शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कम्युनिष्ट पार्टीका १७ पदाधिकारी : जसलाई सांसद बन्न यसरी लाग्यो ‘ब्रेक’

आइतबार, ११ मङ्सिर २०७९, १५ : ०३
आइतबार, ११ मङ्सिर २०७९

 मुलुकका तीन ठूलासहित चार कम्युनिष्ट पार्टी नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १७ जना पदाधिकारीको सांसद बन्ने सपनामा ब्रेक लागेको छ ।

मंसिर ४ मा सम्पन्न निर्वाचनमा उम्मेदवार बनेका चार  कम्युनिस्ट पार्टीबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेकामध्ये १७ जनाले हार बेहोरेका हुन् । सार्वजनिक नतिजाअनुसार एमालेका १९ पदाधिकारीमध्ये १५ जना पदाधिकारी उम्मेदवार बनेका थिए । त्यसमध्ये वरिष्ठ उपाध्यक्ष र महासचिवसहित ६ जनाको हार बेहोरिसकेका छन् । त्यस्तै माओवादीका ५, एकीकृत समाजवादीका ५ र राष्ट्रिय जनमोर्चाका १ पदाधिकारी पराजित भएका हुन् । 

पराजित हुनेहरुमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पाखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डेदेखि महासचिव शंकर पोखरेल, उपमहासविच प्रदीप ज्ञावली, लेखराज भट्ट  र रघुवीर महासेठ रहेका छन् । यद्यपि महासेठको मत गणना नसकिएपनि उनी पछि परेकाले जित निकाल्न चमत्कार भएमात्रै सम्भव छ । अर्का एक सचिव पद्मा अर्यालको निर्वाचन क्षेत्रमा मत गणना बाँकी रहेकाले नतिजाबारे केही भन्न सकिँदैन ।

वरिष्ठ उपाध्यक्ष पोखरेल काठमाडौं–५मा कांग्रेसका प्रदीप पौडेलसँग हारेका हुन् भने अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डे चितवन १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग पराजित बनेका हुन् । महासचिव शंकर पोखरेल दाङ २ बाट माओवादी केन्द्रका रेखा शर्मासँग पराजित हुँदा उपमहासचिव प्रदीप ज्ञवाली गुल्मी १ बाट कांग्रेसका चन्द्र भण्डारीसँग पराजित बनेका हुन् । सचिव लेखराज भट्ट कैलाली ४ बाट कांग्रेसकै वीरबहादुर बलायरसँग पराजित बनेका हुन् भने महासेठ धनुषा ४ बाट कांग्रेसका महेन्द्र यादवसँग लगभग पराजित भइसकेको अवस्था भएपनि घोषणा हुन बाँकी छ ।

त्यस्तै अर्को पार्टी नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङसहित ५ जना पदाधिकारी यो निर्वाचनमा पराजित भएका छन् । महासचिव गुरुङलाई लमजुङबाट एमालेका उपमहासचिव पृथ्वी सुव्वा गुरुङले पराजित गरेका हुन् ।

त्यस्तै माओवादीका उपमहासचिवमध्ये वर्षमान पुन,जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत सहित तीन जना निर्वाचित हुँदा चार जना पराजित हुन पुगे । पराजित हुनेहरुमा तीन उपमहासचिवसहित एक सचिव रहेका छन् । उपमहासचिव पम्फा भुसाल, गिरिराजमणि पोखरेल, मात्रिका यादव तथा सचिव चक्रपाणि खनाल पराजित भएपछि सांसद बन्न ब्रेक लागेको छ । 

भुसाल ललितपुर ३, पोखरेल महोत्तरी १ र यादव धनुषा १ बाट पराजित भएका हुन् । भुसाललाई राष्ट्रिय स्वतन्त्र पार्टीका तोसिमा कार्की, पोखरेललाई एमालेका लक्ष्मी महतो र यादवलाई जसपाका दीपक कार्कीले हराएका हुन् । त्यस्तै खनाल कपिलवस्तु १ मा एमालेका बलराम अधिकारीसँग पराजित बनेका हुन् ।

अर्को पार्टी नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल एमालेका महेश बस्नेतसँग पराजित बनेका छन् । सो पार्टीमा अहिले तीन नाथ पराजित भएको किस्सा नै बनेको छ ।  ‘सम्मानित नेता झलनाथसहित उपाध्यक्ष धर्मनाथप्रसाद यादव र उपमहासचिव जगन्नाथ खतिवडा गरी तीन नाथ पराजित भएका छन्’, समाजवादीका एक नेताले भने, ‘दुई जना सचिव रामकुमारी झाँक्री र जीवनराम श्रेष्ठ पनि पराजित भएका छन् ।’ झलनाथ खनाल इलाम १ बाट निर्वाचन लडेका हुन् ।  त्यस्तै उपाध्यक्ष धर्मनाथ प्रसाद साह सिरहा ४ बाट निर्वाचन लडेपनि त्यहाँ जसपाका वीरेन्द्र महतोले निर्वाचन जित्दा साह तेस्रो भए ।

यता राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल पनि निर्वचन हार्नेमा परेकी छन् । सत्ता गठबन्धनको सहयोगमा प्युठानबाट निर्वाचन लडेकी पौडेल एमालेका सूर्य थापासँग पराजित बनेकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप