बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधि सभामा निर्वाचित ८ महिला सांसद्ः यस्तो छ पृष्ठभूमि

आइतबार, ११ मङ्सिर २०७९, १८ : ३२
आइतबार, ११ मङ्सिर २०७९

राजनीतिमा महिला सहभागिता बढाउन संविधानमै व्यवस्था गरिएको छ । २०७२ को संविधानको धारा ३८ को उपधारा ४ मा भनिएको छ, ‘राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक छ’ । 

तर विगतको निर्वाचनदेखि नै महिला सहभागिता बढाउन कार्यान्वयन पक्ष अत्यन्त कमजोर देखिएको छ । संविधानले राज्यका हरेक तहमा महिला सहभागिता ३३ प्रतिशत अनिवार्य गरे पनि प्रतिनिधि सभाको प्रत्यक्ष उम्मेदवारीमा उनीहरूको संलग्नता अत्यन्त न्यून देखिएको छ । 

मंसिर ४ को प्रतिनिधि सभा सदस्य उम्मेदवारीमा प्रत्यक्षतर्फ एमालेले ११ जना महिलालाई उम्मेदवार बनाएको थियो । तीमध्ये तीन जनाले विजय हासिल गरे भने भगवती चौधरीले सुनसरी–३ मा अग्रता लिएकी छन् । उनको जित सुनिश्चित झैं रहेको छ ।

त्यसै गरी, नेपाली काँग्रेसले पाँच जना महिला उम्मेदवारलाई चुनावी मैदानमा पठाएकोमा सीता गुरुङ एकजना मात्रै विजयी भइन् । यसै गरी नेकपा माओवादी केन्द्रले आठ जना महिला उम्मेदवारलाई चुनावी रणमैदानमा खटाएकोमा एक जना रेखा शर्मा मात्रै विजयी हुन सकिन् । यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका दुई जना महिला विजयी भएका छन् भने नागरिक उन्मुक्ति पार्टीका एक उम्मेदवारले विजयी हासिल गरेका छन् । विजेता महिला सांसद्को राजनीतिक पृष्ठभूमि कस्तो छ त ? 

१.सोविता गौतम 

काठमाडौं क्षेत्र नम्बर २ बाट सोविता गौतमले यस पटकको प्रतिनिधि सभामा प्रतिद्वन्द्वीसँग ३,६७२ मत बढी ल्याई बाजी मारेकी छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी थिइन् । गौतमले १५,२३८ मत प्राप्त गरिन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मणिराम फुयालले फुयालले ११,५६६ मत प्राप्त गरे । 

गौतमलाई हालको प्रतिनिधि सभाको सबैभन्दा कान्छी उम्मेदवारका रुपमा हेरिएको छ । विसं २०५२ मा दोलखामा जन्मिएकी गौतमले त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेसनल ल कलेजबाट कानुन विषयमा स्नातक गरेकी छन् । केही समय पत्रकारिता र अधिवक्ता भई काम गरेकी उनी राजनीतिमा नयाँ अनुहार हुन् ।  

२. तोसिमा कार्की 

तोसिमा कार्की पेसाले चिकित्सक हुन् । उनले ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार भई ३१,१३६ मत प्राप्त गरी विजयी भएकी हुन् । उनले प्रतिद्वन्द्वी एमालेका अमृत खड्कालाई १८,१७३ मतले पराजित गरिन् । उनका प्रतिद्वन्द्वीले १२,९६३ मत प्राप्त गरे भने अर्की प्रतिद्वन्द्वी बहालवाला ऊर्जा मन्त्रीसमेत रहेकी माओवादी केन्द्रकी पम्फा भुसालले ८,७९६ मत मात्र पाएकी थिइन् ।  

डा तोसिमा कार्की ११ वर्षदेखि स्वास्थ्य क्षेत्रमा कार्यरत थिइन् । निर्वाचनमा होमिनुअघि उनी पाटन अस्पतालमा जनरल सर्जन थिइन् । 

यसअघि उनी २०७८ पुस २ गते चार वर्षका लागि मेडिकल काउन्सिलको सदस्य निर्वाचित पनि भएकी थिइन् । काउन्सिल सदस्य भएकाले सार्वजनिक लाभको पदमा रहेको भनी उनको उम्मेदवारी खारेज गरियोस् भनेर निर्वाचन आयोगले मुद्दा हालेको थियो । सर्वोच्च अदालतबाट मुद्दा जितेर उनी निर्वाचनमा होमिइन् र सफलता पनि हासिल गरिन् । 

३.रेखा शर्मा 

रेखा शर्मा नेपाली कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) की उम्मेदवार हुन् । उनले दाङ–२ बाट २६,८८० मत प्राप्त गरी विजयी भइन् । उनले आफ्ना निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका महासचिव शङ्कर पोखरेललाई १९३ मतले पराजित गरिन् । पोखरेलले २६,६८७ मत प्राप्त गरे । 

माओवादी स्थायी कमिटी सदस्यसमेत रहेकी रेखा शर्मा २०७० मा समानुपातिकबाट संविधान सभाको सदस्य बनेकी थिइन् । त्यसपछि २०७४ मा पनि उनी समानुपातिकबाट संसद् भवन छिरेकी थिइन् । सामान्य प्रशासन मन्त्री समेत रहिसकेकी शर्मा यस पटक प्रतिनिधि सभा प्रत्यक्षबाट निर्वाचित हुने माओवादी पार्टीको एक्ली महिला भएकी छिन् । कृष्णबहादुर महराले दाङ–२ बाट चुनाव नलड्ने भनी ब्याक भएपछि रेखालाई अघि सार्दा पार्टीको साख जोगाउन सफल भइन् ।

४.विद्या भट्टराई 

विद्या भट्टराई कास्की क्षेत्र नम्बर २ बाट १६,९९८ मत प्राप्त गरी प्रतिनिधि सभामा निर्वाचित भएकी हुन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी माधवप्रसाद कँडेललाई ४,५०३ मत ल्याएर पराजित गरेकी हुन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बनेका कँडेलले १२,४९५ मत प्राप्त गरेका थिए । 

भट्टराई यसअघि आफ्ना श्रीमान् रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि सो क्षेत्रमा भएको उपचुनावमा प्रतिनिधि सभा प्रत्यक्षतर्फबाट निर्वाचित भएकी थिइन् । संसदीय राजनीतिमा आउनुअघि उनी शिक्षण पेसामा आबद्ध थिइन् । 

राजनीतिक यात्रा विद्यार्थी जीवनबाटै सुरु गरेकी उनी २०५५ मा अनेरास्ववियुको सचिव भएकी थिइन् । उनी एमाले उपत्यका महिला कमिटी सचिव हुँदै सङ्घीय मामिला विभागकी सदस्य बनेकी थिइन् । 

५.जुली कुमारी महतो 

एमालेकी जुली कुमारी महतो (महासेठ) ले धनुषा क्षेत्र नम्बर ३ बाट ३३,३८८ मत प्राप्त गरी विजयी भएकी हुन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अनिल कुमार झालाई ११,७०२ मतले पराजित गरेकी हुन् । झाले २१,६८६ मत प्राप्त गरे । 

उनी एमाले सचिव रघुवीर महासेठकी श्रीमती हुन् । केपी ओली नेतृत्वको सरकारमा उनी छोटो समयका लागि मन्त्रीसमेत बनेकी थिइन् । 

६.ज्वालाकुमारी साह 

एमालेकै ज्वालाकुमारी साह बारा क्षेत्र नम्बर ३ बाट २०,२५१ मत प्राप्त गरी विजयी भएकी छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका रामबाबु कुमार यादवलाई २,९७२ मतले पराजित गरेकी हुन् । यादवले १७,२७९ मत प्राप्त गरे । 

साह पूर्वमाओवादी नेत्री हुन् । नेकपा विभाजन हुँदा उनी एमालेतिर लागिन् । माओवादी केन्द्रमा रहँदा उनी बाराबाट प्रदेश सभा सदस्यमा समेत विजयी भएकी थिइन् । एमालेमा गएपछि माओवादीले उनको प्रदेश सभा सदस्य खारेज गरेपछि एमालेले उनलाई सांसद नहुँदै कृषिमन्त्री बनाएको थियो । 

७.रञ्जिता श्रेष्ठ चौधरी

रञ्जिता श्रेष्ठ चौधरी कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित भएकी छन्  । उनी नागरिक उन्मुक्ति पार्टीबाट ३०,४०४ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार रामजनम चौधरीलाई १२,३२३ मत अन्तरले पराजित गरिन् । चौधरीले १८,०८१ मत पाए । 

नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ निवर्तमान सांसद रेशम चौधरीकी श्रीमती हुन् । राजनीतिमा आउनु अघि उनी रेडियोकर्मी थिइन् । रेडियोमा सँगै काम गर्दा यी दुइले किशोरावस्थामै लगनगाँठो कसेका थिए । उनको माइती काठमाडौंको क्षेत्रपाटी हो । रेडियो सगरमाथामा कार्यक्रम सञ्चालन गरेकी उनी टीकापुरस्थित आफ्नै फूलवारी एफएमकी स्टेशन म्यानेजर थिइन् ।

टीकापुर घटनापछि फरार अवस्थामै रेशम चौधरीले २०७४ को प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । सो चुनावमा रञ्जिताले नै रेशमको भिडियो फुटेज गाउँ गाउँमा देखाएर चुनाव जिताएकी थिइन् । 

यसपाली बर्दिया–२ बाट उम्मेदवारी दिए पनि टीकापुर घटनामा नाम जोडिएका कारण रेशमको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदियो । सो क्षेत्रबाट रेशमका पिता लालवीर चौधरी स्वतन्त्र उम्मेदवारी भई जित हासिल गरेका छन् । रञ्जिता ससुरा लालवीरसँगै संसद भवन टेक्ने छिन् । 

८. सीता गुरुङ

तेह्रथुमकी सीता गुरुङ प्रतिनिधिसभाको प्रत्यक्षतर्फ चुनाव जित्ने काँग्रेसकी एक्ली सांसद हुन् । ४५ वर्षीया गुरुङ एमालेका विजय सुब्बालाई १ हजार ७९ मतान्तरले हराई विजयी भइन् ।

पार्टीमा देउवानिकट रहेकी काँग्रेस केन्द्रीय सदस्य गुरुङले १९,७०२ भोट ल्याइन् भने एमालेका सुब्बाले १८,६२३ मत ल्याए । गुरुङ २०६४ र २०७० को संविधानसभामा समानुपातिक सांसद थिइन् । प्रतिनिधिसभाको चुनाव २०७४ मा वर्तमान स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङसँग पराजित भएकी थिइन् ।

तेह्रथुमको इवामा जन्मिएकी गुरुङ २०६० मा नेपाल महिला संघको केन्द्रीय सचिव भइन् । २०६७, २०७२ र २०७८ मा भएको नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशनमा उनी लगातार केन्द्रीय सदस्य निर्वाचित हुन सफल भइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिखर मोहन
शिखर मोहन
लेखकबाट थप