बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बाराबाट रामसहायको दोस्रो जीत, संसदमा तेस्रो पाइला

सोमबार, १२ मङ्सिर २०७९, १८ : ३६
सोमबार, १२ मङ्सिर २०७९

बारा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित जसपाका नेता रामसहाय प्रसाद यादवले किसानहरूका लागि मलखादको कारखाना स्थापना गर्ने बताएका छन् । यस्तै प्रत्येक किसानको खेतमा सिंचाईको व्यवस्था गर्ने पनि उनको प्रतिबद्धता छ । 

 ‘बारा निर्वाचन क्षेत्र  नं २ पूर्णतया कृषिमा आधारित ठाउँ हो, यहाँ मलखाद, सिंचाई, कृषि प्राविधिक र बिउबिजनको ठुलो समस्या छ, म निर्वाचित भएलगत्तै रासायनिक मलको कारखाना स्थापना गर्न र हरखेतमा सिंचाईको व्यवस्था गर्न लागिपर्छु’ यादवले भने, ‘सुनकोसी डाइभर्सनलाई चाँडै जनताको खेतमा पुर्याउने, प्राविधिक शिक्षा स्थापना गरेर बेरोजगार युवाहरूलाई रोजगार सिर्जना गर्ने मेरो योजना छ ।’

यादवले ९ महिना वन मन्त्री हुदाँ  ३ वर्षदेखि अलपत्र अवस्थामा रहेको वन नियमावली बनाएर कार्यान्वयनमा ल्याउने काम गरेका थिए । किसानको खेतमा रहेका निजी वनलाई कृषिवाली सरह बिक्री वितरण गर्न पाउने व्यवस्था उनकै कार्यकालमा भएको थियो । ‘म वनमन्त्री हुँदा विदेशबाट वार्षिक अर्वौ रुपयाँको काठ आयात हुन्थ्यो, त्यसलाई रोकेर ३ वर्षभित्र काठमा आत्मनिर्भर हुने र ५ वर्षभित्रमा काठ निर्यात गर्ने नीति बनाएर अगाडि बढ्ने निर्णय भएको छ’ उनले भने । 

को हुन् यादव ?

बाराको सिम्रौनगढमा २०२७ सालमा जन्मेका यादव सामान्य कृषक परिवारका हुन् । उनले प्रारम्भिक र माध्यमिक  शिक्षा सिम्रौनगढमै गरे । उनले भारतको सितमणिबाट बिएसी र पर्साको वीरगञ्जस्थित ठाकुराम क्याम्पसबाट गणित विषयमा बीएड गरेका छन् । लामो समय शिक्षण पेसामा रहेका यादव २०४७ सालमा नेपाल सद्भावना पार्टीको शिक्षक मञ्चको बारा जिल्ला कमिटीमा आबद्ध भए । राजनीतिकै क्रममा २०५९ सालमा उनको भेट उपेन्द्र यादवसँग सप्तरीमा भयो । सोही क्रममा  मधेशी जनअधिकार फोरम भन्ने संस्था खोलियो र सो संस्था पछि  राजनीतिक दलको रुपमा गठन भएको थियो । सो संस्थालाई २०६० सालमा  राजनीतिक दलको रुपमा बारा जिल्लामा गठन गरेर यादव संयोजक भएका थिए । सबैभन्दा पहिला मधेशी जनअधिकार फोरम नेपालको विधिवत् अधिवेशन यादवले नै गराएका हुन् । त्यतिबेला जेपी गुप्ता, उपेन्द्र यादव पनि सो कार्यक्रममा सहभागी भएका थिए ।

उनले २०६२–६३ को मधेश आन्दोलन हुँदै २०६४ सालमा शिक्षण पेशा छोडेर  मधेशी जनाधिकार फोरमबाट संविधान सभा सदस्यमा समानुपातिकबाट प्रतिनिधित्व गरे । २०६५ सालमा पार्टीको महासचिव भएर समेत उनले काम गरे। राजनीतिको दौरानमा यादव ९० दिन  प्रहरी नियन्त्रणमा बसेका थिए ।

 १२ वर्ष पार्टीको महासचिव भएर काम गरेका यादव अहिले जसपाको  कार्यकारिणी सदस्य हुन् । उनी २०७४ मा पनि बारा क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । प्रत्यक्षतर्फ दुई पटक निर्वाचित उनको समानुपातिकको कार्यकालसमेत गरी संसदमा तेस्रो पाइला हो ।  यो पटक यादव  सत्ता गठबन्धनका उम्मेदवार शिवचन्द्र कुशवाहलाई ३५४ मतान्तरले पराजित गर्दै दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप