बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
पुस्तक चर्चा

थारू समुदायको चित्रणः टुवरा

शनिबार, १० मङ्सिर २०७९, ०८ : २५
शनिबार, १० मङ्सिर २०७९

म चितवन बस्न थालेको वर्ष दिन भन्दा बढी भयो । यस बीचमा चितवनबाट तीन वटा उपन्यास प्रकाशित भए । यसै क्रममा मनोज थारू ‘अज्ञात’को ‘टुवरा’ उपन्यास कार्तिकको पहिलो साता नारायणगढमा विमोचन भयो । यस आलेखमा सोही उपन्यासको चर्चा गर्ने प्रयत्न गर्दैछु । आख्यानकार मनोज थारू अज्ञातको दोस्रो उपन्यास हो टुवरा । उनको यसअघि २०७५ मा ‘टुकी’ उपन्यास प्रकाशित भएको थियोे । 

‘दुनियाँ रातसँगै सुस्ताउँछ, बिहानीमा साजी हुँदै जुरमुराउँछ ।

दुखिया रातसँगै अस्ताउँछ, बिहानीमा बासी हुँदै धरमराउँछ ।’

कविताका यी सुन्दर एवं अर्थपूर्ण पंक्तिसँगै खेस्रा मान्छे अर्थात् टुवराको कथा सुरु हुन्छ । ‘टुवरा’ थारू विषयवस्तुमा लेखिएको एक गरीब थारू किसानको कथा हो । 

२२ अध्यायमा समेटिएको उपन्यास टुवराको पहिलो अध्याय हो, खेस्रामान्छे । ‘लात र घुँसाको मेसिनमा जाकेपछि उतारिएको मान्छे देख्नुभएको छ ? कैयौं दिन ननिदाएर धमधमिएको आँखा देख्नुभएको छ ? त्यस्तो मान्छेको आभा कस्तो हुन्छ ? त्यस्तो मान्छेको आँखा कस्तो हुन्छ ?’ (पृ ५०) यस्तै खाले प्रश्न गर्दै उपन्यासको मुख्य पात्र खेस्रामान्छेलाई जेलमा देखाइन्छ ।

धिकिर धिकिर मार्नुभन्दा एकैचोटि मार, गोली ठोकेर मार भनेर पुकारिरहन्छ खेस्रामान्छेले । नयाँ जेलरले उसको फाइल रुचिका साथ हेर्छ । जेलरले फाइल हेर्दा खेस्रामान्छेको नाम बिफला रहेछ भन्ने थाहा हुन्छ । ठूला ठूला कसुरमा सजाय भोगिरहेको हुन्छ । यी जेलरले उसलाई छुटाउँछन् कि ? खेस्रामान्छेले किन र कसरी त्यस्तो अपराध गर्यो ? किन सजाय भोगिरहेछ ? जस्ता जिज्ञासा पैदा गर्दै लेखकले खेस्रामान्छेको हसुली गाउँ लैजान्छन् । अनि सुरु हुन्छ, टुवराको असली कथा । 

कथानक

टुवराको उमेर छाठी पैसठ्ठी भनिएको छ । अनि उपन्यास पत्रकार ऋषि धमलाले रिपोर्टिङ गर्दैगर्दा टुङ्गिन्छ । यसरी कालक्रमको हिसाबले यो उपन्यास तीसको दशकदेखि सत्तरीको दशकसम्म हो । टुवरा सानै उमेरमा टुहुरो भएदेखि मालिकको घरमा काम गरेर बसेको हुन्छ । ऊ जवान भएपछि केल्हियासँगको प्रेम र माइलासँगको आत्मीय मित्रतादेखि उपन्यास सुरु भएको छ । 

बिफला थारू जेलमा हुन्छ तर हसुली गाउँमा टुवरा, माइला, मालिक, पतिया काका अर्थात् मुच्छडवा, उसकी श्रीमती र छोरी केल्हियाको कथा सुनाइन्छ । टुवरा र माइलाको मित्रता देखाइन्छ । टुवरा र केल्हियाको प्रेमकहानी सुनाइन्छ । 

खेस्रामान्छेले किन त्यस्तो अपराध गर्यो ? किन सजाय भोग्दैछ ? खेस्रामान्छे अर्थात् बिफला थारू जेलबाट छुट्छ कि छुट्दैन ? भन्ने जिज्ञासा पैदा गरेर टुवरा, माइला अनि केल्हियाको कथा किन सुनाएको होला जस्तो लाग्छ पाठकलाई । उपन्यास पढ्दै जाँदा थाहा हुन्छ । वास्तवमा टुवरा नै बिफला थारू हुन्छ । बुवाआमालाई बाढीले बढारेर टुहुरा बनेपछि समाजले उसको नाम टुवरा राख्छ । पछि टुवराको नाम नागरिकतामा बिफला थारू लेखिन्छ ।

मालिकको घरमा टुवरा, माइला अनि केल्हियाहरु सूर्य उदाउने खेतदेखि सूर्य अस्ताउने खेतसम्म खेती किसानी गरेर बसेका हुन्छन् । बौराहा खोलातिर भेडबयल चराएर बस्छन् । त्यस क्रममा टुवरासँग सालकाँठे र उसको साथीहरू भेट हुन्छन् । पहिले झगडा भए पनि पछि दोस्ती हुन्छ । सालकाँठेले कुस्ती सिकाउँछ । अनि टुवरालाई मेलामा कुस्ती खेल्न निम्तो दिन्छ । मेलामा नआए कहिल्यै नभेट्ने भन्दै छुटिन्छ ।

एकदिन भेडबयल चराउने क्रममा टुवरा, माइला र केल्हियालाई गैंडाले लखेट्छ । भाग्ने क्रममा सेनाले समाउँछ । टुवरा थारूलाई किन भागेको होस् ? भनेर केरकार गरिन्छ ।

‘उँ हामीले गैंडा मार्न आएथ्यो ।’ 

‘ए त्यो त हेरेरै था पाइयो । भाला, गुलेली पनि रच नि त साथमा । तिमोरु गैंडा मार्नै आका त हौ, हाम्लाई था छ ।’

टुवरा र माइलालाई कुटी कुटी मार्छन् बर्दीधारीले । बर्दीले पालैपालो दुव्र्यवहार गरेर केल्हियालाई पनि मार्छन् अनि बौराहा खोलामा फाल्दिन्छन् । 

नेपाली भाषामा हामीलाई गैंडाले मार्न आएको थ्यो भन्न नजानेर हामीले गैंडा मार्न भनेपछि बर्दीधारीले कुटपिट गरेका हुन्छन् ।

त्यसपछि सुरु हुन्छ, भुखला भुखलीको कथा । भुखलाको घरमा भुखलालाई मुखियाले जग्गा खाली गर भन्दै थर्काउन थाल्छ । भुखला शीर्षकको अध्याय पढिरहँदा फेरि कुन पात्र आयो झैं लाग्छ । टुवराको कथा पढ्दा पढ्दै अर्कै पात्र भुखलाको कथा पढ्न थालेझैं लाग्छ । पढ्दै जाँदा ‘टुवरा दम्पत्ति’ भन्ने वाक्यांश पढेपछि टुवरा जिउँदै रहेछ भन्ने थाहा हुन्छ । 

टुवराले कोसँग विवाह गरेछ ? केल्हिया मरिन् होला कि जिउँदै भन्ने जिज्ञासा लागिरहन्छ । यसरी कथाले अन्तिमसम्म तानिरहन्छ । अनि अर्को मुख्य पात्र माइलाको अवस्था के होला भन्ने जिज्ञासा लागिरहँदा रातिपख भुखलाको घरमा एक हुल छापामार आउँछन् । अनि सुरु हुन्छ माइला अर्थात् गोला तामाङ र भुखला अर्थात् टुवराको संवाद । 

बर्दीधारीले मारेर फालेपछिको कथा टुवरा र माइलाले पालैपालो सुनाउँछन् । छापामारहरुले टुवराको जग्गा फिर्ता गराउने प्रतिबद्धता गर्दै टुवराको छोरा भागरामलाई पनि साथै लान्छन् । अर्को राति टुवराको जग्गाभरि झण्डा गाडिएको हुन्छ । 

त्यसपछि शान्ति प्रक्रिया सुरु हुन्छ । देशमा शान्ति आउँछ । चुनाव हुन्छ । पछि साम्प्रदायिक दंगा हुन्छ । राकश खोला किनारमा खेती किसानी गरेर बसेको निर्दोष टुवरा पनि जेल जान्छ । कथा सकिन्छ । 

लगत्तै ओहो पाठकवृन्द एकैछिन है भन्दै हाइलाइटस् अध्याय थपिएको छ । ‘आजको दिनमा छ नि, तपाई प्रत्यक्ष हेर्न सक्नुहुन्छ, यो कारागारको, यो कालकोठरीमा टुवरा भनिने बिफला थारूलाई राखिएको थियोे,’ ऋषि धमलाले रिपोर्टिङ गरिरहेको देखाइएको छ । जेल तोडेर भागराम, सालकाँठे, माइला र टुवरा अनि अगल बगलमा छुवाछुतको दलनले चोइटिएका मुहारहरु एकाएक धुवाँको मुस्लोबाट बाहिरिँदै गरेका मोबाइलको स्क्रिनमा देखाइन्छ ।  

‘शान्त रहँदा ब्लेडले दाढी काट्छ, त्यही उग्र बन्यो भने घाँटी काट्छ ।’ यही भनाइसहित उपन्यास समाप्त भएको छ ।

टुवराले उठाएको मुद्दा 

टुवरा आञ्चलिक उपन्यास हो । उपन्यासका पात्रहरुले बोल्ने भाषाको लवज चितौनिया÷नवलपुरिया थारूहरुको लवज प्रयोग भएको छ । त्यसो हुँदा यो कथा चितवन राष्ट्रिय निकुञ्ज वरपरको कथा हो कि भन्न सकिन्छ । तर अन्तिम अध्याय पढ्दा टीकापुरको कथा हो कि झैं लाग्छ । साम्प्रदायिक दंगापछि जेलमा परेको टुवरा रेशम चौधरी हो कि झैं पनि लाग्छ ।

पुस्तकको आवरण हेर्दा नै थाहा हुन्छ, कुनै गाउँको मेहनती सीमान्तीकृत थारू किसान, कमैयाको कथा हो यो । कमैयाहरुलाई जमिनदारहरुले कसरी दुःख दिन्छन् ? चलाख पहाडियाहरुले निमुखा थारू जनजातिहरुको जग्गा कसरी हडप्ने प्रयत्न गर्छन् । निकै सजीव तरिकाले चित्रण गरिएको छ यसमा । 

सत्तामा पुगेपछि नेताहरुले निमुखाहरुको उठिबास गराउन कसरी प्रयत्न गर्छन् ? बर्दीधारीहरुले संकटकालको आडमा सर्वसाधारणलाई कसरी हताहत पारे, बेपत्ता पारे, दुव्र्यवहार गरे ? उपन्यास टुवरामा टड्कारो रुपमा प्रस्तुत गरिएको छ । 

थारूहरु कति सोझा र इमानदार हुन्छन् भन्ने कुरा पहाडिया बाजेले निकै अत्याचार गर्दा पनि बाढी आउँदा टुवराले बाजेलाई बचाउँछ । बूढो मान्छेप्रति टुवराको सम्मान छ । यसरी थारूहरु बलबुद्धिले भन्दा पनि मनले अरुलाई जित्न सक्छन् भन्ने देखाइएको छ । 

देशमा चलेको १० वर्षे जनयुद्धमा खास गरी राज्यपक्ष कति क्रूर अनि निर्मम थियो, बीभत्स तरिकाले कसरी हत्या गरिन्थ्यो भन्ने पक्ष पनि उपन्यासमा चित्रण गरिएको छ । 

नेपाली भाषासमेत बोल्न नजान्ने थारूहरु, खेस्रा मान्छेहरुलाई ब्राह्मणहरुको हुलले घेरिएको प्रशासनले कसरी दुःख दिन्छ भन्ने देखाइएको छ । समग्रमा उपन्यासको मूल मर्म भनेको आमाबाबु बितेर मात्रै टुहुरो हुनु हैन । राज्यको सेवा, सुविधा, हकअधिकार सम्पूर्णबाट बञ्चित हुनुपनि टुहुरो हुनु हो भन्ने सन्देश दिइएको छ ।

सबल पक्ष 

राज्यसत्ताबाट हेपिएको थारू समुदायको आख्यान खासै आएको छैन । यस्तोमा उपन्यासकारले द्वन्द्वको कथा पस्किएर सराहनीय प्रयास गरेका छन् ।

यस्ता धेरै वाक्यांश छ उपन्यासमा, जसले पाठकको मन छुन्छ । जस्तो कि ‘जसले आफ्नो मातृभाषा बोल्न जान्दैन, लवज बिर्सन्छ, ऊ लाटो हो । जसलाई आफ्नो संस्कृति थाहा छैन, ऊ बुङ्गो हो,’ (पृ. ११६) । ‘जौन लोग मिट्टीको प्यार करेला, उन लोगोको मिट्टी प्यार करेला,’(पृ. १५२) ।  

‘बाढीको भेलै भेलले खोलोको डिल भत्काउँछ ।

दुष्टको जालझेलले मान्छेको दिल भत्काउँछ ।

एकातिर पानी छचल्किन्छ अर्कोतर आँसु । (पृ. ११०) ।

यस्ता कवितांशले उपन्यासकार मनोज थारू अज्ञातमा कवि रुप पनि झल्किन्छ ।

खोला अनि माछाले थारू जातिको दिनचर्या कसरी चल्छ ? उपन्यास टुवरामा उल्लेख छ । धेरैलाई माछाको आन्द्रा पनि खान्छन् भन्ने लाग्न सक्छ । माछाको आन्द्राको स्वाद खानेलाई मात्र थाहा हुन्छ । माछा कुन बेला पर्छ ? जाल खेल्नेलाई थाहा हुन्छ । आख्यान भन्छ, ‘खोलामा धुमिल चलेछ । माछरी बल्झिन्छ रे महिला,’ (पृ. ९१) ।

‘आँगनमा लामबद्ध पलेँटीमा बसेका थिए गाउँलेहरु । पलेँटीको मालाले आँगन घेरिएको थियोे,’ (पृ.३१) । ‘उसले अनुरागका साथ अँगालोमा बाँध्यो । त्यसबखत केल्हियाको बदन गँगटाझैं सिकुडिएको थियोे,’ (पृ. ५६÷५७) । यस्तो सजीव चित्रणले उपन्यासलाई सबल बनाएको छ । 

व्यापारीहरुले दैनिक उपभोग्य वस्तु लुकाएर कृत्रिम मूल्य वृद्धि गरेझैं टुवरामा उपन्यासकारले टुवरा र केल्हियाको मायामा भाउ बढेको कुरा निकै रोचक तरिकाले प्रस्तुत गरेका छन् । ‘केल्हिया लजाएझैं गरेर वाल्ल परेको याफ्नो मुह लुकाएथियो । म तेही मुह देख्न लालयित भइरहेथियो । लुकाएको थोकको भाउ बहुत बढ्दो रहेछ,’ (पृ.१५०) । 

पात्र चरित्र चित्रण, परिवेश चित्रण, संवाद र वाक्य संरचना सरल एवं  सटीक रुपमा प्रयोग गर्नु नै यस उपन्यासको सबल पक्ष हो । उपन्यासकारको खुबी हो । 

अन्तमा,

कुनै पनि कृति पूर्ण रूपमा सवल हुँदैन । उपन्यासमा केही ठाउँमा ह्रस्व दीर्घका कमजोरीले दाँतमा ढुंगा लाग्छ । एउटा अध्याय समाप्त भएपछि अर्को अध्यायको शीर्षक र पाठ अर्को पृष्ठमा नराख्दा खाँदिएको लाग्छ ।

उपन्यासमा बीउ काढ्नेहरुले असारे थारू भाकासँगै रोपाहारहरु छरितो हात चलाउँदै गरेको चर्चा छ । टुवराले गोलाकार झम्टा नाचको बीचमा झुमेर गीत गाइरहेको पनि प्रसंग छ । तर, यी दुई ठाउँमा पाठकले गीतको अभाव महसुस गर्छन् । कस्तो हुने रहेछ, असारे थारू भाकाको गीत, अनि कस्तो हुने रहेछ झम्टा नाचको गीत ? 

चुपचाप मोफसलमा बसेर साहित्य साधना गरिरहेका मनोज थारू अज्ञातले राजधानीमा बस्नेहरुलाई भनेझैं लाग्छ यो वाक्य, ‘शान्त रहँदा ब्लेडले दाढी काट्छ, त्यही उग्र बन्यो भने घाँटी काट्छ ।’ (पृ.२१६) । मोफसलकालाई लेखक नसम्झिनेहरुलाई उपन्यासकारले टुवरा उपन्यासमार्फत् दरिलो उपस्थिति जनाएका छन् । 

टुवरा उपन्यासले नेपाली साहित्यमा विशेष अर्थ राख्नेछ । थारू लवज प्रयोग भएको भए पनि उपन्यास सरल एवं बोधगम्य छ । पढ्दा पट्यार लाग्दैन । पाठकलाई उपन्यासले अन्तिमसम्म तानिरहन्छ । 

२१६ पृष्ठ संख्या रहेको यस पुस्तकको मूल्य ३७५ रुपैयाँ रहेको छ । यसलाई शिखा बुक्सले प्रकाशन गरेको हो । आवरण कला देवेन्द्र थुम्केलीको रहेको छ भने भाषा सम्पादन फणीन्द्र संगमले गरेका हुन् । 

लमही नगरपालिका–४ सेमरहवा, दाङदेउखुरी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप