शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चुनाव हारे पनि जनतासँग गरेका प्रतिवद्धता पुरा गर्छु : डीना उपाध्याय

शुक्रबार, ०९ मङ्सिर २०७९, २२ : ११
शुक्रबार, ०९ मङ्सिर २०७९

मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदमा पराजित नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले चुनाव हारे पनि जनतासँग गरेका प्रतिवद्धता पुरा गर्न उद्दत रहेको बताएकी छिन् । 

शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै उनले निर्वाचनमा आम मतदाताको मन जितेर पनि मतले हारेको भन्दै जनताको साथमै रहने बताएकी छिन् ।  उनले निर्वाचनमा प्राविधिक त्रुटीका कारण हार्नुपरेको बताइन् । डिनाले निर्वाचनमा मत र मनले नभई प्राविधिक त्रुटिका कारण हार व्यहोर्न बाध्य भएको र त्यस बारेमा गम्भीर रुपमा समीक्षा गरिने बताइन् । 

चुनावमा सहभागी हुँदा जीत सुनिश्चित भएकै अवस्थामा होमिएको र केही त्रुटिका कारण चुनावमा पराजित हुन बाध्य भएको उनको भनाई छ । हरेक पार्टीमा घात–अन्तरघात र सन्तुष्ट–असन्तुष्ट भइरहने बताउँदै उनले यस बारेमा पनि समीक्षा गर्ने बताइन् । चुनावी अभियानका क्रममा मतदाताहरूले भनेका कुरा, मतदाताहरूको सपना र जिल्लाको विकासका लागि निरन्तर लागिपर्ने उनले प्रतिवद्धता जनाइन् । 

मतदाताहरुको उत्साह र मायालाई निर्वाचन पराजित भएपनि निराशामा परिणत हुन नदिने उनको भनाई थियो ।  त्यस्तै गठबन्धनकै तर्फबाट बागमती प्रदेशसभा सदस्यको उम्मेदवार बनेर पराजित भएका कांग्रेसका नेता आनन्दराम पराजुलीले जनताको मतको सदैव सम्मान गर्ने बताए । 

‘निर्वाचित हुने सबैजनालाई बधाई छ,’ उनेल भने, ‘प्राविधिक कारण हामीले हार व्यहोरेका छौं । हारेपनि हामी आम मतदाताबाट कहिल्यै टाढा हुनेछैनौँ’, उनले भने, ‘मतदातालाई धन्यवाद व्यक्त गर्न सबैको घरदैलोमा आउनेछौं ।’ माननीय भएर कलम चलाउन नपाएपनि सेवा गर्ने हातहरू नरोकिने पराजुलीको भनाई थियो । 

‘होला जनप्रतिनिधि हुँदा धेरै काम गर्न सकिन्थ्यो । जनप्रतिनिधि नहुँदा पनि सकेको काम गर्नेछौँ । तपाईँको मतको कहिल्यै अपमान गर्ने छैनौं । तपाइको शिर झुक्ने काम कहिल्यै गर्नेछैनौं’, उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप