शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गृहमन्त्री खाँणलाई हराउँदै रुपन्देही–३ मा राप्रपाका बोहोरा विजयी

शनिबार, १० मङ्सिर २०७९, १५ : ००
शनिबार, १० मङ्सिर २०७९

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ अन्तरगत प्रतिनिधि सभातर्फ रुपन्देहीको क्षेत्र नं. ३ मा नेकपा एमाले– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गठबन्धनका उम्मेदवार राप्रपाका नेता दीपक बोहोरा विजयी भएका छन् । 

बोहोराले ३६ हजार ६ सय ४८ मत प्राप्त गरेर प्रतिस्पर्धी पाँच दलीय गठबन्धनबाट नेपाली कांंग्रेसका उम्मेदवार बालकृष्ण खाँणलाई पराजित गरेका हुन् । खाँणले ३४ हजार ६ मत प्राप्त गरेका छन् । यसअघि ०७४ सालको निर्वाचनमा राप्रपा–कांग्रेस गठबन्धनबाट बोहोरालाई भोट मागेका खाँण यसपटक उनै बोहोराका प्रतिस्पर्धी बने । बहालवाला गृहमन्त्री समेत रहेका खाँण यसअघि बोहोराका चुनावी कमाण्डर पनि थिए ।

वि.सं.२०३६ सालको आम निर्वाचनमा रुपन्देही जिल्लाबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएसँगै बोहोराको संसदीय राजनीति सुरु भएको हो । विक्रम संवत् २०३८ असार २ गते सहायक पर्यटन मन्त्री बनेका बोहोराको जीवनमा धेरै उतारचढाव आए । राजदरबारको रोजाइमा परिरहने बोहोराले रुपन्देहीमा कैयौँ विकासका काम पनि गरेका छन् । 

वि.सं.२०७० सालमा दोस्रो संविधानसभाको निर्वाचनमा रुपन्देही क्षेत्र न.२ बाट संविधानसभा सदस्य निर्वाचित भई  गणतन्त्र नेपालको संविधान बनाउन पनि बोहोराले महत्त्वपूर्ण योगदान दिएका थिए । पाँच वर्ष अगाडी २०७४ सालको  निर्वाचनमा बोहोरालाई रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनाएर चुनावी कमान्ड सम्हालेका कांग्रेसका तत्कालीन नेता बालकृष्ण खाँणलाई अहिले उनले प्रतिस्पर्धामा हराएका छन् ।

बोहोरा पटक पटक मन्त्री बनेका छन् । आपूर्ति मन्त्री २०७३, श्रम तथा रोजगार मन्त्री २०७२,  वन तथा भूसंरक्षण मन्त्री २०६७ बनेर काम गरे । त्यसअघि यातायात मन्त्री २०४४, निर्माण तथा यातायात मन्त्री २०४३,  पर्यटन राज्यमन्त्री २०४०, पर्यटन मन्त्री २०३८, पर्यटन मन्त्री २०३८ मा रही काम गरेका थिए ।

पञ्चायतकालीन समय वि.सं. २०४० साल फागुन २० गते रुपन्देहीको सूर्यपुरामा भएको हत्याकाण्डले भने उनी आलोचित छन् । नेपाली कांग्रेसले सङ्गठन बिस्तार गर्न आयोजित कार्यक्रममा बोहोराले भिजलान्ते प्रयोग गरेर भिडन्त गर्दा दुई जनाको हत्या भएको थियो । त्यतिबेला कांग्रेस नेता गिरिजाप्रसाद कोइराला लगायतका ७ जना शीर्ष नेतालाई घरको कोठामा थुनेर बचाइएको थियो । नेपाली साहित्य कला क्षेत्रको अग्रणी व्यक्तित्व उन्नति बोहोरा शीलाको जीवनसाथी रहेका बोहोराको राजनीतिका विभिन्न कालखण्डको अनुभव लिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुवन कार्की
भुवन कार्की
लेखकबाट थप