आइतबार, २२ माघ २०७९
ताजा लोकप्रिय

‘भारतीय गायकहरूका कारण भोजपुरी गीत अलि उदाङ्गो देखिन्छ’

शनिबार, १० मंसिर २०७९, १० : ५४
शनिबार, १० मंसिर २०७९

विसं २०३२ सालमा ‘पत्थरको हृदय’ शीर्षकको नेपाली भाषाको कथा लेखेर साहित्य क्षेत्रमा प्रवेश गरेका हुन् गोपाल अश्क । उनको खास नाम भने गोपालप्रसाद सर्राफ हो । प्रारम्भिक चरणमा अश्कले आफ्नै मातृभाषा भोजपुरीमा कलम चलाए । उनको पहिलो प्रकाशित कृति पनि भोजपुरी भाषाको ‘कवि के जनम कुण्डली’ खण्डकाव्य हो । उनका कथा, महाकाव्य, उपन्यास लगायत १७ पुस्तक प्रकाशित छन् । 

भोजपुरी र नेपाली भाषा साहित्यका क्षेत्रमा अथक अध्ययन अनुसन्धानमा लागेका हाल भाषा आयोगका सदस्य रहेका गोपाल अश्कसँग भाषा–साहित्य विविध पक्षबारे रातोपाटीका शिखर मोहनले गरेको कुराकानीः

तपाईं खास कुन विधामा कलम चलाउनु हुन्छ ? 

मातृभाषा भोजपुरी मेरो लेखनको रुचिको विषय हो । म विविध विधामा कलम चलाइरहेको छु तर कविता मेरो लेखनको प्राथमिकता हो । नेपाली भाषामा भोजपुरी भाषाको अध्ययन अनुसन्धानमा संग्लग्न छु । मेरो पहिलो प्रकाशित कृति भोजपुरी भाषाको ‘कवि के जनम कुण्डली’ खण्डकाव्य ‘नइहर के चुनरी’ कथा सङ्ग्रह हो । त्स्तै, भोजपुरी भाषाको पहिलो महाकाव्य ‘धंधोर’, ‘अभी बाँकी बा’ गजल सङ्ग्रह, ‘एक वित्ता के दूरी’ नाटक, ‘फूलवा’ उपन्यासलगायत १७ वटा कृति आएको छ । 

यसै गरी नेपाली भाषामा ‘जीवनको लेक र बेँसी’ गजल सङ्ग्रह, ‘प्रमाङ्कन’ महाकाव्य हो । साथै, भोजपुरी भाषाको शब्दकोश, व्याकरण तथा पाठ्यक्रम विकास केन्द्र सानोठिमीबाट ९ र १० कक्षाको भोजपुरी भाषाको पाठ्यपुस्तक लेखनमा पनि संग्लग्न रहें । 

–तपाईं खास गरेर भोजपुरी लेखक तथा साहित्यकार, भाषा आयोगको सदस्यमा कसरी पर्नु भयो ?

भाषा आयोगको गठन नै नेपालमा बोलिने भाषाहरूको संरक्षण, सम्वद्र्धन र विकासका लागि भएको हो । मलाई सरकारले मधेस प्रदेशबाट प्रतिनिधित्व गर्नेगरी नियुक्त गरेको हो । सुरुमा आयोगको अध्यक्ष लवदेव अवस्थी हुनुहुथ्यो । अहिले कार्यवाहक अध्यक्ष उषा हमालजी हुनुहुन्छ । भाषा आयोगमा ७ जना सदस्य हुने र तीमध्ये एक जना अध्यक्ष हुने व्यवस्था छ । सातै प्रदेशबाट प्रतिनिधित्व हुने गरी व्यवस्था गरिएको छ । 

पहिलो कार्यकालको अन्तिमतिर असार ४ गते हामी पाँच जनाले आयोगमा नियुक्ति पाएका हौँ । ती पाँच जनामध्ये म गोपालप्रसाद सर्राफ, प्राडा कृष्णप्रसाद न्यौपाने, अमरराज गिरी, मातृका पोखरेल, अमृत योञ्जन तामाङ नियुक्त भएका हौँ । 

हामीले गर्ने भनेको नेपालमा बोलिने भाषाहरूको संरक्षण, सम्वद्र्धन र विकास के कसरी गर्न सकिन्छ भनेर नीति निर्माणको काम हो । हामीलाई कानुन, ऐन, नियमले दिएको निर्देशन र सर्तअनुसार त्यो काम गर्छौं । त्यसका अतिरिक्त अन्य काम गर्नका लागि पनि सरकारले हामीलाई सिफारिस गरेको हो । 

मैले मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने भएकाले यो प्रदेशमा बोलिने भाषाहरूको सम्वद्र्धन र विकास गर्न लागिपरेको छु । समग्र रूपमा त नेपालमा बोलिने सबै भाषाको भयो तर प्रतिनिधित्वका हिसाबले मधेस प्रदेशमा बोलिने भाषाहरूमा मेरो बढी जिम्मेवारी छ । 

–भाषा संरक्षणमा देखिएका समस्या के के छन् ? 

अहिलेको अवस्थामा सरकारले सम्बोधन गरेको छैन भन्न मिल्दैन । शाह वंशभन्दा पहिलदेखिको कुरा गरेर राणा शासनदेखि हामीमाथि थिचोमिचो गरियो भनेर पन्छिन अब मिल्दैन । किनभने २०७२ सालको संविधानले नेपाली भाषालाई सरकारी कामकाजको भाषा भने पनि त्यसपछि बोलिने बाँकी भाषालाई राष्ट्र भाषाको मान्यता दिएको छ । 

अहिले केन्द्र, प्रदेश र स्थानीय सरकारले स्थानीय जनजीवनमा बोलिने आधारमा कामकाजको भाषाको रूपमा प्रयोग गरिने भनेको छ । स्थानीय जनजीवनमा त्यो भाषा बोलिन्छ कि बोलिँदैन ? बोलिँदैन भने त्यसको कारण खोज्ने र अभिलेखीकरण गर्नुपर्ने व्यवस्था छ । 

शिक्षा क्षेत्रमा नेपाली भाषा लागू भइसकेको हुनाले प्रयोगको क्षेत्र विस्तार भएको छ । यदि शिक्षामा प्रयोग हुने भाषाको प्रयोगमा विस्तार हुन्छ, बोलचालमा प्रयोग हुन्छ, त्यो भाषा जीवित हुन्छ । नबोलिने भाषा जीवित रहँदैन । जस्तैः संस्कृत समृद्ध भाषा भए पनि बोलिँदैन, त्यसैले यसलाई मृतप्रायः भाषा भनिन्छ । यो क्लासिकल भाषा हो । 

तर तामाङ भाषा, राई भाषा, भोजपुरी, मैथिली, अवधी भाषाहरू त बोलिन्छन् । अब कुसुन्डा भाषा पनि जीवित भाषा हो । यसमा एक जना बोल्ने त थिए नि । अहिले त्यो भाषा संरक्षणका लागि आयोगले छात्रवृत्ति दिएर नै भाषा सिकायो । धेरै मानिसहरूले सिके । त्यसैले भाषा संरक्षणमा केही समस्या त छन् । 

–भाषा संरक्षण सम्बन्धमा भाषा आयोगले के गर्यो, अबको कार्यक्रम के के छन् ? 

सबैभन्दा पाहिले के बुझ्नुपर्छ भने भाषा आयोगले आफ्नो पाँच वर्षको अवधिमा सातै प्रदेशमा सरकारी कामकाजको भाषाहरूको सिफारिस गर्यो । १ नम्बर प्रदेशमा नेपालीपछि लिम्बू र मैथिली आयो । मधेस प्रदेशमा नेपालीपछि मैथिली र भोजपुरी आयो । यसै गरी बाँकी प्रदेशमा पनि स्थानीय तहहरूमा कामकाजको भाषा सिफारिस गरेको छ । यो सबै स्थानीयवासीले प्रयोग गर्ने भाषाहरूको अध्ययन गरेर सिफारिस गरेको हो । 

त्यस क्रममा मधेस प्रदेशमा मैथिली, भोजपुरी, अवधी भाषाहरूको अध्ययन र सर्वेक्षणको काम गरेको छ । विभिन्न गोष्ठीहरू गरेको छ । हामी भर्खर आएका छौँ, चुनाव पनि भर्खर सम्पन्न भएको छ । हामीले सातै प्रदेशमा भाषा संरक्षणमा के के गर्ने भनेर कार्यक्रमहरू पनि तय गर्दैछौँ । 

हाम्रो प्राथमिकता भाषा आयोगले गरेको सिफारिसको कार्यान्वयन हो । खासमा अहिले प्रदेश र स्थानीय सरकार दुवैले गरेका छैनन् । तर गाउँपालिका, नगरपालिकाहरूले मेरो भाषा यो हो सम्म भनेका छन् । वीरगञ्ज महानगरपालिकामा निवेदन दिन गयौँ भने भोजपुरी भाषामा निवेदन लिन्छ तर जवाफ भने नेपालीमा दिन्छ । स्थानीय तहमा त्यो जवाफ दिने संयन्त्र खडा भएको छैन । त्यसका लागि फोकल पर्सन चाहियो । 

यसै गरी मातृभाषामा शिक्षा दिनका लागि के उपाय छ भनेर शिक्षामा प्रवेश गराउने हो । त्यसका लागि मैथिली, थारू, अवधी, भोजपुरी, नेपाल आदि भाषामा पाठ्यक्रम विकास केन्द्रले १ देखि ५ सम्मको पाठ्यक्रम बनाएको छ । त्यसका लागि भाषा आयोगले पनि काम गरेको छ । भाषा आयोगले पाठ्यक्रम विकासका लागि योजनाहरू बनाएको छ । कुनै कुनै भाषाको १२ सम्म नै पाठ्यक्रम बनेको छ । भोजपुरी र मैथिली भाषाको १० सम्मको पाठ्यक्रम बनेको छ । 

तर मैले अघि पनि भने भाषा आयोग भनेको नीति निर्माण गर्ने संस्था हो । हामीले सिफारिस गरिएका भाषाहरूलाई प्रदेश सरकारले कसरी लागू गर्छ त भनेर त्यो कुरामा हामी ध्यान दिँदैछौँ । 

–आयोगजस्तो गरिमामय संस्थाको सदस्य भइसकेको मान्छे, पछि फेरि लघुकथा समाजको अध्यक्ष पनि बन्नुभएको छ, किन यता आउनुपर्‍यो तपाईंलाई ?

यसलाई आयोगसँग नजोडौँ । किनभने आयोगमा साहित्यकार र प्राज्ञिक व्यक्ति भएको नाताले नै आएको हो । मैले भाषा र साहित्यमा काम गरेको हो । सरकारले मलाई चिन्ने आधार भनेको त त्यही लघुकथा, भोजपुरी भाषा र साहित्य, शब्दकोश लेखेको, व्याकरण लेखेको जस्ता कार्यबाट हो । यही आधारले भाषा आयोगको सदस्य भएको हुँ । यो मेरो अर्को कर्म हो । त्यसका लागि संविधानले पनि रोकेको छैन । भाषा आयोगको सदस्य भएको मान्छे यस्ता साहित्यिक संस्थामा बस्न मिल्दैन भनेर कहीँ लेखेको छैन । 

–लघुकथा समाजमा के के गर्ने योजना बनाउनु भएको छ ? 

पहिलादेखि नै लघुकथाका क्षेत्रमा कलम चलाउँदै आएको हुँ । २०६५ सालमै मैले नेपालमा लघुकथा पाठक र प्रतिक्रिया भन्ने पुस्तक साझाबाट प्रकाशित गरेको हो । त्यस समाजमा श्रीओम श्रेष्ठ ‘रोदन’जी अहिलेसम्म संस्थापक अध्यक्ष नै हुनुहुन्थ्यो । हामीले त उहाँलाई नै बस्नुहोस् भनेर अनुरोध गरेका थियौँ, मान्नु भएन । अनि सबैलाई एक तह माथि लैजाने निर्णय गरियो । त्यसपछि उपाध्यक्ष रहेको म स्वतः अध्यक्ष भएको हुँ । यसरी गएपछि लघुकथा विधाको उन्नयन, सम्वद्र्धन र विकासमा जे गर्न सक्छु, गर्छु ।  लेखक मान्छे हुँ, लेख अनुसन्धान गर्ने प्राज्ञिक मान्छे हुँ, त्यतातिर पनि ध्यान दिन्छु । लघुकथाका सम्बन्धमा भएका भ्रमहरूलाई चिर्ने प्रयास गर्छु । 

–तपाईंको आफ्नै अध्ययन क्षेत्रतिर जाऔँ, भोजपुरी भाषाको साहित्यिक अवस्था कस्तो छ ?

पहिलेभन्दा त अहिले भोजपुरी भाषासाहित्य फैलिएको छ । सुनसरीको दुहवीदेखि रुपन्देहीसम्म फैलिएको यो भाषाको गढ भने बारा र पर्सा हो । भोजपुरी नेपालको तेस्रो राष्ट्र भाषा हो ।  पहिला मैले भोजपुरीमा लेख्न सुरु गर्दा व्याकरण थिएन, खण्डकाव्य–महाकाव्य थिएनन्, कथा, उपन्यास विधाका कृति थिएनन् । समालोचनाको त कुरै छाडिदिनुस्, निबन्ध अलिअलि थिए । हाइकु र लघुकथाहरू त पछि आएका हुन् । यी सबै विधामा हामीले कलम चलायौँ । यसरी विधागत अभावलाई पूर्ति गर्ने क्रममा मेरा धेरै कृति भोजपुरीमा प्रकाशित भए । 

भोजपुरी भाषासाहित्यका बारेमा नेपालीमा लेखियो भने धेरैलाई थाहा हुन्छ भनेर पछि मैले नेपाली र अङ्ग्रेजीमा पनि लेख्न थालेँ । अहिले ‘नेपालको भोजपुरी साहित्यको इतिहास’ प्रकाशित गरेको छु । भोजपुरी साहित्यको अवस्था समृद्ध छ, नभए ३ सय ५० पृष्ठको पुस्तक लेख्न सकिने थिएन । 

–हाल भोजपुरी भाषा–साहित्यमा कलम चलाउने उल्लेखनीय साहित्यकारको नाम लिनुपर्यो भने ?

भोजपुरी भाषा–साहित्यको कुरा गर्दा पण्डितजी दीपनारायण मिश्रलाई बिर्सन सकिँदैन, उहाँ बितिसक्नुभयो । उहाँलाई भोजपुरी भाषा–साहित्यको भीष्मपितामह भनिन्छ । सुरुवात त हरिहर यादवदेखि नै भएको थियो, २००८ सालमा बारा जिल्लामा किसान आन्दोलन हुँदा भोजपुरी भाषामा क्रान्तिकारी गीत लेख्नुभएको थियो यादवले । 

नन्दन अर्यालले पनि वामपन्थी आन्दोलन, किसान आन्दोलनमा लागेर भोजपुरीमा नाटक लेखन, प्रदर्शन गर्नुभएको थियो । उहाँ पहाडी समुदायको भए पनि, घरमा नेपाली भाषा बोले पनि बाहिर भोजपुरीमै काम गर्नुहुन्थ्यो । 

समकालीन भोजपुरी लेखकहरूमा डा. गोपाल ठाकुरको विशेष पहिचान भाषा र सङ्गीतको क्षेत्रमा छ । उहाँको भोजपुरी व्याकरण प्रकाशित भएको छ । उहाँले पहिलो पल्ट त्रिभुवन विश्वविद्यालयबाट ‘ए ग्रामर अफ भोजपुरी’ शीर्षकमा विद्यावारिधि गर्नुभएको छ । अहिले उहाँ मधेस प्रज्ञा प्रतिष्ठनमा सदस्य पनि हुनुहुन्छ । 

दिनेश गुप्ता निकै राम्रो कवि र कथाकार हुनुहुन्छ । उहाँका दसवटा पुस्तक प्रकाशित छन् । उमाशङ्कर द्विवेदी पनि राम्रो कथाकार हो । उहाँ प्राज्ञ सभा सदस्य भइसक्नुभएको छ । त्यसपछि उपेन्द्र सहनी भोजपुरीमा स्नातकोत्तर गरेर भारतमा भोजपुरी पढाउँदै हुनुहुन्छ । उहाँ गीतको क्षेत्रमा चर्चित हुनुहुन्छ । यसैगरी रामप्रसाद साह, शिवनन्दन जैसवाल, सुरेन्द्रप्रसाद गिरीले लघुकथा र गीतमा निकै राम्रो गर्नुभएको छ । 

यसै गरी नारी हस्ताक्षरहरूमा वीण सिंहा, डा. श्वेता दिप्ती, अनिता शाह, पूजा बहार, प्रिया मिश्रलगायत धेरै हुनुहुन्छ । 

–भोजपुरी गीतमा अलि बढी यौनविम्ब भनौँ या अश्लीलताको प्रयोग हुन्छ भनिन्छ । यो समुदाय नै यौन उदारता भएर हो कि ? कि किन यस्ता गीत बढी आउँछन् ? 

एकदमै होइन । ‘फस्ट इम्प्रेसन इज द लास्ट इम्प्रेसन’ भन्ने भनाइ छ । पहिले सुनेको गीतका आधारमा पछिका स्तरीय गीतलाई पनि त्यही नजरले श्रोताहरूले मूल्याङ्कन गरेका छन् । त्यस्तो होइन । 

नेपालीमा पनि हेर्नुस्, ‘नाइँ आमा मलाई त्यही केटी चाहिन्छ’ भन्ने गीतमा यौन विम्ब छैन र ? अनि अहिलेका दोहोरी गीत सुन्नुस त, यौन विम्ब छैन र ? मैथिलीमा पनि ‘खत खत कै छि जवानी’,  हिन्दीमा पनि ‘सिला के जवानी’ गाना के हो त ? अङ्ग्रेजीमा त झन् कति कति । अश्लीललाई कुन मापदण्डले हेर्दा सही हुन्छ, त्यो अलिक देखिने कुरा हो । 

भोजपुरी भाषामा गाउँतिर त्यस किसिमका कुरा हामीले पाउँछौँ । हो, भोजपुरीमा केही बढी छ । कुनै पनि राम्रै शब्दलाई बलाघात दिएर भनियो भने त्यसको द्विअर्थ आउँछ । त्यस्तो द्विअर्थी शब्द भोजपुरीमा प्रयोग हुन्छ । शृङ्गार भावलाई अश्लीलता भन्नु हुँदैन । 

पहिला पहिला रत्नपार्कका छेउछाउ पाइने उपन्यासहरू ठूला ठूला पुस्तकालयहरूमा त पाइँदैनन् नि । त्यसका पनि पाठक थिए र त बजारमा आउँथे । 

त्यसैले यौन त जीवनको आवश्यकता हो, यसलाई अश्लील भन्नै मिल्दैन । तर त्यसलाई प्रस्तुतीकरण कसरी गर्ने भन्ने हो । यस्तो प्रस्तुति चाहिँ भोजपुरीमा अलि उदाङ्गो देखिन्छ । भारतीय गायकहरूले बजारका लागि अलि बढी त्यस्तो कार्य गरे, नभए अझै पनि राम्रा राम्रा गीतहरू आएका छन् । अहिलेका भोजपुरी चलचित्र हेर्नुस्, हिन्दीलाई टक्कर दिने खालका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

शिखर मोहन
शिखर मोहन
लेखकबाट थप