शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

संसद्‍मा उद्योगी/व्यवसायी : कांग्रेसबाट सबैभन्दा धेरै, अन्य दलबाट को–को चुनिए ?

सोमबार, १२ मङ्सिर २०७९, १२ : १०
सोमबार, १२ मङ्सिर २०७९

काठमाडौं । मंसिर ४ गते सम्पन्न भएको निर्वाचनबाट १४ जना उद्योगी व्यवसायी प्रतिनिधिसभाको सांसदमा निर्वाचिन बनेका छन् । नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी (एस), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) गरी ५ राजनीतिक दलबाट उक्त संख्यामा उद्योगी व्यवसायी सांसद बनेका हुन् ।

निर्वाचन आयोगका अनुसार यसपटकको निर्वाचनमा नेपाली कांग्रेसबाट सबैभन्दा धेरै उद्योगी व्यसायी सांसद बनेका छन् । यसपछि, नेकपा एकीकृत समाजवादीबाट ३ जना उद्योगी व्यवसायी सांसद बनेका छन् । यस्तै, राप्रपा, रास्वपा र जसपा समान १÷१ जना उद्योगी व्यवसायीले प्रतिनिधिसभाको टिकट काटेका छन् । यसबाहेक, नेकपा एमालेका तर्फबाट २ जना र नेपाली कांग्रेसबाट १ जना ठूला व्यवसायी समानुपातिकतर्फको सूचीमा अटाएका छन् ।
यसपटकको निर्वाचनमा नेपाली कांग्रेसबाट ९ जना व्यवसायी चुनाव लडेका थिए । यस्तै, एमालेबाट र एसबाट समान ३÷३ जना निर्वाचन लडेका थिए । रास्वपाबाट २ तथा नेकपा माओवादीबाट र जसपाबाट समान १÷१ जना प्रतिनिधिसभाको निर्वाचनमा सहभागी थिए ।

नेपाली कांग्रेस

प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसबाट चुनाव लडेका अधिकांस उद्योगी व्यवसायी विजयी भएका छन् । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसले धेरै उद्योगी व्यवसायीलाई निर्वाचनमा सहभागी गराएको थियो । जसमध्ये सबैजसो व्यवसायी निर्वाचिन बनेका हुन् ।

यसपटकको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट चुनाव लडेका ९ जना उद्योगी व्यवसायीमध्ये ८ जनाले चुनाव जितेका छन् । नेपाली कांग्रेसका तर्फबाट चुनाव लडेर पराजय ब्यहोर्नेमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ मात्रै हुन् । उनी चितवन क्षेत्र नम्बर २ बाट लडेका थिए । त्यस क्षेत्रबाट चुनाव लडेको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने विजयी बनेका छन् ।

श्रेष्ठ बाहेक नेपाली कांग्रेसबाट चुनाव लड्ने कोही पनि उद्योगी व्यवसायीले पराजय भोग्नुपरेन । उद्योगपति बिनोद चौधरी परासी–१ बाट चुनाव जितेका छन् । यसअघिको संसदमा समानुपातिकतर्फबाट सांसद रहेका उनी यसपटक भने प्रत्यक्षतर्फबाट सांसदमा चुनिएका छन् । चौधरीले अघिल्लो पटकको प्रतिनिधिसभातर्फ निर्वाचन लड्न नेकपा एमालेले दिएको टिकट अस्वीकार गरेका थिए ।

यस्तै, पर्यटन व्यवसायी राजेन्द्र बजगाईले गोखरा १ बाट चुनाव जितेका छन् भने निर्माण व्यवसायी मोहन आचार्यले रसुवाबाट चुनाव जितेका छन् । यस्तै, मुस्ताङबाट व्यवसायी टेकबहादुर गुरूङ प्रतिनिधिसभाका लागि निर्वाचिन हुँदा मुस्ताङबाट योगेश गौचन थकाली निर्वाचिन बनेका छन् । यस्तै, मेडिकल व्यवसायी सुनिलकुमार शर्मा मोरङ ३ बाट निर्वाचित हुँदा रामेछापबाट निर्माण व्यवसायी कान्छाराम तामाङ निर्वाचिन बनेका छन् । कांग्रेसले व्यवसायी अनिल रुंगटालाई समानुपातिकतर्फको सूचीमा राखेको छ ।

नेकपा एमाले

नेकपा एमालेबाट निर्वाचनमा सहभागी सबै व्यवसायीले यसपटक पराजय ब्यहोर्नु परेको छ । एमाले यसपटक देशभरबाट ३ जना व्यवसायीलाई प्रतिनिधिसभा निर्वाचनको टिकट दिएको थियो । एमालेले ललितपुर क्षेत्र नम्बर ३ बाट उनीफेल्ट व्यवसायी अमृत खड्कालाई टिकट दिएको थियो । तर, यस क्षेत्रबाट स्थानीय तहको निर्वाचनपछि खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की विजयी हुँदा खड्का पराजित बनेका हुन् ।

यस्तै, अछाम १ बाट निर्वाचनमा होमिएका पूर्व बैंकर झपट बोहोराले समेत चुनाव हारेका छन् । यस्तै, दोलखाबाट व्यवसायी बालकृष्ण शिवाकोटीले चुनाव लडेका छन् । तर, बुथ कब्जा भएको भन्दै एमालेले मतगणनामा सहमती नजनाउँदा त्यस क्षेत्रको मतगणना सुरु नै भएको छैन । शिवाकोटी केबलकार, कन्सट्रक्सन, सेवा र काठ व्यवसायमा संलग्न छन् । एमालेले समानुपातिकतर्फ सहकारीकर्मी ओमदेवी मल्ल र प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनलाई राखेको छ ।
नेकपा एस

नेकपा एसबाट निर्वाचनमा सहभागी सबै व्यवसायी प्रतिनिधिसभाको सांसद बनेका छन् । यसपटकको निर्वाचनमा एसबाट ३ जना व्यवसायी सहभागी बनेका थिए । त्यसमध्ये बारा ४ बाट किसान श्रेष्ठ, डोटीबाट प्रेम आले र डोल्पाबाट धनबहादुर बुढाले चुनाव जितेका हुन् । 

अन्य

यसपटकको निर्वाचनमा रास्वबाट २ जना व्यसायी चुनाव लड्दा १ जनाले जितेका छन् । काठमाडौं ६ बाट लजिस्टिक सेवा प्रदायक ‘पिक एण्ड ड्रप’का संस्थापक शिशिर खनाल चुनाव लडेर जितेका छन् । यस्तै, रास्वपाबाट चुनावमा सहभागी बनेका पस्मिना व्यवसायी दुर्गाबिक्रम थापाले भने पराजय ब्यहोरेका छन् । उनी काठमाडौं ३ बाट चुनाव लडेका थिए ।

यस्तै, राप्रपाबाट चुनाव लडेका बिक्रम पाण्डे र जसपाबाट चुनाव लडेका बिरेन्द्रप्रसाद महोतोले चुनाव जितेका छन् । पाण्डेले चितवन क्षेत्र नम्बर ३ बाट र महोतोले सिराहा ४ बाट चुनाव जितेका हुन् । यसबाहेक, नेकपा माओवादीबाट सर्लाही ३ मा चुनाव लडेका व्यवसायी नागेन्द्र शाह कलवार पराजित बनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप