शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावी मैदानमा रहेका यी अर्थमन्त्री : कसले जिते, कसले हारे ?

शनिबार, १० मङ्सिर २०७९, १२ : ५९
शनिबार, १० मङ्सिर २०७९

यतिखेर सबैको चासो निर्वाचन परिणाममा छ । प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ कुल १६५ सिट र प्रदेशसभातर्फ ३३० सिटको चुनावी प्रतिस्पर्धामा को कहाँबाट निर्वाचित हुँदैछ भन्नेमा सबैको चासो छ । पुराना राजनीतिक पार्टीहरुको प्रतिस्पर्धा त छँदैछ, नयाँशक्तिको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले हासिल गरेको सफलताले संसदीय समीकरण रोचक बन्ने देखिएको छ ।
 
चुनावी मैदानमा वहालवाला अर्थमन्त्रीसहित केही पूर्व अर्थमन्त्री पनि उम्मेदवारका रुपमा प्रतिस्पर्धामा थिए । तीमध्ये केहीले निर्वाचन सहजै जितेका छन् भने केही पूर्व अर्थमन्त्री पराजित भएका छन् ।
 
 अर्थमन्त्री जनार्दन शर्माको सानदार जित
 
नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत रहेका अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिम–१ बाट भारी मतान्तरले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । शर्माले २६ हजार ५८८ मतान्तरले नेकपा एमालेका उमेदवार नन्दराम देवकोटालाई पराजित गरेका हुन् । शर्माले कुल ३९ हजार ५४९ मत प्राप्त गर्दा एमालेका देवकोटाले जम्मा १२ हजार ९६१ मतमात्र प्राप्त गरे ।
 
संविधानसभा निर्वाचन २०६४, दोस्रो संविधानसभा निर्वाचन २०७० र प्रतिनिधिसभा निर्वाचन २०७४ मा रुकुमबाटै निर्वाचित भइसकेका शर्मा चौथो पटक पुनः सोही क्षेत्रबाट प्रतिनिधिसभाका लागि निर्वाचित भएका हुन् ।
 
शर्मा गणतन्त्र घोषणासँगै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा शान्ति तथा पुनर्निमाणमन्त्री बनेका थिए । पहिलो पटक २०६५ भदौ १५ मन्त्री बनेका शर्माले दोस्रो पटक अध्यक्ष प्रचण्डकै नेतृत्वको सरकारका पालामा २०७३ साउनमा ऊर्जा तथा सिंचाईमन्त्रीको जिम्मेवारी पाए । उनी त्यसलगत्तै २०७४ जेठ २४ गते शेरबहादुर देउवा नेतृत्वको सरकारको गृहमन्त्री र २०७८ असार २९ गते अर्थमन्त्री बने ।
 
ऊर्जा तथा सिंचाईमन्त्री बन्दा लोडसेटिङ अन्त्य गरेर निकै चर्चा कमाएका उनी आफ्नो निर्वाचन क्षेत्रमा अपराजित रहँदै आएका छन् ।
 
पूर्वअर्थमन्त्री वर्षमान पुन विजयी
 
नेकपा माओवादी केन्द्रका अर्का उपमहासचिव वर्षमान पुन रोल्पा–१ बाट भारी मतान्तरले निर्वाचित भएका छन् । पुनले २५ हजार २२९ मतान्तरले नेकपा एमालेका उम्मेदवार पूर्ण बुढामगरलाई हराएका हुन् । पुनले कुल ४१ हजार ७१४ मत प्राप्त गर्दा बुढामगरले १६ हजार ४८५ मतमात्र प्राप्त गरे ।
 
२०७५ चैत २ गते तत्कालीन नेकपाको सरकारमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बनेका पुन नेकपा एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकारका पालामा अर्थमन्त्री बनेका थिए ।
 
पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे पराजित
 
नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे पराजित भएका छन् । यसअघि दुई पटक निर्वाचित भएका उनी लगातार तेस्रो पटक जितेर ह्याट्रिक रच्ने दाउमा थिए । पाण्डेलाई नयाँ शक्तिको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले पराजित गरे ।
 
चितवन क्षेत्र नं. १ बाट प्रतिस्पर्धा गरेका पाण्डेलाई ढकालले ७ हजार ५८१ मतान्तरले हराए । कुल २६ हजार ६०८ मत ल्याएका पूर्व अर्थमन्त्री पाण्डेलाई रोक्दै राष्ट्रिय स्वतन्त्र पार्टीका ढकालले ३४ हजार १८९ मत ल्याउँदै पहिलो पटक संसदको यात्रा तय गरेका हुन् ।
 
२०३१ सालदेखि सक्रिय राजनीतिमा लागेका पाण्डे २०६६ जेठदेखि २०६७ माघसम्म अर्थमन्त्री बनेका थिए । उनलाई सफल अर्थमन्त्री मानिन्छ ।
 
पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल विजयी
 
नेकपा एमालेका उपाध्यक्ष समेत रहेका पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा रहेका पौडेललाई राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले कडा चुनौती दिएका थिए । यद्यपि, पौडेल १ हजार ३६६ मतान्तरले विजयी भए ।
पूर्वअर्थमन्त्री पौडेलले २७ हजार १४७ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले २५ हजार ७८१ मत प्राप्त गरे ।
नेपालको २९औं अर्थमन्त्रीको रुपमा २०७२ कात्तिकदेखि २०७३ साउनसम्म १२ महिना अर्थमन्त्री बनेका पौडेलले पुनः दोस्रो पटक पनि अर्थमन्त्री बन्ने अवसर पाए ।
केपी ओली नेतृत्वको सरकारमा २०७८ जेठ २१ गते उपप्रधानमन्त्री बनेका पौडेल २०७७ असोज २८ गतेदेखि २०७८ असार २८ गतेसम्म ९ महिना अर्थमन्त्री बन्ने । उसो त सोही समयमा नेकपा पार्टीभित्रको विवादका कारण सरकारमा मन्त्रिपरिषद् हेरफेर हुँदा गृहमन्त्री खगराज अधिकारीको नियुक्ति संविधान विपरीत भएको भन्दै सर्वोच्चले निर्णय उल्टाइदिएसँगै पौडेलले गृहमन्त्रीको समेत जिम्मेवारी सम्हाल्ने अवसर पाएका थिए ।
 
पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की कडा संघर्षमा
वर्तमान सरकारका बहालवाला सूचना सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की पनि पूर्व अर्थमन्त्री हुन् । मन्त्री कार्की जितका लागि कडा संघर्षमा छन् । सुनसरी–४ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा रहेका कार्कीलाई नेकपा एमालेका उम्मेदवार जगदिशप्रसाद कुसियैतले टक्कर दिइरहेका छन् । पछिल्लो परिणाम अनुसार मन्त्री कार्की झिनो मतान्तरले अघि छन् ।
 
कार्कीले २०७४ जेठदेखि २०७४ फागुनसम्म १० महिना अर्थमन्त्रालयको नेतृत्व गरेका थिए ।
 
पूर्वअर्थमन्त्री डा.प्रकाश चन्द्र लोहनी समानुपातिकतर्फ
 
पञ्चालयकालदेखि नै सक्रिय राजनितीमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्वअर्थमन्त्री डा.प्रकाश चन्द्र लोहनी यसपटक पार्टीको समानुपातिक लिस्टमा छन् । उनी पञ्चायती व्यवस्थामै अर्थमन्त्री बनेका थिए भने प्रजातन्त्र पुनर्स्थापनापछि पनि पटक पटक मन्त्री बनेका थिए ।
 
यी पूर्वअर्थमन्त्री जो चुनावी प्रतिस्पर्धामा थिएनन्
 
–डा.रामशरण महत – नेपाली कांग्रेस
 –कृष्ण बहादुर महरा – कृष्ण बहादुर महरा
 –महेश आचार्य – नेपाली कांग्रेस
 –डा.बाबुराम भट्टराई – जनता समाजवादी पार्टी नेपाल
 –डा.युवराज खतिवडा – नेकपा एमाले
 –शंकर कोइराला – प्रधानन्यायाधीश खिलानाथ रेग्मी नेतृत्वको मन्त्रिपरिषद्
     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप