका गतिविधि हुनुपर्छ : बालेन्द्र शाह

शुक्रबार, ०९ मङ्सिर २०७९, २१ : ०४
शुक्रबार, ०९ मङ्सिर २०७९

काठमाडौँ महानगरपालिकाको मेयर बालेन्द्र शाहले काठमाडौँ महानगरपालिकाले आगामी वार्षिक बजेटमै नाट्य तथा चलचित्र महोत्सवहरूका लागि उल्लेख प्रयत्न गर्ने बताए । उनले नगरपालिकाको सम्बृद्धिका लागि कलाका गतिविधिहरू प्रशस्तै हुनुपर्ने धारणा समेत राखे ।

शुक्रबार नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट) उद्घाटन कार्यक्रममा बोल्दै शाहले बजेट भए खुलेर महोत्सव गर्न सकिने र त्यसको प्रभावकारी पनि बढी हुने बताए । थापागाउँ काठमाडौँस्थित मण्डला थिएटरमा सुरु भएको महोत्सव उद्घाटन कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अतिथि सहभागी थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले समुद्घाटन गरेको महोत्सव ‘सामाजिक रूपान्तरणको लागि रङ्गमञ्च: विविधताको उत्सव’ भन्ने नाराका साथ आयोजना भएको हो । महोत्सवमा भारतीय सुप्रसिद्ध रङ्गकर्मी तथा अभिनेत्री शबाना आजमी पनि सहभागी थिइन् ।

कार्यक्रममा मन्त्री श्रेष्ठले नेपालको कला–संस्कृति प्रवर्द्धन र विकासका लागि नाट्य महोत्सवको उल्लेख्य भूमिका हुने बताए । कला संस्कृतिको आदानप्रदानको रूपमा महोत्सवहरू जरुरी रहेको बताउँदै उनले नेपाल सरकार तथा संस्कृति मन्त्रालय यस्ता कार्यलाई सघाउन र प्रोत्साहन गर्न तयार रहेको बताए ।

भारतबाट महोत्सव सहभागी अभिनेत्री शबाना आजमीले नेपालमा आफू नाटकको महोत्सवमा सहभागी हुन पाउनु खुसीको कुरा रहेको बताइन् । ‘नेपालमा कलाकारहरू मिलेर आफै नाटक घर निर्माण गर्नु र नियमित नाटक मञ्चन हुनु, यस्तो महोत्सव आँट्नु आश्चर्यजस्तो लागेको छ’ उनले भनिन् ‘यो निकै सह्रानीय कार्य हो, यसलाई निरन्तरता दिनुहोला ।’

महोत्सवका निर्देशक रङ्गकर्मी सिर्जना सुब्बाले महोत्सवलाई सबै मिलेर उल्लासमय रूपमा मनाउन आह्वान गरिन् । ‘कोभिडले थला परेको रङ्गमञ्चलाई उठाउँदै महोत्सवसम्म आइपुगेर स्वागत गर्न पाउँदा हामी खुसी छौँ’ उनले भनिन् ।

समुद्घाटनका क्रममा मण्डला थिएटरले आयोजना गरेको नाटक लेखन कार्यशालाबाट छानिएका सात नाटकहरूको सङ्ग्रह ‘इन्द्रधनुषः यस छिमलका नाटकहरू’ पनि विमोचन भएको थियो । महोत्सवको समुद्घाटनको नाटक स्वरूप नयनराज पाण्डेको कथामा आधारित दिया मास्के निर्देशित नेपाली नाटक ‘कथा कस्तुरी’ मञ्चन गरिएको थियो ।

त्यस्तै महोत्सवको पहिलो दिन अनिल सुब्बा निर्देशित अर्को नेपाली नाटक ‘बुद्ध र भिकारी’ पनि मञ्चन भएको छ । पहिलो दिन बिहान ‘डिभाइजिङ अपेरेटिक ड्रामाटर्जी कार्यशाला’ पनि सम्पन्न गरेको महोत्सवले साँझमा ‘ब्रिथ एण्ड बिट’ शीर्षकमा शलिल सुवेदी र नवरा गुरुङको साङ्गीतिक कार्यक्रम पनि राखेको थियो ।

महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलङ्का, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरू समावेश छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप