आइतबार, १५ माघ २०७९
ताजा लोकप्रिय

मुम्बई ताज होटेल आक्रमणका मास्टरमाईण्ड डेभिड हेडलीको कथा

शनिबार, १० मंसिर २०७९, १७ : ३४
शनिबार, १० मंसिर २०७९

भनिन्छ सेप्टेम्बर २००६ मा जब डेभिड हेडली पहिलो पटक ताज होटलमा प्रवेश गरे, त्यहाँको वैभव र त्यहाँ काम गर्ने मानिसहरूको व्यवहार देखेर उनलाई सो भव्य ठाउँलाई ध्वस्त पार्न सजिलो नहुने महसुस भएको थियो ।  

टावर लबीमा ‘फ्रान्जीपानी’को मादक गन्ध र सी लाउन्जको झ्यालबाट देखिने गेटवे अफ इन्डियाको दृश्यले उनमा झण्डै होटेलमाथि आक्रमणको सोच धरमराएको थियो ।  मुम्बईको पहिलो भ्रमणका क्रममा हेडलीसँग ताजमा बस्न पैसा थिएन । त्यसैले उनी ताजबाट साढे चार किलोमिटर टाढा भुलाभाई रोडमा बस्न थाले । तर हेडली लगभग हरेक दिन ताज होटल जाने गर्दथे । 

त्यहाँका वेटर, प्रबन्धक र पाहुनाले अक्सर उनलाई हार्बर बारमा फ्रेन्च शैम्पेनको गिलास हातमा लिएर बसेका देख्थे । एड्रियन लेवी र क्याथी स्कट क्लार्कले मुम्बई हमलामाथि लेखेको आफ्नो पुस्तक ‘द सिज, द अट्याक अन द ताज’मा लेख्छन् ,‘ हेडली ६ फिट २ इन्च अग्ला थिए । उनी प्रायः ट्विस्ट अरमानी जिन्स र टीसर्टमा देखिन्थे र छालाको ज्याकेट प्राय उनको काँधमा झुन्डिएको हुन्थ्यो ।’

पुस्तकमा अगाडि लेखिएको छ ,‘ उनको नाडीमा करिब नौ लाख भारुको रोलेक्स घडी बाँधिएको हुन्थ्यो । उनी मुम्बईमा डेभिड भनेर चिनिन्थे तर उनकी बहिनी शेरी, सौतेनी भाइ हमजा र दानियाल, पत्नी पोर्सिया, शाजिया र फैजा र सबैभन्दा मिल्ने साथी तहव्वुर रानाका लागि पाकिस्तानी मूलका अमेरिकी थिए, जसको वास्तविक नाम दाउद सलीम जिलानी थियो । ’

पाकिस्तानी पिता र अमेरिकी आमाको छोरा

दाउद वा डेभिडका पिता सैयद सलीम जिलानी पाकिस्तानका प्रसिद्ध सञ्चारकर्मी थिए । केही वर्ष ‘भ्वाइस अफ अमेरिका’का लागि काम गर्न वासिङ्टन जाँदा पिता जिलानीको मेरिल्याण्ड विश्वविद्यालयमा स्नातक अध्ययन गरिरहेकी १९ वर्षीया सेरिलसँग भेट भयो । दुवैले विवाह गर्ने निर्णय गरे र विवाह गरेर पाकिस्तान फर्किए ।

तर यो विवाह लामो समय टिक्न सकेन । सन् १९६६ मा सेरिल र जिलानीको सम्बन्धविच्छेद भयो । सेरिल अमेरिका फर्किईज् । दाउद आफ्ना पिता र सौतेनी आमासँग लाहोरमै बसे । तर१६ वर्ष पुगेपछि दाउद आफ्नी आमासँग बस्न अमेरिका गए ।

सन् १९८४ मा पुनः डेभिडको पाकिस्तान आउने–जाने क्रम सुरु भयो । यसबीच उनी लागुऔषध तस्करको सम्पर्कमा आएर हेरोइन तस्करीमा संलग्न भए । चार वर्षपछि भन्सार अधिकारीले उनलाई फ्रायाङ्कफर्ट विमानस्थलमा दुई किलो हेरोइनसहित समाते । 

जर्मन अधिकारीहरूले उनलाई अमेरिकाको जिम्मा लगाए । त्यहाँ उनले अमेरिकीसँग एक सम्झौता गरे । सम्झौतामा उनले एक गुप्तचरको रूपमा पाकिस्तान–अमेरिकी हेरोइन सञ्जालमा घुसपैठ गर्ने र उनीहरूको गोप्य जानकारी ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेशन(डीईए)लाई दिने कुरा भएको थियो ।

अल कायदा र लश्करप्रति सहानुभूति

अगस्ट १९९९ मा दाउद पाकिस्तान फर्किए । अमेरिकी सरकारले नै उनको लागि यस यात्राको हवाई टिकट किनिदिएिको थियो । एड्रियन लेवी र क्याथी क्लार्कले तिनको पुस्तकमा लेखेका छन् ,‘ पाकिस्तानमा आएर उनले एक परम्परागत पाकिस्तानी महिला शाजिया अहमदसँग विवाह गरे । रेडियो पाकिस्तानको महानिर्देशक बनिसकेका आफ्ना पिताको सहयोगमा लाहोर नजिकै एउटा घर किने ।’

सन् २००० को अन्तमा, जब अल–कायदाले यमनमा यूएसएस कोलमा आक्रमण गर्‍यो, डेभिडले लस्कर जिहाद कोषमा ५० हजार भारु दान दिएका थिए । साथै उनी जमात–उद–दावा प्रमुख हाफिज सइदको भाषण सुन्न जान थाले । लश्करका कार्यकर्ताले गोरो छाला भएकाले डेभिडलाई शङ्काको नजरले हेर्थे ।’

त्यसपछिको साढे दुई वर्षसम्म दाउद कहिले पाकिस्तान र कहिले अमेरिकामा बस्न थाले । यी दुवै ठाउँमा उनी फरक–फरक जीवन बिताइरहेका थिए ।

यसबीच उनी लश्करको पूर्ण सम्पर्कमा आएका थिए र लाहोरबाट १५ किलोमिटर टाढा रहेको मुरिदकेमा रहेको लश्करको शिविरमा तालिम लिइरहेका थिए ।

यसबीच उनले रक्सी, टिभी र मोबाइल प्रयोग बन्द गरेर सलवार कमिज लगाउन थालेका थिए । डेनमार्कका प्रसिद्ध पत्रकार करे सोरेनसेन आफ्नो पुस्तक ‘द माइन्ड अफ ए टेररिस्ट द स्ट्रेन्ज केस अफ डेभिड हेडली’ मा लेख्छन् ,‘ डेभिड अर्थात दाउदको सपना कश्मीरमा लड्न जाने थियो । तर लश्कर नेता जाकी–उर रहमान लख्वीको नजरमा, दाउद यो मिसनमा जानको लागि उनी बुढा भइसकेका थिए । उनले लश्कर कमाण्डर साजिद मीरलाई भने भारतमा गरिने वृहद आक्रमणको योजनामा डेभिडलाई पनि सामेल गराउन भने । लश्करलाई क्यामेरा र नोटबुक लिएर लामो समयसम्म मुम्बई आउन जान सक्ने र मानिससँग घुलमिल हुने मानिसको आवश्यकता थियो । ’

डेभिड कोलम्यान हेडलीको नाममा नयाँ राहदानी

सन् २००६ जुनमा दाउदलाई आधिकारिक रूपमा यो अभियानमा समावेश गराइयो । उनलाई अमेरिकी पर्यटकको भेषमा मुम्बई घुम्न जाने र त्यहाँका जानकारी सङ्कलन गर्ने जिम्मेवार दिइयो । 

यसका लागि दाउद पहिले अमेरिका गए, जहाँ उनले दाउद नाम छोडेर नयाँ नाम डेभिड कोलम्यान हेडली धारण गरे । उनले नयाँ नामको  राहदानी बनाए ।

हेडलीले पहिलो पटक सेप्टेम्बर २००६ मा मुम्बईमा पाइला राखे र एसी मार्केटमा आफ्नो कार्यालय स्थापना गरे । हेडलीले आफ्नो कम्पनीको नाम ‘फर्स्ट वर्ल्ड’ राखेका थिए, जसको काम अमेरिकामा काम गर्ने मानिसलाई भिसा पाउन मद्दत गर्नु थियो भनिएको थियो । उनले भारतीय सेक्रेटरीलाई काममा राखेका थिए र पत्रिकामा आफ्नो कम्पनीको विज्ञापन दिए ।

हेडली ‘फाइभ फिटनेस हेल्थ क्लब’मा जान थाले जहाँ उनले शिवसेना सदस्य विलास वरकलाई भेटे । विलासको माध्यमबाट उनले प्रसिद्ध निर्माता महेश भट्टका छोरा राहुल भट्टलाई भेटे ।

५० घण्टाको भिडियो खिचियो

पर्यटनको बहानामा हेड्ली भारतको राजधानी नयाँ दिल्ली पनि गएका थिए । उनी विशेष रूपमा नेसनल डिफेन्स कलेज गए र आफ्नो पहेँलो रङको ‘गार्मिन’ गडीमा जीपीएस जोडे ।

पछि उनी मुम्बईको वर्ल्ड ट्रेड सेन्टरमा फेसन शो हेर्न पनि गएका थिए । सोरेनसेन लेख्छन् ,‘ उनले वर्ल्ड ट्रेड सेन्टरलाई पनि आफ्नो लक्ष्यको सूचीमा समावेश गरेका थिए । उनले गेटवे अफ इन्डिया र प्रहरी मुख्यालयको फोटो पनि खिचेका थिए । उनले भारतमा आक्रमण गर्न २० भन्दा बढी ठाउँको विश्लेषण गरेका थिए । उनले मुम्बईको मात्रै ५० घण्टा भिडियो सुट गरेका थिए ।’

हेडलीले खिचेका तस्बिर र भिडियोहरू उनका ह्यान्डलरहरूले मिहिन रुपमा अध्ययन गरे । तिनले आक्रमणको लागि ताज होटल चयन गरे र त्यसको नमुनासमेत तयार पारे, जहाँ प्रवेश गर्ने र बाहिर निस्कने प्रत्येक बाटोको विस्तृत उल्लेख थियो ।

मुम्बईमा आक्रमणकारी अवतरण गर्ने ठाउँ चयन

यस हमलामा हेडली आफैले आक्रमणका लागि आउने आक्रमणकारी अवतरण गर्ने ठाउँ रोजेका थिए । सही ठाउँ चयनको लागि उनले पहिले ताज होटल वरपरको ठाउँमा पर्यटक चढ्ने फेरीमा चक्कर लगाएका थिए ।

पछि उनले समुद्रको किनारमा रहेको सानो माछा मार्ने गाउँ अवतरणको लागि उपयुक्त ठाने । त्यहाँ वरपर केही मानिस बस्ने गरे पनि तिनीहरू कुनै अनौठो कुरा देख्दा प्रश्न सोध्ने वा पुलिसलाई बोलाउने प्रकार थिएनन् । मुख्य सहरबाट नजिकै रहेकाले पनि उनले सो ठाँउ रोजेका थिए । 

यही ठाउँमा १० आक्रमणकारीले अवतरण गरेका थिए । सुरुमा आक्रमणको योजना बनाउँदै गर्दा आक्रमणपछि हमलावरलाई भारतबाट बाहिर लैजानुपर्छ भन्ने विषयमा वहस गरिएको थियो ।

आक्रमणपछि बस अपहरण गरी भारतको उत्तरी सिमा वा कश्मीरतर्फ जाने वा अँध्यारोको फाइदा उठाएर डुङ्गा मै चढेर समुन्द्र हुँदै भारतीय सीमाबाहिर जाने तयारीमा थिए । डेभिड आफै भने मुम्बईको फ्ल्याटमा केही साता लुकेर बस्ने र पछि बाहिरिने तयारी थियो । 

सोरेनसेन लेख्छन् ,‘ पछि भेटिएको प्रमाणले आक्रमणकारीहरू पाकिस्तान फर्किने सोचमा रहेको देखाएको छ । यही कारणले गर्दा उनीहरूले मुम्बई गएको डुङ्गालाई आदेशको बाबजुद पनि डुबाएनन् ।’ तर ह्यान्डलरलाई भने कोही पनि आक्रमणकारी बाँच्ने छैनन् भन्ने थाहा थियो । 

दुई पटक आक्रमणको मिति सर्‍यो 

सन् २००८ सेप्टेम्बरमा, हेडलीले साजिद मिरबाट २९ सेप्टेम्बरमा हमला गर्ने सन्देश प्राप्त गरे । तर १० आक्रमणकारी मुम्बईको लागि हिँडेको डुङ्गा समुद्रको बीचमा डुब्यो । लाइफ ज्याकेट लगाएका कारण सबै बाँच्न सफल भएका थिए । 

केही दिनपछि नयाँ डुङ्गा र नयाँ हतियार लिएर फेरि यात्रा सुरु गरिएको थियो । साजिद मीरले आक्रमणका लागि भईरहेको प्रगतिबारे हेडलीलाई जानकारी दिईरहेका थिए । तर हेडलीले साजिदबाट नयाँ सन्देश प्राप्त गरे जसमा छिट्टै तेस्रो आक्रमणको प्रयास हुन भनिएको थियो ।

२६ नोभेम्बरको साँझ, उनले अर्को सन्देश प्राप्त गरे जसमा आक्रमण सुरु भईसकेको उल्लेख थियो । हेडलीले त्यसपछिका तीन दिन टिभी अगाडि बसेर आक्रमणको अपडेट हेरेका थिए । 

पछि उनले अमेरिकी जेलमा भारतीय अनुसन्धान एजेन्सीका अधिकारी लोकनाथ बेहरा, साजिद सापु र स्वयम् प्रकाश पानीसँगको बयानमा भनेका थिए ,‘ २६ नोभेम्बरमा म टिभी अगाडि बसिरहेको बेला अचानक खबर आयो कि मुम्बईमा १० जनाले आक्रमण गरेका छन् । ती मानिसले यस कारणले आक्रमण गर्न सकेका थिए की मैले त्यहाँको एक एक विवरण दिएको थिएँ । तर मैले ती दस जनालाई कहिल्यै भेटेको थिइनँ ।’

अमेरिकामा पक्राउ परे हेडली

सन् २००९ मार्चमा, आक्रमणको चार महिनापछि, हेडली फेरि मुम्बई गए । यस पटक उनी चर्चगेटको होटेल आउटरेममा बसे, जहाँ उनी यसअघि पनि बसेका थिए ।

२००९ अक्टोबर ३ मा, हेडली शिकागोबाट पाकिस्तान जान विमान चढ्दै गर्दा फिलाडेल्फिया विमानस्थलमा पक्राउ परेका थिए । पछि भारतका पूर्व गृह सचिव जीके पिल्लईले हेडली ‘डबल एजेन्ट’ हुनसक्ने सम्भावना अमेरिकी अधिकारीलाई सम्प्रेसित गरे ।

केही दिन हेडलीका साथी रहेका राहुल भट्टले लेखेका छन् ,‘ हेडली आफ्नो नाम मात्र परिवर्तन गर्न सफल भएका थिएनन्, त्यही नाममा नयाँ राहदानी निकाल्न पनि सफल भएका थिए । पूर्व गृह सचिव जीके पिल्लईले हेडलीको राहदानीमा उनका बुबा सलीम गिलानीको नाम नरहेको पाएका थिए ।’

भारत र अमेरिकाबीच भएको सुपुर्दगी सन्धिमा कुनै व्यक्तिले भारतमा अपराध गरेको भए र अमेरिकी भूमिमा पक्राउ परेमा भारतले उसको सुपुर्दगीको माग गर्न सक्ने व्यवस्था छ । तर हेडलीलाई भारत सुपुर्दगी गरिएन । सायद हेडलीले अमेरिकासँग भारत वा पाकिस्तान नपठाउन कुनै सम्झौता गरेको हुनुपर्छ । 

पूर्व गृह सचिव जीके पिल्लईले यसबारे भनेका छन् ,‘ हेडलीको गिरफ्तारीपछि भारतीय अधिकारीले हेडलीलाई सोधपुछको अनुमति पाउन लामो समय कुर्नु पर्‍यो । पछि पनि उनलाई सीमित प्रश्नहरू मात्रै सोध्न अनुमति दिइयो । अमेरिकीहरूलाई शायद डर थियो की हेडलीलाई थप प्रश्न सोधियो भने, अमेरिकाको भूमिका लुकाउन गाह्रो हुनेछ ।’

डेभिड कोलम्यान हेडली हाल ३५ वर्ष लामो जेल सजाय भोगिरहेका छन् ।

बीबीसी हिन्दीबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

एजेन्सी
एजेन्सी
लेखकबाट थप