शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कतारमा महिलाको अवस्था कस्तो छ ?

आइतबार, ११ मङ्सिर २०७९, ११ : २८
आइतबार, ११ मङ्सिर २०७९

कतारमा विश्वकप फुटबल चलिरहेको छ । साँझ दोहाको समुद्र तटमा संस्कृतिको मिलन देख्न सकिन्छ ।

कतारको ‘जाडो’ मा जब तापक्रम ३० डिग्री सेल्सियससको आसपास रहन्छ तब आरामदायी समय बिताउनका लागि परिवार, साथीभाइ र फुटबल प्रशंसक राजधानीको सात किलोमिटर लामो अल कोर्निचे एभेन्यूमा जुट्छन् ।

यहाँ पश्चिमी पर्यटक र स्थानीय कतार परिवारबीचको भिन्नता स्पष्ट देखिन्छ । 

कतारमा करिब ३० लाख मानिस बसोबास गर्छन् तर स्थानीय जनसङ्ख्या साढे तीन लाखभन्दा बढी छैन ।

कतार इस्लामिक राष्ट्र हो र यहाँ इस्लामका सिद्धान्तहरूको व्याख्या पनि आफ्नै तरिकाले हुन्छ ।

एकातिर रूढिवादी र परम्परागत परिवारहरू छन्, अर्कोतिर प्रगतिशील र बढी उदारवादीहरू पनि छन् ।

कतारमा महिलाको भूमिका यसको केन्द्रमा छ र यसबारे पनि धेरैकुरा स्पष्ट छैन ।

अल कोर्निचे समुद्र तटमा केही महिला तलदेखि माथिसम्म कालो बुर्कामा ढाकिएका हुन्छन् त केहीले रङ्गीबिरङ्गी हिजाब लगाएका छन् ।

तर कतारी महिलाहरूको लागि वास्तविक मुद्दा पोशाक होइन ।

कतारमा महिलाहरूका लागि एउटा व्यवस्था छ, जसअन्तर्गत महिलाहरू पुरुषको अभिभावकत्व (हेरचाह) मा बस्छन् ।

यो व्यवस्थाको विरोध गर्नेहरू भन्छन् कि यसको अर्थ महिलाहरू जीवनभर नाबालिग रहन्छन् ।

आफूलाई जैनाब (वास्तविक नाम होइन) भनेर चिनाउने र कतारबाहिर बस्दै आएकी कतारी मूलकी एक महिला भन्छिन्, ‘कतारको कानुन अन्तर्गत धेरै धार्मिक तत्वहरूले मलाई मानसिक रूपमा यस हदसम्म उत्पीडित गर्यो कि मैले आत्महत्या गर्ने प्रयास पनि गरेँ ।’

उनी भन्छिन्, ‘आफ्नो जीवनको हरेक आवश्यक र महत्वपूर्ण निर्णयका लागि पुरुष अभिभावकको लिखित अनुमति लिनुपर्छ । यदि तपाईंसँग यो अनुमति छैन भने तपाईंले महत्वपूर्ण निर्णय लिन सक्नुहुन्नँ, चाहे त्यो कलेजमा भर्ना हुनु होस्, विदेशमा पढ्नु होस्, विवाह गर्नुहोस् वा सम्बन्धविच्छेद गर्नु होस् ।’

यद्यपि, कतारका सबै परिवारहरूले यस जटिल प्रणालीलाई कडाइका साथ पालना गर्दैनन् ।

शाइमा शरीफ सांस्कृतिक संस्था एम्ब्रेस दोहाकी सह(संस्थापक हुन् । यस संस्थाले कतारमा बसोबास गर्ने आप्रवासी र बाहिरबाट आएका मानिसमा कतार बारे सचेतना फैलाउने काम गर्छ ।

शाइमा भन्छिन्, ‘पुरुष अभिभावकको सिद्धान्त कानुनमा नभई पारिवारिक व्यवस्थामा चल्छ र यो परिवार कति रूढीवादी छ भन्ने कुरामा भर पर्छ ।’

शाइमाका अनुसार कतारमा पनि उदार वातावरण छ जहाँ महिलाहरू सशक्त महसुस गर्छन् ।

के हो यो व्यवस्था ?

दोहाको बिन खलिफा विश्वविद्यालयका कानुन र मानव अधिकारका प्राध्यापक इलेनी पोलिमेनोपौलोले कतार इस्लामिक राष्ट्र भएको र शरिया यहाँको कानुनको आधारभूत स्रोत भएको बताउँछन् ।

उनी भन्छन्, ‘तर शरियाका नियमहरू असाध्यै विविध छन्, यसमा धेरै विचारधारा पनि छन्, कोही धेरै कडा छन्, कोही उदारवादी छन्, कोही आधुनिक र सुधारवादी पनि छन् ।’

कतारको संविधानको धारा ३५ अन्तर्गत कानुनको अगाडि सबै समान छन् र लिंग, जाति, भाषा वा धर्मको आधारमा भेदभाव गर्न सकिँदैन ।

सन् २०१९ मा, मानव अधिकार संगठन ह्युमन राइट्स वाचले जैनब जस्ता धेरै केटीहरूको अनुभव बारे विस्तृत रिपोर्ट प्रकाशित गरेको थियो ।

यस रिपोर्टमा एचआरडब्ल्यूले पुरुष अभिभावकको व्यवस्था कानुनी रूपमा स्पष्ट नभएको बताएको थियो ।

प्रतिवेदनमा भनिएको छ, ‘यो धेरै कानुन, नीति र प्रथाको संयोजन हो, जस अन्तर्गत वयस्क महिलाहरूले निश्चित गतिविधिहरूको लागि पुरुष अभिभावकको अनुमति लिनु अनिवार्य छ ।’

बुबा, भाइ, गडफादर वा पति महिलाको पुरुष संरक्षक हुन सक्छन् ।

तर, कतार सरकारले एचआरडब्लुको प्रतिवेदनलाई त्रुटिपूर्ण भन्दै महिलाको भनाइ कानुनको अधीनमा नरहेको बताएको छ । यद्यपि सरकारले यी आरोपहरूको छानबिन गर्ने र दोषी पाइएमा कानुन उल्लंघन गर्नेलाई कारबाही गर्ने बताएको थियो ।

प्रोफेसर एलेनी पोलिमेनोपौलो भन्छिन्, ‘उदारवादी परिवारका महिलालाई धेरै स्वतन्त्रता छ, तर त्यहाँ धेरै महिलाहरू पनि छन् जसलाई घर छोड्न पनि पुरुष अभिभावकको अनुमति चाहिन्छ । उदाहरणका लागि, यही सबैभन्दा ठूलो समस्या हो ।’

उनी भन्छन्, ‘मेरा विद्यार्थीहरूले प्रायः यो कानून कसरी परिवर्तन गर्ने, किन यसले काम गर्छ र किन अनुगमन गरिँदैछ भनेर छलफल गर्छन् । यद्यपि, धेरै विद्यार्थीहरू पनि अत्यधिक रूढीवादी छन् ।’

बीबीसीले प्रोफेसर एलेनी पोलिमेनोपौलोका धेरै महिला विद्यार्थीहरूको अन्तर्वार्ता लिने प्रयास गर्यो तर कसैले बोल्न नमानेको बताएको छ । विश्वकप कभर गर्न आउने अन्तर्राष्ट्रिय मिडियाका लागि कतारका स्थानीय बासिन्दासँग कुरा गर्न चुनौतीपूर्ण बनेको छ ।

‘पश्चिमी विचार’

जैनबका बुबा रुढीवादी हुन् र यसै कारणले उनले आफ्नो मर्जीले जीवन बाँच्न सकिनन् ।

उनी भन्छिन्, ‘कतारका उदार परिवारका महिलालाई धेरै प्रतिबन्धहरू छैनन्, उनीहरूले पुरुष अभिभावकको व्यवस्था महिलाका लागि कति हानिकारक छ भनेर महसुस नै गर्न पाएनन् । ’

यो व्यवस्थाका कारण कतारमा महिलाले शोषणको सामना गर्नुपरेको जैनब बताउँछिन् ।

उनी भन्छिन्, ‘कतारको कानुन पनि रूढीवादी परिवारको हितमा नै काम गर्छ ताकि उनीहरुलाई सन्तुष्ट राख्न सकियोस् ।’

उनी भन्छिन्, ‘कन्जरभेटिभहरू विश्वास गर्छन् कि महिला अधिकार पश्चिमी विचार हो र यो इस्लामको मूल्यमान्यता, परम्परा र संस्कृतिको विरुद्ध हो ।’

जैनाबले बीबीसीलाई आफ्ना अनुभवहरू विस्तृत रूपमा नलेख्न भनिन् । उनलाई आफ्नो पहिचानको चिन्ता थियो ।

उनको पहिचान उजागर भए उनको परिवारलाई समेत समस्या हुनसक्ने जैनबलाई डर छ ।

अर्कोतर्फ विश्वकपसँग सम्बद्ध अधिकारीहरु यस व्यवस्था र अन्य कारणले कतार जुन आलोचना भइरहेको छ, त्यसको कुनै आधार नभएको बताउँछन् ।

दोहाको एजुकेशन सिटीमा बस्ने विद्यार्थी मोसेले भन्छन्, ‘पश्चिमी संस्थाहरूले यहाँ आएर हामीले के गर्नुपर्छ र के गर्नु हुँदैन भनेर बताउनु पर्दैन ।’

उनी भन्छन्, ‘यो हाम्रो देश हो र हामीसँग यसलाई त्यो दिशामा अघि बढाउने अवसर छ जसमाथि हामी विश्वास गर्छौँ । हामीमाथि जसरी दबाब दिइएको छ, त्यो तरिकाले हामी अघि बढ्दैनौँ ।’

कतारको यो एउटा वास्तविकता यो पनि हो कि यहाँ यस्ता रूढीवादी महिलाहरू छन् जसले यो व्यवस्थामा विश्वास गर्छन् र यसलाई पालन गर्छन् ।

कतारमा एक दशकभन्दा बढी समयदेखि काम गरिरहेकी एक कोलम्बियाली महिलाले आफूलाई कतारका रूढीवादी महिलाहरूले धेरै पटक उनको पहिरनका लागि उनलाई अनावश्यक गाली गरेको र कपडा अनुकूल नभएको भन्दै थुप्रै स्थानमा जानसमेत रोकेको बताइन् ।

उनी भन्छिन्, ‘अधिकारी सामान्यता उनीहरुकै पक्ष लिन्छन् । रुढिवादी यसलाई आफ्नो मूल्यविरुद्ध अपराध मान्छन् ।’

उनी भन्छिन्, ‘म कतारमा बस्छु र मैले सबारे धेरै कुरा बोल्नु हुँदैन ।’

सशक्त पुस्ता

एचआरडब्ल्यूको प्रतिवेदनमा प्रतिक्रिया दिँदै, कतार सरकारले महिला सशक्तिकरण कतारको सफलता र भिजनको केन्द्रबिन्दु रहेको बताएको छ ।

‘कतारमा, महिलाहरू राजनीतिक, आर्थिक र निर्णय लिने भूमिकाहरू सहित जीवनका हरेक पक्षहरूमा अग्रणी भूमिकामा छन् । लैङ्गिक समानताका सबै सूचकहरूमा कतार पहिलो स्थानमा छ । कतारमा रोजगारीमा महिलाको हिस्सा यस क्षेत्रमा सबैभन्दा बढी छ । महिलाहरू तलब बराबरी र सरकारी जागिरमा पनि अगाडि छन् । यसका साथै कतारमा विश्वविद्यालयमा भर्ना हुने महिलाको सबैभन्दा बढी प्रतिशत छ ।’

शाइमा शरीफ कतारकी एक बलियो महिला हुन् र उनी यस्तै उपलब्धिहरूमा ध्यान केन्द्रित गरिरहन चाहन्छिन् ।

शरीफ भन्छिन्, ‘मलाई लाग्छ धेरै मानिसहरूमा गलत धारणा छन्, तर जब उनीहरु यहाँ आउँछन् तब पछि हट्छन् । महिलासँग सम्बन्धित आँकडा आफैँमा पर्याप्त छ । कतारमा मास्टर डिग्री र पिएचडी भएका महिलाको संख्या इवी लिग युनिभर्सिटीभन्दा पनि बढी छ ।’

उनी भन्छिन्, ‘कतारका महिलाहरू धेरै स्मार्ट छन् र विगत पाँच वर्षमा यहाँ धेरै परिवर्तन भएका छन् । कतारमा लैङ्गिक असमानता कम गर्न धेरै काम भइरहेको छ । कतारमा आमा बन्ने महिलालाई धेरै समर्थन गरिन्छन्, विश्वका धेरै पश्चिमी देशमा पनि यस्तो व्यवस्था छैन ।’

शरीफ एक उद्यमी हुन् र पुरातत्वमा स्नातक डिग्री लिएकी छिन् । पश्चिमा मिडियाले महिला अधिकारको कुरा गर्दा कतारको यो पक्ष पनि देखाउनुपर्ने उनको भनाइ छ ।

उनी भन्छिन्, ‘पक्कै पनि, यहाँ सबै कुरा सही छैन र हामीले पनि सुधार गर्नुपर्छ । तर हामीसँग धेरै सशक्त महिलाहरू छन् जो नेतृत्वको हिस्सा हुन् र जसले यस्ता खालका मुद्दालाई किनारा लगाइरहेका छन् ।’

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप