शनिबार, २१ माघ २०७९
ताजा लोकप्रिय

डेंगु रोज्ने कि माकुरा ?

मंगलबार, १३ मंसिर २०७९, १२ : ०९
मंगलबार, १३ मंसिर २०७९

तपाईंलाई माकुरा कस्ता लाग्छन् ? पक्कै पनि मन पर्दैन होला । आफूले बढार कुडार गरेर चिटिक्क पारेको घरभरि जालो बनाएर हैरान बनाउने माकुरा मन परोस् पनि कसरी ?​ हामीमध्ये कसै कसैको त माकुरा देख्ने बितिक्कै होसहवास उड्छ । कतिलाई त माकुरा वा त्यसको जालो देखेरै घिन लाग्छ होला । त्यसैले, घर सजाउने क्रममा कोठाका भित्तामा, सिलिङ्गमा हुने माकुराका जालो पनि हामीले पक्कै हटाएका छौं ।

हामीमध्ये कतिले त माकुरालाई देख्नेबितिक्कै मार्ने वा घरबाट धपाउने काम नि गरेका छौँ । तर के तपाईंलाई हेक्का छ, माकुरालाई कोठाबाट धपाएर तपाईंले कतै आफैंलाई डेंगुको सिकार त बनाउँदै हुनुहुन्न ?

प्रसंग हो, वैज्ञानिक ड्यानियल इस्त्रिक्म्यान सहितको टोलीले थाइल्याण्डमा गरेको एक अनुसन्धानको । उक्त खोजबारे ‘द जर्नल अफ अर्याकनोलोजी’ मा सन् १९९७ मा प्रकाशित भएको थियो । हाम्रो घरको कुना काप्चा, सिलिङ्ग वा भित्ता भित्तामा जालो बनाएर बस्ने माकुरा प्रायः फोलिसिड प्रजातिका हुन् । यिनलाई सेलार इस्पाईडर पनि भनिन्छ ।

हाम्रा घरमा सेलार इस्पाईडरबाहेक जम्पिङ इस्पाईडर, हन्ट्सम्यान इस्पाईडर जस्ता अन्य विभिन्न प्रकारका माकुरा देखिन्छन् । माकुराहरुले विभिन्न किरा फट्यांग्राहरु खाएर पारिस्थितिकीय प्रणालीमा सन्तुलन राख्छन् ।

नेपालमा हरेक वर्ष डेंगुको प्रभाव बढ्दै गएको छ । खास गरी वर्षाको प्रभावले डेंगु महामारीको रुप लिन अग्रसर देखिन्छ । वर्षाले खाल्डा खुल्टी बनाएर ठाउँ ठाउँमा पानी भरिने र त्यस्तै पानी जमेको ठाउँमा लामखुट्टेले फुल पार्ने गर्दछ ।

यसै वर्ष नेपालमा ४० हजार भन्दा बढी मानिस  डेंगुको संक्रमणमा परिसकेका छन् भने करिब ५० जनाको मृत्यु भैसकेको छ । ड्यानियल इस्त्रिक्म्यानको टोलीले गरेको उक्त अनुसन्धानमा भुरा तथा वयस्क माकुराले डेंगुले संक्रमित एडीस येजेप्टी लामखुट्टे खाएको पाइएको थियो ।

सन् १९८५ मा भएको अर्को अनुसन्धानमा एउटा वयस्क लामखुट्टेले एक दिनमा १२ देखि २० वटासम्म लामखुट्टे खाने गरेको पाइएको थियो । डेंगुले संक्रमित लामखुट्टे खाएको माकुरामा डेंगु संक्रमणको कुनै लक्षण भने पाइएन ।

जापान, केन्या, मलेशिया आदि देशहरुमा भएका विभिन्न अनुसन्धानले समेत माकुराले लामखुट्टे खाने तथ्य उजागर गरेका छन् । माकुरा र लामखुट्टे दुबैले घर भित्रका अँध्यारा कुना काप्चामा रहन रुचाउने तथ्यले यस कुराको थप पुिष्ट गर्छ ।

घर बाहिरसमेत माकुरा प्रशस्त हुने ठाउँमा अरु ठाउँको तुलनामा लामखुट्टे कम रहेको पाइएको छ । जंगली माकुरालाई समेत चिरफार गरेर हेर्दा लामखुट्टे खाएको पाइएको छ ।

संसारभर ५० हजार भन्दा बढी प्रजाति रहेको माकुरा किटहरुको संसारमा एक प्रमुख सिकारी हो । जालो बनाउने माकुराले आफ्नो जालोमा पारेर वा जालो फालेर कीरा अल्झाउँछ भने जालो नबनाउने माकुराले सक्रिय सिकार गर्छ ।

सन् २००५ र २०१४ सालमा भएका विभिन्न ३ अनुसन्धानमा माकुराले आफ्ना स्नायुले सुँघेर छानी छानी भर्खर रगत खाएका लामखुट्टे खाएको पाईएको छ । त्यस्ता लामखुट्टे खाएपछि माकुराको शरीरमा पैदा हुने गन्धले उसलाई पोथी माकुरालाई थप आकर्षण गर्न सहयोग पुर्याउँछ । कुनै कुनै माकुराको विषमा समेत मलेरियाका जीवाणु विरुद्धका तत्वहरु पाइएका छन् ।

सन् २०१० मा पाकिस्तानको सिन्ध गाउँको एक घटना हेर्दा माकुराको महत्व थप झल्किन्छ । त्यस वर्ष बाढीको प्रभावले अझ बढ्नु पर्नेमा मलेरियाको संक्रमण उल्टै घटेको देखियो । यस्तो किन भयो भनेर कारण खोज्दा सो वर्ष ठुलो बाढी पस्दा माकुराहरु सबै रुखमा चढेर धेरै र ठूला ठूला आकारका जालो बनाए । त्यही जालोमा फँसेका लामखुट्टे माकुराले खाएको कारण मलेरियाको संक्रमण घटेको तथ्य पत्ता लाग्यो ।

यस्ता विभिन्न अनुसन्धानद्वारा माकुरालाई लामखुट्टेको जैविक नियन्त्रण गर्न प्रभावशाली अस्त्रको रुपमा प्रयोग गर्न सकिने  वैज्ञानिक सुझाउँछन् ।

हाल नेपालमा ३८६ प्रजातिका माकुरा पाइन्छन् । घरभित्र हुने अधिकांश माकुराले मानिसलाई नटोक्ने र टोकिहाले पनि मानिसलाई खासै असर नगर्ने भएकाले डेंगुको संक्रमण बढिरहेको यस्तो अवस्थामा घरभित्रका माकुराका जालो नहटाउनु नै बुद्धिमानी देखिन्छ ।

हालः वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप