बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कर्णालीमा नाटकघर बनाउने सपनामा समर्पित एक दम्पती​

मङ्गलबार, १३ मङ्सिर २०७९, ०९ : ०३
मङ्गलबार, १३ मङ्सिर २०७९

रंगकर्मी हिराबिजुली नेपाली र विष्णुमाया परियार (जो दम्पती हुन्), यतिखेर काठमाडौंमा छन् । ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ले सोमबार साँझ ‘काठमाडौंले छेकेको नेपाली रंगमञ्चको दुःख ः मञ्च, दर्शक कि नाटक ?’ शीर्षकमा छलफल ग¥यो, जसमा हिराबिजुली एक वक्ता थिए । 

विगत १८ वर्षदेखि रंंगमञ्चमा सक्रिय हिरा पछिल्लो समय ‘कर्णाली कला केन्द्र’मार्फत मुगुका गाउँघरमा नाटक गर्छन् । उनीसँग अहिले स्थानीय १४ रंगकर्मी छन् ।

काठमाडौंमा नाटक कर्म सिकेर ०६८ सालतिर गाउँ फर्कंदा हिरा एक्लै थिए । आफूसँगै रंगकर्ममा रमाउने साथीहरू खोज्दै जाँदा उनले जीवनसाथी नै भेटे । सानैदेखि रंगमञ्च कर्ममा रुचि राख्ने विष्णु हिराको रंगमञ्चरूपी रथमा एक पांग्रा भएर आइन् । 

यो दम्पती पछिल्लो १२ वर्षदेखि नाट्य विधामार्फत आन्दोलनमा छ । 

दलितहरू मन्दिर छिर्दा ‘भूकम्प’ गयो
मुगुका दलितहरू छायानाथ रारा–२ मा रहेको चैन मन्दिर प्रवेश गर्ने कार्यक्रम थियो । दानसिंह परियार नेतृत्वको यस आन्दोलनमा जिल्लाभरका गैरदलित नेता पनि उपस्थित थिए । जुलुससहित मन्दिरछेउ पुगेपछि गैरदलित नेताहरू एकाएक हराए । दलितहरू मन्दिर प्रवेश गर्दै छन् भन्ने खबर पाएर गाउँलेहरू त्यहाँ लाठी–भाटासहित जम्मा भइसकेका थिए । त्यस दिन दलितहरू पछि हटेनन्, मन्दिरमा छिरेर पूजा गरे, परिवर्तनको उद्घोषस्वरूप शंख–घन्ट बजाए । 

यस आन्दोलनको अग्रमोर्चामा हिराबिजुलीको दम्पती पनि थियो । त्यसको भोलिपल्ट गोर्खाको बारपाकलाई केन्द्रबिन्दु बनाएर ठूलो भुइँचालो गयो । मुगुमा हल्ला चलाइयो– दलितहरू मन्दिरमा पसेकाले अनिष्ट भयो, काठमाडौंमा भुइँचालो गयो ।  


विष्णु भन्छिन्, ‘मैले त्यतिबेला भनेकी थिएँ– यसरी मान्छे मर्ने भए काठमाडौंका होइन, यहाँका मान्छे मर्नुपर्ने हो । यहाँका त कोही मरेनन् !’ 

०७४ को निर्वाचनमा विष्णुका दाइ (ठूलाबाका छोरा) दानसिंह परियार मुगु ‘क’बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार थिए । त्यतिबेला गाउँका गैरदलितले भने– ‘यसलाई चैनको देउता लाग्छ, जित्दैन ।’ दानसिंहले जिते, चैन देउताले गैरदलितका विभेदकारी कुरा सुनेनन् ।  

०७० सालतिर, राष्ट्रिय जनमोर्चासँग आबद्ध स्थानीय एक नेताका साला तत्कालीन कार्कीबाडा गाविसको सचिव थिए । काठमाडौंबाट नाटक सिकेर, केही चर्चा कमाएर गाउँ फर्केका हिराले गाउँको बेथिति र विभेद हटाउने पहल थाल्न चाहन्थे । हिराले गाविस कार्यालयलाई दबाब दिन ‘युवा सञ्जाल’ गठनको प्रस्ताव राखे, युवा सञ्जालमा उनी आफैँ अध्यक्ष बन्न खोजेका थिए, तर पत्त्याइएन । राजेश्वर मल्ललाई सञ्जालको अध्यक्ष बनाइयो । 

पछि हिराको वडामा काठेपुल बनाउने बजेट पर्यो । यस्ता योजना अगाडि बढाउन स्थानीय प्रशासन ऐन अनुसार उपभोक्ता समिति बनाउनुपर्थ्यो । सुटुक्क समिति बनाएर क्षत्रीहरू मात्रै समेटेको हिराले चाल पाए । नयाँ समावेशी उपभोक्ता समिति गठन गर्ने सम्बन्धमा उनले गाउँका दलितलाई संगठित गरे, ती स्थानीय नेतासँग उनीहरूको छलफल पनि भयो । छलफलमा ती नेता दलितलाई कुट्ने लक्ष्यसहित आएका रहेछन् । दुई समूहबीच झडप भयो, एक दलित घाइते हुन पुगे । झडपका बेला उनीहरूले जातका आधारमा गालीगलौज गरेका थिए । ‘जातीय भेदभाव तथा छुवाछुत कसुर सजाय ऐन’ बमोजिम उजुरी दिन दलितहरू जिल्ला प्रहरी कार्यालय पुगे । 

०६८ मा आएको यस ऐनबारे त्यहाँका डिएसपी र सिडियोलाई थाहै थिएन । ‘मैले काठमाडौंबाट यो ऐन लगेको थिएँ, उनीहरूलाई देखाएँ । तैपनि उनीहरूले उजुरी दर्ता गर्न मानेनन्,’ हिरा भन्छन्, ‘तीन–चार दिनसम्म उजुरी दर्ता भएन ।’

यतिन्जेल त्यहाँ वरपरका डेढ सयजति दलित युवा जम्मा भइसकेका थिए । युवाको दबाबले उजुरी दर्ता गर्ने परिस्थिति बन्दै थियो । आखिर धेरै कुरा बिगार्ने नेपाली राजनीतिले पनि हो । जातीय विभेदविरुद्धको उजुरी दर्ता हुँदा राष्ट्रिय मुद्दा बन्थ्यो, हल्ला हुन्थ्यो, जो गणतन्त्र नेपालका नेताका लागि नाक काटिनुजत्तिकै थियो । जिल्लाका नेताहरू जम्मा भएर उजुरी दर्ता नगर्ने वातावरण बनाउन पहल गरे । उजुरी नगर्ने तर गल्ती गर्नेले क्षतिपूर्ति तिरेर सार्वजनिक रूपमा माफी माग्ने प्रस्ताव उनीहरूले राखेका थिए, यसमा दलितहरू सहमत भए । ५० हजार रूपैयाँ क्षतिपूर्ति तिरेर सार्वजनिक रूपमा स्थानीय नेताले माफी मागेपछि गाउँमा नजीर बस्यो– कम्तीमा नेताहरू दलितप्रति जिम्मेवार हुनुपर्छ, बोल्दाखेरी होसियार हुनुपर्छ । यस घटनाबाट छुवाछुतसम्बन्धी कानुन रहेछ भन्ने पनि त्यहाँका गैरदलितले थाहा पाए । 

यस घटनाको केही समयपछि त्यहाँका दलितमाथि आक्रमणको प्रयास भयो, तर दलितले त्यसको सशक्त प्रतिरोध गरे । छायानाथ रारा नगरपालिकामा दलितहरूको संख्या ठूलो छ । 

‘ठूला कुरा गर्दा जेल’
ग्वामे भेरीकारका नाति, श्यामे दमाइका छोरा हुन् हिरा । भेरी (दमाहा) बाजा बजाउने भएकाले ग्वामेसम्मका पुस्ता समाजमा भेरीकार भनेर चिनिन्थे । 

दलितलाई बाँधा (दास) बनाउने समाजमा ग्वामे भेरीकार गाउँका सामन्तसँग आँखा जुधाएर बोल्ने हिम्मत राख्थे । एकपटक ग्वामेका भाइलाई जुम्लास्थित अञ्चलाधीश कार्यालयमा थुनियो । राष्ट्रिय पञ्चायतका सदस्य भइसकेका व्यक्तिका बाले ग्वामेका भाइलाई जेल हालिदिएछन्, अनेक बहाना बनाएर । 

ग्वामेले यो खबर बेलुका पख पाएका थिए । खबर पाउनेबित्तिकै रातभरि खाली खुट्टा हिँडेर उनी जुम्ला पुगे । न्यायाधीशलाई भेटेर बिन्ती गरे– यो मेरो भाइ हो, जेल पर्नुपर्ने मान्छे त अर्कै हो । मेरो निर्दोष भाइलाई छाडिदिनुस्, यसको जिम्मा म लिन्छु ।


न्यायाधीशले केहीबेर केरकार गरेपछि सहीछाप गराएर ग्वामेका भाइलाई छाडिदिए । पुनः फसाउँछन् कि भन्ने डरले उनले भाइलाई तुरुन्तै भारततिर पठाए । ‘यो खालको चलाखी र चेतना मेरो हजुरबामा थियो,’ हिरा आफ्ना पुर्खाको गाथा बयान गर्छन्, ‘के गर्ने ? यस्ता कथा लेखिँदैनन् ।’ 

ग्वामेको भाइलाई थुन्नुपर्ने कुनै कारण थिएन, थियो त उही ठूला कुरा गर्ने स्वभाव । लुगा सिलाएर र खेतीपाती गरेर जीविका चलाउने ग्वामेका दाजुभाइ ठूलाबडाको गुलामी गर्न राजी थिएनन् । उतिबेला मुखिया जिम्मावालले करका रूपमा जनतासँग घिउ, अन्नबाली आदि उठाउँथे । पानी नचल्ने दलितहरूले जिम्मावाल मुखियाको खेतबारीमा काम गरिदिनुपथ्र्यो । यस्तै आदेश ग्वामेका दाजुभाइलाई स्वीकार हुँदैनथ्यो ।​

‘बाले देखाएको काठमाडौं’ 
श्यामे दमाई दमको रोगसँग हारे । कांग्रेसका सक्रिय कार्यकर्ता उनी मुगुका नेता हस्तबहादुर मल्लसँग बेलाबेला काठमाडौं आउने–जाने गरिरहन्थे । 

मुगुमै सबैभन्दा पहिले पाउदानी (खुट्टाले चलाउने) मेसिन किनेका श्यामेसँग सम्पत्ति थिएन, तर साहस ठूलै थियो । उनले गमगढीमा अर्काको पसलअगाडि मेसिन राखेर जीविका चलाउँथे । कमाई ठीकै थियो, चार छोरामध्ये साहिँलो हिरालाई उनले काठमाडौंको ठूलो स्कुलमा पढाउन चाहेका थिए ।

०५६ सालमा, गाउँमा कक्षा ५ मा पढ्दै गरेका हिरालाई श्यामेले हेलिकप्टर चढाएर काठमाडौं ल्याए । अक्षर चिन्ने श्यामेलाई थाहा थियो, छोराहरूले पढे भने आफैँ केही न केही गर्ने छन् । कहाँ के पढाइ हुन्छ भन्ने श्यामेलाई थाहा थिएन, नेताहरूसँग कुरा गरेर उनले छोरालाई तिनकुनेस्थित एक निजी स्कुलमा पढाउने व्यवस्था मिलाए । त्यस स्कुलको होस्टेलमा हिरा केही दिन सुरक्षा गार्डसँग बस्नुपर्ने भयो । भर्खर मुगुबाट आएका हिराको मन जहाजले तान्थ्यो । बेलाबेला त्रिभुवन विमानस्थलमा अवतरण हुने जहाज उनी बसेको घरै माथिबाट जान्थ्यो । जहाजको आवाज सुनेसँग जहाज हेर्न हिरा खुर्र दौडेर छतमा पुग्थे । ‘खै किन हो ! ती गार्डले म छतमा जहाज हेर्न गएको मन पराउँदैनथे । छतमा गयो भनेर मलाई नराम्रोसँग चुट्थे,’ हिरा विभेद र दुःखको एउटा प्रकार सुनाउँछन्, ‘एक दिन मलाई गार्डले खुट्टामा समाएर सिँडीमा लतारे । मेरो ढाडको छाला खुइलिएको थियो ।’

त्यसको भोलिपल्ट हिरा त्यहाँबाट भागे । कोटेश्वर हुँदै उनी हात्तीवनसम्म हिँडेरै पुगे, जहाँ हस्तबहादुर मल्लको घर थियो । बासँग हिँड्दाहिँड्दा उनले मन्त्रीको घरसम्म पुग्ने बाटो चिन्ने भएका थिए । मन्त्रीकै मान्छेमार्फत उनी मुगु फर्कंदै थिए, नेपालगन्ज पुगेपछि बालाई भेटे । छोरालाई स्कुलमा छाडेर फर्केका श्यामे नेपालगन्जमा मुगु जाने हेलिकोप्टरको खोजीमा रहेछन् । छोरालाई अकस्मात आफ्नो अगाडि देख्दा उनी झस्किए । छोरालाई काठमाडौंंमा पढाउने आफ्नो सपना तुहिएको आभास उनलाई हुँदो हो । हिराबाट सबै कुरा सुनेपछि उनको अनुहार अँधेरो भयो, जसलाई हिराले प्रस्ट नियाल्न सक्थे ।

बाँच्दासम्म बाले अनेक दुःख गरेर उनलाई अभावको आभास हुन दिएका थिएनन् । बा बितेपछि हिराको जीवन पहिलेजस्तो सजिलो रहेन । 

एसएलसी पास भएपछि हिरालाई बाको उही पुरानो सपनाले तान्यो । आफैँ संंघर्ष गरेर पढ्ने इच्छाशक्ति र २० हजार रुपैयाँ बोकेर उनी ०६१ सालमा काठमाडौं आए । एसएलसी दिएपछिको खाली समयमा मजदुरी गरेर उनले पैसा जोडेका थिए । 

सहरमा वर्ग र स्थार्थ बमोजिमको साथी र सम्बन्ध बन्छ । दुःख र अभावले उनलाई ‘समाज विकास छात्रवास’मा पुर्‍याएको थियो, जहाँ दलित छात्र बस्छन् । खर्च जुटाउन उनले वागबजारको एक होटलमा काम गर्थे, त्यो होटलमा यौन व्यवसाय पनि चल्थ्यो । एउटै महिला पालैपालो कैयौँ पुरुषको तिर्खा मेट्न आएको देख्दा संवेदनशील प्रकृतिका हिरा गल्न पुग्थे । अन्ततः उनले त्यहाँको काम छाडे । 

दसैँ नजिकिँदै थियो, यता जति खोजे पनि उनले अर्को जागिर पाउन सकेनन् । सपना किनबेच हुने बनावटी सहरमा दुःख गर्नुभन्दा आफ्नै गाउँठाउँको स्वच्छ हावापानीमा दशनंग्रा खियाउने निर्णयमा उनी पुगे । मुगु पुग्न मात्रै उनलाई कम्तीमा ५ हजार रुपैयाँ चाहिन्थ्यो । यसपछि उनले मिन भाम (आजका फिल्म निर्देशक)लाई सम्झिए । हिराका बा सानै छँदा हिराका हजुरबुवा बितेका थिए । सीप सिकेर आत्मनिर्भर हुनुअघि हिराका बा केही समय अरुको घरमा काम गर्न बाध्य भए । यही मेसोमा उनी मिनको परिवारमा केही समय काम गर्न बसेका थिए, कर्णालीमा यसलाई बाँधा बस्नु भनिन्छ । 

हिरा मिनलाई अंकल भन्छन् । काठमाडौंमा रहेका मिनलाई भेटेर उनले भने, ‘अंकल ! मलाई घर फर्कने भाडा दिनुपर्‍यो ।’ 

त्यतिबेला प्रज्ञा प्रतिष्ठानमा नाटक महोत्सव हुँदै थियो । मिनले त्यस महोत्सवका लागि एउटा नाटक मञ्चन गर्दै थिए । उनले हिराको जीवन बदल्ने प्रस्ताव राखे– ‘तिमी मसँग काम गर, पाँच हजार रूपैयाँ दिन्छु ।’
पाँच हजार भन्नेबित्तिकै हिराको मनमा हिसाब चल्न थाल्यो, उनले उत्तर निकाले– यो पैसाले त म छात्रवासमा चार–पाँच महिना टिक्न सक्छु । घर जानका लागि उचालिएका उनका पाइला रंगमञ्चतिर डोरिए । यस क्रममा उनले प्रज्ञा प्रतिष्ठानमा दुई महिनाजति नाटकको अभ्यास गरे, नाटकप्रति उनको दिल बस्दै गयो । 

त्यतिबेला काठमाडौंका केही रंगकर्मीले कर्णालीमा नाटकघर बनाउने योजना बुन्दै थिए । यसका लागि एउटा मुगुकै संस्था आवश्यक थियो । यही आवश्यकताले ०६४ जेठमा कर्णाली कला केन्द्र नामको संस्था जन्मियो । जसमा मिन अध्यक्ष र हिरा उपाध्यक्ष थिए । यही संस्थामार्फत उनीहरूले नयाँ बन्ने संविधानका विषयमा चेतना फैलाउने नाटक मञ्चन गर्ने परियोजना पाउन थाले । विराटनगर र मुगुका विद्यार्थीलाई काठमाडौं ल्याएर तीनमहिने नाट्य प्रशिक्षण पनि यस संस्थाले दियो । सुनील पोखरेल लगायतले प्रशिक्षण दिने तालिममा हिरा पनि सहभागी थिए । कर्णालीबाट आएका प्रशिक्षार्थीले सुनाएका कथालाई समेटेर नयाँ नाटक ‘कर्नाली दख्खिन बग्दो छ’को रुपरेखा कोरियो । सुनील पोखरेलको निर्देशन र परिकल्पनामा तयार भएको यो नाटक गुरुकुल नाटकघरमा ५१ दिनसम्म मञ्चन भयो । त्यतिबेला नेपाली  मिडियामा निकै चर्चा कमाएको यस नाटकमा हिरा थुप्रै भूमिका देखिएका थिए, रंगमञ्च वृत्तमा उनको पनि चर्चा हुन थाल्यो । 

यो नाटक भारतको दिल्लीमा मञ्चन गर्ने तयारी हुँदै थियो । तर यस नाटकका कलाकारलाई कसैले भनेछ, ‘तिमीहरू मुगुबाट काठमाडौंमा भात खान नपाएर आएका हौ ।’ मुगुका कलाकारका लागि योभन्दा ठूलो अपमान थियो । भर्खर नाटक सिक्दै गरेका कलाकारहरू मुगु फर्केर ‘कर्णाली नाट्य समूह’ नामक संस्था खोले । हिरा भने काठमाडौंमा मिनसँगै  थिए ।

विष्णुको साथ
विवाह हुँदा विष्णुले कक्षा १० मा पढ्दै थिइन् । विवाहपछि हिराले उनलाई पढाउन र नाटक सिकाउन जोड गरे । मुगुजस्तो गाउँमा दम्पती नै नाटकमा लाग्नु एकखालको पागलपन थियो । 
श्रीमतीलाई नाटक सिकाएर दुवैजना रंगमञ्चमै समर्पित भएर लाग्ने हिराले सोचेका थिए । स्कुल र गाउँमा हुने सांस्कृतिक कार्यक्रममा विष्णु गाउने–नाच्ने गर्थिन्, पार्टीका मान्छेले गर्ने सडक नाटकमा पनि कहिलेकाहीँ अभिनय गर्थिन् । रंगमञ्चमै सक्रिय श्रीमान् पाउँदा उनी खुसी थिइन् । तर उनलाई बाहिरको शिक्षकसँग नाटक पढ्न मन थियो । ‘उहाँ (हिरा)ले सिकाउँदा म जिस्कन्थेँ, पत्याउँदिनथेँ । उहाँ अरुका लागि पो रंगकर्मी, मेरो त श्रीमान् हो नि,’ विष्णु हाँस्दै भन्छिन्, ‘तैपनि मैले धेरै कुरा उहाँबाट सिकेँ ।’ 

विष्णुले हिरासँगै सिकेर सयौँ नाट्य प्रस्तुति र गर्भछिटाजस्तो नाटकमा अभिनय गरिन् । गर्भछिटा पहिलो ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ (सन् २०१९) मा छानिएको थियो ।  

दुई वर्षअघि मन्डला थियटरले रंगमञ्चसम्बन्धी १८ महिने प्रशिक्षण दिने भयो, विष्णु त्यसमा सहभागी भइन् । रंगमञ्चको यो औपचारिक कक्षाले आफूलाई थप सिर्जनशील बनाएको विष्णुको अनुभव छ ।

रंगमञ्चको कक्षाकै क्रममा उनले नाटक तयार गर्ने अभ्यास गरिन्, यसै क्रममा जन्मियो, कचहरी नाटक ‘अन्तर’ । आफ्ना दाइ (दानसिंह परियार) प्रदेशसभा चुनाव लड्दा सुन्नुपरेको लाञ्छना र हेपाईलाई उनले यस नाटकको कथा बनाएकी थिइन् । ०७४ को निर्वाचनमा मुगुबाट प्रतिनिधिसभाका लागि गोपालबहादुर बम र मुगु ‘क’बाट प्रदेशसभाका लागि दानसिंह परियार उठेका थिए । त्यतिबेला मुगुका कांग्रेसी (विशेषतः ठकुरीहरू)ले नारा बनाए– ‘माथि बम हराऊँ, तल डुम हराऊँ’ ।  

यही विभेदकारी सोचलाई विष्णुले नाटक ‘अन्तर’को विषयवस्तु बनाएकी थिइन् । 

सुर्खेतमा नाटक घर
‘कर्णाली दख्खिन बग्दो छ’को अपार सफलतापछि हिराले अनुप बरालको एक्टर्स स्टुडियोमा पनि तीन महिने नाट्य प्रशिक्षण लिने अवसर पाए । काठमाडौंमा उनको जीविका चलेकै थियो । ०६८ सालमा उनले कसोकसो सोच्न पुगे– कर्णालीको भोको पेट र नांगो छाती देखाएर म रंगमञ्चमा चिनिएँ । अब गाउँ फर्केर रंगमञ्चसम्बन्धी काम गर्छु । 

अग्रज रंगकर्मीसँगको संगतबाटै उनले गाउँमा रंगकर्म गर्न सक्छु भन्ने आँट बटुलेका थिए । कर्णाली कला केन्द्रको कागजात लिएर उनी एक्लै मुगु फर्के, उनलाई लिखित रूपमै संस्थाको कार्यवाहक अध्यक्ष दिइएको थियो । मुगु फर्केर उनले कर्णाली नाट्य समूहलाई आग्रह गरे– सँगै अघि बढौँ । तर त्यस्तो माहोल बनेन । 

आफ्नै गाउँठाउँमा रंगमञ्चको बलियो जग उठाउँछु भन्ने अठोटबाहेक उनीसँग अरु केही थिएन, त्यसमाथि उनी एक्लै थिए । उनी सम्भावनाको खोजीमा लागे । आफ्नै नगरपालिकाभित्रको चैन बालमन्दिरमा दृष्टिविहीनहरूको स्कुल थियो, त्यस स्कुलका विद्यार्थीलाई उनले नाटकसम्बन्धी ज्ञान दिन थाले । ३० मिनेटको सडक नाटक तयार भयो, जसलाई उनीहरूले गमगढीको मिलनचोकमा प्रदर्शन गरे । हिरालाई उदाहरण दिनु थियो– दृष्टिविहीनले कलामा धेरै गर्न सक्छन् । त्यतिबेला उनीहरूले ‘दान बाकस’ राखेका थिए, जसमा पाँच हजार रुपैयाँ संकलन भयो, हिराका लागि यो अर्बौंको ऊर्जा बन्यो, ‘कर्णाली कला केन्द्र’ संस्था उद्घाटनको दियो सल्केको पनि उनले आभास गरे । 

रंगमञ्चमा रुचि राखेर आउने गाउँका केटाकेटीलाई उनले रंगमञ्चको आधारभूत ज्ञान सिकाउँथे । यसरी उनको समूह बन्दै गयो । उनको समूहले सडक नाटक तयार गरेर ठाउँठाउँमा मञ्चन गथ्र्यो । एकपटक उनीहरूले सडक नाटक मञ्चन गर्दै थिए, कर्णाली नाट्य समूहका सदस्य आई दमाहा बजाएर अवरुद्ध गरे । 

नाट्य क्षेत्रमा पनि राजनीतिक क्षेत्रमा जस्तै व्यक्तित्व टकराब र श्रेय लिने होडबाजी छ । ‘यहाँ जो काठमाडौंमा छ, जसले नाटकघर चलाउँछ, उसको पछि लागेर हिँड्यो भने साथ पाइन्छ । माया पाउने दासले हो, प्रतिरोधको आवाज उठाउने सधैँ निषेधमा पर्छ,’ हिरा रंगमञ्च क्षेत्रको विकृति भन्छन्, ‘यस कारण नाट्य समूहहरू टुक्रिँदै छन् । यसका धेरै उदाहरण देखिन्छ ।’ 

दलित भएकै कारण आफूहरूले मुगुमा सरकारी स्तरबाट सहयोग नपाएको उनको गुनासो छ । ‘कलामा काम गर्छु भन्दा कथित ठूला जातको व्यक्तिले नगरपालिकाबाट सजिलै पाँच लाख रूपैयाँ पाउँछ । राज्य संयन्त्र नै जातिवादी छ,’ हिरा भन्छन्, ‘मेरो आकलनमा कर्णालीमा ९० प्रतिशत कलाको स्वामित्व दलितहरूमा छ ।’ 

उनी उदाहरण दिन्छन्– गीत गाउने को ? दलित । नाच्ने को ? दलित । बजाउने को ? दलित । कथा भन्ने को ? दलित । मूर्ति बनाउने को ? दलित । ‘कर्णालीमा कला–संस्कृतिको प्रवद्र्धन किन हुँदैन भने, कलालाई प्रवद्र्धन गर्नु भनेकै दलितहरूको प्रवद्र्धन गर्नु हो भन्ने सामन्तहरूले बुझेका छन्, जो उनीहरू चाहँदैनन्,’ हिरा भन्छन्, ‘म पछिल्लो १० वर्षदेखि यही मागमा छु– राइट टु कल्चर । संस्कृतिमा हाम्रो अधिकार हुनुपर्छ । स्थानीय निकाय यस कुरामा उत्तरदायी हुनुपर्छ । बाजा बजाउने मान्छेले बाजा बजाएरै सम्मानको गाँस खाने परिस्थिति बनोस् ।’ 

अनेक बाधाका बीच पनि हिरा हारेनन् । मुगुसँगै कालिकोट, हुम्लातिर उनले रंगमञ्चका प्रस्तुति दिँदै गए । 
०६४ सालमा हिराको मस्तिष्कमा रोपिएको कर्णालीमा नाटकघर बनाउने सपनाले यतिखेर मूर्त रूप लिँदै छ । सुर्खेतमा २० वर्षसम्म भाडा तिर्नुनपर्ने गरी उनीहरूले जग्गा पाएका छन् । यतिखेर भौतिक निर्माणका लागि पैसा जुटाउन उनीहरू खटिएका छन् । 

‘हामी यस नाटकघरबाट उसलाई बोल्न सक्ने बनाउँछौँ, जो कला र साहित्यका माध्यमबाट आफ्ना कुरा राख्न चाहन्छ,’ हिरा भन्छन्, ‘उसका लागि यो नाटघर प्रभावकारी हुनेछ ।’

अहिलेसम्म मुगुका गाउँगाउँमा नाट्य प्रस्तुति दिन उनीहरूलाई नाटकघर चाहिएको छैन । ‘खुला आकाशमुनि मुक्त रंगमञ्चीय प्रस्तुति दिँदै आएका छौँ,’ हिरा भन्छन्, ‘खुला आकाश, गाउँघर नै हाम्रा लागि रंगमञ्च हो ।’

यसमा विष्णु थप्छिन्, ‘हामी त अहिले उडिरहेका छौँ, डुलिरहेका छौँ । साँझ बास बस्न चराचुरुंगीलाई पनि आफ्नो घर चाहिन्छ । सुर्खेतमा नाटकघर बनाउन सक्यौँ भने, त्यो हाम्रो सपना बास बस्ने घर हुनेछ ।’ 
हिरा आफ्नो प्रमुख लक्ष्य भन्छन्– सुर्खेतको नाटकघरमा यस्ता विषयवस्तु प्रस्तुत हुनेछन्, जसले नेता र समाजलाई सामाजिक विभेद हटाउन र कला–साहित्यको प्रवद्र्धन गर्नतिर प्रेरित गर्नेछ ।  

हिराको बुझाइमा यो देशमा नाटकमा जनवाद आएको छैन । नाटकको क्षेत्रमा पुँजीवादीहरू छन् । ‘काठमाडौंका मान्छे मुगु, हुम्ला, जुम्लातिर गएर नाटक गर्छन् तर स्थानीय कलाकारलाई बेवास्ता गर्छन् । एनजिओ, आइएनजिओले विभिन्न दायरा राखेका छन्, अंग्रेजीमा प्रपोजल लेख्नुपर्छ,’ हिरा स्थानीय कलाकार उपेक्षामा पर्नुको कारण भन्छन्, ‘त्यसैले सुदूर भूगोलका स्थानीयलाई नाटक गर्न सहज छैन । हामी त ढुंगामाथि उम्रेका फूल हौँ ।’

हिराहरूलाई नाटक गर्न आफ्नै माटो चाहिएको छ, जसको नजिक–नजिक उनीहरू पुगिसकेका छन् । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप