शनिबार, २१ माघ २०७९
ताजा लोकप्रिय

कथा : गोक्ते कान्छो

शनिबार, १० मंसिर २०७९, ०८ : ४९
शनिबार, १० मंसिर २०७९

“ए गाँठे ! यो गोक्ते त घोडाजस्तै उभिएरै पो उँघ्न थालेछ त !” घाँसे मचानमा बसेर गाईगोठको खाँबोमा टाउको अड्याई भाते निद्रामा परेको कान्छोको गालामा प्याट्ट पार्छन् । गाउँघरको बिहेमा खाँडो जगाउन र सिलोक भन्न खप्पिस पल्लाघरे सिलोके बाजेले उसलाई अर्धनिद्राबाट उठाउँछन् । 

त्यहीबेला पुच्छर हल्लाइरहेको छेवैको गाईले गहुँतगोबर लतपतिएको पुच्छरले बाजेको गालामा झ्याम्म हान्छ । बाजेको जिस्क्याइले तन्द्रा टुटेको कान्छो उनको हाँस उठ्दो हुलिया देखेर खुच्चिङ खुच्चिङ गर्दै खितिती हाँस्न थाल्छ । 

आफ्नो हरिबिजोकमा कान्छो हाँसेको देखेर “गोक्ते मोरा ! जिस्क्याउँछस् म बूढोलाई ?” भन्दै दौराको फेरोले गालाको गोबर पुस्दै कान्छोलाई लखेट्न थाल्छन् । बाजे र कान्छोको मुसोबिरालो खेल देखेर घुरेनको साग गोडिरहेकी ओल्लाघरे भुन्टी बज्यै पनि मुर्छा परुन्जेल हाँस्छिन् । 

उनीहरूको भागदौड बारीको तोरीबारी हुँदै पँधेरोसम्म पुग्छ । यो चोर–पुलिस जस्तो खेल देखेर पँधेर्नीहरू पनि गलल हाँस्छन् । भागदौडमा कान्छो अम्लिसोको बुटोमा अल्झिएर कान्लोमुिन डङ्रंगै लड्छ । 

बाजेको रिस कान्छो खदारिएर घुँडा पिल्सिई रक्ताम्मे भएको दृश्य देखेर मात्र साम्य हुन पुग्छ । कान्छोको दुर्दशा देखेर बाजेले खुइय गर्दै उसको रगत बहिरहेको घुँडामा तितेपातीको झोल दली ओखतीमुलो गर्छन् । 

साँझपख खुट्टा खोल्च्याङ खोल्च्याङ गर्दै कान्छो गाईगोठै छेउको आफ्नो घर आइपुग्छ । उसलाई देखेर गाईबस्तुहरू ड्वाँ ड्वाँ गर्छन् । कान्छोलाई देख्ने बित्तिकै पिँढीमा बसी हुक्का तानिरहेका उसका बाबु डिट्ठा भुत्भुताउँदै मुर्मुरिन थाल्छन् “खोलेभकारा गर्न छोडेर यत्रोबेर कहाँ मुन्टेको थिइस हँ गोक्ते ?’ 

गाँठी कुरै नबुझी बाबुले आफूमाथि हप्कीदप्की गरेको देखेर आँखाभरी आँसु टल्पल पार्दै कान्छो घरभित्र छिर्छ । उता छोराको आसुँ देखेर पनि हेपाहा प्रवृत्तिका जुँगामुठे पोइका डरले मौन बस्न बाध्य दमरोगी डिठ्ठिनी भित्रभित्रै कुँडिन्छिन् । 

पञ्चायत कालमा डिट्ठा भएर गाउँमा हैकम जमाएर बसेक षडानन्दलाई सबैले डिट्ठा भनेर चिन्छन् । जसतसलाई मान्छे नगन्ने अहमी डिट्टाका तीन छोरामध्ये जेठो छोरो अमेरिकामा डाक्टरी गर्छ भने माहिलो बेलायतमा इन्जिनियर छ र उतै कुइरेनीसँग घरजम गरेर बसेको छ । 

लट्याङ्ग्रो कान्छो डिट्ठाको अन्तिम सन्तान हुन्छ, जसको बोली व्यवहारमा गोक्तेपन झल्किने भएकाले उसलाई चिनेजानेकाहरूले गोक्ते कान्छो भनेर चिन्छन् । पढाइमा कमजोर र तोते बोली भएको कान्छोले दाजुहरूझैँ इलम गर्न सक्दैन । फलस्वरूप ऊ परिवारमा अपहेलित हुन पुग्छ । घरमा उसको औकात गोठालो सरह हुन्छ । 

नियतिको खेलले खातेपिते परिवारको सदस्य कान्छोलाई लाउने खाने उमेरमा घाँसदाउरा र गाईवस्तु चराउनुपर्ने बाध्यताबाट गुज्रिन बाध्य बनाउँछ । आमाबाट अटुट माया पाए पनि कान्छोले आफ्नै बाबुबाट अरू पढालेखा छोराहरू सरह माया पाएको हुँदैन । 

एक दिन डिट्ठा मुद्दाको तारेख खेप्न घोडा चढेर सहरतिर जान्छन् र त्यो रात उतै बस्छन् । त्यही ठिहिलो रात कान्छोलाई निद्रामा ऐंठन हुन्छ र अर्धनिद्रामै कहालिएर चिच्याउँछ । छोरो एक्कासि चिच्याएको सुनेर अर्को कोठामा पल्टेर चुरोटको सर्को तान्दै ख्याङ ख्याङ खोकिरहेकी डिट्ठिनी कान्छोको कोठामा आउँछिन् र उसलाई झक्झकाउँछिन् । 

तन्द्रामै असिन पसिन भएको कान्छो बलिन्द्र आँसुको धारा बहाउँदै आमाको छातीमा टाँसिएर सुँक्सुँकाउन थाल्छ । छोरो रोएको देखेर उसकी ममतामयी आमा पनि भावविह्वल हुँदै रुन्छिन् । चिसो मध्यरातमा तड्पी तड्पी रोइरहेको कान्छो आमाको न्यानो काखमा भुसुक्कै निदाउँछ । 

कान्छोका विदेशवासी दाजुहरू सपरिवार दसैँ मान्न गाउँ आउँछन् । खाइलाग्दा नातिनातिना, विदेशी बुहारी र ठूला ठूला बाकस लिएर जन्मघर आएका छोराहरू देखेर डिट्ठा डिट्ठिनी गर्वले फुल्छन् । 

उनीहरूलाई हेर्न आँगनमा गाउँलेहरूको भीड लाग्छ । लामो अन्तरालपछि दाजुहरूलाई देखेर प्रफुल्ल भएको कान्छो उनीहरूका सरसामान घरभित्र थन्क्याउन थाल्छ । टाउकोमा भारी बाकस बोकेको कान्छो अचानक ठेस लागेर भुइँमा लड्छ । बाकस उछिट्टिएर पहिलो पटक पतिघर आएकी विदेशी भाउजूको खुट्टामा बज्रिन्छ । 

‘रास्कल, वाट एन इडियट सर्भेन्ट’ बाकसले लागेर दुःखेको खुट्टा सुम्सुम्याउँदै घरको नोकरझैँ देखिने अपरिचित देवरलाई अङ्ग्रेजीमा हकार्दै कुइरेनी पड्किन थाल्छिन् । 

‘थुक्क भातमारा ! एउटा काम पनि ठीकसँग गर्न सक्दैनस् गोक्ते !’ यो घटना देखिरहेका डिट्ठाले गालीगलौज गर्दै कान्छोको गालामा चड्कन हान्छन् । 

भाइमाथि भएको जुलुम देखेर पनि उसका दाजुहरू उसको बचाउ गर्नुको साटो उमाथि नै खनिन्छन् । आफ्नो अक्डो छोरोमाथि भएको अत्याचार देखेर डिट्ठिनीका आँखा रसाउँछन् । आफन्तहरूद्वारा अपहेलित भएर विह्वल भएको निर्धो कान्छो घुँक्क घुँक्क गर्दै गाईगोठमा गएर रुन थाल्छ । कान्छोको पीडामा उसकी आमा र एकाध छिमेकीबाहेक उपस्थित कसैको पनि मुहारमा करुणाका भाव भेटिँदैन । 

चाडबाड सकिएसँगै डिट्ठाका परदेशी छोराहरू सपरिवार विदेश फर्कन्छन् । एक दिन बार्दलीमा बसेर अखबार पढिरहेका डिट्ठा अचानक मूर्छा पर्छन् र त्यहीँ ढल्छन् । ‘बा ! ते भो तिमीलाई ? उथ उथ’ बा लडेको देखेर रोइरहेको लट्याङ्ग्रो कान्छोले बाबुलाई झक्झकाउँछ । 

कान्छो कराएको सुनेर डिट्ठिनी हस्याङ फस्याङ गर्दै बार्दलीमा आउँछिन् र श्रीमान्को हालत देखेर चिच्याउँछिन्, ‘गुहार गुहार ! लौ न नि के भो मेरो बूढोलाई ?’ कोलाहल सुनेर गाउँलेहरू डिट्टाको घरमा भेला हुन्छन् । गाउँलेहरूको सहायतामा बिरामीलाई सहरको अस्पातलमा लगेर भर्ना गरिन्छ । डाक्टरी जाँचपछि डिट्ठाका दुवै मिर्गौला बेकामे भएको पत्ता लाग्छ ।  

‘तेरा बा अस्पातलाँ भर्ना भाछन् । उनको मुख हेर्ने भा चाँडै घर आएस् है ठुले,’ कुरुवा बसेका सिलोके बाजेले समुद्रपारि बस्ने जेठो डिट्ठापुत्रलाई फोनद्वारा बिरामीको नाजुक स्वास्थ्य अवस्थाबारे जानकारी दिन्छन् । 

‘अहिले त जागिरमा छुट्टी नै मिल्दैन । सो आई कान्ट कम होम रिसेन्ट्ली । बरु म उपचारका लागि खर्चबर्च पठाइदिउँला ।’ उताबाट अङ्ग्रेजी मिसिएको आवाजमा उत्तर आउँछ । 

‘तेरा बा सिकिस्त छन् । चाँडै घर आइज छोरा ।’ रुँदै डिट्ठिनीले माइलो छोरासँग फोनमा कुरा गर्छिन् । 

उता माइलो छोरोबाट पनि कार्य व्यस्तताले गर्दा तत्काल घर आउन नसक्ने उत्तर आउँछ । आफ्नै छोराहरूबाट यस्ता गैरजिम्मेवार उत्तर सुनेर आमाको मन भाँचिन्छ र उनीलाई आफूमाथि बज्रपात भएको महसुस हुन्छ । 

डिट्ठा अस्पताल बसेको पनि महिना दिन बित्छ । रोगले च्यापेर बिसको उन्नाइस नभएका डिट्ठा जीवन मरणको दोसाँधमा उभिरहेका हुन्छन् । बिरामीको सेवामा अहोरात्र खटिरहेका आमा–छोरा विगतमा उनीद्वारा दिइएका पीडाहरू बिर्सेर ईश्वरसँग उनको जीवन रक्षाका लागि प्रार्थना गर्छन् । 

‘आमा ! तपाईंको श्रीमान्को एउटा मिर्गौला प्रत्यारोपण गर्नैपर्छ । जतिसक्दो चाँडो अपरेसन खर्च र मिर्गौलादाताको व्यवस्था गर्नुस् अन्यथा हामी उहाँलाई बचाउन असमर्थ हुनेछौँ,’ बिरामी बूढाको पाऊ मिच्दै झोक्राइरहेकी डिट्ठिनीलाई उपचारमा संलग्न एउटा ठिटौले डाक्टरले आएर भन्छ । डाक्टरका कुरा सुनेर डिट्ठिनी विचलित हुन पुग्छिन् । 

गैरीखेत बन्दकी राखेर ल्याएको लाखौँ रुपैयाँ पनि डिट्ठाको उपचारमै सकिन्छ । एकातिर खर्चबर्च कसरी जुटाउने भन्ने चिन्ता भने अर्कोतिर मिर्गौलादाता फेला पर्ला कि नपर्ला भन्ने भयले डिट्ठिनी साह्रै चिन्तित हुन्छिन् । यस्तैखाले पिरोलोहरू पोख्न उनीले छोराहरूलाई फोन गर्छिन् । 

आमाको कुरालाई जेठोले खासै वास्ता गर्दैन । त्यस्तै माइलो पनि पन्छिन खोज्छ । स्वार्थी छोराहरूको कृतघ्नता र विवश बूढाका रुग्ण अनुहार देखेर डिट्ठिनी पिल्पिलाउन थाल्छिन् । 

‘नलोऊ आमा ! म थु नि मेलो बालाई मिर्दौला दिने ।’ भावुक कान्छोले आमालाई सान्त्वना दिन्छ । कान्छोको कुरा सुनेर सबैजना चकित हुन्छन् । डाक्टरले ‘उच्च विचार’ भन्दै उसलाई धाप मार्छन् । डिट्ठिनीको मुहारमा पनि आशाका लहरहरू दौडिन्छन् । जाँचपड्तालपछि कान्छोको मिर्गौला बाबुकोमा प्रत्यारोपण गर्न योग्य ठहरिन्छ । 

अपरेसनका लागि छिमेकीहरूले गाउँमा रिनपान खोजी खर्चबर्चको जोहो गरिदिन्छन् । छोराको अङ्ग बाबुकोमा प्रत्यारोपण गरिसकेपछि बेहोस हालतका दुवैलाई सघन उपचार कक्षमा राखिन्छ । यस्तो गम्भिर हालतमा डिट्ठाका पुगिसरी आएका छोराहरूले परिवारलाई सहयोग गर्न त परै जाओस् फोनसम्म पनि गर्दैनन् । 

डिट्ठाको होस अपरेसन गरेको चौबीस घण्टापछि खुल्छ तर अर्कोतिर हप्तादिन बितिसक्दा पनि कान्छोको होस खुल्दैन । डाक्टरहरूले कान्छोलाई होसमा ल्याउन अथक प्रयास गर्छन् । तर उनीहरूको प्रयास निरर्थक बन्छ र अन्ततः कान्छो कोमामा जान्छ । यता नयाँ जीवन पाएका डिट्ठा बिसेक भई अस्पतालबाट डिस्चार्ज हुन्छन् । उनी कुरुवा पत्नी र बेहोस छोरालाई अस्पातलमै छोडी सहरकै एकजना आफन्तकोमा बस्न जान्छन् ।  

‘क्षमा गर्नुस् आमा । अब तपाईंको छोरो यो संसारमा छैन ।’ भेन्टिलेटरबाट झिकेर कान्छोको लासलाई स्ट्रेचरमा राखी कपडाले छोप्दै गरेकी एउटी नर्सले दुःखी हुँदै डिट्ठिनीलाई जानकारी दिन्छे । लासको छोपिएको अनुहार उघारेर आमालाई छोराको अन्तिम दर्शन गराइन्छ । 

‘मेरो गोक्ते ! मलाई छोडेर नजा । बरु मलाई पनि तैंसँगै लैजा ।’ लासलाई ग्वाम्लाङ्ग अँगालो हालेर डिट्ठिनी चिच्याउँदै रुन्छिन् र मूर्छा परेर भुइँमा लड्छिन् । मूर्छित डिट्ठिनीलाई तत्काल आकस्मिक कक्षमा लगिन्छ र गोक्तेको लासलाई मूर्दाघरमा राखिन्छ । 

एकातिर मूर्छाबाट बौरिएकी विक्षिप्त डिट्ठिनी पागलझैँ क्रियाकलाप गर्न थाल्छिन् भने अर्काेतिर मरेको तीन दिन बितिसक्दा पनि कान्छोको मृतदेह बुझ्न उसका कोही पनि आफन्त आउँदैनन् । अस्पताल प्रशासनले डिट्ठिनीलाई मनोचिकित्सा वार्डमा भर्ना गर्छ भने कान्छोको लासलाई नजिकैको घाटमा दाहसंस्कार गर्ने निर्णय गर्छ । 

कान्छो अभागीको अन्त्येष्टिमा न कोही आफन्त उपस्थित हुन्छन्, न दागबत्ती दिन कोही परिवारका सदस्य आउँछन् । फगत घाटमा दुईजना पोडे र अस्पतालका दुई जना कर्मचारीद्वारा साँझपख गोक्ते कान्छोको अन्त्येष्टि गरिन्छ । 

चितामा आगोको मुस्लो दन्किन्छ । कालो धुँवा अट्टहास गर्दै आकाशतिर नाच्न थाल्छ । झमक्कै साँझ पर्छ । सिमसिम पानी पर्छ । नजिकैको वनमा स्याल र हुँडारहरू कराउन थाल्छन् । आकासमा गिद्धहरू कावा खेल्न थाल्छन् । पोडेहरू जल्दा जल्दैको लास छोडेर घरतिर लाग्छन् । एकछिनमा चिताको आगो शान्त हुन्छ । आफू मरेर बाबुको ज्यान बचाउन सफल अपहेलित गोक्ते कान्छोको लास खरानी भएर सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप