मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा प्रतिनिधिसभामा माओवादी केन्द्र शून्य, प्रदेशमा ८ सिट

आइतबार, ११ मङ्सिर २०७९, १५ : २५
आइतबार, ११ मङ्सिर २०७९

सुदूरपश्चिमका १६ प्रतिनिधि सभामध्ये माओवादी केन्द्रले चार क्षेत्रमा उम्मेदवारी दिएकोमा शून्य भएको छ । प्रदेशसभाका ३२ क्षेत्रमध्ये १२ उम्मेदवारी दिएकोमा आठ क्षेत्र मात्रै जितेको छ । बाजुरामा मतगणना सुरु हुन नसकेकाले प्रदेश र प्रतिनिधिसभा दुवै तर्फको नतिजा आइसकेको छैन । बाजुराबाट प्रतिनिधिसभामा माओवादी उम्मेदवार नभएपनि प्रदेश सभा ‘क’ बाट कर्णबहादुर विश्वकर्मा उम्मेदवार छन् ।

प्रतिनिधिसभातर्फ कञ्चनपुर १ बाट माओवादी नेता बीना मगर एमालेका तारा लामा तामाङसँग ५ हजार ५४६ मतको फराकिलो मत अन्तरले पराजित भएकी छन् । तामाङ २४ हजार ८९२ मत ल्याएर विजयी भए भने मगर १९ हजार ३४६ मत ल्याएर पराजित भएकी छन् । मगर यसै क्षेत्रबाट २ पटक निर्वाचित हुनुका साथै एकपटक मन्त्री समेत भइसकेकी छन् । 

यस्तै कैलाली–२ बाट भगतबहादुर बडुवाल नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरीसँग ६ हजार ७५५ मत अन्तरले पराजित भएका छन् । चौधरीले  २१ हजार ८७१ मत ल्याएर विजयी भएका छन् भने बडुवालले १५ हजार ११६ मत ल्याएर तेस्रो भई पराजित भएका छन् । एमालेका झपटबहादुर रावलले १६ हजार १२८ मत ल्याएर दोस्रो भई पराजित भएका छन् ।

यस्तै कैलाली ३ बाट कृष्णकुमार चौधरी नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीसँग पराजित भएका छन् । गंगाराम चौधरीले २३ हजार १२० मत ल्याएर विजयी भएका छन् भने कृष्णकुमार चौधरीले १७ हजार ७४९ मत ल्याएर पराजित भएका छन् । बडुवाल र चौधरी दुवै जनालाई भर्खरै गठन भएको नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले हराएका छन् ।

यस्तै बैतडीबाट नरेन्द्रबहादुर कुँवर एमालेका दामोदर भण्डारीसँग पराजित भएका छन् । कांग्रेसका केशवबहादुर चन्दले बागी उम्मेदवारी दिएका माओवादीका कुँवर झिनो मत अन्तरले पराजित भएका हुन् । एमालेका भण्डारीले ३३ हजार ६११ मत ल्याएर विजयी भएका छन् भने माओवादीका कुँवरले ३२ हजार ८० मत ल्याएर पराजित भएका छन् । 

प्रदेशका इन्चार्ज भट्टसहित ७ जना निर्वाचित 

प्रदेशसभाका ३२ सिटमध्ये १२ क्षेत्रमा माओवादीले उम्मेदवारी दिएको थियो । माओवादी सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टसहित आठ जना प्रदेश सभामा निर्वाचित भएका छन् । भट्टलाई प्रदेशको भावी मुख्यमन्त्रीको रुपमा लिएको छ ।

यस्तै बझाङ प्रदेश सभा ‘ख’बाट भीमबहादुर भण्डारी, अछाम १ ‘ख’ बाट झपटबहादुर साउद, अछाम २ ‘क’ बाट अक्कलबहादुर रावल, डोटी  ‘ख’बाट शिवसिंह ओली निर्वाचित भएका छन् । यस्तै कैलाली ५ ‘क’ बाट रमेशसिंह धामी, कञ्चनपुर २ ‘क’ बाट ओमविक्रम भाट, दार्चुला ‘ख’ बाट मानबहादुर धामी निर्वाचित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप