शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय फिल्म समारोहमा अध्यक्षले कश्मीर फाइल्सलाई ‘भल्गर र प्रोपोगान्डा’ भनेपछि हंगामा

मङ्गलबार, १३ मङ्सिर २०७९, १० : ३२
मङ्गलबार, १३ मङ्सिर २०७९

गोवामा ५३ औँ भारतीय अन्तर्राष्ट्रिय फिल्म समारोह (आइएफएफआई) मा त्यतिबेला एउटा ठूलो विवाद निम्तियो जब फेस्टिबलका ज्युरी चेयरम्यान इजराइली फिल्म निर्माता नदाव लपिडले ‘कश्मिर फाइल्स’ लाई ‘प्रोपोगान्डा र भद्दा’ को संज्ञा दिए ।

सोमबार ५३ औँ इन्टरनेशनल फिल्म फेस्टिबल अफ इन्डियाको समापन समारोह थियो र छानिएका फिल्मको घोषणा अघि नदाव लपिडलाई मञ्चमा बोलाइएको थियो ।

लपिडले भने, ‘हामीले डेब्यू कम्पिटिसनमा सात फिल्म र इन्टरनेशनल कम्पिटिसनमा १५ फिल्म हेर्यौँ । यसमा १४ फिल्म सिनेमेटिक क्वालिटीको थियो र यिनीहरुले निकै शानदार बहस सिर्जना गरे । १५ औँ फिल्म ‘कश्मिर फाइल्स’ हेरेपछि हामी सबै विचलित र हैरान थियौँ । यो एक प्रोपोगान्डा, भद्दा र भल्गर फिल्म जस्तो लाग्यो जुन यस्तो खालको प्रतिष्ठित फिल्म फेस्टिबलको कलात्मक प्रतिस्पर्धाका लागि अयोग्य थियो ।’

आफ्नो भाषणमा उनले भने, ‘यो मञ्चबाट खुलेर आफ्ना भावना साझा गर्दा म पूर्ण रुपमा आफूलाई सहज महसुस गरिरहेको छु किनभने यो फेस्टिबलको आत्माले गम्भीर बहसलाई  निश्चित रुपमा स्वीकार गर्न सक्छ जुन कला र जीवनका लागि आवश्यक छ ।’

आफ्नो भाषण सुरु गर्नु अघि लपिडले साधारणतया उनले लिखित भाषण नदिने तर यसपटक उनले लिखित भाषण पढेको कारणसमेत प्रस्तुत गरे । उनले भने, ‘म यसपटक लेखेको भाषण पढ्नेछु किनभने म सटिकताका साथ आफ्नो कुरा भन्न चाहन्छु ।’

यो समारोहमा केन्द्रीय सूचना एवं प्रशारण मन्त्री अनुराग ठाकुर पनि उपस्थित थिए ।

समारोह अघि अनुराग ठाकुरले एक अन्तरवार्तामा भनेका थिए, ‘म राम्रोभन्दा राम्रो फिल्म हेर्न चाहन्छु र राम्रोभन्दा राम्रो फिल्म बनोस् भन्ने प्रयास गर्छु ।’

सोसल मिडियामा हंगामा

लपिडको भाषणको विषयमा सोसल मिडियामा विभिन्न खालका प्रतिक्रिया आइरहेका छन् ।

ज्योति जीत नामका एक प्रयोगकर्ताले ट्विट गरेका छन्, ‘उनीहरुको टिप्पणी, जेनोसाइडद्वारा पीडितको अपमान हो र भारतीयको भावनालाई आहत गर्ने किसिमको छ ।’

टिआरएसका सोसल मिडिया कन्विनर वाई सतिश रेड्डीले ट्विट गर्दै भनेका छन्, ‘विश्वव्यापी रुपमा भारतको ब्रान्डलाई धुमिल गर्न बीजेपी सफल भएको छ ।’

को हुन् नदाव लपिड ?

नदाव लपिड इजराइली फिल्म निर्माता हुन् र उनलाई ज्युरीका अध्यक्ष बनाइएको थियो ।

सन् १९७५ मा इजराइलको शहर तेल अविवमा जन्मिएका नदाव लपिडले तेल अविव युनिभर्सिटीबाट दर्शनशास्त्रको पढाई गरेका छन् । सैन्य सेवामा गएपछि लपिड केही समयका लागि पेरिस गएका थिए ।

पछि लपिड इजराइल फिर्ता भए र यरुशलमको फिल्म एन्ड टेलिभिजन स्कूलबाट डिग्री लिए ।

गोल्डन बियर र कान ज्युरी प्राइज हासिल गर्ने लपिडको चर्चित फिल्ममा पुलिसम्यान, किन्डरगार्टन टिचर समावेश छन् ।

आफ्नो बयानले सधैँ विवादमा रहने विवेक अग्निहोत्रीले ‘कश्मीर फाइल्स’ लाई निर्देशन गरेका छन् जसमा अनुपम खेरले मुख्य भूमिका निभाएका छन् । मिथुन चक्रवर्ती र पल्लवी जोशी पनि यो फिल्ममा मुख्य भूमिकामा छन् ।

‘कश्मीर फाइल्स’ आफ्नो रिलिजदेखि नै विवादमा घेरिएको छ र थुप्रै फिल्म क्रिटिकले यसलाई प्रोपागान्डा फिल्मको संज्ञा दिइसकेका छन् ।

यो फिल्म कथित रुपमा सन् १९९० को दशकमा कश्मीर पंडितको पलायन र हत्यामा आधारित छ ।

यो फिल्म ११ मार्चमा रिलिज भएको छ । थुप्रै हलमा यो फिल्म हाउसफुल रह्यो । देशका चार राज्यले फिल्मलाई करमुक्त घोषित गरेको थियो ।

संयोगले यी चार राज्य (हरियाणा, मध्य प्रदेश, कर्नाटक र गुजरात) बिजेपी शासित हुन् ।

यस वर्ष रिलिज भएको फिल्ममा यसले सबैभन्दा धेरै कमाई गरेको दाबीसमेत गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप