शुक्रबार, २० माघ २०७९
ताजा लोकप्रिय

कथा : सौतेनी आमा

शनिबार, १० मंसिर २०७९, ०८ : ३७
शनिबार, १० मंसिर २०७९

कोटेश्वरको जामले दिक्क लाग्छ । आकाश पनि आज अलिक कालो थियो । छाता लान बिर्सिएँछु । भोक पनि लागेको थियो । एक दिन जानुपर्छ भन्ने चाहिँ मनमा लागेकै हो । ‘तिमी कहिले आउँछौ छिटो आउन’ भनेर बेलाबेलामा फोन आउने गथ्र्यो । मैले भने खासै मतलब राख्दिनथेँ । आमाको सौता भएर आउने महिलामाथि मैले खासै त्यस्तो कुनै सहानुभूति राखेको थिइनँ । माया पनि लागेन कहिल्यै । मेरी सीताजस्ती आमाको सौता हुन आएकी हुन् तिनी । खैर, जे होस् अब त न आमा, न बाबा । सबै मायाको इन्द्रेणी हराइसकेको छ जिन्दगीको आकाशबाट । आमा हुँदा र नहँुदा कति फरक पर्छ जिन्दगी त्यो भोगियो । बाबा नहँुदा कति असहज हँुदोरहेछ बाँच्न त्यो पनि अनुभूति भयो । 

जिन्दगी भनेकै अनुभूति हो, जो भोग्दै र भिज्दै गएपछि यसको मादकताले छुँदोरहेछ । ती सौतेनी आमा भक्तपुरतिर बस्छिन् भन्नेसम्म चाहिँ थाहा थियो । तिनी कसकी छोरी हुन् । के जातपातकी हुन् । कसरी बसेकी छिन् । कसरी जीवन निर्वाह गरेकी छिन् हामी कसैलाई केही थाहा थिएन । बेला बेलामा ठूली दिदी चाहिँ जानुहुन्थ्यो । आमा ज्यँुदो हुँदा तिनलाई बाबाले घरमा ल्याउने साहस कहिल्यै गर्न सकेनन् । आमा बितेपछि बाबालाई पनि अप्ठ्यारो महसुस भयो होला । घरमा ल्याउँछु भनेर कहिले भन्न सक्नु भएन हामीसँग । उनले पनि घरमा आउने साहस कहिले गरिनन् । टुहुरो भएपछि मात्रै सौतेनी आमाको याद आयो मलाई । कस्तो अचम्म छ मान्छेको जात । आफ्नी आमा हुँदासम्म सौतेनी आमा फूलमाथिकी काँडा बनिन् । आज आफ्नी आमा छैनन् फेरि तिनै सौतेनी आमा काँडाले सुरक्षा दिएको फूल बनिन् । अँध्यारोमा घामको महत्त्व भएजस्तै आमा नभएपछि सौतेनी आमाको महत्त्व, गज्जव छु म । गज्जव छ मलाई हुर्काउने दुनियाँ । म जे हँु यो दुनियाँको कारण हुँ । म जे हुँ दुनियाँ मेरै कारण हो ।

कसैले पनि यहाँ अजम्बरी चोला लिएर आएको हुँदैन । जब हामी बाँचिरहेको पृथ्वी माताको त निश्चित आयु छ भने हामी मनुष्य जाबोको त के कुरा । बाबाआमा हजुरआमा हजुरबाउ सबैलाई अघि लाइसकियो । अब बाँकी त आफैँ हो । पालो त आइहाल्छ एक दिन । फेरि यो रिसारिस केका लागि कसका लागि र किन ?

बाबालाई पशुपतिमा विसर्जन गरेर आएपछि मनमा केवल यस्तै यस्तै गम्भीर भावनाको ज्वारभाटा उर्लिरहन्थे । बिचरी ती सौतेनी आमाको पो के दोष । मेरा बाबाले ल्याएर पो आइन् । आउनेको के दोष ल्याउने पो दोषी । ल्याउँदा सबै कुरा ढाँटे होलान् बाबाले । 

जवानी स्त्री देखेपछि पुरुष मन कति छिटो घायल हुन्छ । तिनलाई फकाउन बाबाले आफूलाई राम्रो भने होलान् । आफूलाई धनी भने होलान् । आफूलाई खान्दानी भने होलान् । आफूलाई अविवाहित पनि सके भन्न भ्याए होलान् । पहिलाको प्रधानपञ्च पनि भने होलान् । यति मुरी धानको बीउ लाग्ने खेत पनि छ भने होलान् । कान्तिपुर सहरमा घर पनि छ भने होलान् । भन्ने जति राम्रा कुरा केही बाँकी नराखी सबै सबै भने होलान् । अनि भन्नुपर्ने मुख्य कुरो नौ जना छोराछोरीको बाउ हुँ भनेनन् होला । जेठी छोरीको बच्चाको हजुरबाउ हुँ पक्कै भनेनन् होला । गाउँको दुःख र वेदना भनेनन् होला । जुवातास खेल्छु त्यो पनि भनेनन् होला । कान्तिपुरमा घर होइन डेरा छ पक्कै भनेनन् होला । दाजुभाइ बीच अंशबन्डा हुँदा एउटा सिलाबरको डेक्ची र कोदोको रोटी पकाउने तयो अनि ढिँडो ओडाल्ने फलामे खिया परेको ताप्के मात्रै आएको पक्कै भनेनन् होला । हामी छोराछोरीलाई पढाउँदा लागेको तिरी साध्य नलाग्ने ऋण पनि छ भनेनन् होला । भन्नुपर्ने कुरा भनेनन् अनि नभन्नुपर्ने कुरा चाहिँ भने होलान् पक्कै यसैका कारण हो तिनी जवानी बिसाउन र मिसाउन आएकी मेरा बाबासँग । तिनीलाई मेलाबाट भगाएर ल्याउनुभएको रे मेरा बाबाले । दुई चार दिन हराए त्यो बेला । जता जान्छु भनेर निस्केका थिए त्यता नगएर बाबा अन्तै पो हान्निएछन् । ती आमालाई हाम्रा बाबाले ल्याउदा खै के भने के भनेनन् होला त्यो कुरा छोडौँ अब । वैशाखमा त सुकेको रुख पनि हरियो देखिन्छ भन्छन् त्यस्तै भो होला । ल भो जे भो भो । घाउ जति कोट्यायो त्यति दुख्छ ।

म पहिलो चोटि सौतेनी आमाको डेरामा पुगेँ । बाटोमा पानी पर्याे ।

म भिजँे । बल्लतल्ल डेरा पत्ता लगाएँ । लुगा पनि निथ्रुक्क भएको थियो । केही दिनअगाडि खबर गरेको थिएँ, म सोमबार आउँछु भनेर । कतिबजे आउँछु त्यो चाहिँ भनेको थिइनँ । आगन त खाली छ । उनीपट्टिबाट जायजन्म भने भएन किनकि त्यतिबेलासम्म मेरा बाउले परिवार नियोजन गरिसकेको कुरा मलाई थाहा छ । ती आमा एक्लै छिन् । तिनका माइती असाध्य धनी छन् भन्नेसम्म सुनेको हुँ । कहिलेकाहीँ बाबाले मसँग भन्नुहुन्थ्यो ‘तेरी कान्छी आमा खान्दानी खरेलकी छोरी हँु भनेर धक्कु लगाउँछे’ बाबालाई कहिलेकाहीँ लुकिछिपी बरु म नै सौतेनी आमाकोमा जानू भनेर पठाउँथे त्यो पनि मेरी आमा मामाघर गएको बेलामा ।

कोठाबाहिर पुगेपछि ढोका ढकढक्याएँ । भित्रबाट चुकुल खोलेको आवाजसहित एउटी अधवय पार गरेकी महिला उज्यालो मुहार लिएर ढोकाको आधा खब्लेटोसँगै देखिइन् ।

‘बाबू मनु ! तिमी आयौ मेरो छोरा ।’

यो प्रिय शब्द अनायास गुन्जियो कानमा । भित्र लिएर गइन् । खाटमा राखिन् । लुगा भिजेको थियो । भिजेको लुगा फुकाल भनिन् । म निःशब्द छु । अघिको त्यो प्रिय सम्बोधनले नै मलाई घायल बनाएको थियो । आखिर आमा त आमा नै थिइन् जो मेरी आमा आजभन्दा सात वर्षअगाडि मलाई टुहुरो पारेर गएकी थिइन् । यी आमा फेरि मेरो अगाडि स्नेहको संसार लिएर उभिएकी छिन् । काटीकुटी स्वर्ग गएकी मेरी आमाजस्तै पो लाग्यो । म रन्थनिएँ केहीबेर । केहीबेर आकुल भएँ । सर्ट भिजेको थियो । फुकालेँ । बाउले लाउने गरेको एउटा पुरानो कुर्था ल्याएर दिँदै तिनले भनिन्, ‘मनु यो लगाऊ तिम्रो बाबाको कुर्था ।’

बाउले सधैँजसो घरमा लाउने कुर्था देखेर झल्याँस्स भए । ती आमाले कोल्टे फर्किएर आँसु पुछेको देखँे । कुर्था कतै कतै हल्का च्यातिएको थियो । कुर्था हातमा थमाउँदै तिनी भान्सामा गइन् । कुर्थामा बाबाको उपस्तिथि थियो । एकछिन त आफैँ रन्थनिएँ बाबाले लगाएको एउटा पुरानो कुर्थाले एक्कासि बाबाको याद आयो । कुर्था लगाएँ । अलिकति बाबाको पसिनाको हरक कतै अल्झिएँजस्तो लाग्यो काखीतिर । त्यो हरकमा बाबा नै सिङ्गो अगाडि उभिएको अनुभूति भयो । 

भित्रबाट ती आमाले प्रिय सम्बोधनले बोलाइन्– ‘मनु माम खान आऊ ।’

उहिले आमा हुँदा भान्साबाट यसैगरी स्नेहको जुनेली शब्द बिस्फारित हुन्थ्यो मतिर । मनुष्यले आर्जन गरेको भौतिक प्रपञ्च अन्ततः खरानी हुन्छ तर उसले भोगेको र बाँचेको प्रिय पल भने अजम्बरी बनेर छातीमा बाँचिरहँदोरहेछ । ‘जीवनको वृद्ध अवस्थामा नोटको बिटा सिरानीमा राखेर सुते पनि त्यो सिरानीमुनिको धनले भन्दा मीठो अतितको यादगारले धेरै आनन्द दिँदोरहे छ’ बुबाले अस्पतालको शय्यामा भनेको कुरा सम्झिएँ । 

भान्सामा पसँे । एउटा सानो पित्तले कसौँडीमा भात भर्सिरहेको थियो । भान्सा सानो भए पनि सामानहरू कस्तो चटक्क पारेर मिलाएर राखेकी थिइन् तिनले । छेउमा प्लास्टिकको झोलामा अलिकति चामल थियो । केलाएर बाँकी भएको अलिकति फर्सीको मुन्टा थियो । थोरै धनियाँ, डल्ले खुर्सानी, लसुनको पोटी अनि एउटा सानो हरियो काँक्रोले भन्दैथियोे कि भान्सामा सबै कुरा छन् । 

आमा सिलौटामा अचार पिन्न थालिन् । म आमाको त्यो गरिबी र अभावका बारेमा घोत्लिन थालेँ । कठैवर जीवनभर एक्लै बसेर कति अभाव झेलेर यिनी मेरो बाबाको सतित्व नडगमगाई बाचिन् होला । एक पटक अचार बनाउँदा गोलभेँडा सक्किए । चामल अब एक छाकलाई मात्रै बाँकी होला । त्यहाँ धेरै भनेको नुन मात्रै थियो । यति अभावमा विवशताको आँसु पिएर कसरी यत्रो उमेर बसिन् यहाँ अचम्म लाग्यो । यी आमाको यस्तो कन्तबिजोक देखेर स्वर्ग पुगिसकेका बाबालाई धिक्कार्न मन लाग्यो । के गल्ती थियो र यी अन्जान स्त्रीको जो तपाईंले ल्याउनुभयो आइन् । तपाईंको मायामा हिउँझैँ पग्लिएर आइन् यिनी । तपाईंको भर र विश्वासमा त आइन् यिनी । तपाईंको दन्ते मोहनी र बैँसको धुपमा रन्थनिएर आइन् यिनी । यी अदना अनपढ सोझीलाई विधवा बनाएर तपाईं त स्वर्ग त जानू भयो तर यिनको दिनदिनैको मरण कसले हेर्ने बाबा ?

पस्किएर दिएको भातको थालमा आँसुको ढिक्का चुहियो मेरो । आमा उता कोल्टे फर्किएर रुन थालिन् । एउटा बिरानो जस्तो लाग्ने शून्यता भान्साभरि दौडिएजस्तो लाग्यो । 

दसौँ वर्षसम्म एक्लै यसरी नै बाचिन् यिनी । बाबा बितेको खबर पनि समयमा पाइनन् यिनले । मेरी आफ्नै आमाले विधवा जीवन भोग्न परेन । उनी त रातो सिउँदोमै सजिएर गइन् परलोक । तर यिनी विधाताको आगनमा विधवा बाँच्न विवस भइन् । कठैवर के गल्ती थियो र यिनको जो आजीवन बाबाको एउटा भूलको कारण सजाएको भागीदार बनिन्, बनिरहिन् । न मेरी आमाले यिनीलाई घरमा ल्याउने अनुमती दिइन् । न बाबाले परिवारमा सँगै मिलाएर राख्न नै सके । न यिनी आफ्नो कानुनी हक खोज्दै पतिको घरमा आउनै सकिन् । सबैभन्दा ठूलो त्याग त यिनैले गरिन् जो परिवारमा विरोध र विग्रह आउला भनेर आफू एक्लै बसिन् । कहिले त्यो परिवारमा मिसिन गइनन् । त्यहाँ आफू मिसिन गएपछि शान्त गतिमा बगिरहेको एउटा पारिवारिक डुङ्गा डगमगाउन सक्छ भन्ने पिरले यिनले आँसु पिएर भए पनि एक्लै बसिन् । कसैलाई दुःख दिइनन् । कसैलाई पीर पार्न गइनन् त्यो घरमा ।

ओछ्यानमा हालेको झुल पनि ठाउँ ठाउँमा प्वाल परेको थियो ।

यो दृश्यले मन झन गल्यो । एउटी नारीमा कति सहन सक्ने अद्भुत शक्ति हुँदोरहेछ मैले अनुमान गरँे । आखिर हामीलाई त खान लाउन मनग्य जोडिदिएका थिए बाबाले । यता भने किन यस्तो कन्तबिजोक छोडेर गए । हुनसक्छ बाबालाई मेरी आमाको डर थियो । आखिर पुरुष त पुरुष हो नि युद्धमा बन्दुक बोकेर भिडन्त गर्न जाने सामथ्र्य भएको जात । तर एक दुईवटा श्रीमतीलाई किन बराबर गरेर राख्न भने असफल हुन्छ ? 

कोठाको भित्ताहरू ओसले भिजेका थिए । खाने सामल सक्किसकेको थियो । झुल च्यातिएर लामखुट्टेले टोक्ता आमाका निधारभरि भमौरा जस्ता फोका उठेका थिए । हात, कान, निधार, नाक सबै बुच्चा थिए । मानौ यिनी यहाँ श्राप भोग्नका लागि बसिरहेकी छिन् वर्षांैदेखि एक्लै । खाना खाएर एकछिन खाटमा आराम गर भनिन् । परेली मेरा पनि भिजेका छन् । परेली उनका पनि रुझेका छन् । के भन्ने के नभन्ने म अलमल्लमा छु । के बोल्ने के नबोल्ने आमा पनि अलमलमा छिन् । नबोले पनि त्यहाँ एक प्रकारको वाकयुद्ध भएको जस्तो प्रतीत भइरहेछ । म यो कारुणिक दृश्यले भक्कानिएको छु । झ्यालबाट बग्दै आउने हावामा पनि कतै बाबाले लामो श्वास फेरेको हो कि जस्तो लाग्छ ।

‘यता आउँदा तिम्रो बाबाले जहिले पनि तिम्रो कुरा गर्नुहुन्थ्यो ।’

‘के भन्हुहुन्थ्यो आमा बाबाले मेरो बारेमा ?’ 

‘त्यो असाध्य पढ्छ, लेख्छ, दयालु छ ।’

‘यति मात्रै ।’

‘कि तिम्रो कुरा गर्नुहुन्थ्यो कि दुःख पाएकी माइली छोरीको ।’

‘आमा ! तपाईं किन हाम्रो घरमा नगएको आजसम्म ।’

‘तिम्रा बाबाले त हिँड् भनेकै हुन्, तिम्री आमादेखि डर लाग्थ्यो ।’

‘आखिर महिलाका शत्रु त महिला नै हुँदारहेछन् नि है आमा ।’

आमा फिस्स हाँस्दै भाँडा माझ्न थाल्नु भयो । उता फर्किंदा आमाका कुर्कुचा फाटेको देखेँ । हातका औँला र खुट्टाका आँैलाका काप बेस्सरी सुन्निएको देखेँ । खाटमा आराम गर्न यसो पल्टन मात्रै के लागेको थिएँ । बाहिरबाट कसैले ढोका घचघच्यायो । उठेर गएँ । ढोका खोलँे । बाहिर एउटी भर्खरैकि छोरी मान्छे हातमा पैसा लिएर उभिँदै ‘आमा हुनुहुन्छ’ भन्दै आइन् र मलाई दिइन । ‘केको पैसा हो ?’ मैले सोधेँ । ‘सात दिन बालुवा चालेको पैँतीस सय छ, यो ज्याला आमालाई दिनू है, म हतारमा छु’ भन्दै उनी फुत्त गइन् ।

आमा कसरी बाँचेकी रहिछन् मलाई थाहा भयो अब । बालुवा चालेर भए पनि मेरो घरको इज्जतमा कुनै धब्बा नलगाई एकान्त बाँचेकी यी आमालाई सोध्न मन लाग्यो, ‘आमा ! बुढ्यौलीले मक्किसकेका यी हातहरू त अब ईश्वरको आरतीमा चल्नुपथ्र्याे तर आज आफ्नो भोक शान्त पार्न बालुवा चाल्दै हुनुहुन्छ ? आखिर कर्म ठूलो हो कि धर्म ठूलो हो त आमा ? तिमी नै भनिदेऊ !’

आमाका हातमा पैसा थमाउँदै भने, ‘आमा भयो अब धेरै दुःख नगर्नु घर हिँड्नु । म पाल्छु । बाबाको वर्षदिनको काम पनि आउन लाग्यो । अब उतै बस्ने । छोडेर हिँड्नु यो एकान्तलाई । बिर्सिनु अब हिजोलाई जे जे भो भो । म आमा र बाबाको तर्फबाट माफी माग्छु । अलिकति गल्ती तपाईंको । धेरै गल्ती मेरा बाबाको । अनि ठूलो गल्ती मेरी आमाको जसले तपाईंलाई घरमा प्रवेश गर्न रोक लगाइन् । अब पनि तपाईंलाई यहाँ एक्लै छोडेर गएँ भने सबैभन्दा ठूलो गल्ती मेरै हुनेछ ।’ 

बीसौँ वर्षसम्म पनि आफ्नो पतिको घर कस्तो छ भनेर नेदेख्ने स्त्रीहरू पनि छन् यहाँ । यो विवशताको जडता अन्त्य हुनुपर्छ । आमा आखिर आमा हुन । चाहे आफ्नी आमा हुन् । चाहे सौतेनी आमा हुन्, चाहे धरती आमा हुन् । आफ्नै देशको माटो टेकेर हिँड्ने कुनै पनि छोरा कहिले टुहुरा हुनेछैन ।

घरमा ल्याएर आमालाई सबैको अगाडि परिचय गराएँ, यी हाम्री आमा हुन् । यिनको स्थान हाम्रो शिरमा हो । 

‘कस्तो लाग्यो त आमा तपाईंको घर ?’

‘रमाइलो छ मनु, तिमीहरूकै काखमा मर्न पाऊँ, बस यति भए पुग्यो अब ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप