शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

१६ मंसिरबाट राष्ट्रव्यापी सांगीतिक यात्रामा निस्कँदै नेपथ्य

सोमबार, १२ मङ्सिर २०७९, १६ : ४९
सोमबार, १२ मङ्सिर २०७९

मुलुकभर संगीतको माहोल बिस्तार गर्न नेपथ्यले यसै साताबाट सुरु गर्न लागेको राष्ट्रव्यापी सांगीतिक यात्राको तयारी पुरा भएको छ । एक महिना लामो यात्राका लागि कलाकार, व्यवस्थापन तथा प्राविधिकहरूको टोली समेत तयारी अवस्थामा रहेको छ ।

‘हाम्रा आ–आफ्ना विचार, आस्था र मान्यताले गर्दा चुनावमा स्वाभाविक तवरले जताततै मतान्तरका घेरा कोरिएको हुनुपर्छ’ नेपथ्यका मुख्य गायक अमृत गुरुङले भने, ‘अब फेरि सिंगो समाज एउटै सुत्रमा गाँसिनु जरुरी छ, जसलाई संगीतले मद्दत गर्न सक्छ ।’

सशस्त्र द्वन्द्वको समय ‘सुन्दर शान्त नेपाल’, ‘शान्तिको लागि शिक्षा’ जस्ता अभियान चलाएको नेपथ्यको यो यात्रामा नेपालभरिका दर्शक रातो र चन्द्र सूर्यको झण्डा बोक्दै नाचेको हेर्ने रहर छ ।  देशको पूर्वी कुनादेखि पश्चिमी कुनासम्म आफ्ना लोक–रक धुन सुनाउने योजनाका साथ सुरु हुन लागेको कार्यक्रम मंसिर १६ गते विराटनगरबाट सुरु हुनेछ । त्यसपछि क्रमशः पश्चिमतर्फ लाग्ने नेपथ्य टोलीले अन्तिममा काठमाडौं फर्केपछि पुस १६ गतेका दिन भृकुटी मण्डपका दर्शकहरु सामु प्रस्तुत हुँदै अभियानको बिट मार्नेछ ।

यसपाला नेपथ्यले देश दौडाहाका क्रममा सांगीतिक मनोरञ्जनको योजना मात्र बोकेको छैन । अब मानवताको प्रवर्द्धनका लागि आफूलाई मञ्चहरूमा उभ्याउने अठोट बोकेको नेपथ्यले सडकमा रहेका असहायहरूका निम्ति आश्रय थलो उभ्याउन कन्सर्टकै माध्यमबाट सहयोग समेत जुटाउनेछ ।

आफ्ना गीतहरूलाई ‘मानवता प्रवर्द्धन अभियान’ सँग जोड्नका लागि नेपथ्यले मुलुकभर फैलिएको सामाजिक संस्था ‘मानव सेवा आश्रम’ सँग हातेमालो गरेको छ । घर परिवार र आफन्तविहीन भइ वा परिवार र समाजबाट अपहेलित भइ मानसिक रोग लागेका मानिसहरुको सेवामा समर्पित विशुद्ध मुनाफारहित संस्था ‘मानव सेवा आश्रम’ एक दसकयता सक्रिय छ । यो संस्थाले तीन वर्ष भित्रमा सिंगो मुलुकलाई सहयोगापेक्षी सडक आश्रित मानवरहित तुल्याउने संकल्प बोकेको छ ।

‘नेपथ्यको कन्सर्टलाई सफल तुल्याउन ७७ वटै जिल्लामा रहेका हाम्रा स्वयंसेवीहरु परिचालित गरिनुका साथै देशभरि नै टिकट बिक्री खुला भइसकेका छन्,’ मानव सेवा आश्रमका संस्थापक एवं अध्यक्ष रामजी अधिकारीले भने । उनले प्रचार प्रसारका विभिन्न माध्यमहरु प्रयोग गर्नेदेखि अनलाइनबाटै टिकट काट्न सकिनेसम्मका प्रबन्ध मिलाइसकेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप