मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मधेस प्रदेशका यी मन्त्री जो पराजित भए

आइतबार, ११ मङ्सिर २०७९, १२ : २४
आइतबार, ११ मङ्सिर २०७९

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मतगणना कतिपय क्षेत्रमा सम्पन्न भइसकेको छ भने केहीमा जारी छ । हालसम्म सार्वजनिक परिणाममध्ये मधेस प्रदेशमा कतिपय बहालवाला मन्त्री पराजित भएका छन् ।

मधेस प्रदेश सरकारका अर्थ मन्त्री शैलेन्द्रप्रसाद साह सप्तरी २ (क) मा पराजित भएका छन् । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य समेत रहेका मन्त्री साह जनमत पार्टीका उम्मेदवार सतिशकुमार सिंहसँग दोब्बर मतान्तरले पराजित भएका छन् । सतिशकुमारले १६ हजार ७३४ मत ल्याउँदा मन्त्री साह आठ हजार २९२ मतमै सिमित भए ।

त्यस्तै, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री सिरहा २ (क) विजय यादव पनि पराजित भए । जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य एवं कोषाध्यक्षसमेत रहेका यादव जनमत पार्टीका सचिव संजय यादवबाट पराजित भएका हुन् ।

संजय यादवले १२ हजार १७१ मत ल्याउन मन्त्री यादवले ११ हजार ५२७ ल्याएका छन् । यस्तै मधेस सरकारकै भूमि, व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रौतहट १ (ख)योगेन्द्रराय यादव पनि पराजित भए । जसपाबाट उम्मेदवार रहेका उनी कांग्रेसका मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवसँग पराजित भएका हुन् । राज्यमन्त्री यादव तेस्रो स्थानमा सीमित भए । कृष्णप्रसाद यादवले १२ हजार ४८९ मत ल्याएर निर्वाचित हुँदा तेस्रो स्थानमा रहेका राज्यमन्त्री यादवले पाँच हजार ७२९ मत पाए ।

मधेस सरकारका उद्योग, पर्यटन तथा वन राज्यमन्त्री नागेन्द्रराय यादव पनि रौतहट ३ (क) बाट पराजित भएका छन् । उनी स्वतन्त्र उम्मेदवार केशवराय चौधरीबाट पराजित भएका हुन् ।

उद्योग, पर्यटन तथा वन राज्यमन्त्री नेकपा एकीकृत समाजवादी पार्टीका नेता नागेन्द्रराय यादवले सात हजार ६२२ मत ल्याएर तेस्रो स्थानमा थन्किए भने विजयी भएका केशवरायले १२ हजार २५५ मत पाए । दोस्रो स्थानमा रहेकी जसपा नेतृ पुजा चौधरीले १० हजार १३२ मत पाइन् ।

उद्योग, पर्यटन तथा वन मन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता शत्रुधन महतो धनुषा ४ (ख) मा हरिनारायण महतोसँग प्रतिस्पर्धा गरिरहेका छन् । एमालेका नेता हरिनारयण महतोले अहिले अग्रता लिएका छन् भने मन्त्री शत्रुधन महतोले उनलाई पछ्याइरहेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप