शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रत्यक्षतर्फ १५४ सिटको टुङ्गो लाग्दा कुन दलले कति सिट जिते ?

अन्तिम परिणाम आउन बाँकी ११ स्थानमा कुन उम्मेदवारको अवस्था कस्तो ?
आइतबार, ११ मङ्सिर २०७९, ०६ : १३
आइतबार, ११ मङ्सिर २०७९

आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार कुल १६५ निर्वाचन क्षेत्रमध्ये आइतबार बिहानसम्म १५४ वटा सिटको टुङ्गो लागेको छ भने अझै ११ वटा क्षेत्रको परिणाम आउन बाँकी छ ।  

हालसम्म सबैभन्दा धेरै नेपाली कांग्रेसले ५२ वटा सिटमा जीत हासिल गरेको छ भने नेकपा एमालेले ४० वटा क्षेत्रमा जीत हासिल गरेको छ । त्यसैगरी नेकपा (माओवादी केन्द्र)ले १७, नेकपा (एकीकृत समाजवादी)ले १० र राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सात-सात क्षेत्रमा विजयी भएका छन् । साथै, जनता समाजवादी पार्टीले छ, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले ४, नागरिक उन्मुक्ति पार्टीले ३ क्षेत्र तथा पाँच जना स्वतन्त्र उम्मेदवारहरूले जीत हासिल गरेका छन् ।

निर्वाचन आयोगका अनुसार अझैसम्म पनि ११ स्थानको नतिजा आइसकेको छैन । केही स्थानमा मतगणनामा ढिलाइ हुँदा नतिजा आएको छैन भने केही स्थानमा मतगणना सुरु हुन सकेको छैन । साथै, बाजुरामा शनिबार पुनः मतदान भएकाले मतगणनामा ढिलाइ भएको हो ।

हालसम्म दोलखा-१, स्याङ्जा-२, सुनसरी-१, ३ र ४, बाजुरा, इलाम-१, उदयपुर-१, महोत्तरी-१  र रामेछापको नतिजा आउन सकेको छैन ।

दोलखा-१ मा निर्वाचन सम्पन्न भए पनि मतगणना सुरु हुन सकेको छैन । राजनीतिक दलहरुबीच सहमति नजुट्दा मतगणना सुरु हुन नसकेको हो । त्यसैगरी स्याङ्जा–२ मा दलहरुबीच मतगणनाका लागि सहमति जुटेको छैन । 

सुनसरी-१ मा भने मतगणना जारी छ । उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङ १२ हजार ९९ मतका साथ अग्रता लिएकी छिन् भने भने उनलाई जनता समाजवादी पार्टीका अशोक कुमार राईले ११ हजार ९८२ मतसहित पछ्याइरहेका छन् । 

सुनसरी-३ मा एमालेकी भगवती चौधरी १८ हजार ४५६ मतका साथ अग्रस्थानमा छिन् भने नेपाली कांग्रेसका विजयकुमार गच्छदार १३ हजार ९३७ मतका साथ पछ्याइरहेका छन् । 

सुनसरी-४ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की २१ हजार ४४५ मतसहित अग्रस्थानमा छन् भने एमालेका जगदिशप्रसाद कुसियैत २१ हजार ४३३ मतका साथ दोस्रो स्थानमा छन्।

बाजुराको बूढीनन्दा नगरपालिका(५ मा शनिबार पुनः मतदान भएकाले मतगणनाको काम सुरु हुन सकेको छैन । इलाम-१ मा एमालेका महेश बस्नेत १८ हजार ५४२ मतका साथ अग्रस्थानमा छन् भने नेकपा (एकीकृत समाजवादी)का झलनाथ खनाल १६ हजार ८७ मतका साथ दोस्रो स्थानमा छन् ।

उदयपुर-१ मा कांग्रेसका नारायण खड्का २५ हजार ९१७ मतका साथ पहिलो स्थानमा छन् भने एमालेकी मञ्जुकुमारी चौधरी २४ हजार १०९ मतका साथ दोस्रो स्थानमा छिन्। 

महोत्तरी-१ मा एमालेकी लक्ष्मी महतो कोइरी २३ हजार ४२० मतका साथ पहिलो स्थानमा छन् भने माओवादी केन्द्रका गिरिराजमणि पोखरेल २२ हजार ९५८ मतका साथ उनलाई पछ्याइरहेका छन् । 

रामेछापमा कांग्रेसका पूर्णबहादुर तामाङ ४२ हजार ६६२ मतका साथ अग्रता कायम राखेका छन् भने उनलाई एमालेका कैलाशप्रसाद ढुङ्गेलले २९ हजार ६४९ मतका साथ पछ्याइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप