शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कम मत प्राप्तिमा बेइज्जतको ट्याग किन ?

आइतबार, ११ मङ्सिर २०७९, १४ : ०७
आइतबार, ११ मङ्सिर २०७९

महाभारतको कुरु क्षेत्रमा युद्धको तयारी हुँदै थियो । अर्जुनलाई दोधारमा देखेर भगवान् श्रीकृष्णले उनको शंका हटाउन, सत्य मार्ग उजागर गर्न र मुख्यतया वास्तविक कर्मको सार बुझाउन रणमैदानको बिच भागमा दिएको मुख्य सन्देश यस्तो थियो ।

“कर्मन्यवाधिकारस्ते मा फलेषु कदाचन ।

कर्मफलहेतुर्भुर्मा ते सङगोऽस्तत्वकर्मणि ।।

   यसको अर्थ हुन्छ, तिम्रो अधिकार केवल कर्म गर्नु हो, कर्म फलमा होइन । अतः तिमी निरन्तर कर्मफलमा मनन नगर, आशक्ति नहोऊ र अकर्मण्य पनि नबन ।

अनि त्यसपछि अर्जुनले आफ्नो वास्तविक दोधारेपनलाई दूर गरी, केवल कर्मलाई धर्म ठाने । तर उनले कहिले पनि कर्मलाई इज्जत र बेइज्जतसँग तुलना गरेनन् । वास्तवमा भगवान् श्रीकृष्णले भनेजस्तै कर्म नै फल हो । आफूले गरेको कर्म फल हो । कर्म कर्तव्य हो । जसरी नि, कर्म नगरी सुखै छैन ।

त्यसो हो भने फल के हो त ? यस्तो प्रश्न अवश्य जन्मिन्छ । फल आशातीत हो । यो पूरा हुन सक्छ वा हुँदैन पनि । हुन त फलको लागि पनि कर्मवादी त हुनैपर्छ । तर कर्म गरे पनि कहिलेकाहीँ फल प्राप्त नहुन सक्छ । कर्मफल मनुष्यको अधिनमा हुँदैन ।

परीक्षा दिने मानिस सोचेभन्दा सफल हुन सक्छ वा नहुन सक्छ । निर्वाचन लडेको नेता जय वा पराजय जस्तो पनि हुन सक्छ । किनकि फल असम्भावी छ । तर पनि कर्म त गर्नैपर्छ । भगवान् श्री कृष्णको यो अमृतवाणी अर्जुनको जीवनमा मात्र होइन, हाम्रो सम्पूर्णको कार्यस्थलमा लागू हुन्छ ।

निर्वाचनमा जित्नकै लागि सबै जना चुनाव लड्छन् । तर एउटैले जित्छन् । आखिर कर्म त निर्वाचनमा गरेकै हुन्छन् । २०७९ सालको प्रतिनिधि सभा स्वतन्त्र उम्मेदवार म पनि हुँ । मैले पनि कर्म गरेँ । म जस्तै अरु स्वतन्त्रले पनि निर्वाचन लडेर कर्म गरे । यही सेरोफरोमा यो आलेख केन्द्रीत छ ।

जो कम मत प्राप्तिको फल पाए, समाजबाट बेइज्जतीको रुपमा प्राप्ति गरे । कर्म गर्दा गर्दै पराजयको स्वाद चाखे त के भो ? कम मत प्राप्तिमा बेइज्जतको ट्याग किन लगाइन्छ ? म मेरै कम मत प्राप्तिमा बेइज्जतको ट्याग लगाइएको स्वतन्त्र उम्मेदवार हुँ । चितवन–३ बाट मितव्ययिता अपनाएर मैले सायद नेपालकै सबै उम्मेद्वारमध्ये कम खर्च गरे हुँला । खर्र्चै नगरेकाले शायद १२ भोट मात्रै आयो । 

असल शासन प्रणालीको रक्षार्थको लागि, विना सहयोगी नेपालमा इतिहासमै पहिलो “करारनामा तमसुक” अधिकांश नागरिकलाई घरदैलोमा बाँडेर विश्वस्त तुल्याउने काम गरेँ । तर सफलता हात लागेन । के यही हो बौद्धिक समाजमा मेरो कर्मको नियति ?

यदि यसरी एक्लै घरदैलोमा गएर असल शासनको लागि निरन्तर संघर्ष गर्नु र नतिजामा कम मत परिणाम प्राप्त गर्नु बेइज्जत हो भने समाजलाई म प्रश्न गर्छु, त्यसो हो भने इज्जत के हो त ? के भागवत गीता मिथ्या हो त ? होइन, गीता सत्य हो भने, म कर्म गर्ने मानिस कसरी बेइज्जत भएँ ? यो अमुक प्रश्नको जवाफ यही मेरो समाजबाट प्राप्त गर्न चाहन्छु ।

       यही समाजकै बोलीचालीमा प्रायः भनिँदै आएको एक्काइसौं शताब्दीको पूर्ण लोकतन्त्रमा उम्मेद्वारहरुलाई प्रत्येक व्यक्तिको प्राप्त जनमत नै विधिको शासनमा मान्य हुन्छ भने कसरी मलाई बेइज्जती भनियो ?

महान् प्रजातान्त्रिक अर्थशास्त्री जे.एस.मिल, जो अल्पमतका समेत पक्षपाती थिए । उनी झुठा थिए त ? यदि उनी झुठा थिए भने किन इतिहासले उनीबाट लोकतान्त्रिक शासन पद्धतिमा अल्पमतको पाठ सिकेर वर्तमान विधिको शासनमा परिष्कृत ग¥यो ? जुन हामी कानुनी शासनमा अल्पमतको कदर गर्नुपर्छ भनेर जे.एस.मिललाई आदर्श ठानिरहेका छौं ।

अल्पमतलाई बहुमतले कदर गर्न सक्नुपर्छ भनेर चियागफमा भजन गाइरहेका हुन्छौँ भने हामी जस्ता कम मत प्राप्त गर्नेलाई बेइज्जतको ट्याग किन ? जीत हार अनि कम मत प्राप्ति स्वाभाविक हो । तर समाजका केही भद्रका कुरा सापटी लिएर भन्छु, जीत र सम्मानपूर्वक हारको कारण नै इज्जत हो भने समाजले म जस्तालाई कम मत प्राप्तिमा चारपाटा मुडेर, जुत्ताको माला किन नलगाएको हो ?

कम मतवालाको जमानत जफत निर्वाचन आयोगले नै गर्छ । निर्वाचन आयोग पनि त समाजको एक हिस्सा हो । मत नै प्राप्त नगरेका वा कम मतवाला उम्मेद्वारको नियती यसै आयोगले कोरिदिएको छ । कम मत प्राप्तिमा उम्मेद्वारलाई जमानन जफत नामक बेइज्जतको बिल्ला भिराउन आयोगलाई किन हिच्किचाहट लाग्दैन ? कम मत प्राप्तिवालाको बेइज्जत प्रजातन्त्रमा नगरेकै भए हुन्थ्यो कि ?

के छ बेइज्जतलाई इज्जतमा बदल्ने सूत्र ?

परापूर्व कालमा भगवान् रामलाई वनवासको बेला माता कैकेयीको आज्ञा अमुक थियो । जसको कारण राज्य र राजपाठ त्यागेर राम वनवास गए । त्यतिबेला पनि समाजको केही हिस्साले कुरा काटेकै थियो ।

बेइज्जत भएर राम बन गयो । वीर भएर पनि लाचार ठहरिएर कसरी कायरतापूर्ण निर्णय लियो ? यदि इज्जत छ भने लडेर आप्mनो राज्य लेऊ ।

समाजको यही कठोर भाष्यलाई रामले नरम वाणीमा प्रतिक्रिया दिए । उनले भने– मेरा पिता र माताको आदेश नै इज्जत हो । बरु बूढा मेरा माता पितासँग युद्ध गरेर राजभोग गर्नु बेइज्जती हो । हतियार उठाएर न्यायकारी आज्ञा विरुद्ध धावा बोल्नु भन्दा हतियार झुकाएर आज्ञा शिरोधार्य गर्नु परम् वीरताको निशानी हो । यही नै इज्जत हो । स्वयम् म रामले जित्नुभन्दा अहिलेको परिवेशमा हारको सन्देश सहितको आज्ञा धर्म पालना गरी वनवास जानु परम् इज्जतको निशानी ठान्दछु ।

राम वाणीको अगाडि कुरो काट्ने समाज नतमस्तक भयो । म मेरो प्राप्त जनमतको अपमान गर्ने समाजसँग बेइज्जतबाट इज्जतमा बदल्ने सुत्र पठाइदिन अनुरोध गर्दछु । किनकि त्यस सुत्रबारे म अनभिज्ञ छु । यदि त्यस्तो कुनै सुत्र छैन भने भने लोकतन्त्रको धज्जी उडाउने गरी कम मतलाई बेइज्जतको ट्याग लगाउने मेरो समाजले मुकदर्शक भएर चुपचाप बस्नु नै वेश होला, होइन र ?

किन मेरो मेहनत, इमान्दारिता र सत्कर्मबारे यो समाज बोल्दैन ? मैले आपूmलाई राम ठान्ने अहंकारी धृष्टता गरेकै होइन, मात्र सत्यको उजागर गरेको हुँ । राम वनवास जाँदाको अवस्था र मेरो कम मत प्राप्तिको अवस्थामा मेल खाएको हुँदा समाजसँग बेइज्जतबाट इज्जतमा बदल्ने सुत्रको माग गरेको हुँ ।

म समाजभन्दा भिन्न छैन । त्यसैले, सामाजिक प्राणीको रुपमा समाजको कठघरामा सफाई दिनु मेरो कर्तव्य हो । त्यही कर्म यो लेखबाट मैले गरिरहेको छु ।

अन्तमा, लोकतन्त्रलाई बेइज्जत र इज्जतको तुलामा नतौलेर लोकतान्त्रिक नागरिकको भूमिकामा रहन सम्पूर्ण नेपाली जनतालाई अनुरोध गर्दछु । कुनै व्यक्ति वा समाजको लागि सकारात्मक सोच्नु हाम्रो मानवीय धर्म हुनुपर्छ । जुन धर्म, ज्ञान, आदर्श हाम्रो शिक्षाले परिस्कृत गरेको छ, त्यसलाई आदर्श मानेर स्वतन्त्र रुपमा बेइज्जत र इज्जतको तराजु नबोकौं । कम मत ल्याउनेहरु पनि राष्ट्र निर्माण गर्ने हाम्रो कर्तव्य हो भनेरै होमिएका हुन्छन् । त्यसैले, कुनै उम्मेदवारले कम मत ल्याए भन्दैमा बेइज्जत गर्नु  अल्पबुद्धि  हो । 

–४, जुम्ला, हालः चितवन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप