शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा आज के के नाटक छन् ?

मङ्गलबार, १३ मङ्सिर २०७९, १२ : ०८
मङ्गलबार, १३ मङ्सिर २०७९

राजधानीमा केही दिन जारी नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) मा आज दुई नाटकको अलवा नृत्य नाटिका र अडियो नाटक समेत प्रस्तुत गरिने भएको छ । आयोजक मंण्डला थियटरले एक बिज्ञप्ती मार्फत आजको कार्यक्रमको जानकारी दिएको हो ।

विज्ञप्‍तिका अनुसार मोहोत्सवमा आजै कुञ्ज थिएटरमा अमेरिकी अडियो नाटक ‘ट्रि कन्फेसन’ बारे जुम कक्षा हुनेछ । ‘ट्रि कन्फेसन’ मा हामीले बिर्सिसकेको मानव र बोटविरुवाबीचको अन्तरसम्बन्धित पारिस्थितिक प्रणाली बारेको कथा एउटा रुखले बताउँछ । दर्शक÷श्रोताहरुले रुखको मुनि बसेर रुखको स्वीकारोक्ति सुन्न पाउनेछन् । यस अडियो नाटकलाई जेनी दिन बडरले लेखेका हुने भने एरिन बी मिले निर्देशन गरेका हुन् ।

त्यस्तै उरुग्वेको एन्ड्रेस फागियोलिनो र बेटिना डोमिन्गोएज निर्देशित नाटक ‘रियो’ पनि मञ्चन हुँदैछ । यो थिएट्रिकल क्लाउन पर्फमेन्समा खडेरीले पिरोलेको ठूलो क्षेत्र नजिक रहेको सहरको कथा भन्छ । जब दुईजना मानिसलाई उक्त खडेरी पर्ने क्षेत्रको बारेमा पत्ता लगाउन पठाइन्छ, तिनीहरुको यात्राले मानवीयताका धेरै पत्रहरु खुलाउदै जान्छ । 

नेपाली प्रयोगात्मक प्रस्तुति ‘इम्ब्रिओनिक’ पनि मञ्चन हुँदैछ । केदारनाथ पौडेलको लेखन तथा निर्देशन रहेको यस प्रस्तुतिले हृदय र मस्तिष्कबीचको विरोधाभाषसँगै अस्तित्व सम्बन्धी प्रश्नहरुसँगै आफूभित्रको विचारहरुलाई फर्केर हेर्ने र त्यसबारे स–साना विवरणहरु याद गर्ने प्रयास गराउनेछ । 

आजको अन्तिम कार्यक्रमको रुपमा ‘पाइतालाका यात्रा’ शीर्षकमा नृत्य नाटिका हुँदैछ । नम्रता केसीको कोरियोग्राफीमा चरिया नाचबाट सुरु भएर दर्शकले हिमाल हुँदै तराईसम्म यात्रा गर्नेछन् ।

‘पाइतालाका यात्रा’ मा मनिषा बस्नेत, कुन्ती सिमाली, रोज महर्जन, ऋतिका महर्जन, अनुपमा केसी, डिलाशा गुरुङ, अनु गौतम, दीपिका खतिवडा, सुजाता गुरुङ, वर्षा ढकाल, ज्ञानु लामा, मेलिशा घिमिरे, सदिक्षा गौतम, सुजाता दास, मृणाल श्रेष्ठ, गणेश श्रेष्ठ, अनू गौतम रिजवान थापा र सबिना पोखरेलको प्रस्तुति रहनेछ ।

केही दिन अगाडि सुरु भएको र मंसिर १७ सम्म चल्ने महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन् । महोत्सवमा १८ नाटकको २५ मञ्चन हुने आयोजकले जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप