शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अझै बनेनन् भेरी करिडोरका पुल

सोमबार, १२ मङ्सिर २०७९, १३ : ४९
सोमबार, १२ मङ्सिर २०७९

एक वर्षभित्र पूरा गर्ने भन्दै निर्माण सुरु गरिएका भेरी करिडोर भित्रका पुल अझै निर्माण हुन सकेका छैनन् । करिडोरभित्र जाजरकोट–डोल्पा सडकखण्डभित्र पुल निर्माण हुन नसकेका हुन् । 

रु तीन करोड ८५ लाखमा उक्त पुल निर्माणको जिम्मेवारी हिम सगरमाथा, खड्का कृष्ण जेभीले लिएको थियो । विसं २०७८ पुस १६ गते पुल निर्माणको सम्झौता भएको थियो भने २०७९ असार १५ गतेभित्र निर्माण पूरा गर्ने सम्झौता रहेको सडक डिभिजन कार्यालय चौरजहारीले बताएको छ ।

तोकिएको समयमा काम नगर्दा छ महिना थपेर पुस मसान्तसम्म निर्माण गर्न सडक डिभिजन कार्यालयले निर्माण कम्पनीका बुद्धिबहादुर खत्रीलाई प्रतिबद्धता गराएको डिभिजन प्रमुख आशुतोष कर्णले बताए । उनले भने, “तल्लु बगरको पुल भेरी करिडोरअन्तर्गत निर्माण गरिनुपर्ने मुख्य पुल हो ।

यसले डोल्पालाई सडक सञ्जालसँग जोड्ने काम गर्छ । हाल त्यस ठाउँमा पक्की पुल नभएको भएर ढुवानी अत्यधिक महँगो छ । हालसम्म यसको एकतिरको फाउन्डेसन र बीचको पिलरको कार्य भइरहेको छ । प्रगति न्यून रहेकाले निर्माण व्यवसायीलाई कार्यालयमा भौतिक उपस्थिति गराई पुस मसान्तभित्र निर्माण कार्य सक्नुपर्ने प्रतिबद्धता कार्यालयले गराएको छ ।”

जाजरकोटको नलगाड नगरपालिका–११ र रुकुमपश्चिम आठबिसकोट–६ अनाह बीचमा रहेको भेरी नदीमा पुल निर्माण नहुँदा यहाँका सर्वसाधारणले दैनिक सास्ती भोग्दै आएको डोल्पाको ठूलीभेरी नगरपालिका दुनैका जयकृष्ण हमालले बताए ।

यो पुल निर्माणको भाका थपिएको म्यादसमेत सकिन केही दिन बाँकी रहँदा पनि काम सुरु नै गरिएको छैन । सडक डिभिजन चौरजहारीले निर्माण गर्न लागेको भेरी नदी माथिको यो पुल राजनीतिक नारा बन्दै आएको छ । अर्थमन्त्री जनार्दन शर्मादेखि पूर्वमन्त्री शक्तिबहादुर बस्नेतको निर्वाचन क्षेत्रभित्र यो पुल पर्ने भएकाले बर्सेनि चुनावी नारा बन्दै आएको छ ।

यो पुल निर्माण नभएकै कारण डोल्पामा जाने दैनिक उपभोग्य सामग्री महँगो हुँदै आएको छ । त्यस्तै नलगाड–१० चौखामा रहेको ताक्सुगाड र वडा नं ८ को खमाउरे खोलामाथि पुल निर्माण गर्ने भनिए पनि निर्माणको सुरसार नहुँदा बर्सेनि वर्षायाममा यातायातका साधन अवरुद्ध हुने गर्दछन् । त्यस्तै डोल्पाको ठूलीभेरी नगरपालिकाको रुपगाड खोलामा सात वर्षदेखि पुल निर्माण नहुँदा यहाँका सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । 

काठको लाप्कोमा जोखिमपूर्ण तरिकाले यातायातका साधन राखेर वारपार गराउनुपरेको डोल्पाका प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारीले जानकारी दिए । सदरमुकाम दुनै र जुफाल जोड्ने मुख्य सडकका साथै भेरी करिडोरभित्रको डोल्पा सदरमुकाम जोड्ने मुख्य पुलका रुपमा यसलाई लिन सकिन्छ । यी पुल निर्माण नहुँदा डोल्पामा उत्पादन भएका स्याउ, जिम्बु र अन्य जडीबुटी ढुवानीमा समस्या थपिँदै आएको छ । 

सुर्खेत, नेपालगञ्ज, काठमाडौँलगायतका विभिन्न ठाउँबाट रुकुम पश्चिमको आठबीसकोटको माथिल्लो भाग तथा डोल्पा र जाजरकोटको माथिल्लो भागमा ल्याउने सामग्री पुलकै कारण बाधा पुग्दै आएको छ । झोलुङ्गे पुलमा स्थानीय मजदुरद्वारा प्रतिकिलोको रु ४० मा बोकाएर लैजाँदा र ल्याउँदा सामग्रीको मूल्य वृद्धि हुने गरेको छ । रुकुमपश्चिमको आठबीसकोट–१२ मा रहेका खोलामा समेत पुल निर्माण नहुँदा वर्षायाममा यातायातका साधन ठप्प हुने गरेका छन् । 

सबै ठाउँमा एक वर्षअघि नै पुल निर्माण गर्ने लक्ष्य लिइए पनि अहिलेसम्म काम नै सुरु हुन सकेको छैन । पुल निर्माण नहुँदा दैनिक उपभोग्य सामग्री स्थानीय मजदुरबाट ढुवानी गरेर मूल्य वृद्धि हुने गरेको छ । सबैभन्दा बढी डोल्पाका सर्वसाधारणलाई समस्या हुँदै गएको छ ।

निर्माणका सामग्रीदेखि जिल्लामा हुने सबैखालका विकासका काम यही सडकबाट ढुवानी हुने भएकाले हरेक सामग्री महँगो र तोकिएको समयमा पुग्ने गरेको छैन । जाजरकोट सदरमुकामबाट नलगाड–११ तल्लुसम्म कालोपत्रका लागि ठेक्का भएर काम सुरु गरिए पनि त्यो काम सन्तोषजनक रुपमा अगाडि बढ्न नसकेको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए ।

पुल र सडकको स्तरोन्नति ढिला हुँदा डोल्पाको जगदुल्ला जलविद्युत आयोजना निर्माणका लागि प्रयोग हुने पहुँच मार्ग निर्माण तथा पुल निर्माणमा समेत समस्या देखिएको छ । पुल र सडक निर्माण छिटो भएमा आयोजनाको काममा सजिलो हुने आयोजनाका व्यवस्थापक सञ्जय सापकोटाले बताए । सडक डिभिजन चौरजहारीले भने निर्माण व्यवसायीले समयमा काम नगरेको आरोप लगाउँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप