शनिबार, १४ माघ २०७९
ताजा लोकप्रिय

‘अक्षरको परकम्पन’ मा देशप्रेम

आइतबार, ११ मंसिर २०७९, ११ : ३६
आइतबार, ११ मंसिर २०७९

ताप्लेजुङको हाङ्देवा जन्मिएर बेलायतलाई कर्मथलो बनाएकी कवि हुन् दुर्गा ढकाल । ‘अक्षरको परकम्पन’ उनको पहिलो कविता कृति भए पनि यसमा कविताको स्तर पुगेका कविताहरू सङ्कलित छन् ।

घरमा आमाले महाभारत, रामायण, गुणरत्न माला र अन्य पौराणिक श्लोक सुनाउँदा कवि ढकालको कविताप्रति झुकाव बढेको देखिन्छ । त्यहीँबाट प्रभावित बनेर उनी कविताको रसास्वादनतर्फ लागेको बताउँछिन् उनी । यसपछि भानुभक्त, लेखनाथ, लक्ष्मीप्रसाद देवकोताका कविताको पठनबाट लेखनप्रति आकर्षित भएकी हुन् । 

‘अक्षरङ्ग’ साहित्यिक पत्रिकामा पहिलो पटक कविता छापिएपछि उनको लेखनको हुटहुटी अझ बढेर गयो । कोरोना महामारी २०१९ पछि देखिएको मानवीय सङ्कटले उनको लेखनलाई अझ तिखार्न पुग्यो । यस्ता सङ्कटहरूप्रति उनी कवितात्मक रूपमा सामाजिक सञ्जालमा प्रकट गर्न थालिन् । यसपछि उनका मनमा आएका भावनात्मक छालहरू निरन्तर अक्षरमा प्रकट गर्न थालिन् ।

उनका ती भावनाहरू सामाजिक सञ्जालहरूमा छरिँदै विश्वमा छरिएर रहेका कविमनहरूले आश्वादन गर्ने मौका पाए । उनीहरूले पनि कवि ढकाललाई विभिन्न सञ्चारमाध्यमबाट हौसला दिने काम गरे । यसरी एक एक गर्दै थपिँदै गएका कविताहरूबाट प्रस्तुत  अक्षरको परकम्पन कविता सङ्ग्रह तयार भएको देखिन्छ । यसमा विविध विषहरू समेटिएका ४० वटा कविता सङ्कलित छन् । 

आमाको सम्झना, स्वर्ग बनोस् मेरो देश, गाउँघरका घरहरूको व्यथा, मन, जन्मस्थल हाङ्देवा, भगवान् श्रीरामको महिमा, सूर्य प्रकाशको महिमा, मान्छेको जीवन, नारी र महिनावारी, बुद्ध पूर्णिमाको कामना, तिमी उठ, स्वाभिमानको भोक, रिस–राग त्यागौँ, परिकल्पना, विश्व रूपान्तरणको कामना, हिजोका सबै हराएछन्, दसैँ सम्झनामा, सामाजिक बेथिति, लगायत कविता यस कृतिमा सङ्कलित छन् । 

डा. शैलेन्दु प्रकाश नेपालले भनेझैँ यस कृतिमा राष्ट्रप्रेम, अध्यात्मप्रेम र नारी जातिको अस्तित्वबोधका भावनालाई मार्मिक ढङ्गले कवि दुर्गा ढकालले प्रस्तुत गरेकी छन् । यसमा हाम्रा परम्परागत मूल्य मान्यता, प्रचलन आदिका वर्तमान समयमा लोप हुँदै गएको कुरा पनि यस कविता सङ्ग्रहमा जोडतोडका साथ ढकालले उठएकी छन् ।  

विशेषगरी उनले यस कविता सङ्ग्रहमा महिलाहरूले वर्तमान समयमा समाजमा भोगेका पीडा, व्यथालाई बढी अभिव्यक्त गरेकी छन् । यति मात्र होइन कतिपय कविता धार्मिक आस्था र विश्वासमाथि केन्द्रित छन् भने कतिपय कुरीतिविरुद्ध उनका कलमले आगो ओकलेका छन् । 

नारी जीवनका प्राकृतिक घटनाहरूलाई समाजको पुरातनवादी सोचले अझै दुःख दिइरहेको र त्यस्तो खालको सोच परिवर्तन गर्न कवितामार्फत आह्वान गरेकी छन् । महिलाहरूमा हुने महिनावारी प्राकृतिक नियम हो, यो कुनै अछूत हुनुपर्ने हैन भन्ने सन्देश उनका कविताले दिएका छन् । यस्तो सोचले धेरै नारीहरू हिंसामा परेको कुरालाई ‘नारी र महिनावारी’ कवितामा यसरी गरेकी छन् । 

त्यस्ता नारीलाई गरिन्छ हेला महिनावारी हुँदा
भनिन्छ पाप लाग्छ रजस्वला भएर कहीँ छुँदा
बस्नु हुन्न उनले घरभित्र सबैसँग छेउमा
महिनावारीभरि सधैँ सुत्नुपर्ने चिसो गोठमा ।

पापी दुष्ट सधैँ ढुकिरहन्छन् मौकाकै खाजी गरी
बलात्कार, हिसको चपेटामा पर्छिन् ती कठैबरी
बाघ, चितुवा आउँछन् देखेर हाय अबला र अकेला 
अहो ! हिंस्रक बनी गर्दछन् उनैमाथि हमला । 

यस कवितामा हिंस्रक चितुवा भनेर आधुनिक समाजमा मानवता हराएका दुष्टहरूलाई चित्रित गरेकी छन् । 

नेपालका नारीहरू रोजीरोटीका लागि कुवेत, अरब पुगेका र त्यहाँ बिचल्लीमा परेको तर त्यहाँ नेपाली दूतावास लगायत कसैले सहयोग नगरेको कुरा कवि ढकालले जोडदारका साथ उठाएकी छन् । खासगरी कोरोनाले विश्व आक्रान्त पारेको समयमा विपत्तिमा परेका चेलीहरूको पीडा नेपाली चेलीको पीडा कवितामा गरेकी छन् । 

रोइरहेछौँ चेली हामी कुवेत र अरबमा 
गहारेको एम्बेसीलाई फर्किन नेपालमा 
सुन्ने भएनन् कोही यहाँ हाम्रो झिनो बोली
बसेका छौँ एउटै हलमा जोखिम धेरै मोली । (पृ. ५०)

कसो गरौँ कता जाऔँ हाम्रो माटो कता
गरिबीको चपेटामा भड्कियौँ हामी यता
कैले आउलान् देश बनाउने आदर्शवान नेता
पर्दैनथ्यो जानु विदेश आफ्नै देश बने त ।

यस कवितामा कविले आफ्नो देशको अवस्था सुदृढ भए यहीँ रोजगारीका अवसरहरू पाइने र विदेश जानु नपर्ने मनोभाव व्यक्त गरेकी छन् । उनले नेपाली नारीहरूको राष्ट्रप्रेम र कर्मठ जीवनका कलात्मक प्रस्तुति कवितामा दिएकी छन् । 

उनको राष्ट्रप्रेम ‘गाउँ गीत देशको’ कवितामा अझ बढी छचल्किएको छ । आफ्नो देश, आफ्नो भाषा र भेषप्रति भावुक भएर अभिव्यक्त भएको छ । उनले आफ्नो देशको भौगोलिक विविधता र यहाँका जात जातिलाई सुन्दर सप्तरङ्गी बगैँचाको उपमा दिएकी छन् । उनले कवितामा आफ्नो प्राणभन्दा प्यारो देशको शिर सधैँ सगरमाथाझैँ उच्च रहोस् भन्ने कामना पनि गरेकी छन् । 

कवि ढकालका जीवनका भोगाइ र अनुभूति विम्बात्मक प्रस्तुति हो यो कविता सङ्ग्रह । उनको यो कविता सङ्ग्रहमा कवि दुर्गा ढकालको देशप्रेम, भाषा–संस्कृति प्रेम र देवी देवताप्रतिको आस्था, विश्वास र प्रेमका विषयहरू अनुभूति बनेर प्रकटिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप