शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नवशिशुलाई किन छ, ‘मायाको अँगालो’ आवश्यक ?

सोमबार, १२ मङ्सिर २०७९, ०७ : ०१
सोमबार, १२ मङ्सिर २०७९

नेपालमा वर्षेनी ८ लाख बढी शिशु जन्मिन्छन् । जसमा ४ हजार ३ सय अवधि नपुगी जन्मेका शिशुको ५ वर्ष नपुग्दै मृत्यु हुन्छ । गर्भावस्थाको ३७ हप्ता पूरा हुनुअघि जन्मिएका नवशिशुको जन्मलाई अवधि नपुगी जन्मनु वा ‘प्रिटर्स बर्थ’ भनिन्छ । अवधि नपुगी जन्मिएका नवशिशुलाई मायाको अँगालोबाट बचाउन सकिने बालरोग विशेषज्ञहरु बताउँछन् । विश्व स्वास्थ्य संगठनबाट यो मायाको अँगालो विधि मान्यताप्राप्त गुणस्तर प्रमाणित विधि हो ।

यसरी कम तौल र अवधि नपुगी जन्मिएका नवशिशुलाई न्यानो बनाएर नराख्दा उनीहरुको शरीर तात्दैन । त्यसैले, मायाको अँगालोको आवश्यकता पर्ने नेपाल बाल चिकित्सा समाजका अध्यक्ष डा गणेशकुमार राई बताउँछन् ।

विश्वमा प्रत्येक वर्षमा करिब १० लाख बालबालिका अवधि नपुगिकन जन्मिएका कारण मृत्यु हुने गर्छ । जन्म अवधि नपुगी जन्मिएर बाँचेका बालबालिकाहरु पनि प्रायः अपाङ्गता भेटिएको पाइएको छ । 

यस्तै, विश्वमा १० जना नवशिशुमध्ये एक जना अवधि नपुगी जन्मिन्छ । यसरी अवधि नपुगी जन्मिएका नवजात शिशु कम तौलका हुन्छन् । पाँच वर्ष मुनिका बालबालिकाको मृत्युको प्रमुख कारण अवधि नपुगी जन्मिएर स्वास्थ्यमा आउने जटिलताले हुने बालचिकित्सकहरुको भनाइ छ ।

अवधि नपुगी जन्मिएका नवशिशुलाई समयमै उपचार र स्याहार गरिएमा ७५ प्रतिशत मृत्यु दर रोक्न सकिन्छ । यद्यपि २२ हप्ता पुगेर जन्मेका र ५ सय ग्राम भन्दा बढी तौल भएका नवशिशु अस्पतालमा जन्मिएमा बचाउन पनि सकिने चिकित्सकहरुको भनाइ छ ।  

के हो मायाको अँगालो ? 

महिना नपुगी जन्मिएका र जन्मजात तौल कम भएका शिशुको शारीरिक तापक्रम सामान्य राख्न आमा अनि शिशुलाई स्याहारका लागि राख्ने मायाको अँगालो कक्ष हो । यो विश्व स्वास्थ्य संगठनबाट मान्यताप्राप्त गुणस्तर प्रमाणित विधि पनि हो । 

मायाको अँगालो विधिमा नवशिशुलाई आमाको नाङ्गो छातीमा शिशुको नाँगो छाती टाँसेर राखिन्छ । यस्तै यो कक्षमा तापक्रमको उपर्युक्त व्यवस्था गरिएको हुन्छ । नवशिशुको अवस्थाअनुसार निफ्टी कपबाट आमाको दूध खुवाइन्छ । नवशिशुको अवस्थाअनुसार जाँच र सरसफाइ पनि गरिन्छ ।  

किन बच्चा अवधि नपुगी जन्मन्छ ?

नवशिशु अवधि नपुगी जन्मिनुको धेरै कारण हुने चिकित्सकहरु बताउँछन् । अवधि नपुगेर कम तौलको शिशु जन्मिनुमा आमाको उचाइ कम, उमेर कम हुनु, पौष्टिक आहारको कमी, लगायतका कारण हुन् । 

नवशिशुलाई आमाको नाङ्गो छातीमा टाँसेर राख्नाले शिशुलाई न्यानो हुन्छ, आत्मीयता बढ्ने, दूध बढी आउने, शिशुको वृद्धि र विकासमा सहयोग पुग्ने विशेषज्ञ डा राईको भनाइ छ । अवधि नपुगी जन्मेका नवशिशुका धेरै चुनौती रहेको उनले बताए । 

यसरी अवधि नपुगी जन्मिएका नवशिशु भविष्यमा पढाई लेखाइमा कमजोर हुने, श्रवण शक्ति र दृष्टिको समस्या आउन सक्ने भएकाले यी जटिलता कम गराउनका लागि मायाको अँगालोले सहयोग गर्ने डा राईको भनाइ छ । 

उनले भने, मायाको अँगालो अथवा आमाको नाङ्गो छातीमा नवशिशुको नाङ्गो छाती टाँसेर स्याहार गर्दा बच्चालाई न्यानो बनाइदिन्छ । त्यस्तै स्तनपानको सहयोग र सङ्क्रमणको उपचार गरिएमा संक्रमण हुन नदिई मृत्युबाट बचाउन सकिन्छ । 

उता, प्रसूति गृह अस्पतालका बालरोग विशेषज्ञ डा. मेघा मिश्र बजाचार्यका अनुसार अवधि नपुगी जन्मिएका नवजात शिशुहरु कम तौल हुनाले उनीहरुलाई सघन उपचारको साथसाथै विशेष किसिमको हेरचाह आवश्यक पर्छ । 

गर्भवती महिलामा आइरन, क्याल्सियम लगायतका पोषण तत्व कमी हुन नदिने, जुकाको संक्रमण हुन नदिने, धुम्रपान, मद्यपान, सेवन नगर्ने र आराम गर्ने व्यवस्था मिलाएमा अवधि नपुगी जन्मने दर घटाउन सकिने चिकित्सकहरुको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप